स्थानीय तहको निर्वाचन : भालुको कनपट

आदर्श समाज सम्वाददाता
माघ १०, २०७८

स्थानीय तहको निर्वाचन सार्नेमात्रै होइन टार्ने कुत्सित दाउ गरिँदै छ । गठबन्धनको बालुवाटारे बैठकमा प्रचण्ड–माधवले खुलेरै यस्तो उद्घोष गरे, तुरुन्तै माधव नेपाल बिलखबन्धमा परे । केपी ओली र प्रचण्ड मिल्ने छाँट देखिँदा उनको सातोपुत्लो उड्यो । केपीसित डिभोर्स गरेर प्रचण्डसित टाँस्सिएका उनी घर न घाटको हुने स्थिति बन्यो । झाँक्री पनि ठेकेदारसित रिसोर्टमा बास बस्न पुगेको समाचारले उनलाई थप मर्माहत बनायो होला । माधव नेपालकै जस्तो विरहमा एउटी विरहिणी गाउँथिन् :
‘केको कोर्को, केको कोर्को कुराउनीको कोर्को
अहिलेको त भन्नु मात्रै पोई त राम्रो पोरको !’
पोहोरसम्मका साथी केपी ओलीलाई माधव नेपालले अवश्य सम्झिँदा हुन् । अलिमियाँ भन्थे, ‘सुखको साथी संसारै हुन्छ/दुखको साथी मित !’ यी दुईले मित्यारी गरेरै महाकाली बेचेका थिए । भनिन्छ, मदन भण्डारीको हत्यामा सँगै थिए । दुखका यी जोडा सत्तासुखमा बिछोडिए । प्रधानमन्त्रीसम्मको अफर, रोजेको मन्त्रालय आदिको लोभमा माधव नेपालले पार्टी चोइटाएर नकाम गरे । सर्वोच्च अदालत र सभामुख धरापमा परे । ऐनकानुन, लोकलाज केहीको डर नमानेर अहिले फेरि स्थानीय तहको निर्वाचन सार्ने धृष्टता देखाइँदै छ ।
हरेक नागरिकलाई थाहा छ, स्थानीय तहको निर्वाचनपछि संसदको निर्वाचन भाथ्यो । अब स्थानीय तहको निर्वाचनको बेला आयो । सर्वोच्चको फैसलाअनुसार पूरा अवधि समाप्त नभई संसदको निर्वाचन हुँदैन । मंसिरमा हुने संघीय निर्वाचनलाई वैशाखमा ल्याउन सकिँदैन । वैशाखमा हुनैपर्ने स्थानीय तहको निर्वाचनलाई मंसिरसम्म पन्छाउन पनि मिल्दैन ।
प्रकाश दाहाल र सुशील कोइरालाको हत्याले बतायो, प्रचण्ड र नेपाली कांग्रेसले ०७२ को संविधान ल्याउन हतार गरेकै रहेछन् । हत्पतको काम लत्पत । संविधानमा यस्ता अनेक लत्पत देखिँदै छन् । संविधानको प्रस्तावनामै आफ्नो इतिहासको गौरव छैन । राष्ट्रनिर्माताको नाम उल्लेख छैन । कुनै पनि चिज, वस्तु वा दृष्टिकोण निरपेक्ष हुनै सक्दैन तर संविधानलाई धर्मनिरपेक्ष भन्न खोजियो । तमाम कानुन जान्नेहरु भर्खरै भन्दैछन्, ‘संविधान र निर्वाचन ऐन बाझिएको छ !’ यस्तै छिद्र खोज्दै प्रचण्ड–माधवले टेन्टमा टाउको छिराउने ऊँटको तर्क तेस्र्याए । प्रधानमन्त्रीले आफैं टेन्टबाट बाहिरिने अवस्थाको भेउ पाउँदा गठबन्धन टुटाउँछन् । चुनावमा कांग्रेस एक्लै भिड्छ भनेर शेखर–गगनादि चिच्याइरहेकै छन् । गठबन्धन भत्किँदा खुट्टो भाँच्चिने प्रचण्ड, टाउकोले टेक्ने माधव हुनेछन् । ‘पैताला’ उपन्यासमा गनेस पौडेलले होटलमा काम गर्ने प्रचण्डको चित्रण गरेका छन् । प्रचण्ड खुट्टो खोच्याउँदै हिँड्छन् । सिद्धान्तहीनताको त्यो अवस्था अहिले पुष्टि हुँदै छ । मान्छे जति अग्लोबाट गिर्छ, उसलाई उति नै बढी चोट लाग्छ । प्रचण्डकहाँ जो जान्छ, माग्छ; जो जाँदैन, सराप्छ । मानवीय संवेदना चट् पारिँदा सीताजीप्रति पनि मान्छेहरु सहानुभूतिशील हुन सकिरहेका छैनन् । जीवन साह्रै रुखियो ।

चुनावमा कांग्रेस एक्लै भिड्छ भनेर शेखर–गगनादि चिच्याइरहेकै छन् । गठबन्धन भत्किँदा खुट्टो भाँच्चिने प्रचण्ड, टाउकोले टेक्ने माधव हुनेछन्

संसद विगठनका कट्टर विरोधी प्रचण्ड–माधव ‘हामी यहाँ छौं !’ भन्दै सडकमा पुगेका थिए । पछि सेटिङ छर्लंगियो । प्रचण्डले जे जोखाना बताए, सर्वोच्चले त्यही फैसला सुनायो । केपी ओली पजनीमा परे । परमादेशअनुसार शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरे । एमालेले संसद चल्नै दिएन, सरकारले कलाहीन नाटक देखाउनेबाहेक अरु काम गरेन । मन्त्री रामकुमारीले पिर्के सलामी लिइन् । अर्की मन्त्रीले सिके राउतको हत्याको धम्की दिइ्न् । वावाही बटुल्ने प्रेम आले हिरो हुन् कि भिलियन खुट्टिन बाँकी नै छ । यही बेला अर्ली इलेक्सनको प्रचण्ड–प्रस्तावले नयाँ तरङ्ग ल्यायो, गाँजेमाजेको त्यो तरंग भ्mयाप्पै सेलायो । प्रधानमन्त्रीको सम्बोधनले फेरि अनेक आशंका उब्जिएका छन् । सम्बोधनमा एमसिसी र लिपुलेकबारे चुइँक्क बोलिएन । यी दुईको दबाब पन्छाउनैका लागि अर्ली इलेक्सनको तुरुप फालिएको भनिँदै छ । कदाचित् त्यस्तो भएमा को मर, को मर, कीचकै मरको हालतमा माधव नेपाल हुनेछन् । आफ्नै टाउको फुट्छ भने प्रचण्डले मितको टाउको बेलैसरि मान्नेछन् । २०६३ मा गौर हत्या काण्डका बेला २८ जना मान्छे मारिँदा गृहमन्त्री कृष्ण सिटौलाले मान्छे होइन, माओवादी मरेको भन्ठाने, सुपर पावरका प्रचण्डले मौन धारण गरे ; माधव नेपाललाई थाहै होला ! प्रचण्ड र केपी ओलीको पुनर्मिलन असम्भव छैन ।
२०६२ सालमा राजाले चाहेर पनि स्थानीय तहको निर्वाचन सफल गराउन सकेनन् । त्यतिखेर वीरगन्जका मेयरका उम्मेदवारको हत्या गरियो । २०७४ मा चितवनमा प्रचण्डपुत्रीले चुनाव जितिन् । त्यसपछिको स्थिति इतिहास होइन, सबैले भोगेको वास्तविकता हो । अब त्यस्तो चुनावप्रति जनतामा खासै मोह छैन । अफशोच, जनतासँग सुन्दर विकल्प पनि रहेन तर जनता अजेय शक्ति हो । पानीले आफ्नो सतह आफैं बनाउँछ । २०७८ पुस २७ गते जनताले राजा र राष्ट्रपतिलाई पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्न बाध्य पारे । निश्चित छ, अब जनताले नेता र बुद्धिजीवीको दास मनोवृत्तिलाई भत्काउने छन् । ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ भन्नेहरुका खुट्टी पनि माघ १७ गते सायद देखिनेछन् ।
सत्ता स्वार्थका अनेक छलकपट अघि सारिँदै छ । थोरथोरै बँचेको इज्जतलाई सिरिखुरी पार्दै माओवादी नेता हरिबोल भन्छन्, ‘स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने सरकारको अधिकारको कुरो हो !’ कठै, अधिकार चिन्नेले कर्तव्य छम्कट्टै भुले । क्रान्तिलाई भ्रान्तिमा विसर्जन गरियो । अझै कम्युनिष्टद्वारा कांग्रेसलाई ऐनको दफा सिकाइँदै छ । भनिँदै छ, ‘०७९ साल असोज १ सम्ममा स्थानीय तहको निर्वाचन गर्नु ऐनसम्मत हुन्छ !’ यी सबै कुतर्क चुनाव सार्ने होइन, चुनाव टार्ने प्रपञ्च हुन् । जनतालाई यसले खासै फरक पर्दैन । जनगीतले भन्छ, ‘मन परेको घरबार छैन/बिग्रे भुत्रैसिति !’ परमादेशको सरकारलाई स्थानीय तहको चुनाव भालुको कनपट, जनताका लागि कागलाई बेल ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width