स्वास्थ्य क्षेत्रका चम्किला तारा ‘डा.कुमार शमशेर’

कृष्ण आचार्य
असाेज ४, २०७९

‘पहिला पहिला त डाक्टर भनेको भगवान्को रुप हो भन्थे मान्छेहरु ! मान्न पनि भगवान् जस्तै मान्थे नि डाक्टरलाई त त्यो बेला ! अहिले त केही डाक्टरहरुले कमिसनको चक्करमा फसेर आफूलाई त बद्नाम गराए गराए, यो पेसाकै पनि बद्नाम गराइदिए ! हिजोआज आफूलाई डाक्टर भन्दा नि लाज लाग्ने जस्तो पो भइसक्यो त !’

हाम्रा अधिकांश भेटमा उहाँले भन्ने गरेको यो शब्दले अझै मन घोत्लिन्छ । म सोध्ने गर्थें किन यस्तो भन्नू हुन्छ डक्टर ? उहाँ भन्नुहुन्थ्यो, ‘अहिलेका केही डाक्टरले त आफ्नो धर्म पनि भुले बाबु ! पैसा आउँछ भने पछि त जे पनि गर्दिने भए । डाक्टरको इथिक्स भन्ने पनि हुन्छ नि ! पैसामात्रै सबै थोक त कहाँ हो र ? हामीले त डाक्टर पढ्ने बेलैमा सेवा गर्छौ भनेर कसम खाएका हुन्छौं ।’

उहाँ अर्थात् पोखराका ‘फादर अफ एलोपेथिक मेडिसिन’ वरिष्ठ चिकित्सक डा. कुमार शमशेर राणा अब हामी माझ हुनुहुन्न भन्ने सम्झँदामात्रै पनि मन भारी भएर आउँछ । आफ्नो जीवनको लामो समय गरिब जनताको उपचारमा समर्पित गर्नुभएका डाक्टर कुमार शमशेर राणाले २०७९ साल भदौ २४ गते शुक्रबार बिहान ७ः१० मा अन्तिम श्वास फेर्नुभयो ।

१९९६ साल साउन २५ गते पाल्पा दरबारमा पिता धैर्य शमशेर जबरा र माता पद्मकुमारी राणाको कोखबाट जन्मनु भएका डाक्टर राणाले पाल्पा दरबारमा नै प्रारम्भिक शिक्षा लिनु भएको थियो । त्यसपछि काठमाडौंको दरबार हाइस्कुलबाट थप अध्ययन गर्नु भएका राणाले भारतको नैनीतालबाट एसएलसी र आइएससीसम्मको पढाइ पूरा गर्नु भएको थियो । डाक्टर कुमारले एमबिबिएस (डाक्टर) को अध्ययन चाहिँ कोलम्बो प्लान अन्तर्गत भारतको लखनउबाट गर्नुभएको थियो भने एमपिएचको अध्ययन संयुक्त राज्य अमेरिकाबाट पूरा गर्नुभएको थियो ।

भक्तपुर अस्पतालबाट २०१९ सालदेखि औपचारिक रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डाक्टर राणा २०२७ सालदेखि पोखराको गण्डकी अस्पताल (तत्कालीन समयमा सोल्जर्स बोर्ड अस्पताल भनेर चिनिन्थ्यो रे ! हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अर्थात् पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान) मा सरुवा भएर आउनु भएको थियो । पोखरा आउनु अघि उहाँले केही समय पाटन अस्पताल र तेह्रथुमको अस्पताल पनि सेवा गर्नुभएको थियो । पोखरा सरुवा भएर आएपछि भने डाक्टर कुमारले पोखरालाई छाडेर कहिल्यै कहीं जानुभएन । उहाँ पोखरामा नै बसेर यस क्षेत्रका बिरामीको उपचारमा अहोरात्र खटिरहनुभयो । यतिसम्म कि उहाँ ८५ वर्षको उमेरमा यो संसारबाट बिदा हुँदै गर्दाको १५ दिन अगाडिसम्म पनि बिरामीको उपचारमा तल्लीन हुनुहुन्थ्यो । राणा परिवारमा जन्मिए पनि उहाँले निकै सरल र सामान्य जीवन नै व्यतित गर्नुभयो ।

पोखरा आएपछि गण्डकी अस्पतालले मात्रै बिरामीको उपचार थेग्न नसक्ने ठानेर उहाँकै पहलमा सर्वसुलभ र छिटो सेवा दिने उद्देश्यले निजी क्लिनिक पद्म पोलिक्लिनिक स्थापना भयो । जुन क्लिनिक पछि पद्म नर्सिङ होमको रुपमा पोखराको न्युरोडमा झण्डै ३ दशक सञ्चालनमा रह्यो । नर्सिङ होम अब आफ्नै सुविधा सम्पन्न भवन नदीपुरबाट सञ्चालनमा आउने तयारीमा छ तर आफ्नै भवनबाट सञ्चालनमा आएको देख्ने सौभाग्यचाहिँ जन्मदाता डाक्टर कुमारले भने पाउनु भएन ।

२०२२ सालमा रेवा शाह (राणा) सँग वैवाहिक बन्धनमा बाँधिनुभएका डाक्टर कुमार, जीवनको उत्तरार्धतिर भने पत्नी वियोग र पुत्र वियोगको पीडा भोग्नुपर्‍यो । उहाँकी धर्मपत्नीको २०७३ सालमा निधन भएको थियो भने त्यसको केही वर्षपछि नै एक मात्रै छोरा विनायक शमशेर राणाको पनि निधन भयो । डाक्टर कुमार शमशेर राणाको अन्तिम संस्कार भने उहाँकै नाति समृद्ध राणाले गर्नुभएको छ ।

पैसा आउँछ भने जे पनि गर्दिने ! डाक्टरको इथिक्स हुन्छ नि ! पैसामात्रै सबै थोक कहाँ हो र

आफ्नो जीवनको झण्डै ६ दशक बिरामीको उपचारमा बिताउनु भएका डाक्टर कुमार शमशेर राणाले गरिब बिरामीको उपचार गर्न पाउँदा आफूलाई साँच्चै डाक्टर भएको अनुभूति हुन्छ भनेर बेला बेला सुनाइ रहनुहुन्थ्यो । सौभाग्य भनौ पद्म नर्सिङ होम प्रालि मा उहाँ सँगै १५ वर्ष सहकर्मी बनेर काम अवसर मैले पनि प्राप्त गरेको छु । यो समयमा उहाँले बिरामीप्रति अझ त्यसमा पनि गरिब बिरामीप्रति दर्शाएको सेवा भाव देख्दा लाग्थ्यो, डाक्टरलाई यसै भगवान्को रुप भनिएको त पक्कै हैन ! प्राइभेट अस्पतालमा नै काम गर्ने डाक्टर भए पनि डाक्टर कुमारले धेरै गरिब बिरामीको निशुल्क उपचार गर्नुहुन्थ्यो । आफैं औषधी दिनुहुन्थ्यो र केही बिरामीलाई त घर जाने भाडासमेत हालेर पठाउनु भएको हामीले नै देख्ने र भोग्ने अवसर पायौं ।

उहाँ बिरामीलाई अनावश्यक जाँच लेख्न हुन्न भन्नेमा अडिग हुनुहुन्थ्यो । मेडिकल माफिया र कमिसन एजेन्टहरु उहाँको नजिक पर्नै डराउँथे । कमिसनको प्रस्ताव कसैले राखी हाल्यो भने पनि उहाँको उत्तर हुथ्यो । ‘मलाई आउने कमिसनबापतको पैसा बिरामीलाई नै छुट गर्दिनु मलाई अहिलेसम्म खान पुगेकै छ ।’ मेरा बिरामी गरिब छन् महँगो औषधी किन्न सक्दैनन् भन्दै सकेसम्म कम मूल्यका औषधीमा उहाँ जोड दिनुहुन्थ्यो । अनावश्यक औषधी दिनु डाक्टरको इथिक्सविरुद्धको अपराध हो भन्नेमा उहाँको सधैं जोड रहन्थ्यो । अहिलेका केही डाक्टर डाक्टर जस्ता भएनन् भन्ने गुनासो उहाँमा जीवनको अन्तसम्म पनि रहिरह्यो ।

उहाँ कार्यालयमा काम गर्ने कर्मचारी र सहयोगीलाई आफ्नै परिवारको सदस्य जस्तै ठान्नु हुन्थ्यो र व्यवहार पनि त्यस्तै गर्नुहुन्थ्यो । फुर्सद भयो कि चुरोट पिइरहने उहाँको बानी थियो । कसैले तपाईंले डाक्टर भएर पनि चुरोट खानु हुँदोरहेछ त भन्यो भने, ‘डाक्टरले जे भन्छ त्यो गर्ने, डाक्टरले जे गर्छ त्यो नगर्ने ! मलाई त मर्न मन लागेको छ, तिमीलाई पनि मर्न मन छ र ?’ भन्दै ठट्टा गर्नु हुन्थ्यो । धेरै बिरामीको रोग निको बनाउनु भएका डाक्टर कुमार आफू भने दम र मधुमेहको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई जीवनको अन्त समयमा निमोनियाको समस्या पनि थपिएको थियो । अन्तमा त्यही निमोनिया नै मृत्युको कारण बन्यो ।

डाक्टर राणाले पोखराको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप पोखरा महानगरपालिकाले २०५७ सालमा ‘पोखरा नवरत्न’ सम्मान प्रदान गरेको थियो । त्यस्तै मेजर वीरसिंह स्मृति प्रतिष्ठानले पनि उनलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो भने ०६१ सालमा रेडियो अन्नपूर्णले पोखरा रत्न सम्मान प्रदान गरेको थियो । डा. कुमारलाई माछापुच्छ्रे एफ.एम. नेपाल कुष्ठरोग निवारण संघ केन्द्रीय कार्यालय, हिमाली सांस्कृतिक परिवार, अलीमिया लोक वाङ्मय प्रतिष्ठान, पोखरा युनिभर्सिटी स्टुडेन्ट एसोसिएसनलगायतले सम्मान व्यक्त गरेका थिए भने डाक्टर कुमार श्री विभूपति शिक्षा समाज सेवा पुरस्कार २०५७ बाट पुरस्कृत हुनुभएको थियो ।

डाक्टर राणाको स्वर्गारोहणसँगै पोखराको चिकित्सा क्षेत्रबाट एक चम्किलो तारा कहिल्यै नउदाउने गरी अस्ताएको छ । स्वास्थ्य क्षेत्रको एउटा जिउँदो इतिहासको अन्त्य भएको छ । पोखरामा नजन्मेको भए पनि उहाँले पोखरालाई कर्मथलो बनाएर धेरै ठूलो गुन लगाएर जानुभएको छ । डाक्टर कुमारलाई पोखराले जुगौं जुग सम्झिरहने छ । आदरणीय डाक्टर कुमार शमशेर राणाप्रति भावपूर्ण श्रद्धाञ्जली ! अलबिदा डा. कुमार !

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width