दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र

डा. गेहेन्द्रमान उदास “पोखरेली”
जेठ १९, २०७९

तत्कालीन युवराज नारायणहिटी दरबार हत्याकाण्डमा अघिल्लो दिन जेठ १९ गते कन्चटमा गोली लागेर मरिसकेका थिए । हिन्दु राजनीतिको परम्परा, संस्कारअनुसार सास बाँकी छ भनेर राजा घोषित गरिएका दीपेन्द्रको जन्म २०२८ असार १३ गते भएको थियो । उनी ८/९ वर्षको उमेरमा बूढानीलकण्ठ (आवासीय) स्कुलमा भर्ना भएपछि मात्र मैले उनको सामीप्य पाएको र पढाएको हुँ । त्यसबेला म पुमोरी हाउसको हाउस मास्टर र पछि असिस्टेन्ट हेडमास्टर (एकेडेमिक) भएर उनलाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ । दीपेन्द्र कक्षा ४ मा भर्ना भएर मकालु हाउसमा आवासीय शिक्षार्थीको रुपमा बस्थे ।

उनको बाल्यकालबारे मैले जाने बुझेको कुरा भन्नुभन्दा पहिले दीपेन्द्रलाई उनको शैशवकालदेखि देखेका र उनको व्यवहार व्यहोरेका, नाराणहिटी दरबारमै ड्युटी गरी रिटायर्ड भएका सैनिक सचिव, रथी श्री विवेक कुमार शाहको ‘मैले देखेको दरबार’ पुस्तकका कुरालाई प्रस्तुत गर्दछु । ‘दीपेन्द्र सरकार शाही रनरहरूको रेखदेखमा हुर्कीबक्स्यो, जो सेनाका सिपाही हुन् । बाबुआमाको सामीप्य र माया ममता नपाएर हुर्केका बालकहरूको व्यक्तित्वको विकास मनोविज्ञानअनुसार कि उदण्ड स्वभावको हुन्छ कि हीनभावनाको हुन्छ । घरभित्र सिंह र घरबाहिर स्यालजस्तो हुने हुन्छ । यहाँ दीपेन्द्रको बाल्य व्यक्तित्व उदण्ड खालको देखाएका छन् । हीनभावना उनमा नभएको देखिन्छ । तर ०३६ सालदेखि, ०४० सालसम्म मैले बूढानीलकण्ठ नछोड्दाको ५ वर्षको अवधिसम्म मैले उनको स्वभाव र व्यवहारमा उदण्डताको व्यवहार र हीन भावनाको प्रवृत्ति दुवै देखिनँ । बरु सौम्य, शान्त स्वभाव र प्रवृत्ति भएको अनुभूति गरेँ । एकपटक उनी कक्षा पाँचमा छँदा, पोखराका एक जना मेरा मित्रको छोरा (नाम बिर्से) नयाँ भर्ना हुँदा उनलाई उनका बाले भर्ना गरेर छोडेर गएपछि, त्यो बालकले आफ्नो बासँगै जान्छु भनेर कम्पाउन्डभित्रको सडकमै लडीबुडी गर्दै चिच्याइचिच्याइ रोइरहेको थियो । मकालु हाउसको हाउस मास्टरले फकाउन नसकेर आजित भएको बेलामा कक्षा ५ मा पढिरहेका दीपेन्द्रले उसलाई ‘हेर हाम्रा बुबाहरूले हामीलाई राम्ररी पढ, पछि राम्रो मान्छे बन्नुपर्छ भनी भर्ना गरेका हुन् । यसरी रुनु–झगडा गर्नु हुँदैन’ भनी फकाएका थिए । दीपेन्द्रको यो व्यवहार र सोच विवेक शाहको भोगाइसँग मेल खाँदैन ।

नकारात्मक सोच र उदण्ड स्वभाव हुने बालकहरू बाआमाले पुल्पुलाई हुर्काएकाहरूको हुन्छ । उदाहरणको लागि शाहवंशकै सुरेन्द्रविक्रम शाहको १२–१३ वर्षको बाल्यावस्थादेखि वि.सं. १९०३ सालको कोत हत्याकाण्ड अघिसम्ममा पनि, उनी त्यस्तै उदण्ड र बुद्धिहीन प्रवृत्ति र व्यवहारका थिए । शाहले अरुलाई तड्पाएर आफू हाँस्ने स्वभाव दीपेन्द्रको थियो भनी लेखेको कुरा सुरेन्द्रको जीवनशैलीसँग मिल्न आउँछ । कसैलाई कष्ट दिएर, अरुलाई अपमान गरेर उनी रमाउने र हाँस्ने गर्थे (साभारः पदम जंगबहादुर राणाः ‘लाइफ अफ जंगबहादुर’ पुनर्मुद्रण १९७४. पृष्ठ ३४ः अंग्रेजीबाट अनुवाद) । सुसारे नानीहरूलाई पाल्कीमा चढेको चढ्यै बागमतीमा फाल्न लगाई उनीहरू पानीमा आत्तिएको देखेर आफू हाँस्ने आदि उनका मनोरञ्जनका क्रियाकलाप थिए । (बालचन्द्र शर्माः नेपालको ऐतिहासिक रुप रेखाः पृष्ठ २९३) त्यस्तै गरेर बाबुआमाको उक्साइ र लाडप्यारमा हुर्केका पारसविक्रम शाहको जीवनशैली पनि अर्को उदाहरण हो, जसलाई जनसमाजले देख्दै–भोग्दै आएका छन् ।

खासगरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो । ….त्यसमाथि सरकारहरू दुवैैजना कडा दिमागको (स्ट्रङ्ग हेडेड) । मैले भनेको हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो, युवराजधिराज सरकारमा । त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्वर्यको पनि’ (पृ. ४०–४१)

यस सन्दर्भमा मेरो अनुभव–अनुभूति अनुसार आमा ऐश्वर्यसँग सम्बन्ध र विचार बिग्रे पनि बुबा वीरेन्द्रसँग त्यस्तो सम्बन्ध बिग्रेको तथा विचार र दृष्टिकोण फरक भएको पाइनँ । आमासँगको कुरा मलाई थाहा छैन । तर बुबासँगको सन्दर्भमा दीपेन्द्रको विचार–दृष्टिकोण र व्यवहारबाट मैले प्रत्यक्ष अनुभव गरेको छु । यसमा मेरो अनुभव–अनुभूति यस प्रकारको छ ।

तत्कालीन राजा वीरेन्द्रले दीपेन्द्रलाई बूढानीलकण्ठ स्कुलमा भर्ना गरेपछि आवासीय शिक्षार्थीको रुपमा राख्दा बस्दा, ‘दीपेन्द्रलाई जनताका छोरासरह नै व्यवहार गर्नू, यहाँसम्म कि बोलीवचन र खानपानमा समेत शाही परिवार र युवराजको हैसियतमा व्यवहार नगरी जनताका छोराहरूसँगै जे–जसरी बोलिन्छ व्यवहार गरिन्छ, त्यहीअनुसार गर्नू, फरक नपार्नू’ भन्ने निर्देशन तत्कालीन हेडमास्टर केन जोन्सबाट स्कुल परिवार सबैले पाएका थियौं । राजाको यस्तो विचार र जनमुखी दृष्टि मैले दीपेन्द्रमा पनि भएको पाएको थिएँ । उनमा म युवराज हुँ, राजखान्दानको बालक हुँ भन्ने अहंकार बडप्पन मैले कहिल्यै अनुभूति गरिनँ । त्यसको उल्टो सबैमा (साथीहरूमा समेत) मिलनसार, सहयोगी, सहनशील, प्रवृत्ति र व्यवहार भएको पाएँ । मैले विसं. २०४० मा बूढानीलकण्ठ स्कुल छोडेको बेला दीपेन्द्र कक्षा ७ मा थिए । त्यतिञ्जेलसम्मको सामीप्यतामा रहँदाको मेरो यो अनुभव अनुभूति हो ।

त्यसैले दीपेन्द्रमा त्यसबेलासम्म अर्थात् कक्षा ७ मा पढ्दाको १२–१३ वर्षको उमेरसम्म वीरेन्द्रको विचार र दृष्टिकोणसँग मिल्ने जनमुखी सोच र दृष्टिको भएको भद्र व्यक्तित्व विकास भइरहेको मैले देखेको थिएँ । २० वर्षसम्म राजा वीरेन्द्रको एडिसी भएका टीका धमलाको अनुभव पनि यस्तै छ (भिडियो अन्तरवार्ता रोहित भण्डारीसँग) । तर विवेक शाहले भनेजस्तो दीपेन्द्रको विचार र दृष्टिकोण वीरेन्द्रसँग नमिल्ने खालको थियो भनी लेखेको कुरामा प्रश्न गर्ने ठाउँ रहेको छ । आमा ऐश्वर्यसँगको कुरा मलाई थाहा छैन ।

दुवैैजना स्ट्रङ्ग हेडेड । मैले भनेको हुनुपर्छ भन्ने युवराजधिराज सरकारमा पनि बडामहारानी ऐश्वर्यको पनि

त्यसो भए तापनि मेरो बूढानीलकण्ठ स्कुलको केही कुरा रानी ऐश्वर्यसँग सान्दर्भिक हुन्छ कि भनेर प्रस्तुत गर्ने अनुमति माग्छु । दीपेन्द्रसँग पारसविक्रम शाह र राजा वीरेन्द्रका ट्युटर (निजी शिक्षक तथा वीरेन्द्रका तत्कालीन निजी सचिव नारायणप्रसाद श्रेष्ठ) का छोरा (नाम बिर्सें) समेत ३ जना केटाहरू बूढानीलकण्ठ स्कुलमा भर्ना गर्ने, पढाउने चर्चा भरपर्दो रुपले सुनिएको थियो । तर भर्ना हुँदा दीपेन्द्र र नारायणप्रसादका छोराहरूमात्र भर्ना भए । पारसलाई दार्जिलिङमा भर्ना गरियो भन्ने सुनियो । त्यसपछि अर्को वर्षमा नारयाण्प्रसादले पनि आफ्नो छोरालाई बूढानीलकण्ठबाट निकालेर दार्जिलिङमै लगेर भर्ना गरे । त्यसबेला हेडमास्टर केन जोन्स ३ महिनाको बिदा लिएर बेलायत गएका थिए र म एकेडेमिकपट्टिको र सुङ्मा तुलाधर एड्मिनिस्ट्रेसनपट्टिका एसिस्टेन्ट हेडमास्टर भएको हुँदा एकदिन नारयाण्प्रसादसँग समय मागेर उनकै घर पाटनमा भेट्न गएको थिएँ र छोरालाई स्कुलबाट किन निकाल्नु भएको ? युवराज दीपेन्द्र त बूढानीलकण्ठमै पढ्दै छन् ।’ भनेर कुरा गर्दा उनले, ‘बूढानीलकण्ठको अंग्रजीको स्तर छैन । युवराज त राजा हुने मान्छे । तर हाम्रा छोराहरू गरिखानुपर्ने हो ।’ भनी जवाफ दिएका थिए ।

समग्रमा कुरा गर्नुपर्दा रानी ऐश्वर्य, ज्ञानेन्द्र र बडामहारानी रत्नमात्र होइन नारायणप्रसाद समेतमा जनताका छोराहरूसँग आफ्ना छोरा–नातिलाई घुलमिल नगराउने र जनतालाई जन्तु नै सम्झने संस्कार भएको हुनाले उनीहरूले बूढानीलकण्ठमा नपढाएको हुनुपर्छ । त्यसमाथि राजा वीरेन्द्रले दीपेन्द्रलाई ‘जनताका छोरासरह नै व्यवहार गर्नू’ भन्ने इच्छाले हामीलाई निर्देशन पठाएको हुँदा बूढानीलकण्ठमा नपढाएकोमा थप कारण भएको मेरो विश्लेषण र विवेचना छ । राजा वीरेन्द्रको जनमुखी विचार र दृष्टिकोण मन नपरेकोले एक्लो भएको कुरा कृष्ण अविरलद्वारा लिखित (संकलित) पुस्तक ‘रक्तकुण्ड’ मा लेखिएको कुरा यस्तो छ, ‘२०३५ सालमा विद्यार्थी आन्दोलन चक्र्यो र बहुदल कि निर्दल के रोज्ने भनेर वीरेन्द्र सरकारबाट जनमत संग्रहको घोषणा हुँदासमेत ऐश्वर्य सरकार र ज्ञानेन्द्र सरकारले आपत्ति जनाइबक्सेको थियो । पछि २०४६ सालमा बहुदलको घोषण हुँदा झन् उहाँहरूबीच चर्काचर्की नै भएको थियो । एकपटक ‘ज्ञानेन्द्र सरकारबाट महाराजधिराजलाई’ बुबाको मार्ग दर्शनअनुसार राजकाज सञ्चालन गर्न सकिबक्सन्न भने सन्यासी होइबक्स्योस्, समेत भनी बक्सेको थियो । वर्तमान महाराजधिराज एकदमै कमजोर मनस्थितिको होइबक्सन्छ । मुमा बडामहारानी सरकार, ऐश्वर्य सरकार र ज्ञानेन्द्र सरकारले भनेका कुरा काट्नै नसक्ने । जे पनि सहने ।’ (पृ. ८६÷७)

तत्कालीन राजा वीरेन्द्रको जनमुखी विचार र दृष्टिकोण युवराज दीपेन्द्र युवावास्थाका हुँदा प्रष्टै देखिन्छ । भूगोल विषय लिएर एमए पढ्दा, दीपेन्द्रसँगै पढेका, मेरो भेटमा तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक मोहन रेग्मीसँग २०७० फागुनमा दीपेन्द्रबारे कुरा हुँदा दीपेन्द्रले उनलाई भनेका थिए रे, ‘(१)बूढानीलकण्ठ स्कुलका तत्कालीन हेड मास्टर जेबी टाइसन (जोग्राफर) ले बुबालाई भूगोल पढाउनुस् भनेकाले बुवाको आज्ञाअनुसार भूगोल पढेको हुँ, (२) २०५२ मा एमए गरेर पिएचडी २०५३ मै सुरु गरेको र शाह वंशमा पहिलो पिएचडी गर्ने राजा हुने (धोको) छ । (३) हिन्दुस्तानको नजर नेपालप्रति शंकास्पद छ । नेपाल हिन्दुस्तानमा विलय भयो भने जनता जनतै रहन्छ, तर राजा रहँदैन । (४) २०४६ सालको जनआन्दोलनलाई दबाउन अरुले शर्तहरू राखेका थिए । त्यसलाई बुबा हजुरले मानिबक्सेन । बरु अधिकार जनतालाई दिनुपर्छ विदेशीसँग झुक्नु हुँदैन भन्ने विचार बुबाहजुरको थियो । दरबार आउनुस्, त्यो शर्तनामा देखाई दिन्छु । यो तथ्यलाई (मेरो आस्था मेरो देश) शीर्षकमा आफ्नो फेसबुकमा वरिष्ठ पत्रकार युवराज घिमिरेको लेखाइबाट पनि प्रमाणित हुन्छ । उनले लेखेका छन् ‘राजा वीरेन्द्रले सुरक्षा र जलस्रोतमा भारतको प्राथमिक अधिकार स्वीकार गरेमा निर्बाध राज गर्न दिने भारतको लिखित प्रस्तावलाई अस्वीकार गर्दै नेपाली जनताको इच्छालाई सर्वाेपरि मान्ने अडान लिए २०४६ सालमा’ (५) यदि कसैले मार्न चाह्यो भने मलाई दरबारभित्रै मार्छन् । तर नेपाली जनताले मार्दैन भनी म विश्वस्त छु ।’ यी अभिव्यक्तिहरू र प्रमाणबाट बुबा वीरेन्द्रसँग विचार दृष्टिकोण नमिलेको र आपसमा मनमुटाव भएको भन्ने शाहको भनाइ पटक्कै मेल खाँदैन भन्ने मलाई लागेको छ ।

दीपेन्द्रलाई भूगोल पढाएको सन्दर्भमा मेरो विचार, भूगोल नपढाइ कि इतिहास कि राजनीतिशास्त्र पढोस् भन्ने थियो । राजनीति शास्त्रअनुसार राज्यका चार तत्वहरू मध्ये जनता प्रमुख तत्व (आधार) हो । लोकतन्त्रमा त जनता नै सार्वभौम सत्ताको मालिक र राज्यशक्तिको स्रोत भन्ने कुरा शाश्वत भएको हुनाले, त्यही नै विचार दीपेन्द्रका हजुर बुबा त्रिभुवन तथा बुबा वीरेन्द्रको दृष्टिकोण र विचार दीपेन्द्रमा पनि भएकोले राज्य सत्ता चलाउने भविष्यको राजा दीपेन्द्रमा यो भावना र क्षमता विकास होस् भन्ने सोचले दीपेन्द्रलाई इतिहास र राजनीति शास्त्र लिन लगाएको भए धेरै राम्रो हुन्थ्यो । अझ इतिहासबाट चन्द्रशमशेर र जुद्ध शमशेरको सन्तानहरूमा श्रेष्ठताको होडबाजी र मनमुटावको कुरा दीपेन्द्रलाई थाहा हुन सक्थ्यो । राजदरबारको हत्याकाण्डमा नाम आएका देवयानी जो पशुपति शमशेर (चन्द्रशमशेरका वंश) की छोरी र दीपेन्द्र ऐश्वर्य (जुद्धशमशेरका वंश) का छोरा भएको सन्दर्भमा इतिहासबाट दीपेन्द्रले यो कुरा बुझेर सुझबुझ साथ समस्या समाधान गर्न सक्थ्यो होला भन्ने कुरा पनि देखिन्छ ।

फेरि दीपेन्द्रकै बाल्यजीवन र बूढानीलकण्ठको सन्दर्भतिर लागौं । शाहले लेखेका छन्, ‘बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपद्रो घट्छ भनेको त झनै बढ्यो । युवराजधिराजको हिसाबले पनि सरकारले स्कुलमा अरु विद्यार्थीको तुलनामा अलिक ज्यादै नै स्वतन्त्रताको अवसर पाइबक्स्यो । सरकारका बदमासी बढे । त्यही बेलादेखि नै रक्सी खान सुरु गरेको सूचना हामीले पाएका थियौं ।’ (पृष्ठ ४१) यो सन्दर्भ बिल्कूल गलत छ । स्कुललाई राजा वीरेन्द्रले निर्देशन दिएजस्तै अरु विद्यार्थीलाई जस्तै गरी दीपेन्द्रलाई पनि पूर्णअनुशासनमा राखिएको थियो । शाहले भनेजस्तै स्कुलले दीपेन्द्रलाई अरु विद्यार्थीको तुलनामा अलिक ज्यादै स्वतन्त्र अवसर दिएकै थिएन । यहाँसम्म कि गल्ती गरेको बेला अरु सरह नै सजायँ दिइन्थ्यो । त्यस्तो सजायमा राम्रो गरेमा मेरिट र नराम्रो गरेमा डिमेरिट स्लीप दिइन्थ्यो । शारीरिक सजाय हुँदै हुँदैनथ्यो । ठूलो गल्ती गरेमा बिहान ६ बजेर १० मिनेट जाँदा, भनेको ठाउँमा उपस्थित भएर चपरी बोक्ने, माटो बोकेर खाल्टाखुल्टी पुर्ने आदि रचनात्मक काम आधा घन्टा गराइन्थ्यो । यसलाई स्कुलमा टेन पास सिक्स भनिथ्यो ।

शाहले फेरि यस्तो पनि लेखेका छन्, ‘ग्याङ् फाइटमा टिम लिडर नै भएर गएको भन्ने खबर आइरहन्थ्यो । एकपटक सरकाका सहपाठीहरूको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ । अनि सरकार बूढानीलकण्ठ स्कुलका विद्यार्थीहरूको ‘टिम लिडर’ भएर खेतखेतै हिँडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीलाई कुट्न गइबक्सेछ ।’ (पृ. ४१–४२) मलाई यो कुरा कपोलकल्पित लाग्छ । स्कुलमा यस्तो किसिमको लिडरसिप डेभलप हुने कुनै वातावरण नै थिएन । त्यसको विपरीत सबैमा सहृदयताको वातावरण थियो । स्कुलकै विद्यार्थीहरूमा पनि केही झैझगडा, फाइट कहिल्यै भएन । उनीहरूको बीच कुनै समस्या प¥यो भने ग्रुप ट्युटर र त्यसपछि हाउस मास्टरले समाधान गर्थे । महत्वपूर्ण कुरा त, स्कुलले हुलमा ‘ग्याङ’ बनाएर बाहिर पठाउने त के कुरा, व्यक्तिगत रुपले पनि एकलै कसैलाई पनि गेट बाहिर पठाउँदैनथ्यो । चारैतिर अल्का अल्का सिमेटको जोडाइले बनाएका इँटका पर्खालहरू थिए । भागेर जाने चान्स कतै पनि थिएन । यो कुरालाई ‘हो होइन’ भनेर बुझ्न, तत्काल एक्स्ट्रा करिकुलर आक्टिभिटीमा सहयोग गर्न भनी दरबारबाट पठाएका कर्णेल धर्मपाल थापा, क्याप्टेन पवन पाण्डे र गौरव शमशेर जबरा, जसलाई शाहज्यूले ‘सरकारको रुचिअनुसार कै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडिसीका रुपमा बूढानीलकण्ठ स्कुलमा पठाएको थियो ।’ (पृ. ४१–४२) लेखका छन् । उहाँहरूसँग बुझे पनि उक्त घटनाबारे सत्यतथ्य थाहा हुनेछ । मलाई लाग्छ २०४० सालमा मैले स्कुल छोडेपछि पनि स्कुलले दीपेन्द्रलाई त्यस्तो स्वतन्त्रता र सहुलियत दिएको थिएन होला भन्नेमा विश्वस्त छु । हाम्रो ऐक्टिङ हेडमास्टरकाल २०३६ सालमा, बाहिर विद्यार्थी आन्दोलन भइरहेको बेला, बूढानीलकण्ठ स्कुलमा पनि हेडमास्टर भएपछि स्विमिङ पुल बनाउँछु भनी दिएको आश्वासन पूरा गर्ने काम सुरु नै नगरी हेडमास्टर केन जोन्स ३ महिना बिदा लिएर बेलायत बसेकोमा तत्कालीन कक्षा ९ दशको नेतृत्वमा स्कुलमा हड्ताल गरी आन्दोलन भएको थियो । त्यसबेला भने अरु विद्यार्थीहरूको साथमा दीपेन्द्र पनि ‘जिन्दावाद र मुर्दावाद’ भन्ने नारा लगाएर हिँडेका थिए । त्यतिमात्र हो ।

प्राकृतिक नियम र भावना विपरीत भएकोले एउटा कुरामा मलाई अचम्म लागेको छ । जन्मेको करिब डेढ महिनापछि देखि नै दीपेन्द्रलाई उपेक्षा गर्नु, आफ्नो सामीप्यमा नराख्नू (ऐजन पृ. ४१) रानी ऐश्वर्यको यो कस्तो मातृत्वको मानसिकता हो ? मनोविज्ञानको हरेक कोणबाट पनि ठम्याउन नसकेकोले, यो कुरामा ठूलो आश्चर्य लागेको छ ।

अर्को आश्चर्यको कुरा यस्तो पनि छ । दीपेन्द्रको जन्मलग्न बारेमा सुनेको कुरा भनेर शाहले यसरी लेख्छन्, ‘मौसुफ जन्मेको दिन चिना बनाउने क्रममा ज्योतिषी दिव्यमंगल जोशीले युवराजाधिराजको जन्मलग्न ज्यादै खराब छ, राजपरिवारका लागि अनिष्ट पनि हुनसक्छ, राजा हुने योग पनि छैन ।’ (पृ. ५३) मान्छेको मृत्यु भएपछि, उनको बोल्ने स्थिति नै हुँदैन । अत मृत्युपछि उनीबारे कपोलकल्पित ज्योतिषीको भविष्यवाणीको कुरा पनि जोडेर दोषारोपणको कालो रङ पोत्ने चलन ‘जो जित्यो उही भाले’ भन्ने चाकडीबाज नेपाली समाजको परम्परा दीपेन्द्रको बारेमा पनि लागु भएको देखिन्छ । तर जीवित रहेका हाल नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र शाहको बारेमा भने कसैले मुख खोल्दैनन् । ताना शर्मा (तारानाथ शर्मा) का अनुसार रत्नराज्यबाट राजा महेन्द्रसँग बिहे हुनुभन्दा अघि जन्मेको, मावलीमैं हुर्केको र २००७ सालमा बाल्यावस्थामै राजा हुन पाएको, नारायणहिटी दरबार काण्डपछि दोस्रो पटक राजा भएको र उनको हातबाट राजतन्त्र समाप्त भई गणतन्त्र आाएको कुरा पनि ज्योतिषीले भविष्यवाणी गरेका थिए होला नि । यस प्रसंगको कसैले पनि कुरै उठाएका छैनन् ।

इतिहासको सत्यमा तथाकथित दस्तावेज बनाइ, संकलन गरी अन्त्यमा दिवंगत भएका दीपेन्द्रको नाममा अनगिन्ति अनर्गल कुरा लेख्नु, उनलाई दरबार हत्याकाण्डको दोषी ठहर्‍याउनु, तर शंका गरिएकालाई प्रशंसा गर्नु, उल्टो सराहना गरी सत्यको इतिहास नलेख्नु, नबोल्नु विडम्बना भएको छ । मर्नेमाथि लाञ्छना लगाई बाँच्नेको प्रशंसा गर्ने परम्परागत, यथास्थितिवादी नेपाली समाज र सरकारको यस्तो संस्कार–संस्कृति, अहिलेसम्म पनि रहेकै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width