लाखेनाच र नेवार जातिको संस्कृति

के.वी. मसाल
भाद्र १, २०७९

साउन महिनाको गठेमंगलदेखि सुरु लाखेनाच हेर्न उपत्यकामा पर्यटकहरुको भिड नै लाग्ने गर्दछ । हातमा भिडिओ क्यामेरा बोक्दै लाखेनाचको वरपर फोटो खिच्ने र भिडिओ क्यामेरामा लाखेनाचलाई कैद गर्न पर्यटकहरु रमाउँछन् । नेपालमा भित्रिने धेरै बाह्य पर्यटकहरु संस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पनि गर्दछन् । नेपालमा भएका १ सय २५ जातिहरुको आ–आफ्नै संस्कृति र संस्कार, परम्परा, रीतिरिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदिमा विशेषता रहेको छ ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । यसरी नाचिने नाचहरुमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखेनाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौंमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर नेवार समुदायमा लाखेनाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पडकाएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरुपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।

नेवार बाहेक अन्य समुदाय र पर्यटकहरुका लागि लाखेनाच नौलो रोचक हुन्छ । नेवारी संस्कृति, चाडबाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको लाखेनाचको आकर्षणले गर्दा लाखेनाच नाचिने ससमयमा नेपाल आउने विदेशी पर्यटकहरुले पनि रमाइलो मानी हेर्छन । कतिपय पर्यटकहरु लाखेनाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन । ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टा सहितको हेर्दै डरलाग्ने ख्वापा मुखौटा लगाएर बाजाको तालमा नाचिने लाखेनाचले पर्यटकहरु अचम्म मान्दछन् । नेवारी संस्कृतिसँग जोडिएको यो सस्कृतिको बारेमा रुचिका साथ खोज गर्दछन् । लाखेनाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखेनाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखेनाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरु मात्र होइन पर्यटकहरु पनि रमाइलो मान्छन् । लाखेनाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिंचा जोकरजस्तै भएर भेषभुषा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ । झ्यालिंचाचाहिँ दर्शकको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।

नेवार जातिहरु संस्कृतिका धनी छन् । उनिहरु आफ्नो सस्कृतिमा रमाउछन् । नेवारहरु उपत्यकाबाट विभिन्न जिल्लामा बसाई सर्दै जादा आफूसँग भएका आफ्ना संस्कृति, रीति–रिवाज, लवाइखवाइ जस्ता आफ्ना पहिचान पनि सँगै लिएर गएका थिए । जुन कारणले नेवारी संस्कृतिमा हुने जात्रा, नाच गान, सांस्कृतिक रीतिरिवाज उपत्यका बाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । लाखेनाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । तर आजभोलि लाखेनाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सांस्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ । विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रुपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ । उपत्यकामा आठ दिनसम्म मनाइने येँयाः पुन्ही अर्थात इन्द्रजात्राको आकर्षणको रुपमा लाखेनाच रहेको छ । लाखेनाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउँदै आएको छ । नेवारको जात र स्थाननुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । साधारण लाखेनाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखेनाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो लाखे निकालिंदैन । त्यसैले लाखेनाचको वास्तविक रमाइलो इन्द्रजात्रामा मात्र देख्न पाइन्छ ।

लाखेनाच काठमाडौ उपत्यकामा २३० वर्ष अघिदेखि लाखेनाच नाचिदै आएको विश्वास गरिन्छ । उपत्यकामा लाखेनाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन् । नेपाल भाषा वंशावलीअनुसार लाखेनाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखेनाच नाच्ने गरेको पाइन्छ । लाखेनाचहरुमा लाखेलाई हिन्दू धर्मका कथाहरुसँग जोडिएर एक राक्षस वा दैत्यको रुपमा प्रस्तुत गरिएको देखिन्छ ।

धेरैजसो लाखेको कथाहरुमा लाखे मारिएको प्रसङ्गहरु जोडिएका छन । तर काठमाडौं उपत्यकाभित्रको मजिपात लाखेलाई भने लाखे आजुको रुपमा पुजिन्छ । मजिपात लाखेलाई शान्त भैरव पनि भनिन्छ । मजिपात लाखेको विगत राक्षसी स्वभाव भएता पनि कालान्तरमा आएको परिवर्तनले गर्दा यिनलाई भैरवको एक रुपमा पुजिंदै आएको छ । भैरव शिवकै एक डरलाग्दो रुप हो जुन श्रृष्टिको संहारसँग जोडिएको छ । भैरबलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु र रक्षा गर्नु हो । कथाअनुसार लाखेले हाम्रा साना नानीहरुको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रुपमा पनि पुज्ने प्रचलन छ । देशका विभिन्न स्थानहरुमा नचाइने लाखेनाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदिइयोस भनेर लाखेनाच नचाउने गरिएको कथाहरु पाइन्छ ।

यो नाचमा लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ

काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजियाः लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघि अघि मजियाः लाखेनाचदै हिंडने प्रचलन पनि छ । लाखेनाचमा प्रेम प्रसंग पनि जोडिएको छ । यो किवन्दति हो सुन्दा र पढदा अपत्यारिलो पनि हुन सक्दछ । लाखे शब्द पनि यसै प्रसगमा जोडिएको छ । कुनै कालमा उपत्यकामा नेवारी ज्यापु कृषक खेतमा काम गर्न जाँदा एक जना युवकले खेतीको काममा सहयोग गर्न आउदा रहेछन । खेतमा काम गर्दा खाजा खाने वेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाइ आफ्नो झोलाबाट ला अर्थात मास, खेंय अर्थात अण्डा निकालेर खाँदा रहेछन । यस्तोक्रम दैनिकी हुदो रहेछ । नेवारी भाषामा मासुलाई ला र कुखुराको अण्डालाई खेंय भनिन्छ । ला र खेँय खाने भएर त्यसको नाम लाखेय रहन गएछ ।

कृषकको एउटी सुन्दरी छोरी रहेछ । आमा बाबु खेतमा काम गर्न नगई छोरीलाई मात्र पठाउँदा खेतमा कामको मेलो धेरै सर्दो रहेछ । लाखेंय आई खेतमा काम गर्दा गर्दै जाँदा लाखेंयसँग कृषकको छोरीको प्रेम बसेछ । समय बित्दै जाँदै गर्दा लाखेंय सित सम्बन्ध बढदै गएछ । टोलमा गाँईगुई चलेपछि टोलका मानिसहरुले केटीको बाबुलाई यो कुरा सुनाएछन् । राती चियो गर्दा लाखेंय आई छोरीसँग बसिरहेको बाबुले देखेछन । त्यसपछि चिकंमुगलका राजालाई लिएर आई लाखेंयलाई बाधेछन् । लाखेंयले आफ्नो यथार्थ कुरा सुनाएछ । मलाई बाँधेर नराख्नु होला । तपाईको छोरीले नदेख्ने डोरीले मलाई बाँधिसकेको छ । तपाईहरुले बाँधेको यो डोरीलाई मैले चुँडाल्न पनि सक्छु । तर तपाईको छोरीले बाँधेको डोरीलाई मैले चुँडाल्न सक्दिन । तपाईहरुले जे जे भन्नु हुन्छ त्यो मैले मान्छु भने पछि राजाले लाखेंयको जिम्मा लिएपछि लाखेंयलाई बन्धन पूmकाएर सबैको बीचमा राखेछन् । त्यसपछि राजालाई म तपाईसँग डराउँछु भनेर लाखेंयले भने छन् । लाखेंयको कुरा सुनेर राजाले किन मसँग डराउने भन्दा जस्ले माया गर्छ, उसँग डराउनु पर्छ भनि लाखेंयले भनेछ ।

त्यसो भए पहिले जस्तै यताउताका बच्चाबच्चीलाई टिप्दै खान पाउँदैनौ भनेर राजाले भने पछि लाखेंयले हुन्छ भनेछ । हामीले अह्राएको काम पनि गर्छौ ? भनी सोध्दा त्यो पनि लाखेंयले हुन्छ भनेछ । त्यसो भए हामीले ताली बजाउँछौ तिमि नाच भनेपछि लाखेंय नाच्न थालेछ । त्यसपछि लाखेंयलाई वर्षको एउटा राँगो दिने गरी लाखेंयलाई घर ज्वाइँ बनाई राखे छन् । अनि टोलका बच्चाबच्चीको रखवारी र टोलको सुरक्षा गर्ने जिम्मेवारी लाखेंयको भएछ । लाखेंयको कार्यबाट प्रभावित भएर सबै टोलका मानिसहरु उनको प्रिय हुन गएछन् । त्यसबखत मजिपाटको नजिक मखन, इन्द्रचोक र त्यसको वरिपरि चण्डी र कुमार नामका दुई जना सवभक्कुहरु रहेछन् । तिनीहरुले टोलमा रहेको पोखरीमा पालिएको माछा खानुको साथै प्रत्येक दिन एक जना मानिस उनीहरुको अगाडि गएर मर्न तयार हुनु पर्दो रहेछ । समय बित्दै गयो टोलका मानिसहरुको सख्या घटन थाल्यो । टोलका मानिसहरु सहयोगको लागि मजिपाटको लाखेंय कहा पुगे । टोल वासीका कुरा सुनेपछि लाखेंय एकै चोटि जोसमा आएर ल हिंड ! मलाई देखाई देओ भनी तिनीहरु सबैलाई साथमा लिई इन्द्रचोक तिर लागेछ । सवभक्कुलाई भेटे पछि मुक्का मुक्की भएछ । लाखेंयले भीमसेनको रुप धारण गरी तिनीहरुलाई वीष्णुमती पारी हुत्याई दिएछन् । त्यहाँबाट सवभक्कु भागेर हलचोकको आकाश भैरवको शरणमा पुगेछन् । आकाश भैरवले सवभक्कुलाई बायाँ हातले च्यापेर दायाँ हातको खडग देखाएर तिनीहरुको संरक्षण गरे छन् । त्यसपछि पनि सवभक्कुलाई देख्ने वित्तिकै लाखेंयले हमला गर्न थाल्दो रहेछ ।

नेवाः समुदायमा चाडपर्व गथामुगःबाट सुरु भई सिथी नखः पछि अन्त हुन्छ । गथामुगः पछि गुन्हुपुन्हि अर्थात् गाईजात्राको ९ दिन मोहनी दशैं स्वन्ती वा न्हुदँ तिहार, माघे संक्रान्ति, श्रीपंचमी, सिलाचह्रे शिवरात्री, चैत्रदशैं, पाँहाचह्रे नेपालीमा घोडेजात्रा, भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरु मनाउने गर्दछन् । जात्राहरु आफ्नो स्थानीय प्रचलन अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौंमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ जात्रा, आदी जात्राहरु मनाउने गर्दछन् ।

नेवार जातिको मूलथलो काठमाडौं उपत्यका हो । उपत्यकामा रहेका नेवार जातिहरु मध्यकाल अर्थात् विसं ९३७ देखि १८२६ सम्म ब्यापार गर्नको लागि उपत्यकाबाट बाहिर बसाइँ सराइ सुरु गरेका हुन् । नेवार जाति नेपालको आदिम जातिहरु मध्यमा पर्दछन् । जुन कारणले नेवार जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृति समेत गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवार जाति अर्थात समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम नेपालभाषा हो । नेपालभाषा शब्दको नामकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरुमा पाइन्छ । नेपालभाषाको आफ्नै लिपिहरु रन्जना लिपि र भुजिंमोल लिपि छन् । तर पनि नेवालभाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग हुने गर्दछ । नेवार जातिहरुको बारेमा धेरै अनुसन्धान भएका छन् । अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे अनुसन्धान भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्टरुपमा थाहा हुन सकेको छैन । अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । पछिल्लो तथ्याक अनुसार नेवारहरुको जनसंख्या १३ लाख २१ हजार ९ सय ३३ रहेको छ । नेवार जातिको कूलसंख्याको करीब आधा जनसंख्या उपत्यकामा बसोबास गर्दछन् ।

नेवार जातिहरु धर्मका हिसाबले पनि शैव र बौद्ध धर्म मान्नेहरु छन । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई देश छाडेर जानु भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए । अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन । नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गएका छन । यसरी नेवारहरुको रगत, धर्म पनि अलग अलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै किसिमको देखिदैन । कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width