गफको स्तर नै मानव स्तर

शेषराज भट्टराई
माघ १४, २०७८

गफ मान्छेको उमेर अनुसार फरक पर्दै जान्छ । बालककालमा सानामसिना जिज्ञासाले भरिएका खेलाउना, भाडाकँुटी, गुडियाका गफ हुन्थ्यो तर अहिलेका बालबालिकाहरु मोबाइल, कम्प्युटरमा खेल्ने गेमका गफ गर्छन् । अलि ठूलो भएपछि पहिला घरजम गर्नुपर्छ, खेतीपाती गर्नुपर्छ भन्थे भने अहिलेका वयस्कहरु कम्प्युटर, मोबाइल, इन्जिनियरिङ लगायत कुन देश जाँदा धेरै कमाइ हुन्छ भन्ने आधुनिक गफ गर्छन् र त्यस्तै किसिमको ज्ञानार्जन गर्न लालायित हुन्छन् । कतिपयले उच्च शिक्षा हासिल गर्दै वैज्ञानिक बन्ने प्रयत्न गर्छन् र आफ्नो सीप, कला कौशलको चमत्कार पनि देखाइरहेका छन् ।
घरजम छोराछोरी भएपछि गफ फरक हुन्छ । घर व्यवहारका गफ हुन्छन् । छोराछोरी जन्माउनेदेखि अन्माउनेसम्मका गफ गर्छन् । पढाइ, खानपिन, के–कसो गर्दा राम्रो हुन्छ । देश लुटेर हुन्छ कि दाजुभाइ छरछिमेकी पल्टाएर हुन्छ जसरी भए पनि धनी हुने कसरी भनेर भरमार मेहनत गरिराखेका हुन्छन् । सम्पत्ति कमाउन, जाय जेथा जोड्न भरमार प्रयत्न गरिराखेका हुन्छन् र त्यसै अनुसारको गफ पनि गर्छन् ।
वृद्ध पाको बन्दै गएपछि गफ पनि फरक हुन्छ । धेरै समय ऐया आयो गर्दै बित्छ । सन्तानले बुढेसकालमा कस्तो ताल देखाउने हुन् भन्ने त्रास र आशका गफ हुन्छन् । अहिले वृद्धाश्रममा कोच्ने हुन कि भन्ने त्रास हुन्छ भने पहिलेका वृद्धाहरुमा छोरा नातिले पाल्छन् पाल्दैनन् भन्ने त्रास हुन्थ्यो र त्यसै अनुसारका गफ हुन्थे ।
महिलाका गफै फरक हुन्छन् भने पुरुषका गफ पनि फरक नै हुन्छन् । कोही गफैगफले ज्यान पाल्छन् भने कसैले बिनागफ ज्यान फालिरहेका हुन्छन् । वृद्धवृद्धाले धर्मकर्मका गफ गर्छन् भने अल्लारेहरूले उरन्ठेउला गफ गरेर नै समय सिनित्त सिध्याउँछन् । बैंसले मात्तिएकाहरु तरुनी तन्नेरिका गफ गरेरै अघाउँदैनन् ।
प्रोफेसरहरू बौद्धिकताले भरपूर भए पनि बाँच्ने गफ गर्ने कला नजान्ने कोही थारो गाई जस्तो भएर बाँचेका हुन्छन् भने गफ र कामले आकाश पाताल हाँक्नेहरू असनका साँढेजस्तो लमकझमक गरेर जिएका पिएका हुन्छन् । राजनीतिमा लागेकाहरुको गफबाटै राजनीतिक धार छुट्टिन्छ । को के हो भन्ने कुरा उसको गफको बान्कीले बताइरहेको हुन्छ । मानव मन बुझ्ने साइकोलोजी बुझ्नेहरूले आँ गर्दा अलंकार बुझ्छन् भनेपछि यहाँ जति लामो डोरी बाटे पनि गाँठो एउटै हो । गफको स्तरबाट मानव स्तर झल्किरहेको हुन्छ । अनि आदिमानव कस्ता थिए र तिनको गफ र व्यवहारको स्तर कस्तो थियो होला ? यहाँ छोटो आत्मसमीक्षा ।
जब मानवको उत्पत्ति भयो तब मान्छे मान्छेबीच गफगाफ सुरु भयो । सुरुमा भाषाको अभाव हुँदा हातका इशाराले आउ, जाउ, खाउ, गर, मर भने होलान् । सुतेर उठेपछि मर त भन्नु हुन्थेन भनेर पछुतायो होला । अर्काे पटकदेखि मर भन्न छोडे होला । मान्छे बचाउने ठूलो प्रयास गरे होलान् । अनि मान्छे भकाभक बाँच्न थाले क्यार । मान्छेको संख्यामा वृद्धि हुन थाल्यो । धेरै मान्छे भएपछि एउटालाई आउभन्दा अर्काे आयो होला । समस्या यसमा पनि प¥यो एउटालाई हातको इशाराले बोलाएको अर्काे आयो । त्यसमा पनि गोलमाल नहोस् भनेर प्रत्येक मान्छेको नाम राख्न सुरु गरे होलान् । तँ, म, ऊ, त्यो, यो, भन्न थाले । तर तेतिले मात्र भएन मान्छे अल्मलिए । यो भन्दा त्यो आयो त्यो भन्दा यो आयो । त्यसपछि मान्छेले मान्छेलाई ठेगान लगाउन मारपिट गर्न थाले । मुर्खपन देखाउन थाले । मत्स्य न्याय मन पराउन थाले । सक्नेले नसक्नेलाई जिउँदै चिथोर्न थाले । कसैले इशारा इशारामै त्यसो नगर भने होलान् त कसैले ठिक गरिस् भने होलान् । मुर्खपन मौलाउँदै गयो । झगडा गर्ने भएपछि तागतिला खानेकुराले पेट भर्ने सोच बनाए भनौ न । मांसाहारीले जनावरको बध गरेर पेट भर्न थाले भने कमजोर शाकाहारी मान्छेले बाख्रा भेडाको दुध खान थाले होलान् । जंगलका गाई भैँसीलाई आफ्नो बासस्थानमा ल्याएर रत्याउन थाले । बाख्रा भेडाले भन्दा गाई भैंसीले धेरै दुध दिन्छ भनेर खोज अनुसन्धान गरे होलान् । सफल भएर खुसी पनि भए क्यार । सुरुमा गाई भैैंसीको कल्चौडामा नै थुतुनु राखेर पालैपालो दुध खाए होलान् । त्यसरी खाँदा एउटाले अर्काको भागै नराखी सिध्याउन थालेपछि अब त्यसरी हुँदैन पात वा मरेका जनावरको छालामा दुहेर बराबरी भागबण्डा गर्नुपर्छ भन्ने सोचाइ आयो होला । त्यसरी पनि दुध धेरै पोखियो हिनाबिना भयो भनेर बास वा काठको ढुङ्ग्रो बनाउने र त्यसमा दुहुने अनि खाएर बाँकी रहे त्यसैमा राख्ने सोच आयो होला । हात थापेर कति खानु कचौरा, बटुका, डबका, डाडुको परिकल्पना गरेर त्यस्तै सुविधाजनक भाँडाकुँडाको सिर्जना गरे । त्यो अवस्थामा ती मान्छेले आफूजस्तो बुद्धिमानी कोही छैन भन्ने ठान्थ्यो होला ।

महिलाका गफै फरक हुन्छन् भने पुरुषका गफ पनि फरक नै हुन्छन् । कोही गफैगफले ज्यान पाल्छन् भने कसैले बिनागफ ज्यान फालिरहेका हुन्छन् ।

सुरुसुरुमा दुध काँचै खाए । काँचै दुधले बिरामी परे होलान् । तिते पाती, तुलसी, बर, पिपल, पतिना, अविजाले झार, घोटताप्रे, गुर्जाे आदिको रस लिन थालेपछि सन्चो र आरामको अनुभूति भयो होला । विसन्च हुँदा जडिबुटी खोजेर खाने गर्दा गर्दै मान्छेहरू निरोगी हुन थाले । पकाएर तताएर खाने समयको प्रादूर्भाव भयो होला । आगोको परिकल्पना गरे होलान् । ढुंगा ढुंगा रगडेर आगो उत्पादन वा अग्राख काठ रगडेर आगो निकाले भनौ न । आगोले पोल्छ भन्ने कुरा थाहा पाएपछि आगोलाई नछुने र अलग्ग बस्न सिके । मारेका सिकार वा कन्दमुललाई आगामा पकाएर सेकाएर सुकुटी बनाएर खानुपर्छ । त्यसो गर्दा धेरै समयसम्म सडिदैन, कुहुदैन भन्ने सम्बन्धी छलफल र गफ गरे होलान् । नजान्दा मारेका शिकारलाई सिंगै आगामा हाले होलान् र शिकार पाक्दै जाँदा शिकारको भुडी फुटेर दन्किएको आगो भुसुक्कै निभ्यो होला । अनि टुक्रा टुक्रा पारेर झिरमा उनेर वा भारमा सुकाएर राख्ने शुद्धि पलायो होला । अनि मासुलाई टुक्रा टुक्रा पारेर सुकाउन पाए राम्रो हुने सम्बन्धी छलफल र गफ गरे होलान् । पहिला मारेर काँचै खाए हुने थियो । अब अगेनु बनाउनुपर्छ भन्ने कुरा गिदीमा फु¥यो होला । काम बढ्दै गयो । अलिअलि पोलेर खान्थे भने अब राम्रोसँग पोलेर पकाएर खाने सम्मको बुद्धि विकास भयो क्यार । अब पशुको जस्तै मान्छेका पनि नाम राख्ने सम्बन्धी गफ छलफल गरे होलान् ।
एउटाले अनुहारमा कालो लगाएर काले नाम राखे होलान् । अर्काको दाँत उछिट्टिएको देखेर दारे भने होलान् । कामको चाप क्रमशः बढ्दै गएपछि नाम नराख्दा काम हुन गारो हुने भयो होला । भएभरका सबै मान्छेलाई सिंगासिँगै नाम दिए होलान् । भर्खर जन्मिएका पिउसाको पनि नाम राख्दै जाँदा धेरै नै सजिलो भएको सम्बन्धी गफ गरे होलान् । यस्तो समय धेरै नै समय चल्यो होला । मान्छे धेरै भएपछि भागवण्डा गरेर खाने पिउने चलन चल्यो होला । मासु, दुध, कन्दमुलले मात्रै पेट खराब भएपछि जंगलमा उम्रिएका खानु हुने अन्नलाई गुफाकै छेउछाउमा रोप्ने लगाउनेसम्बन्धी गफ गरे होलान् । अन्नलाई उमार्ने फलाउने र खानेसम्बन्धी सिक्दा सिक्दै अन्नलाई पनि पकाएर खान सिके क्यार । खास काम नै खोज्ने खाने र सन्तान मात्रै जन्माउने भएपछि आफूले मारेको खोजेको खानेकुरा आफूले मात्रै खान्छु भनेर अरूलाई नदिने सोच पलायो होला । बलियाबांगाले अर्काकी साथी र खानेकुरालाई चोरेर लगेर भोग गर्न थाल्यो होला । अनि आ–आफ्नो छुट्टाछुट्टै गुफा र आश्रमको परिकल्पना गरे । आफ्ना आश्रममा जन्मिएका सबै आफ्ना खलकमा दरिन थाले । कसैले आफ्नो आश्रममा आक्रमण झगडा गरेर कुटपिट गर्न थाले भने ति शत्रुलाई त्यहाँबाट जा भन्न भगाउन र लखेट्न थाले । पटक पटक झगडा गर्न सताउन थालेपछि राम्रोसँग बिदा गर्न वा त्यसलाई आफ्नो राम्रो गर । अरूको बिगार नगर । तेरो आश्रममा म पनि आउदिन तँ पनि नआइज भन्न थाले क्यार । छोराछोरीको हल बाँध्नु पर्ने भयो अनि अनेक समस्या र सिर्जनालाई व्यवस्थित गर्न भाषाको आवश्यकता महसुस गर्न थाले र तरिका बद्ध भाषाको सिर्जना गर्ने सम्बन्धी घनिभूत छलफल र गफ चल्यो होला । धरै बसिराख्ने अलिकमजोर शारीरिक अवस्था भएका रौं नभएका सन्तान जन्माउनेलाई पोथी र रौं धेरै भएका जगल्टे मुर्खलाई भाले भन्न थाले क्यार । भाले र पोथीसँगै बसेर धेरै नै गफ चुट्नु पर्ने भएपछि सरल भाषाको उत्पत्ति गरे होलान् । पश्चिमतिरकाले गो, कम, इट भन्न थाले भने पूर्वतिरकाले आऊ, जाउ, खाउ, लाउ, गर भन्न थाले । विभिन्न गुफाकाले विभिन्न भाषा तयार गरे । निरन्तर यस्तै भाषालाई प्रयोगमा ल्याउन थालेपछि नै अनेक थरी भाषाको उत्पत्ति हुन थाल्यो र भाषाको उत्पत्ति गरेकामा खुसी हुँदै धेरै नै गफ छलफल गरे र कसै कसैले अझै धेरै भाषाका खाका तयार गर्दै मानव विकासको जग खने होलान् । त्यसै अनुसारका गफ पनि फरक पर्दै गए भनौ न ।
मान्छेमा जतिखेर चेतनाको मूल फुट्यो तब मान्छेले आफूलाई अब्बल नै ठान्दै आएको हुनुपर्छ । किनकि हाम्रा पुर्खा तिनै हुन् र अहिलेका मानवमा पनि मुर्खपना, लिडेढिपी, घमण्ड र छाडापनको त गोदाम नै छ । मात्रै नाना प्रकारका भाषा जानेका छन् । मिठोमिठो खान जानेका छन् । तान्नु हुने नहुने सबैलाई तानेका छन् । प्रविधिले सबै कुरा काखैमा ल्याइदिएको छ । त्यसैले पुर्खाले व्यहोरेका ती हरिबिजोग सम्झेर दुखी बन्न चाहँदैनन् । आम पाठकले अवश्य पनि छुट्याउनु खुट्याउनु भयो होला मेरो यो गफ पनि कुनस्तरको हो भन्ने कुरा ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width