फेरि पछुताउन भोट !

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८

गण्डकी प्रदेशमा ५ दलीय गठबन्धन एउटै घोषणापत्र र मिलीजुली उम्मेदवार बनाएर स्थानीय तहको चुनावमा होमिने तयारीमा छ । नेकपा एमाले पनि पाँच दलीय गठबन्धन परास्त गर्ने होडबाजीमा सम्भव भएसम्म गठबन्धनको तारतम्य मिलाउँदै छ । यसबाट सुरुमै के देख्न र बुझ्न सकिन्छ भने कुनै पनि दल र तिनका नेतालाई एक्लाएक्लै चुनावमा लडेर जनताबाट अनुमोदित हुने विश्वास छैन ।

सुरुमै जनतालाई मताधिकार दिएको बताउने राजनीतिक दलका नेताले मालिकको आलिसान बंगाला बनाउन मजदुर प्रयोग गरेझैं आम नागरिकलाई भर्‍याङको रुपमा प्रयोग गरेका छन् । केन्द्रीय राजनीतिमा मनि र मसल प्रयोग गरी बुथ कब्जा गरी जित्ने गरेको आरोप लागिरहेकै हुन्छ । अहिले दलका नेताहरु टोलटोलमा छलकपटको भाषण गरिरहेका छन् । टोल कमिटी गठन गरेको भन्दै आफ्ना लागि भर्‍याङका खुड्किला थप्दै छन् । स्थानीय तहको चुनाव ३० वैशाखमा हुने घोषणापछि ५ वर्ष देख्न र टेक्न नसकेको उही बिरानो ठाउँमा नाटक मञ्चन गर्न नेता नामका खलनायक पुगेका छन् । कहिले रुने, कहिले हाँस्ने, कहिले काम गरेको बहाना बनाउने, दुखी पीडितको मर्म बुझेको अभिनय गर्न चुनाव घोषणाले बाध्य पारेको छ । उनीहरु सत्ताच्यूत हुनासाथ जनताको दुख र मर्का बुझ्छन् । सत्ता भनेको नेताका आँखामा बाँध्ने धोती हो ?

स्थानीय तहको निर्वाचन आम नागरिकका लागि महत्वपूर्ण चुनाव हो । केन्द्रीय चुनावमा कसले जित्छन् वा हार्छन् भुइँमान्छेलाई खासै फरक पर्दैन । फरक पार्छ त स्थानीय प्रतिनिधि कस्ता छानिन्छन् भन्ने कुराले ।
स्थानीय प्रतिनिधि छान्ने काम सबैभन्दा सजिलो र गलत निर्णय हुन पुगे प्रत्यक्ष दुख दिने खालको पनि हुन्छ । आफ्नै वडाध्यक्ष, वडा सदस्य र पालिका प्रतिनिधि छनोट गर्दा विचार पुर्‍याउनै पर्छ । मुख्य गरी वडाध्यक्ष र वडा सदस्य सबैले सधैं चिनेकै हुन्छन् । साविकमा तिनीहरुको स्वभाव कस्तो थियो? सहयोगी व्यवहार थियो कि थिएन ? अन्य सामाजिक क्षेत्रमा काम गर्दा आर्थिक पारदर्शिता थियो कि थिएन ? उसको नेतृत्व गर्ने क्षमता कस्तो थियो ? समाजमा घटेका घटनामा उसले राजनीतिक रुपले हेर्‍यो कि हेरेन ? उसको आम्दानीको स्रोत के थियो, छ ? उसको आर्थिक उन्नतिको अवस्था के थियो जस्ता पक्षलाई नजिकसँग नियाल्नै पर्छ ।

पालिकाका प्रतिनिधि नैतिक पतन हुने खालका झैझगडा, अन्याय, कानुन विपरीतका काममा संलग्न भएको छ भने त्यसबाट शासित हुँदा कस्तो अवस्था आउन सक्छ भन्ने पूर्वानुमान गरी प्रतिनिधि छान्नुपर्छ ।
राजनीतिक दलले आफ्नो प्रतिनिधि चयनमा सही निर्णय गर्न सक्नुपर्छ । असल पात्र चयन भएको अवस्थामा आम नागरिकले अघिल्लो पटक भोट हालेको पार्टी, बाबु बाजे लागेको पार्टी वा आफन्त नेता भएको पार्टी भनेर मतदान गर्दा पछुताउनेबाहेक केही हुँदैन । यस्तो अवस्था भनेको आफ्नो खुट्टामा बञ्चरो हान्नुसरह हो ।

नेपाली परिवेशमा भुइँ मान्छेहरु चुनावको बेला प्रचार र लहैलहैमा मतदान गर्ने र आवधिक निर्वाचनसम्म तिनै प्रतिनिधिलाई गाली गर्दै धिक्कार्दै, भोट हालेका हात थिचौं झै रुष्ट हुने र चुनावमा फेरि तिनैलाई भोट हाल्ने गलत बानी अँगाल्ने परिपाटी छ ।

कुनै पार्टी वा संस्था गलत हुँदैनन् । ती त केवल नाममात्रै हुन् । गलत हुन्छन् त त्यसको नेतृत्व सम्हालेका पात्र वा नेता । त्यसमा पनि सबै गलत वा सबै सही हुन्छन् भन्ने हुँदैन । त्यसैले तिनीहरुको गुणका आधारमा समर्थन र दोषको आधारमा विरोध गर्ने बानी हुनुपर्छ । कम्युनिष्ट वा कांग्रेस भएकै आधारमा समर्थन र विरोध गर्नु भनेको आफ्नै बौद्धिकतालाई तिलाञ्जली दिएर विवेकको भिख माग्नु हो ।
स्थानीय तहका प्रतिनिधि छान्दा विभिन्न पक्षमा ख्याल पुर्‍याउनुपर्छ । तीमध्ये केही यहाँ चर्चा गर्नु उपुक्त देखिन्छ ।

प्रतिनिधि हुने व्यक्ति : नेपालको सन्दर्भमा उम्मेदवार पार्टीले चयन गर्ने प्रचलन छ । पार्टीेमा आबद्ध व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिए बागीको बिल्ला लगाइन्छ । स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना न्यून रहन्छ । त्यसैमाथि ३० वैशाखमा हुने निर्वाचनका लागि जित्नै पर्ने भन्दै गठबन्धन घोषणा भइसकेको छ । यस्तो अवस्थामा पार्टीमा चन्दा दिएको, चाकडी गरेको नभई सामाजिक भावना र विकासवादी चेत भएको व्यक्ति पार्टीले चयन गरुन् । व्यक्तिको स्वभाव, सामाजिक योगदान, कुशल कार्यशैली, विकासवादी दृष्टिकोण, विकासका योजना, योजना कार्यान्वयन क्षमता आदिलाई मूल्यांकन गरेर पार्टीले उम्मेदवार चुनावमा पठाएको हुनुपर्छ । यस्तो अवस्थामा मतदाताले पार्टी नभई उम्मेदवार तुलना गरेर मतदान गर्नुपर्छ । त्यतिबेला मात्रै आफू विवेकी भएको भनेर गर्व गर्न सकिन्छ ।

टुरिस्ट उम्मेदवार उठाउने पार्टी नै बहिष्कार गर्नुपर्छ । नत्र म बौद्धिक वा विवेकी मानिस हुँ भन्नै सुहाउँदैन

उम्मेदवारको पृष्ठभूमि : स्थानीय चुनावको बेला चिनेजानेको व्यक्ति उम्मेदवार हुने भएकाले तिनीहरुको शैक्षिक, आर्थिक, सामाजिक पक्षको पनि लेखाजोखा गर्नुपर्छ । उम्मेदवारको आम्दानीको स्रोत के छ ? आर्थिक अवस्थाभन्दा रवाफिलो व्यवहार छ कि छैन ? आर्थिक प्रगति गरेको छ भने कसरी गरेको छ ? अस्वाभाविक छ भने त्यस्तो उम्मेदवारलाई भोट हाल्नै हुँदैन । उम्मेदवारका छोरोछोरीको शिक्षादीक्षा कसरी व्यवस्था गरेको छ, समाजसेवामा सकारात्मक भूमिका छ कि व्यक्तिवादी स्वार्थमा चुर्लुम्म भएको छ ? उम्मेदवारबीच तुलना गरेर मात्रै भोट गर्नुपर्छ ।

उम्मेदवारको बसोबास : पछिल्लो समय ‘टुरिस्ट उम्मेदवार’ को बिगबिगी नै छ । जस्तैः पोखरामा घरजग्गा जोड्ने, छोराछोरी विकसित देश रोजेर विदेश पठाउने र राजनीतिक सौदाबाजीका लागि ठेगाना गाउँपालिकामा राख्ने र उम्मेदवारीका लागि घिच्रो हाल्ने । यस्तो उम्मेदवारलाई पार्टी र जनताले गलहत्याउनै पर्छ । बैठक वा कार्यक्रममा सहभागी हुन मात्रै गाउँ जाने नत्र फर्केर नहेर्ने प्रतिनिधिसभाका सांसद्जस्तो स्थानीय तहका प्रतिनिधि हुनै सक्दैनन् । स्थानीय प्रतिनिधि स्थानीय काममा सक्रिय भएको र हरेक समस्या र उत्सवमा सहभागी हुने खालको हुनुपर्छ । टुरिस्ट उम्मेदवार उठाउने पार्टी नै बहिष्कार गर्नुपर्छ । नत्र म बौद्धिक वा विवेकी मानिस हुँ भन्नै सुहाउँदैन । ५ वर्षमा ५ पटक गाउँ पुग्ने व्यक्ति कसरी गाउँको प्रतिनिधि बन्न सक्छ ?

वंश परम्परा र नातागोता : राजा र राणा हुँदा जहानियाँ शासन भयो भनेर चर्काे स्वर उरालेका तथाकथित गणतन्त्रवादीहरु नव राणाका रुपमा उदाइरहेका छन् । यिनीहरुले राणाको भन्दा चर्काे रवाफ देखाउने र चर्काे चाकरी खोज्ने गरेका छन् । त्यसेले वंश परम्परा तोड्ने उम्मेदवार पार्टीले छान्न सक्नुपर्छ । बाबुको नाम बेचेर छोरो नेता हुन सक्दैन । केन्द्रीय राजनीतिमा हेर्ने हो भने विपी कोइरालाको नाम बेचेर विपी पुत्र, गणेशमान सिंहको नाम बेचेर गणेश पुत्र, मदन भण्डारीको नाम बेचेर मदन पत्नी र रवीन्द्र अधिकारीको नाम बेचेर रवीन्द्र पत्नी उदाएको त देखिएकै हो । यसलाई जहाँनिया नभने घरानीय भने पनि त भो । परिवारका सबै राजनीतिमा लाग्ने उनीहरु नै नेता हुने हो भने तिनीहरुले कसरी जीवन निर्वाह गर्छन् ? के तिनीहरु सडकापेक्षी वा जोगीको अवस्थामा रहन्छन् ? नत्र उनीहरुको शान रबाफ पूरा गर्ने सम्पत्ति कसरी प्राप्त हुन्छ? जागिर पेसा नहुने, राजनीति गर्ने चिल्ला गाडी चढ्न पुग्ने पैसा कसरी प्राप्त हुन्छ ? उनीहरुमा बाबुले राजनीतिमा कमाइ हुन्न भन्ने सिकाएको भए काम गर्न सिक्थे न कि राजनीति गर्न । राजनीतिमा कमिसन पाइन्छ, भ्रष्टाचार गर्न पाइन्छ, रातारात अकुत कमाउन पाइन्छ भन्ने सोचले परिवार नै राजनीतिमा लागेकालाई प्रतिनिधि बनाएर कस्तो सुशासन र विकासको खोजी गर्ने ? यसको जवाफ खोज्ने बेला आएको छ । पारिवारिक अन्त्य गर्ने गरी पार्टीभित्रैबाट विद्रोह सुरु गरिनुपर्छ । पारिवारिक राजनीतिको पञ्जाबाट मुक्त नहुने भए चौरमा चरिरहेको बहरको पछाडि उभिएर खस्ला र खाउँला भनेर हेरिरहने स्यालको भूमिकामा कतिञ्जेल बसिरहने ? नेता बन्छौं भनेर राजनीतिमा होमिएका युवाहरुले सोच्ने बेला आएको छ ।

विकल्पको खोजी : आम नागरिकले के बुझ्न जरुरी छ भने स्थानीय तहमा हुने निर्वाचनबाट चयन हुने प्रतिनिधि प्रत्येक व्यक्तिको पहुँचमा पुग्ने हुनुपर्छ । भेट्नै नसकिने, सधैं नेताको चाकडीमा लागिरहने, सदरमुकाम र केन्द्र धाइरहने, जनअपेक्षाअनुसार योजना नदिने व्यक्ति अघिल्लो चुनावमा पनि उम्मेदवार थियो कि ? नजिकबाट नियाँल्दै त्यस्ता उम्मेदवार फेरि आएमा पाखा लगाउनु पर्छ । पछिल्लो समय अटेरी उम्मेदवार सार्वजनिक हुँदै स्थानीय तह दलीय नेतृत्व नभई स्वतन्त्र नेतृत्वको पक्षमा वकालत भइरहेको पाइएको छ । नियमानुसार गर्नुपर्ने काममा पनि राजनीतिक रङ दल्ने परिपाटीको अन्त्यका लागि पहलकदमी लिनुपर्छ । त्यसका लागि आफूलाई उपयुक्त लागेको उम्मेदवारलाई भोट हाल्नुपर्छ । त्यसरी भोट हाल्दा पार्टी नभई व्यक्ति हेरिन्छ । असल व्यक्ति छानिन्छ । हाम्रो समाजमा प्रचलित भनाइ छ,‘ मुर्खसँग मिठो बोल्नुभन्दा विद्वानसँग झगडा गर्नु बेस ।’ असल पात्र परेमा खराब नै गरिहाले पनि खत्तम पार्दैन, अत्याचार गर्दैन । यसर्थ हाम्रालाई होइन, राम्रालाई रोजौं । पार्टीलाई होइन व्यक्तिलाई रोजौं । आफ्नो पालिका समृद्ध र विकसित बनाउने उम्मेदवार र प्रतिनिधि रोजौं । राम्रो काम नगर्ने पहिलेका प्रतिनिधिलाई धिक्कारौं । भ्रष्ट, अत्याचारी, मूर्ख, चाकडीबाच, टुरिस्ट उम्मेदवार बहिष्कार गरौं ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width