पोखराको नाग पोखरीमा नागपञ्चमी मेला

शिवप्रसाद गौतम
श्रावण १५, २०७९

यो संसारमा शास्त्रहरूका अनुसार चौरासी लाख जुनी छन् । त्यसमध्ये सर्प पनि एक हो । घस्रेर हिँड्ने हात खुटा नभएको लामो, विषालु किरो लाम्किरो, साँप, सर्प हो । संस्कृत भाषामा सर्पलाई नाग भनिन्छ । नागका नागराजा र नागरानी पनि छन् । सनातन धर्मावलम्बीहरू नागको पूजा गर्छन् । नागले मानव जातिको हित गर्ने हुनाले पूजा गर्छन् । साउन शुक्ल पञ्चमीको दिन नेपालमा हिन्दुहरूले नागपञ्चमीमा नागको पूजा गरी नागका चिह्न अंकित चित्रहरू घरको मूल ढोकामा टाँसेर संसारको रक्षा गर्ने नागजातिप्रति आदर सम्मान प्रकट गरी नागपञ्चमी पर्व मनाउँछन् ।

पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकि, तक्षक, कुलिन, कर्काेटक, पद्म, शंखचूड, महापद्म र धनञ्जय नामका ८ नाग छन् । नागको वासस्थानलाई नागदह भनिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने ठाउँ दहलाई नागदह भनिन्थ्यो ।

पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पाशोलाई नागपाश भनिएको छ । रामायणमा भगवान् राम र रावणबीच युद्ध हुँदा रावण पुत्र इन्द्रजितले स्वयं राम र लक्ष्मणलाई नागपाशमा पारेर दुख दिएको थियो । विष्णु भगवान्का बाहन गरुडले उहाँहरूलाई नागपाशबाट मुक्त गरेकोे कथा प्रसंग वाल्मीकि ऋषि र भानुभक्तीय रामायणमा पाइन्छ । गरुड कश्यप पत्नी विनिताका पुत्र हुन् भनेर शास्त्रले भनेको छ । गरुणदेखि नाग भयभित हुन्छन् । गरुडको आहार सर्प नागहरू हुन् । मानिसहरू डराए भने गरुणको छायामा परेजस्तो भयो भन्दछन् ।

सहस्र फणा भएका सर्पहरूको राजा शेषनागलाई नागराज भनिन्छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशी ४ महिना भगवान् विष्णु शेषनागलाई शयन बनाएर सुत्नु हुन्छ । यो समयलाई चातुरमास पर्वको रूपमा विभिन्न धार्मिक कार्यहरू गरेर मनाइन्छ । भगवान् शिवको माला नागको माला हो । धातुहरूमा महँगो मणि मानिन्छ । पद्मरागमणि, लालमणि र मानिकमणि भन्दा पनि महत्त्वपूर्ण पाउन दुर्लभ मणि नागमणि विशेष प्रकारका नागमा पाइन्छ भनिएको छ । नाग सर्पबाट मानिसलाई धेरै फाइदा छ भने बेफाइदा पनि छ ।


सर्पको विष कडा हुन्छ । सर्पबाट अहित भनेको यही एउटा विषय हो । अन्यथा धेरै फाइदाहरू छन् । सर्पले किसानका अन्नबाली क्षति गर्ने किरा फट्यांग्रा, मुसा आदि खाइदिएर बालीको रक्षा गरिदिएका हुन्छन् । त्यसैले वर्षको एक पटक सर्प नाग जातिको पूजा गर्ने परमपरा छ । नागपञ्चमीमा पाठ गरेर पूजा गरिने नाग स्तोत्र यस प्रकार रहेको छ ः

अगस्त्यश्य पुलस्त्यश्च वेशम्पायन एव च ।
समुन्तुर्जैमिनिश्चेव पञ्चैते बज्रावारका ।।१।।
मुनेः कल्याण मित्रस्य जैमिनेश्चापी कीर्तनात् ।
विद्युदग्निमयं नास्ति लिखित गृह मण्डले ।।२।।
अनन्तोवासुकिः पदमोमहपद्मश्च तक्षक ।
कुलीरः कर्कट शंखचास्टौ नागा प्रकीतिता ।।३।।
यत्राहिशायो भगवान् यत्रास्ते हरिरीश्वरः ।।
भङ्गो भवति बज्रस्य तत्र का कथा ।।४।।

भावार्थ :
अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनि यी ५ जना बज्रवारक (बज्रबाट रक्षा गर्ने) मुनिहरू हुन् । कल्याणभित्र जैमिनी ऋषिको कीर्तन गर्नाले र घरको ढोका आदिमा नाग तस्बिर टाँस्नाले चट्याङ र आगोको भए हुँदैन ।

अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख या ८ नागको स्तुति गरिन्छ पूजा गरिन्छ । जहाँ नागराजामा शयन गर्नु भएको विष्णु भगवान् विराजमान हुनुहुन्छ त्यहाँ बज्र त टुटुफुट हुन्छ भने शूल र रोगव्याधाको के कुरा ।।

नदी ताल तलैया र पोखरीहरू सबै नागका बासस्थानमात्र होइनन् । मानवका लागि अत्यन्त महत्वपूर्ण प्राकृतिक सम्पदा हुन्

यस वर्ष नागपञ्चमी साउन १७ गते परेको छ । नागहरूको वासस्थान जलाशय भएकोले श्रद्धालु भक्तजनहरू नागपञ्चमीमा नदी तालहरूको पवित्र जलमा स्नान गरेर नागको पूजा गर्छन् । वृद्ध वा आमाहरूले त धेरै नदी र तालमा स्नान गर्नु हुन्छ । पोखराको पोखरा १३ मा रहेको कमलताल जहाँ बीचमा नागको मूर्ति र तालमा कमल फूल फूलेका छन् त्यहाँ गएर स्नान गरेर नागको पूजा गरेर आफ्नो धार्मिक कर्म पूरा गर्छन् । आजको दिन यो ठाउँमा धार्मिक मेला लाग्छ । श्रद्धालुत्तक्तरूले भजन कीर्तन गरेर मेलालाई आकर्षक बनाउँछन् ।

पोखरा महानगरपालिकाले स्थानीय निर्वाचनको नजिकमा आएर यो तालको मापदण्ड २५ मिटर कायम गरेको थियो । यो ताललाई सिमसार क्षेत्रमा पनि पारिएको छ ।

नागपञ्चमी आजको दिन विश्वकर्मा आमा समूहले कमलका पात बेचेर आय आर्जन गर्ने गरेको छ । तालको छेउमा नाग र विश्वकर्माका मन्दिर बनाएर मूर्ति स्थापना गरी यो क्षेत्रको महिमा पनि बढाएको अवस्था छ । श्रद्धालु भक्तले यही राखिएका नागको श्रद्धा भक्तिपूर्वक पूजा गर्दछन् । महानगरबाट बर्सेनि विनियोजित रकमबाट विश्वकर्मा समूहले तारबार गरेर संरक्षण गरेको छ ।

महानगरले धरेथोर बजेट बर्सेनि दिए पनि कमलपोखरी संरक्षणका लागि चासो राखेको छैन । यो तालको पानीको निकास खाँद कुलोको आसपासका खेत धनी र गृह निर्माण गर्नेहरूले कुलोको मापदण्डमात्र होइन, कुलोको नापनक्सामा भएको जग्गसमेत अतिक्रमण गरेर कुलो नै नष्ट गरेका छन् ।

टोलबासी सबै सक्रिय भएर यो धार्मिक तथा पर्यटकीय स्थल बुडुवाफाँट कमल तालको सबै सक्रिय भएर लागेर समस्या समाधान गर्नुपर्ने देखिन्छ । २०३१÷०३२ को नापी नक्सामा तालको क्षेत्रफल २८ रोपनी १४ आना रहेकोमा अहिले २३ रोपनी ५ आना देखाएको छ ।

पोखरा महानगरभित्र जति पनि नदी ताल तलैया र पानी पोखरीहरू छन् यी सबै नागका बासस्थानमात्र होइनन् । हामी मानवका लागि पनि अत्यन्त महत्त्वपूर्ण प्राकृतिक सम्पदा हुन् । यिनको पूर्ण रूपमा संरक्षण गरेर पोखरा सहरलाई अझ बढी महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थल बनाउन संघीय, प्रदेश, स्थानीय सरकारहरू र श्रद्धालुभक्त महिला, पुरुषहरूको ध्यान जाओस् आजको धार्मिक पर्वको विशेषता यही बनोस् शुभम् । जय नागराजा नागरानी ।

Related News

सम्बन्धित समाचार

hero news full width