कास्कीको लोकतान्त्रिक आन्दोलनका क्रान्तिबाज गोपाल भुजेल

झपट रानाभाट
असार १०, २०७९

बाइसे–चौबिसे राज्य शासनकालमा नुवाकोट राज्यपछि पश्चिम ४ नम्बर नुवाकोट हुँदै स्याङ्जा जिल्लामा र विस २०३१ सालदेखि कास्कीमा गाभिएको पूर्वमा निर्मलपोखरी, पश्चिम स्याङ्जा फेदीखोला, उत्तर फुर्सेखोला, पोखरा–१७ र दक्षिण स्याङ्जाको टक्सार, पौवेगौडे सुरौदीखोला करीब २५.९१ वर्गकिमी भूगोल भएको कृस्तीनाच्नेचौर हाल पोखरा–२१ अन्तर्गत पर्छ । यहाँ विभिन्न जातजातिका समुदाय गरी ९ सय २० घरधुरी र जनसंख्या ७ हजार ७ सय ५० छ ।

माछापुच्छ्रे लगायत हिमश्रृंखला, पर्यटकको आँखाको नानी स्वरुप रहेको पोखराको सुन्दर फेवाताल, स्याङ्जा, तनहुँ, पर्वत र लमजुङ समेतका केही भूभाग देख्न सकिने मनोरम प्राकृतिक दृश्यावलीले भरिपूर्ण रमरणीय र मनमोहक स्थानका रूपमा मात्र हैन मुलुकमा हरेकबेला स्थापना भएका निरंकुश तानाशाही व्यवस्था, त्यसका संचालक र मतियारको मुटु थरथर काप्ने, निरंकुश, सामन्ती ब्यवस्था अन्त्यका क्रान्तिकारी मलामीहरु उत्पादनको उर्वरभूमिको रूपमा परिचित छ, कृस्तीनाच्नेचौर ।

यहाँको बयलीमा २०३० साल असार १० गते भक्तकुमार भुजेल ‘गोपाल’ को जन्म भएको थियोे । वहाँ २०२०/२१ सालमै बामपंथी आन्दोलनमा लागेका बुवा विनोदकुमार सिंह र आमा भगवती भुजेलका जेठा छोरा हुनुहुन्छ । वहाँको बाल्यकालको नाम गोपाल थियो । उहाँका बुवा शिक्षक हुनुहुन्थ्यो । आमा भगवती असल र मिहिनेती गृहिणी हुनुहुन्थ्यो । गोपालका २ दिदी, १ भाइ र १ बहिनी हुनुहुन्छ ।

ग्रामीण परिवेशमा हुर्केका गोपालले बाल्यकालमा खासै दुःख पाउनु भएन तर कम्युनिस्ट परिवारभित्र जन्मेको सन्तान भएको र कठोर भूमिगतकालीन समयमा नेताकार्यकर्ताको सम्पर्कको घर समेत भएको हुनाले पनि बाल्यवस्थादेखि नै जुझारु, क्रान्तिकारी र हरेकखाले विभेदका विद्रोही हुनुहुन्थ्यो । त्यसैले वहाँमा बालककालदेखि नै गरिबी र शोषणविरोधी चेतना विकास भयो ।

गोपाल शिक्षित परिवारका सदस्य भएकोले घरबाटै पठनपाठन सुरु भयो । वहाँले प्राथमिक तहको शिक्षा कृस्तीनाच्नेचौरकै बयली प्राथमिक विद्यालयबाट हासिल गर्नुभयो । २०३६ सालतिर वहाँका शिक्षक बुवा, भीमबहादुर थापा, मित्रलाल सुवेदी ‘सानो’ र गोपीचन्द्र पोख्रेलले २०१२/१३ सालदेखि नै वरिष्ठ बामपन्थी उमकान्त लामिछानेको नेतृत्वमा संगठन बिस्तारमा लागेका २०१६/१७ पछि पुराना धुरन्धर कम्युनिस्ट नेता लेखनाथ पोख्रेलसित कार्यनीतिक र सैद्धान्तिक रूपमा असहमति राख्नुभो। लेखनाथ पोख्रेलसितै त्यतिबेला धेरै युवाहरु डिबी गुरुङ, यमनाथ आचार्य (स्यार्तूम हराउनुभो), यामबहादुर थापा, टेकबहादुर थापा, विनोदकुमार सिंह, ऋषि गौतम, भीमबहादुर थापा, सुरेश थापा (माडी), कर्णबहादुर मल्ल, देवीप्रसाद शर्मा, मित्रलाल सुवेदी ठूलो, खगराज आचार्य, अग्निधर सिग्देल, गोपीचन्द्र पोख्रेल हुनुहुन्थ्यो। त्यसपछि क्रमशः मित्रलाल सुवेदी सानो, ठाकुर सुवेदी, मेघनाथ सुवेदी, खडानन्द आचार्य (दुम्सादी), गंगाप्रसाद अधिकारी, प्रेम रानाभाट (खाम्पुरकाण्ड २ महिना जेल) लगायत हुनुहुन्थ्यो । २०३५ बैशाख १० गते ४ विभिन्न कम्युनिस्ट घटकहरु मिलेर बनेको तत्कालीन नेकपा मालेका नेता त्रिलोचन ढकालको गहिरो प्रशिक्षण र संगठन क्षमताका कारण क्रान्तिकारी स्वभाव र निडर वहाँहरु २०३६ मा तत्कालीन मालेमा संगठित हुनुभो । वहाँहरु भन्दा अझ पहिल्यै कृस्ती, खाल्सेका लिलाधर पौडेल मालेमा समावेश भैसक्नु भएको थियो ।

त्यसको राम्रै प्रभाव भक्तकुमार भुजेल (गोपाल) मा सानै उमेरमा प¥यो । वरिष्ठ बामपंथी लेखनाथ पोख्रेलसँग विद्रोह गर्दै पहिलोपटक छ्वाप्प औंला काटेर फाराममा रगतको सही लगाई तत्कालीन नेकपा मालेमा कृस्तीतर्फको भूगोलमा संगठित हुन वहाँका पिता विनोदकुमार सिंह, ऋषि गौतम, भिमबहादुर थापा, जगन्नाथ भण्डारी पहिलोपटक तयार हुनुभो । त्यतिबेलै मित्रलाल सुवेदी ‘सानो’, मनोरथ आचार्य आदिहरु पनि मालेमा संगठित थिए ।

यद्यपि स्थायी शिक्षक सेवाबाट २ वर्षका लागि बिदा लिएर वहाँको बुवा र अर्का सहयोद्धा ऋषि गौतम वैदेशिक रोजगारका लागि २०३९ सालमा साउदी अरेबिया जानुभो । त्यसपछिको कृस्तीतर्फको तत्कालीन मालेको सांगानिक काम त्रिलोचन ढकाल, किरण गुरुङ, खगराज अधिकारी, शारदा सुवेदीहरुको अभिभावकत्वमा लोचना अधिकारी, लक्ष्मीप्रसाद अधिकारीहरुको नेतृत्वमा लिलाधर पौडेल, मित्रलाल सुवेदी सानोहरुले गर्नुभयो । यद्यपि लिलाधर पौडेल र मित्रलाल सुवेदी ‘सानो’ तत्कालीन नेकपा मालेको पार्टी सदस्य हुनुहुन्थेन । गैरपार्टी सदस्य मालेका कार्यकर्ता हुनुहुन्थ्यो । भक्तका बुवा विदेश जानु भएपछि पार्टीको सम्पर्क र सेल्टर दुबै मित्रलाल सुवेदी ‘सानो’ कोमा थियो । तत्कालीन अनेरास्ववियु पाँचौं कास्कीका सहसचिव, पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु पाँचौंका संयोजक लिलाधर पौडेल मार्फत २०४३/४४ सालमै गोपाल अनेरास्ववियु पाँचौंमा संगठित भैसक्नुभएको थियो ।

त्यतिबेलाको अनेरास्ववियु पाँचौं, भविष्य निर्माण मावि अध्यक्ष इ. चूडामणि लामिछाने हुनुहुन्थ्यो । त्यो बेला अनेरास्ववियु पाँचौंको पहिलो कमिटी निर्माणमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश तिमिल्सिनाले भाषण गर्दै गर्दा पन्चहरुले लखेटेका थिए । त्यसपछि क्रमशः अर्जुन पोख्रेल, मोहन थापा काजी, हुमनाथ लामिछाने, गोपाल भुजेल, शिवबहादुर पोख्रेल लगायत हामीहरुले नेतृत्व ग¥यौं । २०४६ सालको जनआन्दोलन वरिपरि अनेरास्ववियु, पाँचौंको हाम्रो इलाकातिरको कामको नेतृत्व क. टीकाराम पगेनी र कुलबहादुर रानाभाटले गर्नुहुन्थ्यो । टीकाराम पगेनी समेत हाम्रो इलाकाको पार्टी काममा संलग्न हुनुहुन्थ्यो ।

पदप्रतिष्ठाभन्दा पनि पार्टी र क्रान्तिलाई हरहमेसा कसरी के दिन सकिन्छ ? भन्ने विषयमा निरन्तर चिन्तित हुनुहुन्थ्यो

२०४६ सालको बहुदल अगाडिदेखि नै वहाँको रुचि फोटो खिच्ने, पन्चायत विरुद्धका जुलुसहरुमा हामी धेरैको नेतृत्व गर्ने, आफूलाई पार्टीले के दियो? पदप्रतिष्ठाभन्दा पनि पार्टी र क्रान्तिलाई हरहमेसा कसरी के दिन सकिन्छ ? भन्ने विषयमा निरन्तर चिन्तित, यहाँसम्मकी २०४६ सालको जनआन्दोलनमा कृस्तीतर्फबाट विद्यार्थीको नेतृत्वकर्ताभित्रै वहाँ पर्नुहुन्थ्यो तर २०४७ साल बैशाख महिनामा आयोजित तत्कालीन माले र बामपंथी दलहरूद्वारा गरिएको सन्देश सभामा अखिल पाँचौको वक्ता म किशोर उमेरको शुरूवातको विद्यार्थी थिएँ । वहाँले त्यस्तो वास्ता नगर्ने भन्दा पनि कमरेडहरु लिलाधर पौडेल, मित्रलाल सुवेदी सानो, जनक जोशी र हेल्थपोष्ट इन्चार्ज अर्जुन थापा सहितको मार्गनिर्देशनमा त्यतिबेलाका जिल्लामा मालेका ठूलै नेता खगराज अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित बहुदल पछिको पहिलो सभामा मलाई भाषण गर्न अगाडि बढाउनु भयो । त्यहाँ दाजु गोपाल, अर्जुन पोख्रेल र म लगायत थियौं । ती त्यतिबेलाका उपप्रधानपन्च खाल्सेका भोला पौडेल रहेछन् । अझ ब्यवस्थित चिनजान र सहकार्य तत्कालीन नेकपा मालेको २०४७ बैशाखमा कार्यालय वहाँकै घर कृस्ती बयलीमा प्रभा बराल, विद्याबिमल बराल सहितको उपस्थितिमा हुँदा भयो ।

कार्यालय उद्घाटन पहिले वहाँले प्राविसम्म पढेको बयली स्कुलमा मालेको कार्यक्रम समेत भयो, कार्यक्रम हुँदै गर्दा २०३८ सालमै मालेको विद्यार्थी संगठन अनेरास्ववियु, एकताको पाचौंका तर्फबाट छोरेपाटन मावि स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित खड्ग हमाल र ज्ञानबहादुर कार्की लगत्तै अभाव र गरिबीले भारत प्रवासिनुपरेको, त्यहीं भारत प्रवासमा नेकपा मालेको प्रवासी कमिटीमा काम गर्नुपरेका कमरेडहरु त्यो कार्यालय उद्घाटनमा भारतबाट टुप्लुक्क आइपुग्नु भएको मलाई झलझली याद छ ।

यसप्रकार क. गोपालसँगको मेरो निरन्तरको सफेद अविश्रान्त राजनीतिक सहयात्रा एकनासले २९ वर्ष पूरा बित्यो । कहिल्यै औंसी पूर्णिमा जस्तो वा ग्याप हुँदै भएन ।

यसरी कमरेड गोपाल र मेरो सहकार्य वहाँको जीवनसंगनिी सहनशीलताकी पर्यायवाची आदरणीय ऋतु कमरेडसँगको भन्दा लामो छ । किनकि क.गोपालको बिहे २०५३ सालमा मात्रै भएको हो । वहाँका चार छोरीहरू र एक छोरा छन् ।

भविष्य निर्माण माविमा वहाँले माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभयो । राजनीतिलाई जहिल्यै सामाजिक सेवाको रूपमा लिनु भयो । पार्टी र समाजलाई दिनु मात्र भयो, केही लिनु भएन । जसले गर्दा शिक्षित र मध्यम वर्गीय परिवारमा जन्मनु भएर पनि औपचारिक शिक्षा अवरुद्ध पार्नुभो । प्रवेशिका परीक्षामा एउटा मात्र कृषि विषयमा उत्तीर्ण हुनुभो । अनि नियमित पढाइ छोड्नुभयो । मलाई अहिले पनि लाग्दछ कि, वहाँले क्याम्पसमात्रै प्रवेश गर्न पाउनुभएको भए अनेरास्ववियु र पार्टीको नीति निर्माण गर्न सक्ने ठाउँमा पुग्नुहुन्थ्यो । अनि असमयमा वहाँको निधन नहुन सक्थ्यो । वहाँमा त्यति धेरै नेतृत्व क्षमता र कुशलता थियो, पाएको जिम्मेवारी जसरी पनि पूरा गरेरै छाड्ने वास्तवमा वहाँ नेताको पनि नेता हुनुहुन्थ्यो ।

तुल, ब्यानर, झण्डा सहितको उपयुक्त कार्यालय र मञ्च ब्यवस्थापन गर्ने, माइकिङ, पोस्टरिङ गर्ने, वाल पेन्टिङ गर्ने, ढुंगामा पेन्टिङ गर्ने वहाँको रुचि थियो । वहाँले घरमा दर्शन र राजनीतिशास्त्रसित सम्बन्धित धेरै किताबहरु राख्नु हुन्थ्यो । कम्युनिस्ट पार्टीका नेताहरुका तस्वीरहरु भित्तामा सजाउने, जननेता मदन भण्डारीका भाग १ देखि ११ नै सम्मका भाषणहरु बारम्बार सुनिरहने बानी थियो । वहाँ यस्तो हुनुहुन्थ्यो कि २०५० जेठ ३ मा मदन–आश्रितको रहस्यमय जीप दुर्घटनामा हत्या भएपछि कति दिन त खाना समेत खानु भएन । बलिद्रधारा रुनुभो । शव अन्त्यष्टीमा काठमाडौं समेत पुग्नुभो।

२०४६ को परिवर्तनसँगै केही मित्रहरूसहित पूरा गाविसभरि ब्याट्री, एम्लिफायर, ढ्वाङ काँधमा बोकेरै हामी प्रचारप्रसार र पार्टी काममा लाग्थ्यौं । अत्यन्तै क्रियाशील, जुझारु र साङ्गठानिक काममा उच्चस्तरको समर्पण भाव र निष्ठा अवर्णित थियो । खानपानको केही सन्दर्भ बाहेक पार्टी पद्धति र अनुशासन र गोपनीयताको जतिबेलै ख्याल गर्नुहुन्थ्यो । काम चोर्ने, गलत रिपोर्टिङ गर्ने, बोलेको वचन तोड्ने शैली थिएन । जिम्मा लिएको काम जुनसुकै हालतमा फत्ते गर्ने स्वभाव थियो । पार्टी निर्माणमा गैरपार्टी सदस्यको पनि उत्तिकै भूमिका हुन सक्छ । यसकारण कम्युनिस्ट पार्टी निर्माणमा सबै अग्रजहरुको सम्मान गर्दै हामी कृस्तीतर्फ २०४७ पौष २२ पहिलेको माले पार्टी निर्माण गर्ने भित्रै आफूलाई दाबा गर्छौ नै ।

राजनीतिलाई सामाजिक परिवर्तन, रुपान्तरण र समृद्धिसित जोड्न चाहने भक्त भूजेल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको होनहार युवा नेता हुनुहुन्थ्यो । राष्ट्रिय युवा संघ, नेपाल, कास्कीको पूर्व सचिव, बयली आधारभूत विद्यालय व्यवस्थापन समितिको धेरै पटक अध्यक्ष, कृस्तीनाच्नेचौरमा चुनाव परिचालन कमिटीको सहसंयोजक भै धेरै पटक निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन अहोरात्र लाग्नुहुन्थ्यो ।

२०४८ साल बैशाख २९ गते भएको आमनिर्वाचनमा मतदान सकिएपछि म सानो भएता पनि मतपेटिका सहित मलाई हिंडाएरै पोखरा पुर्‍याउनु भयो । मौजाको मतपेटिका आउन ढिलो भएकोले राति मत गणना भएन । नयाँ बजार लैजानु भो हिंडाएरै । मलाई सुरेशराज भण्डारीको घरमा औषधि पसल थियो जस्तो लाग्छ, ठूलो हलमा चिउरा मात्र खाएर प्वाल परेको सोफामा सुतेको हिजै जस्तो लाग्छ। भोलिपल्ट वहाँले मलाई घर पु¥याइदिनुभो । मेरो आमा त्यो बिहान खोज्दै बाटोसम्म आउनु भएको रहेछ । वहाँको सिंगै परिवारको कम्युनिस्ट पार्टी निर्माणमा अतुलनीय योगदान रहेको कुरा कसैले नकार्न सक्दैन ।

तत्कालीन नेकपा एमालेका युवा नेता, २०४७ पुस २६ पहिलेको नेकपा माले पोखरा २१कृस्तीका एक संस्थापक जस्तै नेकपा एमालेका होनहार योद्धा, मेरा श्रद्देय राजनीतिक गुरु, समाजसेवी, हाम्रा प्रेरणाको श्रोत, पञ्चायतविरुद्धको आन्दोलनमा जुलुसको मेरो एक नम्बर नेता, चम्किलो रातो तारा गोपाल भुजेल (भक्त दाजु) को २०७५ असार १० गते जण्डिस र उच्च रक्तचापको बिरामीका कारण असामयिक निधन भयो ।

वहाँको असामयिक निधनले हामी अहिले पनि स्तब्ध हुन पुग्छौं । आदरणीय दाजु गोपालप्रति शिर निहुराएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सन्जोगले वहाँले पृथ्वीमा पदार्पण गरेको र मृत्युको महिना र दिन एउटै परेछ । वहाँको निधनले कास्कीको कम्युनिस्ट आन्दोलनमा मात्र हैन समग्र लोकतान्त्रिक आन्दोलन र विभेदरहित समाजको निर्माणमा अपूरणीय क्षति पुगेको छ ।

चौथो वार्षिकीमा रातो सलामसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बाँचुन्जेल वहाँले उठाएको रातो झण्डा उठाइरहने, सामाजिक रुपान्तरण र वर्गविहीन समाज निर्माणमा अविश्रान्त लागिरहने दृढ अठोट र संकल्प गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width