गण्डकी प्रदेशका धार्मिक सांस्कृतिक सम्पदा : सांस्कृतिक ऐना

लोकचन्द्र खनाल
श्रावण १६, २०७९

संस्कृति सभ्यताको जननी हो । संस्कृतिभित्र मानव जीवनका सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, भौतिक, भाषिक आदिको अभिव्यक्तिका साथै भाषा, कला, साहित्य, धर्म, दर्शन इतिहास आदि सम्पूर्ण अवस्था वा चालचलन समेटिन्छन् । यसले ती विभिन्न क्षेत्रमा मानिसले अपनाएका व्रिmयाकलापलाई परिष्कार गर्ने काम गर्छ । यसैले मानव सभ्यताको विराट छहारीलाई नै संस्कृति भन्न सकिन्छ । यस्ता संस्कृति मूर्त र अमूर्त दुई किसिमका हुन्छन् । मूर्त संस्कृति मानिसले निर्माण गरेका भौतिक वस्तुका माध्यमबाट प्रतिबिम्बन हुन्छन् । भवन, बाटोघाटो, कुवा, पाटीपौवा, यातायातका साधन, उद्योग, कलकारखाना, धार्मिक मठ, मन्दिर, मस्जिद, गुम्बा आदि सम्पदाहरू महत्त्वपूर्ण मूर्त सम्पदा हुन् । ती विभिन्न भौतिक सांंस्कृतिक सम्पदाभित्र हुर्किएका विभिन्न जात, जातिका चाडपर्व, उत्सव, मेला, जात्रा आदिमा बजाइने बाजा, प्रदर्शन गरिने नृत्य, विभिन्न सांस्कृतिक अनुष्ठानहरू, उनीहरूले अपनाउने परम्परागत तथा समसामयिक पेसा आदिलाई अमूर्त सम्पदा मानिन्छ । यी सबैले मानिसका सभ्यता, चिन्तन तथा संस्कारलाई अभिव्यक्त गर्दछन् ।

गण्डकी प्रदेश कला, संस्कृति, भाषा, साहित्यका अतिरिक्त धार्मिक दृष्टिले पनि समृद्ध प्रदेश हो । हालै मात्र गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशका ११ ओटा जिल्लामा रहेका विभिन्न धार्मिक सम्पदा समेटेर गण्डकी प्रदेशका धार्मिक सांस्कृतिक सम्पदा नामक पुस्तक सार्वजनिक गरेको छ । नेपालको संविधान २०७२ को अनुसूची ६ ले प्रदेश सरकारका अधिकारका बारेमा उल्लेख गर्दै आफ्नो प्रदेशभित्रका भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग गर्ने अधिकार प्रदेश सरकारलाई प्रदान गरेको सन्दर्भमा यो कृतिको प्रकाशन महत्त्वपूर्ण छ ।

यो पुस्तककार कृतिभित्र गण्डकी प्रदेशभित्र पर्ने ११ जिल्लाका ८५ पालिकामध्ये ७२ पालिकाभित्र रहेका १ सय ४१ मुख्य पुरातात्विक धार्मिक सम्पदा तथा ७ सय ८५ अन्य सम्पदाहरू गरेर जम्मा ९ सय २६ ओटा धार्मिक सम्पदाहरूलाई व्यवस्थित किसिमले समेटिएको छ । पुस्तकको बाहिरी आवरण रमेश श्रेष्ठद्वारा निर्मित रंगिन चित्रले सजिएको छ । यस पुस्तकभित्र ८७ ओटा विभिन्न धार्मिक पीठहरूका रंगिन चित्र तथा ५४ ओटा सादा चित्र रहेका छन् । पुस्तकको अन्त्यमा १६ ओटा विभिन्न अमूर्त सम्पदाका रंगिन चित्रहरू रहेका छन् ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले प्रकाशन गरेको यस पुस्तकमा समेटिएका पुरातात्विक सम्पदाको सूचनाको मूल स्रोत नेपाल सरकार पुरातत्त्व विभाग रहेको छ । वि.सं. २०७८ मा प्रथम संस्करणका रूपमा जम्मा १ हजार २ सयप्रति प्रकाशन गरिएको यस पुस्तकको सर्वाधिकार प्रकाशकमा निहित रहेको छ । यो पुस्तक गण्डकी प्रदेशका सबै स्थानीय तह तथा वडामा समेत पुर्‍याउने लक्ष्य राखेको देखिन्छ । पुस्तक तयारीका लागि भाषाविद् सहप्रा. डा. नारायणप्रसाद अधिकारी, संस्कृतिविद् तीर्थ श्रेष्ठ, संस्कृतिकर्मी सुनील उलक, प्रदेश सङ्ग्रहालय प्रमुख करुण राईसहितको परामर्श समूह रहेको र तयारी तथा प्रकाशनको संयोजन प्रकाश ओझा सिर्कुतानेले गर्नुभएको देखिन्छ । लेआउट प्रदीप कुमाल तथा मनमाया दुराले तयार पार्नुभएको यो पुस्तकको मुद्रण गोर्खाली अफसेट पोखराबाट भएको देखिन्छ ।

पुस्तक प्रकाशनको संयोजकको जिम्मेवारी सम्हाल्नु भएका प्रकाश ओझा सिर्कुतानेबाट मन्त्रालयबाट विनियोजित ५ लाख बजेटबाट यो पुस्तकको सम्पूर्ण खर्च व्यवस्थापन भएको जानकारी पाइयो । रंगिन पृष्ठ १५० ग्रामको सेतो कागजमा तथा अन्य पृष्ठ ७० ग्रामको सेतो कागजमा छापिएको यो पुस्तक छपाइ तथा बँधाइका दृष्टिले पनि स्तरीय देखिन्छ । प्रकाशन संयोजकका रूपमा प्रकाश ओझाले सम्पादकीयमार्फत् पुस्तक प्रकाशन तथा सम्पादनको पृष्ठभूमि, तथ्यांक संकलनको स्रोत, विभिन्न भूमिकामा सहयोग गर्ने व्यक्तित्वको जानकारी तथा कृतज्ञता प्रकट गर्नुभएको छ । अर्को पृष्ठमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरले सचिवको भनाइमार्फत पुस्तक प्रकाशनको पृष्ठभूमि तथा सहयोगी र सरोकारवालालाई स्मरण गर्दै केही अपूर्णता रहेमा आगामी संस्करणमा परिमार्जन गर्ने अपेक्षा राख्नु भएको देखिन्छ । लोक संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले शुभकामना लेखनमार्फत् प्राकृतिक तथा सांंस्कृतिक सौन्दर्यले सम्पन्न गण्डकी प्रदेश सरकारले धार्मिक सांस्कृतिक सम्पदाको संकलन, संरक्षण तथा संवद्र्धनका क्षेत्रमा गरेको महत्त्वपूर्ण कर्मप्रति धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

पुस्तकमा रहेका जम्मा १ सय ९४ पृष्ठमध्ये गाता पृष्ठबाहेक सुरुमा ७ ओटा पृष्ठ परिचय, सम्पादकीय, शुभकामना तथा विषयसूचीका लागि प्रयोग गरिएका छन् भने बाँकी १ सय ८० पृष्ठमा विभिन्न धार्मिक सांस्कृतिक सम्पदाहरूको परिचय, तिनीहरूका ऐतिहासिक पृष्ठभूमि, उक्त धार्मिक पीठभित्र भएका महत्त्वपूर्ण सम्पदाहरू, पूजा परम्परा र व्यवस्थापन सम्बन्धी व्यक्ति र सम्पर्क नम्बरसमेत उल्लेख गरिएको छ । त्यहाँ रहेका कला तथा वास्तुकलासम्बन्धी विवरण, पूजा परम्परा तथा उक्त दरबार र मन्दिरको व्यवस्थापन कसरी भएको छ भन्ने पनि उल्लेख गरिएको छ ।

पुस्तकको सबैभन्दा अगाडि गोरखा जिल्लामा भएका जम्मा २८ ओटा धार्मिक सम्पदाको चिनारी दिइएको छ । यस पुस्तकमा गोरखामा भएका १३ ओटा मुख्य पुरातात्विक सम्पदाको विस्तृत विवरण दिइएको छ । यस जिल्लामा स्थानीय पालिकामा रहेका १५ वटा सहित जम्मा २८ ओटा धार्मिक सम्पदाको विवरण उल्लेख गरिएको छ । गोरखा जिल्लाका विभिन्न ७ ओटा रंगिन र ५ ओटा सादा चित्रले गोरखा जिल्लामा रहेका धार्मिक सम्पदाका बारेमा थप महत्त्वपूर्ण जानकारी प्रदान गर्दछन् ।

त्यस्तै पुस्तकमा दोस्रो व्रmममा लमजुङ जिल्लामा अवस्थित जम्मा ३६ ओटा धार्मिक, सांस्कृतिक सम्पदाको बारेमा जानकारी दिइएको छ । जसमा ४ ओटा प्रमुख पुरातात्विक सम्पदाको विस्तृत विवरण दिइएको छ । स्थानीय तहअन्तर्गत जम्मा ३२ ओटा धार्मिक सम्पदा रहेको उल्लेख गरिएको छ । यहाँ लमजुङ जिल्लामा रहेका ८ ओटा र्ङगिन र २ ओटा सादा चित्रले लमजुङ जिल्लामा रहेका धार्मिक सम्पदाका बारेमा थप जानकारी प्रदान गर्दछन् ।

तनहुँ जिल्लाका ४३ ओटा धार्मिक संस्कृतिक सम्पदाको बारेमा जानकारी दिएको छ । तनहुँ जिल्लामा रहेका १४ ओटा मुख्य पुरातात्विक सम्पदाको विस्तारपूर्वक चर्चा गर्नुका साथै विभिन्न स्थानीय निकायमा रहेका २९ ओटा धार्मिक सांस्कृतिक सम्पदाको बारेमा थप सूचना दिइएको छ । पुस्तकभित्र ८ ओटा रंगिन र ३ ओटा सादा तस्बिरको माध्यमबाट तनहुँ जिल्लाका धार्मिक सांस्कृतिक सम्पदाका बारेमा थप जानकारी दिइएको छ । स्याङ्जा जिल्लाको हकमा ४ ओटा मुख्य पुरातात्विक सम्पदाको विस्तृत विवरण दिनुका साथै विभिन्न पालिकाभित्रका १ सय ७३ सांस्कृतिक सम्पदाको विवरण उल्लेख गरिएको छ । पुस्तकभित्र ६ ओटा रंगिन तथा ३ ओटा सादा चित्रले यहाँका धार्मिक सांस्कृतिक सम्पदाको बारेमा थप जानकारी प्रदान गरेका छन् ।

यस पुस्तकको पाँचौँ व्रmममा कास्की जिल्लाभित्रका जम्मा १ सय २० धार्मिक सांस्कृतिक सम्पदाको उल्लेख गरिएको छ । यसअन्तर्गत १४ ओटा मुख्य पुरातात्विक सम्पदा रहेका छन् भने १०६ ओटा विभिन्न स्थानीय पालिकामा भएका सम्पदाको उल्लेख गरिएको पाइन्छ । यस पुस्तकमा समावेश कास्की जिल्लाभित्रका विभिन्न ठाउँमा रहेका १४ ओटा सम्पदाका रंगिन तथा १० ओटा सादा चित्रले उक्त धार्मिक सम्पदाका बारेमा बुझ्नका लागि थप मद्दत गरेका छन् ।

यस पुस्तकमा सबैभन्दा थोरै मनाङ जिल्लाका धार्मिक सांस्कृतिक सम्पदाको जानकारी दिइएको छ । जसमा ११ ओटा मुख्य पुरातात्विक सम्पदाका विस्तृत विवरण दिनुका साथै नासो गाउँपालिकामा भएका २ ओटा गरी जम्मा १३ ओटा धार्मिक सम्पदाको विवरण सुरक्षित गरिएको छ । मनाङ जिल्लाभित्रका ६ ओटा रंगिन तथा एउटा सादा चित्रका माध्यमबाट समेत यहाँका धार्मिक सम्पदाका बारेमा जानकारी दिएको छ ।

यस पुस्तकमा मुस्ताङ जिल्लाका ५० ओटा मुख्य पुरातात्विक धार्मिक सम्पदाको विस्तारपूर्वक उल्लेख गरिएको छ । बाँकी ५ ओटा पालिकामा भएका २८ ओटा गरी मुस्ताङ जिल्लाका जम्मा ७८ ओटा धार्मिक सम्पदाको जानकारी समेटिएको छ । यस पुस्तकमा ८ ओटा रंगिन र १४ ओटा सादा तस्वीरमा मुस्ताङ जिल्लामा रहेका धार्मिक सम्पदाका बारेमा जानकारी दिएको छ ।

१४१ मुख्य पुरातात्विक धार्मिक सम्पदा, ७८५ अन्य सम्पदा गरी कूल ९२६ धार्मिक सम्पदा समेटिएको छ

यस पुस्तकमा आठौं क्रममा म्याग्दी जिल्लाभित्र रहेका जम्मा २६ ओटा धार्मिक सम्पदाको चिनारी दिएको छ । जसमा ८ ओटा पुरातात्विक सम्पदाअन्तर्गतका मुख्य धार्मिक सम्पदा रहेका छन् भने ५ ओटा पालिकाभित्रका १८ ओटा धार्मिक सम्पदाका बारेमा छोटकरीमा उल्लेख गरिएको छ । पुस्तकमा म्याग्दी जिल्लाभित्रका ८ ओटा रंगिन तथा ६ ओटा सादा तस्वीरको माध्यमबाट म्याग्दी जिल्लाभित्रका धार्मिक सम्पदाको थप जानकारी दिएको छ ।

यस पुस्तकमा पर्वत जिल्लाभित्रका जम्मा १ सय ९४ ओटा धार्मिक सम्पदाको जानकारी दिएको छ । यो संख्या यस प्रदेशका सबै जिल्ला भित्र भएका धार्मिक सम्पदामध्ये सबैभन्दा धेरै रहेको छ । ती सम्पदामध्ये १० ओटा मुख्य पुरातात्विक सम्पदा र बाँकी १८४ ओटा विभिन्न ६ ओटा पालिकामा रहेका धार्मिक सम्पदाहरू हुन् । यस पुस्तकमा पर्वत जिल्लाभित्रका ७ ओटा रंगिन र एउटा सादा तस्वीरका माध्यमबाट समेत पर्वत जिल्लामा रहेका विभिन्न धार्मिक सम्पदाको जानकारी दिएको छ ।

यस पुस्तकमा दसौं व्रmममा बागलुङ जिल्लामा अवस्थित धार्मिक सम्पदा समेटिएका छन् । जसमा ९ ओटा मुख्य पुरातात्विक धार्मिक सम्पदाका रूपमा राखिएका छन् भने बाँकी ३८ ओटा धार्मिक सम्पदा विभिन्न १० ओटा पालिकाभित्र रहेका छन् । पुस्तकमा ८ ओटा रंगिन र ४ ओटा सादा तस्बिरले पनि बागलुङ जिल्लाभित्रका धार्मिक सम्पदाका बारेमा जानकारी दिन्छन् ।

यस पुस्तकको अन्त्यमा प्रदेशकै कान्छो जिल्ला नवलपुरभित्रका धार्मिक सम्पदालाई समेटिएको छ । यस जिल्लामा ४ ओटा मुख्य पुरातात्विक तथा १९ ओटा स्थानीय पालिकाका सम्पदा समेटिएका छन् । नवलपुर जिल्ला खण्डमा भएका ७ ओटा रंगिन तथा ३ ओटा सादा तस्बिरले पनि यहाँका विभिन्न धार्मिक सम्पदाका बारेमा थप जानकारी प्रदान गर्दछन् ।

यस पुस्तकको नाम गण्डकी प्रदेशका धार्मिक सम्पदा राखिएको हुनाले यस पुस्तकभित्र अन्य विवरण उल्लेख नगरिए पनि यस प्रदेशमा प्रचलित १६ ओटा विभिन्न अमूर्त सम्पदाका चित्रहरू समेटिएका छन् । जसमा गाईजात्रा, थारु नृत्य, घाँटु नाच, हनुमान नाच, बालन नाच, बकर इदमा गरिने प्रार्थना, सोनाम ल्होसार मनाउँदै गरिएको, नौमती पञ्चे बाजा, कुमाल जातिको परम्परागत पेसा, बेलविवाह, ठुली एकादशीमा नदीमाथि फूल तारिएको, तमु ल्होसार, बौद्ध धर्मसभा, छठ पर्वको अवसरमा गरिने आराधना, सोरठी नृत्यको झलक जस्ता अमूर्त संस्कृतिका तस्बिर सामग्रीहरू रहेका छन् । यसको माध्यमबाट यस पुस्तकले अमूर्त सम्पदाको पनि खोजी तथा अनुसन्धानमा लाग्न चाहनेहरूका लागि समेत सम्बोधन गर्ने चेष्टा गरेको देखिन्छ । यसैले पनि धार्मिक तथा सांस्कृतिक अध्ययन र पर्यटनमा रुचि राख्ने शोधार्थी, अनुसन्धाताका लागि यो पुस्तक ज्यादै उपयोगी छ भन्न सकिन्छ । वर्तमान समयमा हरेक स्थानीय तहले आफ्नो मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रमको शिक्षण गर्ने अवसर पाएको सन्दर्भमा यो पुस्तक अझ महत्त्वपूर्ण पाठ्यसामग्री बन्न सक्छ । गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयमा समेत पुर्‍याउने उद्देश्यले १२०० प्रति छापिएको यो पुस्तक एउटा महत्त्वपूर्ण सांस्कृतिक दस्तावेज हुन सक्छ । विभिन्न पुस्तकालयमा आउने स्वतन्त्र अध्येताका लागि पनि यो बहुमूल्य सामग्री बन्न सक्छ ।

पुस्तकलाई तथ्यपूर्ण, विश्वसनीय, व्यवस्थित बनाउनका लागि विभिन्न पक्षको सहयोग रहेको देखिन्छ । गण्डकी प्रदेशका धार्मिक सांस्कृतिक सम्पदा पुस्तकलाई व्यवस्थित बनाउनका लागि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख तेजप्रसाद काफ्ले तथा तोयनाथ लम्सालले सल्लाहकारका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको पाइन्छ । त्यस्तै सूचना संकलन, व्यवस्थापन, परिष्कार र परिमार्जन गर्नका लागि परामर्श समूहका रूपमा भाषाविद् सहप्रा. डा. नारायणप्रसाद अधिकारी, संस्कृतिविद् तीर्थ श्रेष्ठ, संस्कृतिकर्मी सुनील उलक, पुरातत्त्व विभागका अधिकृत करुणा राईले अमूल्य सहयोग गर्नुभएको देखिन्छ । पुस्तकलाई प्रकाशनको तहसम्म ल्याउनका लागि कानुन अधिकृत सृजना आचार्य तथा अधिकृत रीता लम्साल सापकोटाको योगदान स्तुत्य रहेको पाइन्छ ।

एउटा पुस्तकाकार कृतिमा गण्डकी प्रदेशभित्रका यति धेरै धार्मिक सम्पदा समेटेर ग्रन्थ प्रकाशन गर्नु आफैंमा एउटा गहन, चुनौतीपूर्ण तथा कठिन कार्यसमेत हो । यसभित्र राखिएका सामग्रीलाई वर्गीकरण गर्ने आधार मुख्य गरी नेपाल सरकार पुरातत्त्व विभागबाट वि.सं. २०६९ मा प्रकाशित सामग्रीलाई मानिएको देखिन्छ । पुस्तकमा धेरै धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटिएका भए पनि केही महत्त्वपूर्ण सामग्री छुट्न गएका छन् । कुनै स्थानीय निकायका धेरै सामग्री समेटिएका छन् भने गण्डकी प्रदेशकै कतिपय स्थानीय निकायका एउटै मात्र पनि सम्पदाको उल्लेख भएको देखिँदैन । महत्त्वपूर्ण सम्पदा र स्थानीय सम्पदा भनेर गरिएको वर्गीकरणलाई पनि अझ बढी विश्वसनीय तथा वैज्ञानिक बनाउन सके पुस्तक थप ओजस्वी बन्न सक्थ्यो । यी विषयलाई आगामी संस्करणमा पक्कै पनि परिमार्जन गर्दै जाने विश्वास राख्न सकिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोनाको प्रकोपको समयमा समेत जोखिम मोल्दै सीमित स्रोत र साधनको उचित व्यवस्थापन गर्दै यस्तो महत्त्वपूर्ण कार्य सम्पन्न गरेकोमा गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय सम्पूर्ण धार्मिक तथा सांस्कृतिक अध्येताहरूका तर्फबाट धन्यवादको पात्र बनेको छ । यसको संकलन तथा प्रकाशनमा खट्नुहुने, सल्लाहकार, परामर्श समूह, अन्य सहयोगी तथा संयोजक प्रकाश ओझा सिर्कुतानेको अथक मेहनतप्रति हार्दिक साधुवाद ।

Related News

सम्बन्धित समाचार

hero news full width