लोकतान्त्रिक पद्धति पुर्खाको सम्पत्ति होइन

रेशम शर्मा बस्ताकोटी
फागुन ७, २०७८

संसारका कैयौं मुलुकमा आ–आफ्नै तरिकाबाट राज्य सञ्चालन गर्ने विधान निर्माण गरिएको पाइन्छ । सो क्रममा कतै राजासहितको प्रजातन्त्र पाइन्छ, कतै राष्ट्राध्यक्ष राष्ट्रपति नरेश भएको त कतै तानाशाही निरंकुश शासन पनि चलिरहेको पाइन्छ । राज्य सञ्चालन जुनसुकै पद्धति चाले पनि वास्तविक काम राष्ट्रियतालाई मजबुद बनाउनु हो । जनताका चाहनालाई सहज पूरा गरी, राष्ट्रको उन्नति गर्न सक्ने नेतृत्व सबै राष्ट्र र जनताका लागि आवश्यक हुन्छ । आज फागुन ७ तिनै राष्ट्रिय एकता र उन्नतिका लागि ज्यानको बलिदानी दिन पछि नपर्ने तिनै महान् व्यक्तित्वको स्मरण गर्ने दिन हो ।
हरेक देशमा विभिन्न तहका प्रतिनिधि छन् जसले आफ्नो राष्ट्रलाई स्वाधीन बनाउन एक भएर अघि बढेका छन् । हिजोदेखि आजका दिनसम्मको अवस्थालाई हेर्ने हो भने निकै चिन्ताजनक अवस्था देखिन्छ । हिजो आफ्नो व्यक्तिगत समस्या र स्वार्थका लागि जतातर्फ फर्केर बसे पनि आवश्यक पर्दा सबै एकै ठाउँमा एउटै विचार र चिन्तनमा अडिग भई बाह्य हस्तक्षेपसँग मुकाबिला गर्दै ज्यानको बाजी लगाउन तत्पर हुने नेपालीको वीरतालाई हाम्रा जनप्रतिनिधिले बिर्सेका छन् । यो दुखद् सन्दर्भ हो । उनीहरूलाई यी यावत् सन्दर्भबारे जानकारी भएर पनि थाहा नभए जस्तो अनौठो विधि, पद्धति र प्रवृत्ति देखाइरहेका छन् । नाङ्लो ठटाएर हात्ती तर्साउने खालका खेल भइरहेका छन् । आज सबै आफ्नो स्वार्थपूर्तिमा केन्द्रित छन् । त्यसैले आफ्नो पक्षको हित हुन सकेन भने वर्षको ३ पटक ओल्लो र पल्लो घरमा पुगेर पार्टी फोड्ने र फुटाउने काममा दत्तचित्त छन् । अझै विदेशीको शरणमा लम्पसार हुने प्रचलनले त नेपालीपनको महत्व र महिमा समाप्त गराउँदै गएका छन् । त्यही सिको ५ वर्ष अगाडिदेखि कार्यान्वयन हुन थालेको संघीय शासन व्यवस्थाका स्थानीय निकायमा पनि देखिन थालेको छ । यसैले अब स्थानीय जनता सचेत हुने समय आएकाले यो पावन दिनको सन्दर्भ पारेर राष्ट्रभक्त नागरिकहरू सचेत हुनैपर्ने आवश्यक देखिन्छ ।

लोकतान्त्रिक पद्धतिमा डाहा, द्वेष र इखको भावना राख्नेहरूका पछाडि जनता लाग्न सक्दैनन्

जब व्यक्तिमा संकुचित भावनाको विकास हुन थाल्छ तब उसले राष्ट्र र जनताको अपार माया ममतालाई कुल्चन्छ । सोझा साझा जनतालाई तर्साउने काम गर्न थाल्छ । त्योभन्दा ठूलो दुर्भाग्य नेपालीका लागि केही हुँदैन । आज चारैतिरबाट नेपाली जनतालाई तर्साउने काम भइरहेको छ । जुनसुकै दलको व्यक्ति किन नहोस्, हिजो जनसेवा गर्न, राष्ट्रको शिर सधैंका लागि उच्च राख्न भनेर अगाडि बढेकाहरू आज धार–धारमा विभक्त भएका छन् । यो जनताका लागि सामान्य विषय नहुन सक्छ । दुई धारमा चल्ने व्यक्तिबाट देशको उन्नति हुनुभन्दा प्राप्त लोकतन्त्रको संरचना नै भताभुङ्ग हुनसक्छ । लोकतान्त्रिक पद्धतिमा डाहा, द्वेष र इखको भावना राख्नेहरूका पछाडि जनता लाग्न सक्दैनन् । उनीहरूलाई विश्वास मान्ने अवस्था हराउँदै जान्छ । आजको यो सुनौलो दिनमा यसतर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।
धेरै टाढा जानु पर्दैन केही दिन अगाडिको सन्दर्भलाई हेरे पुग्छ । समग्र देशका विभिन्न विचारमा आस्था राख्ने कार्यकर्ताहरू महाधिवेशनमा केन्द्रित थिए । सबैले आ–आफ्ना प्रतिनिधि छनोट गरे । आम नेपालीमा आ–आफ्नो आस्था र विचारअनुसार हर्षको लहर भयो । नेपाली कांग्रेसका शेखर कोइराला आफू पराजित भएसँगै सभापतिमा विजय भएका शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै आफ्नातर्फबाट हुन सक्ने सहयोग दिने प्रतिबद्धता जाहेर गरे । एमालेका रावलले एमालेको लोकतन्त्रलाई जोगाइदिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा राजेन्द्र लिङ्देनबाट पराजित भए । त्यो पराजित मानसिकताको नतिजा उनले जनताको नासो जनतालाई फिर्ता गरेर नितान्त नागरिकका रूपमा जीवन बिताएर निर्मल निवासमा बसेका पूर्व राजपरिवारमा लगेर थोपरे । यतिका वर्ष उनै राजाको आशीर्वादमा हुर्केका कमल थापाले ज्ञानेन्द्र शाहलाई दोष दिँदै पार्टी परित्याग गरेको घोषणा गर्नु राष्ट्र र जनताप्रतिको न्याय होइन । यो एउटा व्यक्तिको कुरामात्र होइन यसले हाम्रो नेपालको सिंगो प्रवृत्तिलाई चित्रण गरेको छ । सबै आफ्नो सत्ता मोहमा छन् । यही उदाहरणमात्र हेरे काफी हुन्छ हाम्रो देशको लोकतन्त्र, प्रजातन्त्रप्रतिको चिन्तन कहाँनेर अडिएको छ भन्ने कुरा । यसै गरेर सबै राजनीतिक दलका नेताले आम नेपालीलाई धेरै राजनीतिक पार्टीले कौवा बनाइरहेका छन् ।
अब राज्यलाई अग्रगतिमा बढाउँछौं भनेर अगाडि बढ्नेहरूले ख्याल गर्नैपर्छ । लोकतान्त्रिक विधि र पद्धति भनेको पुर्खाको पुख्र्यौली सम्पत्ति होइन । यो सबै जनताको नासो हो, जनतालाई भ¥याङ बनाएर सत्तामा पुग्न जनताको एकतामा ढुंगा प्रहार गर्नु भनेको मौरीको चाकामा ढुंगा हान्नु सरह हो । यसैले २१ औं शताब्दीका जनताले सबै कुरा राम्ररी बुझेका छन् । यसैले आज प्रजातन्त्र दिवसको सन्दर्भमा आफूले गरेका कमी कमजोरीलाई आत्मालोचना गरेर अगाडि बढ्न सकियो भने समृद्धि हाम्रै हातमा छ । फागुन सातले हामी सबैलाई यही सन्देश दिन सकोस् यही कामना ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width