पर्यटकका लागि भू–स्वर्ग हो खप्तड

के.वी. मसाल
वैशाख १, २०७९

घुमफिरमा निस्कने पर्यटकहरु अहिले सहरी क्षेत्रमा भन्दा प्राकृतिक क्षेत्र रुचाउँछन् । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले प्राकृतिक वातावरण रुचाउन थालेका छन् । पछिल्लो समय ग्रामीण पर्यटकहरुले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । पर्यटनको लागि संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय हुन्छन् ।

सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा ४ वटा जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र अहिले पर्यटकहरुका लागि गन्तव्य बन्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात् रुखका थुम्काहरु रहेका छन् । खप्तड प्रकृति प्रेमी पर्यटकहरुको लागि रमणीय मानिन्छ । सरकारले विसं. २०४३ सालमा २ सय २५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएपछि खप्तडको संरक्षण भएको छ । खप्तड हिमाली क्षेत्रदेखि चुरे शृंखलासम्म फैलिएको छ । पहिला खप्तड गाउँलेको चरिचरण क्षेत्रमात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाइ १ हजार २ सय ६२ देखि ३ हजार २ सय ७६ मिटरसम्म रहेको छ । निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकलाई २ दिन लाग्दछ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम स्थल हो । खापर दहलाई फन्को मार्दाको मज्जा पर्यटकहरुका लागि छुट्टै हुन्छ । पर्यटकहरुका लागि खप्तडमा सुविधायुक्त होटल, लज र रेस्टुँरा छैनन् । खप्तडमा सेनाको गुल्म रहेको छ ।

खप्तडको अर्काे आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन् । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए । उनले अन्वेषण गरेर बनाएका कयौं औषधी अझै सुरक्षित रहेछन् । खप्तडमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड पनि रहेको छ । खप्तड बाबाको आश्रमछेउमा सिसाखानी रहेछ । आश्रम वरिपरि पुच्छर नभएका अनौठा मुसा देखिन्छन् । त्यस्तै केदार ढुंगा, खापर दह, नाट्यश्वरी, निकुञ्ज प्रशासनको संग्रहालय आदिको अवलोकन पर्यटकहरुले गर्न सक्दछन् । छिनछिनममा पानी र घाम लाग्ने खप्तडमा बादलले रुखहरुलाई ढाक्दाको समयमा वातावरण अर्कै देखिन्छ । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म पर्यटकहरु घुमफिरका लागि जाने भए पनि बर्खामा लाग्ने गंगा दशहरा मेलामा खप्तडमा विशेष भीड हुने गर्दछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भुइँफूलले पाटन ढाकेको बेलाको वर्णन गरेरै सकिन्न । खप्तडको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै पर्यटकहरु। को यात्राको थकान मेटिन्छ घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न । हिउँमा खेल्न रमाउने पर्यटकहरुका लागि मंसिर, पुस र माघ उत्तम मौसम हुन्छ ।

पहिला खप्तड गाउँलेको चरिचरण क्षेत्रमात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ

खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसारको कमी रहेको छ । तर पनि प्राकृतिक रुपमै रहेको भू–स्वर्ग जस्तै प्रकृति हेर्न खप्तड धेरै पर्यटक पुग्ने गर्दछन् । खप्तड घुमफिर गर्न चाहने पर्यटकहरुका लागि अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो । ठूल–ठूला पाटन अर्थात चौर, दह, जीवजन्तु र हिमाल खप्तडको सौन्दर्य हो । खप्तडको प्रकृतिको सुन्दर पाटनमा पुग्दा मन हल्कामात्र होइन, तनाबबाट मुक्ति मिलेको पर्यटकलाई आभाष हुन्छ । आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । परापूर्व कालमा युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए भन्ने भनाइ छ । स्कन्द पुराणमा खप्तडको वर्णन पाइन्छ । खप्तडलाई स्थानीय भाषामा ‘खेचराद्री’ भनिन्छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । खप्तडमा त्रिवेणीधाम, सहस्रलिंग, केदारढुंगालगायत धार्मिक सम्पदा पनि छन् । त्रिवेणीधाममा गंगा दशहराका बेला जेठ–असारमा ठूलो मेला लाग्छ । रातभर देउडा नाचगान गरेर बिहान त्रिवेणीमा नुहाइधुवाइ गरेर तीर्थाटनका पर्यटक आफ्नो बाटो लाग्छन् । खप्तडमा वर्षैभरि घुमफिर गर्न सकिन्छ । जेठ, असार साउनमा खप्तडका पाटनहरु भुइँ फूलले ढक्कमक्क हुन्छन् । रंगीचंगी अनगिन्ती फूलहरु पाटनमा कार्पेट बिच्छ्याएझैं लाग्छन् । असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुनसम्म हिउँले ढाकिएर खप्तड सुन्दर देखिन्छ । तराईबाट यति नजिक हिउँमा खेल्न पाइने अर्को ठाउँ नै छैन । चौतर्फी फूलेका लालीगुराँसले फागुन चैत, वैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डपझै लाग्छ । खप्तडमा ७ थरीका लालीगुराँस फुल्छन् । खप्तडको डाँफे कोट र भ्यु टावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।

खप्तड पुगेपछि धेरै पर्यटकहरु खप्तड बाबाको जीवनीबारे जान्न चाहन्छन् । खप्तडमा ५० वर्ष बिताउनु भएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रुपमा चिनिनुहुन्छ । सन् १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मनुभएका खप्तडबाबा विक्रम संवत् १९८६ मा नेपाल आउनु भएको थियो । संन्यास लिनुपूर्व उहाँ प्रतिभावान् डाक्टर हुनुहुन्थ्यो । उहाँले कोलकाता स्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गर्नुभएको थियो । काशीको दक्षिणा मूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापनपश्चात् गहन साधनाका लागि नेपालको खप्तड लेक रोज्नु भएको थियो । खप्तडबाबाका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान सार संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरुष धर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान एवं ३ ओटा अंग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित छन् । प्रकाशित हुन नसकेका उहाँकै हस्तलिखित अरु थुप्रै कृतिहरु पनि छन । यी ग्रन्थहरुले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेको छ । वैदिक सिद्धान्त र दर्शनअनुरुपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरुमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान्, कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ । विचार विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ सामान्य पढे लेखेकादेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्तीले पनि यी ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका छन । खप्तड बाबा महान् तपस्वी, ज्ञानी, त्यागी, योगी, लेखक, साधक हुनुहुन्थो । पहिला खप्तड लेक पहाड र जंगलमात्र थियो । अहिले खप्तडसँग खप्तडबाबा गाँसिनुभएको छ । बाबाका कारणले खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ । खप्तडबाबाको विक्रम संवत् २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन ब्रह्मलीन हुनु भएको हो ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभएर तीर्थाटन पर्यटन र पर्या पर्यटनको हिसाबले पनि खप्तड पर्यटनका लागि गन्तब्य बनेको छ । खप्तड लेकमा २ सय ६० प्रजातीका चराहरु, ५ सय किसिमका जडिबुटी, विभिन्न किसिमका फूलहरुले सिंगारिएको खप्तड धर्तीकै स्वर्ग भूमि भन्दा पनि हुन्छ । जैविक विविधताले भरिपूर्ण यो ठाउँ प्रकृतिप्रेमी, अनुसन्धानकर्ता पर्यटकका लागि महत्वपूर्ण मानिन्छ । अहिले नेपाली सेनाले यसको संरक्षण गरी राखेको छ ।

पछिल्लो समय पर्यटकहरका लागि यतिखेर खप्तडबाबाको आश्रमस्थललाई संग्रहालय बनाइएको छ । संग्रहालयमा बाबाले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछ्यानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन पर्यटकले हेर्न पाउँछन् । समग्रमा खप्तड आफैं प्रकृतिको एक जीवित संग्रहालय मानिन्छ । क्षेत्रमा सुर्मा काली, बढीमालिका र अन्य मन्दिरहरु पनि छन् । खप्तडमा पुराना मठमन्दिरका भग्नावशेषहरु पनि पर्यटकहरुले अवलोकन गर्न सक्छन् । खप्तड सांस्कृतिक, प्राकृतिक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ ।

खप्तड क्षेत्रमा चारैतिर घनघोर जंगल र बीचमा ठूला फाँट छन् । जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा घाँसे मैदान, थुम्का, जंगलहरु, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो मुख्य घुमफिरका ठाउँ हुन् । पर्यटकहरु खप्तड पुग्यो भने फर्कन मन गर्दैन । खप्तडको घुमफिरमा सुदूरपश्चिमका बझागं, बाजुरा, डोटी र अछाम जिल्लामा पाइला राख्न सकिन्छ ।
खप्तड क्षेत्रमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति र नेपाली सेनाबाट यात्रीलाई धेरै सुविधाहरु दिइँदै आएको छ । तर निकुञ्जमा घुमफिर गर्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको छ । सरकाले निश्चित मापदण्ड बनाएर अब खप्तडमा पर्यटकका लागि होटल सञ्चालनमा ल्याउन पर्दछ । अब पर्यटनको व्किास गर्न खप्तड क्षेत्रको साथै रामारोशन, बडिमालिका, मालीकार्जुन आदि ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलको सम्भावयता अध्ययन गरेर ग्रमीण पर्यटन स्थलको विकास हुन पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width