गोरखाका ऐतिहासिक सम्पदा

के.वी. मसाल
भाद्र २२, २०७७

कोरोना भाइरसका कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । पर्यटन व्यवसायमा लागेका मानिसहरु आत्तिएका छन् । अब यो व्यवसाय के होला ? हिजोको जस्तो के अब नेपालमा बाह्य पर्यटकहरु आउँलान ? पर्यटन व्यवसायीहरु पुनः आफ्नो व्यवसायमा फर्कन सक्लान् ? यस्ता प्रश्नहरु सबैका मनमा उब्जिन थालेका छन् । तर पर्यटन व्यवसायी नआत्तिए हुन्छ । किनभने मानिस रमाउनका लागि नै पैसा खर्च गर्दछ र घुमफिरमा रमाउँछन् । पर्यटन मानवीय गुणको चालसम्बन्धि मनोवैज्ञानिक विषयवस्तु हो । हो हिजोको जस्तै बाह्य पर्यटक यतिखेर नेपालमा नआउन सक्छन् । तर आन्तरिक पर्यटन भने रोकिँदैन ।

आन्तरिक पर्यटनका लागि पुग्नै पर्ने जिल्ला हो गोरखा । नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरि नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनदेखि लिएर शाहवंशको सुरुआत भएको जिल्ला हो गोरखा । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराइको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलार्ई हिमालपारीको गोरखा भन्ने गरिन्छ । गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेका छन् । मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा छन् भने कल्छुमन ताल, कालाताल नारदकुण्ड, दूधपोखरी जस्ता ताल र पोखरीहरु पनि गोरखामा रहेका छन् । गोरखा भित्र मनास्लु, हिमालचुली जस्ता हिमचुचुरा र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु गोरखाका धरोहर हुन् ।

नेपालकै सुन्दर गाउँहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होमस्टेकोसमेत व्यवस्था गरेका छन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइझ्याई बाजा बजाएर स्वागत गरिन्छ । बाजागाजासँगै गाउँ घुमाई स्थानीय परिकार सबैजसो घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिडो, खान पाउँछन् ।

गोरखा जिल्लाका गुरुङ समुदायका ग्रामीणबस्ती वारपाक, लाप्राक जस्ता रमणीय गाउँहरु छन् । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको बिस्तारले गर्दा गोरखा जिल्ला आजभोलि आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने जिल्लाको नाममा पर्न थालेको छ । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक । प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक ०७२ सालको भूकम्पपछि पुनःनिर्माण भै रहेछ । दरौदी नदीको किनारैकिनार पुगिने बारपाक जादा प्रसिद्ध दर्जनौं झरना र धेरै हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । बारपाकमा नेपालकै सुन्दर गाउँहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होमस्टेकोसमेत व्यवस्था गरेका छन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइझ्याई बाजा बजाएर स्वागत गरिन्छ । बाजागाजासँगै गाउँ घुमाई स्थानीय परिकार सबैजसो घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिडो, खान पाउँछन् । बारपाक जाने पर्यटकले मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र स्थानीयस्तरमा बनाइएको आधा गिलास रक्सी पनि दिइन्छ ।

गोरखामा लिगलिगकोट बाहेक अन्य साना–ठूला गरी ३६ वटा कोटहरु छन् । सबैभन्दा बढी अग्लो कोट अजिरकोट हंसपुरमा छ । जसको उचाइ ६ हजार ५०० मिटर रहेको छ । अन्य कोटहरुमा उपल्लोकोट, जुन हनुमान भन्ज्याङको पूर्वपट्टी उकालो चढेपछि भेटिने कोट हो । जुन कोटमा बज्र भैरवको मूर्ति छ । गोरखा जिल्लाका अन्य रमणीय पहाडको शृङ्खलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङकोट जस्ता ऐतिहासिक कोट छन् । तर पनि पश्चिम गोरखाको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकि लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुआत भएको ठाउँसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । लिगलिगकोटबाट मनास्लु हिमालको दृष्य अवलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल पनि देख्न सकिन्छ ।

गोरखाको इतिहास खोज्ने हो भने पृथ्वीनारायण शाहभन्दा पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरणको प्रयास भएको पाइन्छ । त्यस वेला पाल्पा राज्य ठूलो थियो । गोरखा पनि पाल्पा राज्यको अधिनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन । त्यसपछि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरुले आफै राज्यको घोषणा गरी राज्य चलाउन थाले । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य सन्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परमपराको थालनी भयो । जुन परमपराले प्रत्येक वर्ष विजयादशमीको दिन दौडबाट राजा छान्न थालियो । त्यसलाई लिगलिगकोटको दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ कि.मि को दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए ।

नेपालको इतिहासमा नै गोरखा जिल्लाको पहिचान र महत्व छुट्टै रहेको छ । नेपाल एकीकरणको वेला ज्योतिषको ज्ञानबाट गणितिय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो । साथै भीमसेन थापा, लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासँगको लडाइमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो । यसैगरी शाह वंशका राजाहरुमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्वर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपती शाह, नर भुपाल शाह,र पृथ्वीनारायण शाहको जन्म पनि गोरखामानै भएको थियो । गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकाले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको अर्को प्रसङ्ग पनि छ ।

राजसंस्थाको विलयपछि अहिले गोरखा जिल्लाको ऐतिहासिक स्थल पर्यटकीय स्थल बनेका छन् । गोरखा पुग्ने मानिसहरुले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन् । पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ । गोरखा दरबारले ऐतिहासिक महत्व राखेको छ । यो दरबार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाइ छ । गोरखा बजारको मध्य भागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाहरुको इतिहाससँग जोडिएको छ । यस दरबारले मल्लकालीन वस्तुकलाको नमूना प्रस्तुत गरेको छ । यस दरबारको झ्याल ढोका र टुँडालहरुमा पौराणिक काष्ठ कलाको नमूना पर्यटकहरुले देख्न सक्दछन् । गोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट बिहानीको सूर्योदयको रमणीय दृष्य हेर्न सकिन्छ । यस स्थलले ऐतिहासिक महत्वसमेत बोकेको छ । गोरखा दरबार निर्माण हुनु अघि राजा राम शाहको दरबार यसै स्थानमा रहेको मानिन्छ । गोरखा दरबारको नजिक गोरखनाथको मन्दिर एवम् गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ ।

गोरखा बजारको केन्द्रमा सङ्ग्रहालय छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेको तल्लो दरबारमा रहेको सङ्ग्रहालयले गोरखा पुग्ने पर्यटकहरुको स्वागत गरिरहेको हुन्छ । सङ्ग्रहालयको गेटैसम्म साना सवारी साधन पुग्दछ । सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले परिचय पत्रका साथ सहुलियत र अन्य नेपालीले २५ रुपैयाँ तिरे पुग्छ । क्यामेरा प्रयोग गर्नेहो भने अतिरिक्त शुल्क तिर्नुपर्छ । मोवाइलको क्यामेरा प्रयोग गर्दा भने पैसा लाग्दैन । सङ्ग्रहालय छिर्ने बित्तिकै पर्यटकहरुको ध्यान दरबारले खिच्छ । त्यहाँ कुँदिएका बुट्टा, बनोटको कलाले सबैलाई लोभ्याउँछ । सङ्ग्रहालयको छायाँमा फोटो खिच्नेहरुको ताँती नै लाग्छ । सङ्ग्रहालय छिर्ने मुल ढोकामा पृथ्वीनारायण शाहाको पालाको तोप छ । मुलढोकाको दायाँ र बायाँ रहेको तोपमा आड लागेर फोटो खिच्न पर्यटकहरु पालो नै पर्खेर बसेका हुन्छन् ।

सङ्ग्रहालयको मुल ढोकाबाट भित्र छिरेपछि गोरखामा रहेका विभिन्न जातजातिको डमीले झनै कौतुहलता बढाउँछ । गुरुङ, कुमाल, भुजेल, कामी जातिको भेषभूषा र पेसा झल्कने डमी सङ्ग्रहालयमा राखिएको छ । दुरुस्त मानिस जस्तै देखिने डमीमा शैक्षिक भ्रमण आएकाहरु अझै धेरै समय भुल्छन् । सङ्ग्रहालयको माथिल्लो तला उक्लिएपछि सुरु हुन्छ, नेपाल एकीकरणको इतिहास । गोरखाको शाहकालीन इतिहासको चिनारी । पहिलो कक्षमा पृथ्वीनारायण शाहको पालामा गोरखामा भएका शिलालेख र चिनारीको झल्को पर्यटकहरुले हेर्न सक्दछन् । पहिलेका भाषा र ग्रन्थहरु पृथ्वीनारायण शाहाका भनाइहरुलाई फोटोमा उतारिएको छ । दोस्रो कक्षले पर्यटकहरुलाई धेरैबेर अलमल्याउँछ । त्यहाँ पृथ्वीनारायण शाहलाई देख्न पाइन्छ । उनको पालामा नेपाल एकीकरण कसरी सम्भव भयो ? फोटो हेरे सजिलै बुझिन्छ । भाइभारदारहरुलाई नेपाल एकीकरणको तयारी गराइरहेका तस्वीर त्यहाँ छन् । हात्तिमाथि चढेर पृथ्वीनारायण शाहाले नुवाकोट एकीकरणको योजना बुनेकादेखि युद्धको झल्को दिने तस्वीर पनि छन् ।

तेस्रो कक्षमा लोभलाग्दा हातहतियार छन् । सयौँ वर्ष पहिले प्रयोग हुने हतियारहरु त्यहाँ देख्न पाइन्छ । तोप, भाला, बन्दुक, जस्ता धेरै हतियार राखिएको छ । जुन अहिले प्रयोगमा आउने भन्दा धेरै भिन्न छन् । अहिलेका पुस्ताका लागि यो बिल्कुलै नयाँ छ । जुन हतियारको सहायताले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पार्दुभाव गोरखाबाट गरेका थिए । त्यसैको सीधा अगाडि राजगद्धी छ । उतीवेला पृथ्वी नारायण शाहले राज गर्दा प्रयोग गर्थे । चौथौँ कक्षमा पृथ्वी नारायण शाहका पालामा प्रयोग हुने पाँच पैसा देखि एक रुपैयाँसम्मका सिक्का छन् । तामा र सुनका पैसा पनि देख्न पाइन्छ । सङ्ग्रहालयको पाँचौँ कक्षमा भाँडावर्तन छ । पृथ्वीनारायण शाहदेखि राम शाहका पाला हुँदै अहिलेसम्म प्रयोगमा आएका माना, पाथि, ढक, तराजु । उतिबेला र अहिलेका भाँडा वर्तनमा धेरै फरक पाइन्छ । अहिले प्रयोगमा आउने भन्दा धेरै थरीका सटही सामानहरु उतिबेला प्रयोग हुन्थे । अन्तिम कक्षमा ठूला–ठूला मादल, ढोलक, नरसिंङया छन् । राजदरबारमा मेला उत्सव र महोत्सव हुँदा गोरखाका शाहाकालीन राजाहरुले प्रयोग गर्ने गरेका बजागाजालाई सङ्ग्रहालयमा सजाइएको छ ।

सङ्ग्रहालय भित्र छिरेको एक घण्टामा यहाँ भएका सबै कक्षा घुमेर सकिन्छ । सङ्ग्रहालयबाट गोरखकाली दरबार, गोरखनाथ मन्दिर देखिन्छ । तर अहिले भने दरबार पुर्नः निर्माणको चरणमा छ । गोरखकाली मन्दिरको जगदेखि भत्काएर निर्माण थालिएको छ । भुकम्पमा मन्दिर भत्किएपछि अहिले जगदेखि निर्माण सुरु गरिएको छ । मुख्य दरबार मर्मतको क्रममा रहेको भएपनि छेउमा रहेको अर्को दरबार, रोटपार्टी, गोखनाथ मन्दिर घुमफिर, हेर्न पूजापाठ गर्न पाईन्छ । पूर्न निर्माणको क्रममा भएपनि नियमित पूजापाठ र बलि दिने क्रम भने चलिरहन्छ । ४० मिनेटको पैदल यात्रा गोरखकाली दरवार सजिलै पुग्न सकिन्छ । गोरखकाली दरबारसम्म नै एकनासले ढुङ्गा बिच्याएर सिँढी लगाइएको छ । हिँडन गाह्रो लाग्ने पर्यटकहरु १० मिनेटमा ट्याक्सी चढेर पनि पुग्न सकिन्छ । मन्दिरमा प्रवेश शुल्क तिर्नु पर्दैन । मन्दिरको बायाँबाट भित्र जाने र दायाँबाट निस्कने फरक–फरक ढोका छ । मन्दिरमा गाँडिएका ध्वजा पतका र सिंगारिएको रङले पर्यटकको मन लोभ्याउँछ । दरबारभित्र शाहाकालीन राजाहरु बस्ने कोठा, उनीहरुले प्रयोग गर्ने चुलो चौका हेर्न पाइन्छ । काली, भगवाती सरस्वती धेरै देवीदेवताका प्रतिमूर्ति र गुरु गोरखनाथको गुफा छ ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको सल्लाह सुझाव दिने गोरखनाथको मन्दिरमा दैनिक पूजा गरिन्छ । गोरखनाथको आर्शीवाद लिने भक्तजनको दिनहुँ घुँइचो लाग्छ । गोरखनाथलाई मनपर्ने परिकारको रुपमा रोटलाई चिनिन्छ । रोट चढाएर खुसी पार्न सके भाकल पूरा हुने जनविश्वास छ । चामलको पिठोमा ५२ थरीका मसला मिसाएर रोट तयार गरिन्छ । यसरी तयार पारिएको रोट प्रसादको रुपमा बाँडिन्छ । गोरखकाली दरबार आसपासमा गणेश, दुर्गा भवानीलगायत धेरै देवीदेवताका मन्दिर र प्रतिमूर्ति छन् । एक घण्टा समयमा मन्दिर पनि पुरै घुम्न सकिन्छ । मन्दिरबाट निस्किएपछि माथिपट्टि सिद्ध पाइला भन्ने ठाउँ छ । सिद्धपाइलाबाट गोरखकाली मन्दिर र पछाडिपट्टि गाउँको रमाईलो दृष्य देखिन्छ । सिद्धपाइला भएको ठाउँमा तीन पटक घुमेर दुवै खुट्टा त्यहाँ रहेको पाइलामा टेक्न सके इच्छा पूरा हुने जनविश्वास छ । गोरखा दरबार परिसरमै राजा रामशाहाको झल्को दिने न्याय चौतारा छ ।

न्याय नपाए गोरखा जानु भन्ने उनको भनाइ जताजतै प्रख्यात छ । उतीबेला न्याय निसाब छिन्ने गोरखा बजारमा एउटा चौतारो छ । यस चौतारोलाई राजा राम शाहले न्याय दिने चौतारोको रुपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाइ छ । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमालदेखि पहाडसम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ गोरखा । ऐतिहासिक कोट, शक्तिपीठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरवार र कोटमौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन् ।

गोरखा काठमाण्डौँदेखि ५ घण्टाको बस यात्रामा पुग्न सकिन्छ । पोखरा, चितवनबाट पनि तीन घण्टा भन्दा धेरै समय खर्चनु पर्दैन । गोरखा बजार तनहुँको आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा पर्दछ । इतिहास र ऐतिहासिक सम्पदाको पहिचान गर्न पृथ्वीनारायण शाहादेखिको इतिहास हेर्न र अवलोकन गर्न गोरखाको सदरमुकाम छाडेर अन्यत्र जान पनि पर्दैन । गोरखा घुमफिर गर्दा खान बस्नका लागि कुनै समस्या पर्दैन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width