फेवाताल रमणका अनुभूतिहरू –३

लक्ष्मण थापा
माघ २१, २०७९

चिसो धेरै नै बढेपछि धेरैको बिहान हिँड्ने जाँगर घटाएको छ । स्थानीयहरु यसै पनि कम भेटिन्छन्, झन् अहिले त बिरलै भेटिन्छन् । बिहानभरि डम्म तुवाँलो लागेर मनैलाई मलिनो बनाउँछ । जिउभरि आफूसँग भएकामध्ये सबैभन्दा बाक्ला र न्याना लुगा भिरेर हिँड्नुपरेको छ । तालको पानी घटेर टापुहरु देखिन लागेका छन् । आकाशबाट पानी नझरेको पनि ३ महिना पुगिसक्यो । यो मौसम बेइमान भएको कि मान्छे बेइमान भएर हावापानी परिवर्तन भएको संकेत देखिएको हो ? पानी डम्म हुँदा सुन्दर परिधानले सजिएकी षोडशी झैं देखिने फेवाताल अहिले कुपोषणग्रस्त सडक बालबालिकाझैं देखिन्छ । ताल, ताल हो कि ठूलो पोखरी हो ! जस्तो पो देखिन थालेको छ ।

‘यह भी ताल है ? यह तो पोखरी जैसा दिखता है ! एकदिन बेलुकीपख भारतीय पर्यटक ठिटाहरु आपसमा कुरा गर्दै हिँडेको सुनेपछि मलाई नमिठो लागेको थियो । हुन पनि कुनै समयमा चंखपुर र पामेसम्म पुग्ने फेवाताल अहिले खुम्चिएर खपौंदीमा आइपुगेको छ । चंखपुर डाँडाको फेदमा डुँगा अड्याई घर जाने र पामेबाट धानपराल डुँगामा हालेर दिनभरि लगाएर बैदाममा ल्याउने मान्छेहरु भेट्न टाढा जानै पर्दैन । हाम्रै छिमेकमा बग्रेल्ती भेटिन्छन् । हुन त ताल पुरानो अवस्था १० वर्ग किमी क्षेत्रफलमा फैलिएको दाबी गरिए तापनि त्यो अतिशयोक्ति भयो कि झैं लाग्छ । तर तालको क्षेत्रफल यति नै हो भनेर सर्वमान्य रुपमा ठोकुवा गर्ने माइकालाल जन्मेको पाइएन । जति अध्ययन प्रतिवेदन उति वटा फरक क्षेत्रफल । कसैको अध्ययनमा साढे ६ वर्गकिमी त कसैकोमा ४.२५ वर्गकिमी देखियो । मैले निवेदन गरिसकें कि जति मुख उति दाबी । यहाँ मलाई बारबरा उटनको भनाइ याद आयो ‘६ जना अर्थशास्त्री भेट भए भनें ७ वटा परिभाषा आउँछन् रे ! त्यो त अर्थशास्त्र विषयको परिभाषाको कुरा हो । यो अलि फरक कुरा हो । कुनै क्षेत्रफल नापेर अंकमा देखाउने कुरा हो । ताल यहीँ छ, नाप्ने उपकरण उही नहोलान् ! तर अहिले सूर्य, चन्द्र, निहारिका समेतको दूरी, आकारप्रकार बताउन सक्ने विधि र प्रविधि भएको बेलामा फेवातालको सर्वमान्य क्षेत्रफल बताउन नसक्ने हामी कहाँ छौं ? यस्तो फरक कसरी आउँछ ? ‘फेवातालको क्षेत्रफल घटेको छैन, बरु बढेको छ’ भन्ने दाबी गर्ने मान्छेसमेत यही समाजमा रहेछन् । अरुको त के भनौं, मैले देखे भोगेको फेवातालभन्दा अहिलेको फेवाताल असाध्यै धेरै खु्म्चिएको छ र अध्ययनकर्ता अझै बढेका छन् भनेको सुन्न पाउँदा या त म स्वाँठ हुनुपर्छ या त्यो दाबी गर्ने मान्छे भुस्तिघ्रे स्वाँठ हुनुपर्छ भन्ने लाग्छ । त्योभन्दा म नै स्वाँठ हुँला । मेरो यो दाबीको आधार के छ भनें म झारपात मान्छे छु र ऊ सरकारले पत्याएर त्यत्रो जिम्मा पाएको अध्ययनकर्ता ! ऊ कसरी स्वाँठ हुन सक्छ र ? सरकारका त्यत्रा ठूला मान्छे, जसले उसलाई नियुक्त गरे कसरी स्वाँठ हुन सक्छन् ? तालको गहिराइको कुरा गर्दा औसत ८.६ मिटर र अधिकतम २४ मिटर भनिए तापनि अहिले त्योभन्दा धेरै कम भएको छ कि झैं लाग्छ । किनभने फेवाताल वरिपरि डोजरे विकासको असर परेकै छ । सरकारले बनाएको करोडौंको गज्जबको सिल्टेसन बाँध भत्काएर पनि तालै पुरेको होला ! डाँडाकाँडा भत्केर पहिरो आएकै छ ! यसले तालमा माटो, बालुवा र गिट्टी ल्याउने क्रम पनि बढेकै छ । अब तालको गहिराइ घट्दै गयो होला नि भन्ने मेरो सोझो बुद्धिले भन्छ ।

२०३१ सालमा जब फेवाको बाँधमा प्वाल पर्‍यो । त्यो बेला हामी वाराही निम्न माध्यमिक विद्यालयको कक्षाकोठामा थियौं र कुनै सरले पढाउँदै हुनुहुन्थ्यो । त्यो मलाई याद रहेन । ‘लौ बाँध भत्कन लागेको छ !’ भन्ने हल्ला हावामा आयो र हामी कक्षाकोठा छाडेर हावामै उडेर पार्दी बाँधमा पुगेका थियौं । पारि रानी वननेर सानो प्वाल परेको थियो र जिम्मेवार मान्छेहरु प्वाल टाल्ने प्रयासमा थिए । प्वालबाट पानीको झन् ठूलो फोहरा निस्केर टाल्ने खोज्ने कर्मचारीरुलाई चुनौती दिइरहेको थियो । हामी तमासे बालकहरु तमासा हेरेर फक्र्यौं । त्यो दिन न हामीलाई खुसी लाग्यो, न दुख नै लाग्यो । भोलिपल्ट बिहान उठेर स्कुल आउने क्रममा सेदीडाँडामा आइपुगेपछि तालको पानी त स्वात्तै घटेको देख्यौं । ए ! रात्तै ! भक्कल, खहरेदेखि बाराहीस्थानसम्म रुखका मोटा खिरिला डढेर काला भएजस्ता ठुटाहरु गज्जबसंग पानीबाट टाउको निकालेर युगौंपछिको बाहिरको दृश्य चकित भएर हेरिरहेका देख्यौं । हामीले पनि नयाँ र नौलो दृश्य देखेकोले स्कुलतिर नगई वाराहीस्थानतिर गयौं । एऽऽ बाबै ! हिजोसम्म डुंगा चढेर जानुपर्ने वाराही मन्दिर त हिँडेरै जान सकिने भएको पो रहेछ । अचम्मित भएर हेरिरह्यौं र पार्दी बाँध भएनेर जाँदा त त्यतातिर त न बाँध छ, न तालको नामोनिशान छ । बरु एउटा खोल्सोबाट पानी बगिरहेको देखेर उदेक मान्दै स्कुलतिर फर्केका थियौं । पछि हामी पौडेर तिनै रुखका ठुटाका टाउकामा टेकेर एकछिन चराले थकाइ मारेझैं गरी बस्थ्यौं र ताल बन्नुपूर्व यो ठाउँका रुख, चौतारा घरगोठ र मानिसहरुको कल्पना गरी यस्ता रुखहरु भएको ठाउँमा कहिले र कसरी ताल बन्न गयो होला भनेर कल्पनाका घोडाहरु कुदाउँथ्यौ । अझै कति बैदामै बन्धुहरुले तालले छोडेको ठाउँबाट कमला खालका फुस्फुसे ढुंगा निकालेको पनि मलाई याद छ ।

एऽऽ बाबै ! हिजोसम्म डुंगा चढेर जानुपर्ने वाराही मन्दिर त हिँडेरै पुग्न सकिने भएको पो रहेछ

काठमाडौंमा मेयर बालेन्द्र शाहले सडक छेउमा नाङ्ले पसल थापेर जहान परिवार पाल्नेको गाँसबास खोस्ने किसिमको साहस देखाए पनि यहाँ भक्कलदेखि वाराही घाटसम्म ३ दर्जनभन्दा बढी नाङ्ले व्यापारी छन् र ती सबैसँग पीडाको एउटा एउटा कुम्लो छ । हुनत पीडाको कुम्लो नबोकेको को होला र ?

यतिबेला मलाई ती कांग्रेसको निरीह अनुहार झल्झली अगाडि आइरहेछन्, जो पार्टीले लगाए, अराए बमोजिम माओवादी, समाजवादी लगायतलाई ‘हामी एकै हौं’ भन्ने शैलीमा भोट मागे र दिए । चुनावको लगत्तै प्रचण्ड ‘वर्तमान संविधान मास्न खोज्ने, प्रतिगामी’ को आरोप लगाइ तथानाम गाली गरेको ओलीले देखाएको प्रम छाप चुस्ने मिठाईं देखेर लोभी बालकझैं ओलीको काखमा लुट्पुटिन गएको देखेपछि स्तब्ध भएका थिए । ‘मुखको गाँस खोसिएका कांंग्रेसको पीडा कति होला ?

७ पटक प्रधानमन्त्री हुने सपना देख्ने देउवा र सपना देखाउने ज्योतिषीको पीडा कति होला ? पहिल्यै चुरीफुरी देखाएर मेरी एन्टोनेन्ट झैं जुरुक्क उचालिने भाउजूको पीडा कति होला ? हुन त कांंग्रेसले मात्र हैन, माओवादी, समाजवादीलगायत पार्टी कार्यकर्ताले पनि मन निचोरेर कांग्रेसलाई भोट हालेकै हुन् । यतामात्र हैन, उता एमालेका कार्यकर्ताले राप्रपा र राप्रपाका कार्यकर्ताले एमालेलाई पनि भोट हाले । यसरी भोट हाल्ने क्रममा कट्टरहिन्दुवादीले होली वाइनवालालाई पनि भोट हाले होला । त्यसरी भोट हाल्दा तिनको मन कति दुखे होला ! कठै !

तीसको दशकमा बिपीले ‘राजाको र मेरो घाँटी जोडिएको छ’ भन्दा पञ्चहरु ‘ए ! त्यो अराष्ट्रिय तत्वको नाइके बिपीले आफ्नो क्यान्सरले खाएको घाँटी राजाको घाँटीसँग जोड्न खोज्ने ?’ भन्थे । तत्कालीन माले समर्थित अखिलहरु ‘राजाको अगाडि लम्पसारपरेको, राजासँग घाँटी जोडेको’ भनी कार्टुनहरु बनाई क्याम्पसमा टाँसेको मलाई हिजै हो जस्तो लागिरहेछ । बिपी बितेपछि कांग्रेसले कम्युनिस्टसँगको दूरी घटाई सहकार्य गर्ने नीति लियो । संयुक्त जनआन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना ग¥यो । कांग्रेसले जति नै राजालाई च्यापे पनि राजा कांग्रेसको कहिल्यै भएनन् । आजित भएर कांग्रेसले राजालाई साथ दिन छाड्यो र ‘बयल गाडा चढेर चन्द्रमा पुग्ने’ सपना साकार भयो । अहिले राजावादी, गणतन्त्रवादी र बयल गाडामा चन्द्रमा नपुगिने दाबीवादी सबै एकै भै एउटै जहाजका कलपूर्जा बनेर जहाज उडाउन खोजिरहेका छन् । विभिन्न मोडेलका कलपूर्जा एउटै जहाजमा फिट गर्दा जहाज कस्तो बने होला ? त्यो त आगामी दिनले देखाउला । तर हिजो सत्तोसराप गरेको ओलीको झोलीमा पर्नुपर्दा प्रचण्डलाई पनि कति पीडा भयो होला ? हिजो आफ्नो दुई तिहाइको सरकार गर्लम्मै ढलाउने मात्र हैन, संसद् भंगको योजना चकनाचुर पार्ने प्रचण्डलाई मुटुमा राखेर हाँस्नुपर्दा ओलीको मुटु कति दुख्यो होला ? हिजो राजा फाल्ने मुख्य एजेन्डा लिएर संघर्ष गरी राजा फाल्ने प्रचण्डको छाता ओड्नुपर्दा राजा र हिन्दुधर्म अघि सारेर बल्लतल्ल उठ्न खोजेको राजेन्द्र लिंङ्देललाई कति पोलेको होला ? त्योभन्दा राजालाई फेरि गद्दीमा राख्नुपर्छ । हिन्दु अधिराज्य पुनस्र्थाापित हुनुपर्छ भन्ने आशाको दियो बालेका राप्रपाका राजभक्त र धर्मभिरु कार्यकर्ता र मतदातालाई कति पीडा भए होला ? आखिर पार्टीहरुले अघि सारेको नीति र सिद्धान्त केही पनि रहेनछ । इमानदार कार्यकर्ता र भोट हाल्ने जनताको आँखामा हाल्ने छारोबाहेक । भएको भए, केवल सत्ताको लागि कांग्रेसले माओवादीलाई च्यापेर कुओ मिन्तांगको नियति भोग्नुपर्दैनथ्यो । त्यत्रो जनयुद्ध गरेको प्रचण्डले पार्टी नै सर्लक्कै एमालेमा मिसाउन पर्दैनथ्यो । सत्ताको रथमा सवार हुने अभिमत नपाइहालेको राप्रपा नमिल्दो पुर्जा बनेर सत्तामा लिसो टाँस्सिए झैं टाँस्सिने थिएन । रास्वपाले त सैद्धान्तिक धरातलको जगै नहालेको अवस्थामा उसको बारेमा के बोल्नु छ र ?

बदमास नेता, चोरडाँका, भ्रष्टाचारी, माफिया, हत्यारा, राज्य र स्रोतको दोहनकर्ता, सेटिंगकर्ता, नीतिगत भ्रष्टाचार गर्ने आदिलाई चुट्की बजाएर ठिक पार्छु भन्ने भूइँफुट्टा पार्टीको नेता रवि लामिछाने आफैं नागरिकताको घेरामा हुनु, अपराधमा मुछिएर पक्राउ नपरेको सांसदलाई आफ्नै अगाडि देख्दा पक्रन नसक्नुको पीडा त कति होला ! तर झुटो पनि प्रमाणित हुँदै जाँदा कस्तो लागेको होला । ४/५ जना उपप्रमको उग्रै विरोध गर्ने रवि अहिलेको उपहरुको ‘ट्वान्टीनाइन’ को खालको एक खेलाडि बनेको र त्यस विषयमा जनताले व्यापक गुनासो गरेपछि मन्त्री र उपप्रमको तहमात्र फरक हो, सुविधा फरक छैन भनेर हाड नभएको जिब्रो के चिप्ल्याए, अन्नपूर्ण पोस्टले मन्त्रीको भन्दा उपप्रमको तलबमा मासिक ४ हजार ९ सय ५०, इन्धनमा ९९ लिटर, मसलन्द र अतिथि सत्कारमा ५ सय र कर्मचारी, भ्रमण भत्ता, सुरक्षाकर्मी आदिको बढी सुविधा भएको विवरण प्रस्तुत गरी ‘ढाँटेको, काटे मिल्दैन’ भनेर देखाइहालेछ । हुन त त्यो अन्नपूर्ण पोस्टले ननिकालेको भए अर्कोले निकाल्थ्यो । किनभने यी कुरा जति लुकाए पनि लुक्दैनन् । यसरी सत्ताले रवि र उनका समर्थकलाई पनि पीडै दिएको होला ! यसरी हेर्दा पीडा नबोकेको को होला र झैं लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width