१) प्रणयको प्रसंग – बलि राजा र युधिष्ठिरको वार्ता सर्वयुुग रोचक छ । बलिले सोधे, ‘तिम्री आमा कुन्ती साह्रै राम्री छिन् । उनलाई देख्दा तिमीलाई यौन चाहना हुँदैन ?’ युुधिष्ठिरले ढाँटेनन् । उनले ‘हुुन्छ !’ भनेका थिए । तर युुधिष्ठिर संयमित थिए ; आजका हाम्रा लोके, किस्ने, नाराने आदि इत्यादिले शक्तिको चरम दुरुपयोग गरेर धेरैजना राम्रीको बेइज्जत गरिरहेका छन् । यिनीहरुले पवित्र र महान यौनसम्बन्धलाई घृणित सामाजिक रोगका रुपमा फैलाएका छन् । युवाका मन मैलाएका छन् । झाँक्रीले आफ्नै सम्मानित नेतृलाई बालकोट जान भनिन् । सर्पको खुट्टा सर्पले देख्छ अरे । राष्ट्रपतिमाथिको लाञ्छनाले प्रधानमन्त्री आगो हुन्छन् ।
२) पाटनका ६ प्रधान – सन् १७४६ तिर पाटनमा ६ प्रधानहरु मनपरी उपद्रो गर्थे । यिनीहरुले राजा राज्यप्रकाश मल्लको आँखा फोडिदिए । त्यही पीडाले राजा मरे । त्यो ठाउँमा तिनै पाटनेहरुले रणजित मल्ललाई राजा बनाए । उनलाई पनि छिटै धपाए । फेरि यिनीहरुले जयप्रकाश मल्ललाई राजा बनाए । उनलाई पनि तुुरुन्तै खेदे । फेरि विश्वजित मल्ललाई राजा बनाए । उनलाई एकजनाकी स्वास्नीको बात लगाएर काटे । यी फटाहाहरुलाई पृथ्वीनारायण शाहले मृत्यदण्ड दिएका थिए । आजका हाम्रा केपी ओलीसहितका ६ पूर्व प्रधानमन्त्रीहरुको चरित्र इतिहासका तिनै उपद्रवीसँग ठ्याक्कै मिल्छ । सबै वैदेशिक हस्तक्षेप विरुद्धको कुरा गर्छन् । सधैं देश बेच्न उद्यत रहन्छन् । ६ पाटनेबारे बालचन्द्र शर्मा लेख्छन्, ‘ती उपद्रवी प्रधानहरुको सर्वस्वहरण गरियो र प्राणदण्ड दिइयो (नेपालको ऐहिासिक रुपरेखा पृष्ठ १६१) ।’
३) संविधानका धारा– पञ्चायत कालमा पनि विकासका नाउँमा गाउँगाउँमा धारा बनाइन्थे, धारामा पानी आउँदैनथ्यो । आजको हाम्रो संविधानमा अनेक धारा छन्, पानी आउँदैन । संविधानको सुरुमै प्रस्तावनाका रुपमा आफ्नो इतिहासको गौरवप्रति घृणा फैलाइएको छ । राष्ट्रिय विभूतिको अपमान गरिएको छ । धर्मनिरपेक्षता र सनातनीलाई जुधाइएको छ । धारा १७६ (१,२, ३, ४, ५) लाई वकिलले जस्तो व्याख्या गरे पनि हुन्छ । संवैधानिक इजलास र मिडियाका थरिथरि व्याख्याले निक्खर नेपाली जनतालाई वाक्क पारिएकै थियो । फैसलापछि थप रडाको मच्चिँदै छ । कुर्सी हानाहान सुरु भयो, अब मान्छे हानहान हुन्छ । अब नेपाल हाइटीको हालततिर जान्छ ।
४) सर्वोच्चको सर्वोच्चता– सर्वोच्च अदालतले आफ्नो उच्चता कायम राख्नै सकेन । गिरिजाको संसद विगठनको एकलकाटे सिफारिस सदर भयो, त्यही काम मनमोहनले रीत पुर्याएर गर्दा पनि बदर भयो । राजनीतिक हिसाबले मनमोहन अल्पमतको प्रधानमन्त्री भए पनि वैधानिक हिसाबले बहुमतमै थिए । उनलाई संसदमा उभिनसम्म नदिएर अस्पतालकै बेडबाट राजीनामा दिन बाध्य पारियो । सर्वोच्चको शिरमा भदौ १२ को फैसला कलंक बनेर टाँस्सिइरह्यो । एकजना प्रधानन्यायाधीश राष्ट्रपति समक्ष चन्द्रशमशेरका चाकरझैं झुकेका थिए । ०७७ फागुन ११ गते सर्वोच्चले जे फैसला गर्यो, ०७८ असार २८ गते आफ्नो त्यही फैसलालाई दोहोर्यायो या भनौं जंगेले बोलेपछि बोल्यो सर्वोच्चले सुल्टिन चाहेन ।
केपी ओलीसहितका ६ पूर्व प्रधानमन्त्री सबै वैदेशिक हस्तक्षेपविरुद्धको कुरा गर्छन्,सधैं देश बेच्न उद्यत रहन्छन्
५) राजाका त्याग – हाम्रा पुराण र इतिहासमा राजाका त्यागका अनेक कथा छन् । भगवान कृष्ण र अर्जुन जोगीको भेषमा एकजना राजाकहाँ पुुग्छन्, साथमा एउटा सिंह हुन्छ । जोगीहरु फलाहार गर्छन् र सिंहका लागि मांसाहारको माग गर्छन् । जोगीले राजाको कलिलो छोरोलाई राजा आफैंले काटेर सिंहलाई आहारा दिन भन्छन् । राजा भगवानका सच्चा भक्त थिए । भोकाको भोक मेटाउनैपथ्र्यो । यसैले राजाले युवराजलाई काटेर सिंहलाई आहारा प्रदान गरे । जोगीरुपी अर्जुन दृश्य देखेर मूर्छित भए । होस खुल्दा राजकुमार सकुसलै पाइँदा छक्क परे । थाहा भयो, भगवान्ले भक्तको परीक्षा लिएका रहेछन् । हाम्रै महेन्द्र मल्ल जनताले खाएपछि मात्रै खान्थे । सन् १६४९ जनवरी ३० का दिन बेलायतका राजा चाल्स हाँसीहाँसी फाँसीमा चढे । राजा वीरेन्द्रले सेनालाई छेकेर नेताका ज्यान बचाइदिए । ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पेर लोकतान्त्रिक चरित्र देखाए ।
६) हाम्रा राष्ट्रपतिद्वय– गणतन्त्र नेपालले दुुईजना राष्ट्रपति व्यहोर्यो । भैंसी चढेर हुर्केका रामवरण राष्ट्रपति हुनुलाई जनताको ठूलो विजय मानियो तर उनैलाई कटुवाल काण्डमा राँगाको बुद्धि गरेको ठानियो । राष्ट्रपति विद्याबारे प्रचण्डले भने, ‘महिला भन्ठानेको त….! राजाको जतिको सान पनि रहेन, मान पनि रहेन ।’ कोरोना महामारीकै बेला यसपालि बर्खा सुरु भयो । १९ मा एउटा मर्दा २० हुनेहरु झनै रमाए । ‘पहाडियाँको जलाएँगे, नेपाल हम् चलाएँगे’ भन्ने राजेन्द्र उपप्रधानमन्त्री हुन पुुगे । ५ पूर्व प्रधानमन्त्रीहरु उतै बुझाउन चाहन्थे । केपी ओली उतै बुझाउन झनै हतारिए । धन्न राजेन्द्रको राज लामो चल्न सकेन । यहीं सम्माननीय राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीले अप्ठेरोमा पारे ।
७) कालो बादलमा चाँदीको घेरा– कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । पारस शाहको राजनीतिक भेटघाटलाई गणतन्त्रवादीले आपत्तिजनक माने । राजावादी उत्साहित देखिए । जनताका लागि कागलाई बेल । प्रतिगमनका विरुद्ध प्रतिगामीहरु चर्को स्वरमा चिच्याइरहन्छन् । धारा ७६(४) को फड्काइलाई संवैधानिक इजलासले अस्वीकार गर्यो । जित देउवाको होइन, माधवको भयो । सू को न्यानोमा रमाउनेहरु उत्ताउलिए । दरबार हत्याकाण्डका बेला आयोग बनाउन राजालाई उक्साएर माधव नेपाल आफैं भागेका थिए । अहिले देउवालाई उक्साएर भाग्ने बाटो पाएनन् । ओलीको पार्टी छ, प्रचण्डको पार्टी छ; बढी बाठो भएरै माधव नेपाल पार्टीविहीन बन्दै छन् । दुुई ठाउँबाट हारेरै ०६७ सालमा उनी प्रधानमन्त्री बनेका थिए, यसपालि उनका धर्मपिताहरु त्यस्तै सहयोगको मुडमा देखिँदैनन् । ०६७ वैशाखमै रवीन्द्र अधिकारीले लेखेका थिए, ‘माधव नेपाल आफैं चलिरहेका छैनन्, उनलाई अरुले चलाइरहेका छन् ।’
छर्लंग छ ः ऐतिहासिक ऐनामा राष्ट्रपतिभन्दा राजा धेरै माथि छन्, यद्यपि अबको राजा को र कस्तो भन्ने चित्र देखिँदैन । स्याल हुुइयाँ मच्चाउने सनातनी दर्जनौं चिरामा विभक्त छन् । ६ पाटने जस्ता नेताको अन्त्य चाहिँ अवश्यम्भावी छ ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१