ओझेलमै अस्ताए यक्षपति साधक

असफल गौतम
जेठ ८, २०७८

जेठ २ गतेको दिन मौसम खुलेको थियो तर सामाजिक तरंग मन धमिल्याउने समाचार लिएर आयो । नेपाली वाङ्मयका यक्षपति साधक चेतन कार्की गुमाउनु परेको । मथिंगलले प्रश्न गर्‍यो, के यो सत्य हो ? धेरै शुभेच्छुकले फोन गरेर चेतन कार्की बित्नुभएछ भन्दा हजुर भनेर कुरा टुङ्ग्याएँ । केहीका फोन उठाइनँ, पिताजी बित्नु भएको सत्य हो भनेर खबर पठाएँ किनकि उहाँसँगका सन्दर्भले थप पीडाबोध भइरहेको थियो । सत्संगतमा अगाडि बढ्न पाउँदा गौरवबोध थियो । छ महिनामै माता र ढोटे उमेरमै पिता गुमाएको मलाई उक्त दिनले साँच्चै टुहुरो भएको अनुभूति गरायो । नेपाली वाङ्मयका क्षेत्रमा परेको ठूलो खाडललाई कसैले पुर्न त सक्दैन, के लेख्ने भनेर लेख्नै सकिनँ । के गरौं–गरौं भयो, सञ्जालमा लाइभका माध्यमबाट श्रद्धाञ्जली अर्पण गरें । आज प्रस्तुत आलेखमा मान्छेको चेतन, अवचेतन र अचेतन अवस्थामा सबैको मन मन्दिरमा स्मरणमा आउने सदा ओझेलमा परेर अस्ताएका वाङ्मयका यक्षपति साधक कार्कीका योगदान र दिनचर्या स्मरण प्रयास गरिएको छ ।

परिचय

तत्कालीन ४ नम्बर पञ्चायत बहाँटारी स्याङ्जा नुवाकोटका जुद्धवीर कार्कीले सन् १९९६ देखि भारतीय सेनामा सेवा आरम्भ गरे । सिपाहीमा सेवा प्रवेश गरेका उनी कप्तान भएर निवृत्त भए । लाहुरेको छोरा भएकाले माइला छोरा चेतन कार्कीलाई भारतमा पढाएर जागिर खुवाउने अभिलाषाले लिएर गए । हिजो गाउँमा पढाउने स्कुल थिएनन्, अहिले झण्डै दर्जन प्लस टु र एउटा कलेज छ तर लाहुरे संस्कार अझै जीवित छ । गाउँ समाजमा विवाह गर्दा छोरीका बाबुले जागिर के छ भनेर पहिला सोध्थे र सोध्छन् । अधिकृत, उपसचिव, लेक्चर छ भन्दा वास्ता गर्दैनथे गर्दैनन् । फौजमा लाहुरे छ भन्यो कान ठाँडा गरेर ब्रिटिस कि इन्डियन भनेर सोध्ने संस्कारमा हुर्केका कार्की परिवारलाई आजभन्दा आठ दशक अगाडिको अवस्थाले राम्ररी समातेको थियो ।

पिताले चार वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिटरी स्कुलमा भर्ना गरिदिए । भारतको देहरादूनबाटै सन् १९५२ मा हिन्दी कविता लेखेर साधना सुरु भयो । भारतमा अंग्रेजी पढे पनि मनको लोकसंस्कृतिको मोह घटेन । बुबाले सोचेजस्तो दाजुभाइले जागिर खाए तर चेतनले खाएनन् ।

कार्की विद्यालयकालका फुटबल, बास्केटबल र एथ्लेटिकका नामी खेलाडी । आगरा विश्वविद्यालयमा उनी फुटबल कप्तान थिए । उक्त कलेजमा दुई वर्ष च्याम्पियन एथ्लेटिक र बास्केटबलका कलर होल्डर भए । सन् १९५८ मा उत्तर प्रदेश राज्यको प्रतिनिधित्व गरी भारतको नेसनल च्याम्पियनसिपमा भाग लिए । यो उनको ओझेलमा परेको व्यक्तित्व भयो । फुटबल, एथ्लेटिसमात्र होइन नेपाली वाङ्मयका पनि कप्तान भए तर उनको कप्तानी कसैले देखेन ।

लाहुरे हुने मन थिएन, २०१८ सालमा पढाइ सकेर काठमाडौं आए । ७ महिना काठमाडौं जागिर खोज्दा कतै पाएनन् । मास्टर डिग्री गरेका सचिव र डाइरेक्टर ज्यादै कम थिए तापनि आफ्ना कोही नभएकाले मास्टर सकेर पनि जागिर पाएनन् । त्रिचन्द्र कलेजमा हिन्दी साहित्यका लागि कुल शेखर शर्माले सिफारिस गरे, तुलसी गिरी मन्त्री परिषद्का अध्यक्ष थिए, उनका भान्जा प्रवीण गिरी आएछन् । शर्माले भनेछन्, ‘गिरीका भान्जा पनि आएका छन्, मलाई पर्दैन, उनका भान्जालाई दिनू । रेडियो नेपालमा कर्मचारी खोजेको थियो । प्रकाशमान सिंह रेडियोका डाइरेक्टर थिए । स्वर परीक्षण गर्दा तपाईंको स्वर ‘भ्वाइस अफ अमेरिकाको जस्तो भयो’ भने । फुटबल क्याप्टेन भएकाले उनलाई नेपाल पुसिलले फुटबल खेलायो । तत्कालीन आइजिपी डी राज शर्माले डिएसपी दिन्छु भनेर २ टुर्नामेन्ट खेलाए । टुर्नामेन्ट जितेपछि ‘इन्सपेक्टर खाऊ’ भने खाएनन् । फुटबल खेल्न छोडेर कृषि विभागअन्तर्गत मत्स्य शाखामा अधिकृतमा नाम निकालेर जागिर खाए । जागिर खाएको २३ दिनपछि काठमाडौंबाट पोखराको यात्रा सुरु भयो ।

अधिकृतको जागिर, आफ्नो भनिदिने मान्छे मन्त्रालयमा कोही नभएकाले आफूभन्दा २ वर्ष जुनियर जसले राम्ररी काम गरेकै थिएन उसलाई बढुवा दिए । जागिर खाएको ६ वर्ष ४ महिनामै २०२५ वैशाखको अन्तिम साता राजेश्वर देवकोटा कृषि मन्त्री थिए, उनकै हातमा राजीनामा दिए । मन्त्रीले ‘राजीनामा नदे के गरेर खान्छन् ?’ भन्दा ‘मैले गाउँमा गीत गाएर पनि पेट पाल्छु, मेरो पेटको चिन्ता नलिनू, बढुवा हुन मन्त्रालयमा सचिव हुनुुपर्ने रहेछ, मेरो कोही छैनन् त्यसैले मैले अब जागिर खान्नँ–खान्नँ–खान्नँ’ भनेका उनको ५ महिनापछि राजीनामा स्वीकृत भयो ।

व्यक्तित्वका आयाम

जीव विज्ञानमा स्नातक र हिन्दी साहित्यका स्नातकोत्तर गरेका कार्की बहुआयामिक व्यक्तित्व थिए । हिन्दी, नेपाली र उर्दू तीनवटै भाषाका ज्ञाता कार्कीका तीनवटै भाषामा कृति प्रकाशित छन् । ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ र ‘ढलेको गिलास’ तीन उपन्यास प्रकाशित छन् । ‘कल्पना टूट चुकी है’ उनको हिन्दी–उर्दू दुवै भाषाको कविता कृति हो । ‘जून निदाउन थाल्यो’ गीतिकविता संग्रहमा लोकजीवनका गीतिबान्कीलाई संग्रहित गरेका छन् । ‘मायाप्रीतिको चोखो कथा’ र ‘दिल जिगर के टुकडे’ उर्दू भाषाको कृति गरी दर्जन बढी कृति प्रकाशित छन् । अंग्रेजी भाषाका दक्ष प्रतिभा कार्की ‘साइट साउन्ड एन्ड पल्स’ पुस्तकका सहलेखक हुन् । जो निकै लोकप्रिय कृति मानिन्छ । पछिल्लो समय प्रकाशन भएका उनका ‘हत्केलाले सधैंभरि सूर्य छेकिँदैन’ मुक्तक र ‘हो देश मेरो पनि’ गजल संग्रह विभिन्न समयमा प्रकाशन भएका फुटकर सिर्जनाका एकीकृत रुप हुन् ।

भीमदर्शन रोकाका समकालीन मित्र मानिने कार्की हिन्दी र उर्दू साहित्यको राम्रो ज्ञान भएका स्रष्टा भएकाले उनका फुटकर सिर्जना निकै चोटिला छन् ।

२०२३ सालमा उनले पोखरामा पहिलो टिकटमा नाटक गरेका प्रदर्शन थिए, ‘आत्म बेचेको छैन’ ।

कार्कीका सबै उपन्यास चर्चित भए तापनि ‘आत्मा बेचेको छैन’ उपन्यासको पृष्ठभूमिमा उनको जीवन र परिवेश अटाएको छ । देशको मायाले लाहुरबाट फर्किएका उनले देशलाई धेरै दिए, देशबाट धेरै दुख पाए । आत्मा बेचेको छैन उनको आफ्नै जिन्दगीको पाश्र्वचित्र मान्न सकिन्छ । उजबेकिस्तान, अजरबैजान, रुस, अमेरिका, थाइल्यान्ड, हङकङ, जापान, पाकिस्तान, भारतलगायतका देशको भ्रमण गरेर त्यहाँको कला साहित्य र संस्कृतिको ज्ञान आर्जन गरेका कार्की बहुभाषाका सर्जक भएका कारण उनका सिर्जना भाषिक हिसाबले पनि सलल बगेको पाइन्छ ।

स्याङ्जामा जन्मेर भारतमा पढेर, पोखराबाट जागिरे जीवन सुरु गरी काठमाडौंलाई साधनाको थलो बनाएका कार्कीले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेख्य योगदान दिए । पोखरामा रहँदा भूपी शेरचनका दोस्ती कार्की २०१७ सालदेखि रंगमञ्चमा क्रियाशील रहे । २०२५ सालदेखि नेपाली चलचित्रका क्षेत्रमा क्रियाशील उनका झण्डै दर्जन गीति नाटक मञ्चन भए । झण्डै पाँच दर्जन चलचित्रमा चेतनले कथा, पटकथा, संवाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भएका थिए ।

कार्कीको व्यक्तित्वमात्र होइन स्वभाव पनि बहुआयामिक छ । उनको शील, स्वभाव र शालीनता देख्दा पंक्तिकारजस्ता ठेट्नाहरु पानी–पानी हुनुपर्ने अवस्था छ । आफूलाई चेतनभन्दा एकतह माथिको सम्झने केही थान व्यक्तिले अनेक संज्ञा दिन्छन् । उनी कति सरल र तरल छन् भन्ने कुरा संगत गरेकाले मात्र थाहा बुझ्छन् । पंक्तिकार एउटा हिन्दी भाषाको कृति अनुवादको आग्रह लिएर काठमाडौं घरमा पुगेको थियो । उनको बसोबास हाम्रो कल्पनाभन्दा बाहिरको सामान्य पुरानो संरचनाको आँटी भएको दुईतले घरमा सादगी जीवनचर्या बितेको थियो । कुराकानीमा हजुर वरिष्ठ चलचित्रविद्, संस्कृतिविद् र साहित्यकार भन्दा ‘ए छोरा तिमीले के भनेको ? म त सिक्दै छु । म चलचित्रकर्मी, संस्कृतिकर्मी र साहित्य अनुरागी हुँ । चलचित्रविद्, संस्कृतिविद, साहित्यकार हैन,’ भने । उनले आफ्नो जीवन रहँदासम्म आफूलाई वरिष्ठ भन्न नरुचाएका मात्र हैनन् वरिष्ठ कहिल्यै बनेनन् । काठमाडौंबाट पोखरामा अतिथि बनाएर कसैलाई ल्याउन प¥यो भने ती केही थान व्यक्तिले भन्थ,े ‘म गाडीमा हिँड्न, कोलाहलमा रात बिताउन सक्दिनँ ।’ जहाजमा ल्याएर स्टार होटलमा राख्नुपथ्र्यो । तर कार्कीलाई कसैले बोलायो सार्वजनिक बसको टिकट आफैंले काटेर आउँथे । पोखरा रहँदा बस्ने होटल जहाँ उनका लागि एउटा कोठा सधैं रहन्थ्यो, त्यहीँँ बसेर कार्यक्रममा पुग्थे ।

पोखरासँग गहिरो नाता भएका कार्की हिमाली सांस्कृतिक परिवार र कल्याण शेरचन स्मृति प्रतिष्ठानका कार्यक्रममा मात्र वर्षमा आठ पटक पोखरा–काठमाडौं गर्थे । तीबाहेक नेपालका अनेकौं शैक्षिक, साहित्यिक, सांस्कृतिक, सामाजिक संस्थाका सल्लाहकार, संरक्षक र प्रमुख संरक्षक थिए । हामीले देखेका छौं आफूलाई कार्कीभन्दा माथिको ठान्ने यो देशका प्राध्यापक, विद्यावारिधि गरेका डाक्टरहरू मञ्च पाएनन् भने कार्यक्रममा पुग्दैनन् । पछिल्लो पुस्ताले अतिथिका रुपमा आमन्त्रण गरे खिस्याउँछन्, प्रमुख अतिथिको सुइँको नपाउँदासम्म फुर्सद निकाल्दैनन् तर कार्की निम्तो पाएका कार्यक्रममा लुखुरलुखुर हिँडेर पुग्थे । ‘लिन ट्याक्सी लिएर आऊँ?’ भन्यो भने ‘पर्दैन म आफैँ आइहाल्छु’ भनेर आयोजकले दिएको कार्यक्रम समय तालिकाभन्दा आधा घन्टा अगाडि पुग्थे । उनमा न घमन्ड थियो, न दम्भ ।

कसैले केही काम गराएर पारिश्रमिक के गरौं भन्यो भने, ‘ए छोरा मेरो चरित्रमा दाग लगाउन खोजेको भनेर सित्तैमा काम गरिदिन्थे । बहुमुखी प्रतिभाका धनी व्यक्तित्व कार्की तत्कालीन राज खानदान र सामान्य प्रतिभा दुवैका लागि उत्तिकै प्रभावपरक व्यक्तित्व थिए । उनले एकातर्फ राजा महेन्द्रसँग स्वीकृति लिएर परिवर्तन फिल्ममा नीर शाहलाई अभिनय गराएर राज खानदानलाई चलचित्र क्षेत्रमा ल्याएका अर्कातर्फ भोलि रेकर्ड हुने गीत आज लेखेर नारायण गोपाललाई गाउन लगाए । जुन गायन नारायण गोपालको चलचित्र क्षेत्रको पहिलोमात्र होइन, नेपाली फिल्ममा पहिलोपटक स्याङ्जाको आँधीखोले लोकभाका ‘बहिनीको माया छ भने…’ गीतलाई समावेश गराएर लोकप्रिय बनाए ।

गणतन्त्र आएपछि देशमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढ्यो । प्रतिष्ठानलाई नामावली संकलन गरेर मन्त्रीलाई बुझाउने जिम्मेवारी शान्ति मास्केलाई थियो । उनले कार्कीको सहयोग लिएर संस्थापक कार्यसमितिको नामावली मन्त्रीलाई बुझाइन्, जहाँ कार्कीले आफ्नो नाम राखेनन् । नाम राखेका सबैका प्राज्ञ भए दुनियाँलाई सिफारिस गर्ने उनको नाम कहिल्यै कसैबाट सिफारिस भएर आएन । उनलाई कहिल्यै प्राज्ञ, कुलपति, राजदूत हुने लोभ र पुरस्कार थाप्ने लालसा भएन ।

पोखरालाई उनले धेरै दिएँ, पोखराले केही दिन सकेन । नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान दिनेका लागि पोखरामा धेरै पुरस्कार स्थापना भएका छन् तर कार्कीका भागमा परेनन् । किनकि नयाँ पुस्ता खोज अनुसन्धानमा छैन, समकालीन भन्नेहरु वाङ्मयको उन्नयन र पुरस्कारका नाममा यताबाट उता, उताबाट यता व्यापार गरिरहेका छन् । उनी यो व्यापारमा संलग्न छैनन् ।

पहिरनमा निकै ध्यान दिने कार्कीका कपडामा सधैं धारिलो हतियारको धारजस्तो आइरनको डोरा देखिन्थे । घरमा परिवारसँग साथी–साथीको रमाइलो व्यवहार थियो । यी गंगाले के भन्छिन् भनेर रमाइलो वातावरण बन्थ्यो । आफूलाई काममा लगाउँदा मनदेखि लगाउँथे, उनको जीवनशैलीबाट प्रष्ट हुन्थ्यो । गोजीफोन बोक्दैनथे, घरको टेलिफोन झट्ट उठ्दैनथ्यो । भन्थे, ‘काम गर्दासम्म उठ्ने र कराकारको काम एकध्यान भएर गर्नुपर्ने भए सुत्ने बेलामा जस्तै टेलिफोनको लाइट सेटबाट छुटाएर राखिदिन्छु । मेरा पुत्रवत् छोरा मुरारी छन् उनलाई सम्पर्क गरेपछि भेट भइहाल्छ ।’

कार्कीका जीवनमा रक्सीको किस्सा रोचक थियो । भूपी शेरचनका अनन्य मित्र उनले भन्थे, ‘हामी दुवै कोदोको झोलमा रमाउँथ्यौं । मैले भूपीजी भन्थे, उनले ‘जी’ नभन्नु अगाडि ‘मु’ थप्छु भन्थे ।’ रक्सीकै सन्दर्भमा डाक्टरले छोड्नु भनेका थिए । श्रीमती गंगाले कहिल्यै केही नभन्ने एकदिन कस्तो गनाएको भनेपछि छोडौं त ? भन्दा श्रीमतीले ‘छोड्छु सबैले भन्छन् कसैले छोड्दैनन् भनेपछि म अरुजस्तो होइन आजदेखि छोडेँ भनेर चटक्कै रक्सी छोडे । जीव विज्ञानका विद्यार्थी भएकाले शरीरभित्रको अल्कोहलको मात्रा निस्तेज पार्न पछिल्लो समय कोक खान थाले । कहिलेकाहीं हजुरलाई कति धेरै कुराको ज्ञान छ है ? भन्दा चेतन कार्कीको कपाल फुलेको अनुभवले पनि होला नि बा भनेर ठट्टा गर्थे तर उनको अनुभव कसैले देखेन । कुनै रोग थिएन । हामी एक सय वर्ष बाँच्छन् भन्नेमा विश्वस्त थियौं, त्यसैले सोध्नुपर्ने धेरै कुरा मनमै रहें । उनका भन्नुपर्ने कैयौं कुरा मनमै रहे होलान् के गर्ने ? लोकगीतलाई नेपाली चलचित्रमा भिœयाउने प्रथम प्रयोक्ता, रेडियो नेपालमा हिमाली पुकार र लोकसुसेली कार्यक्रम सञ्चालन गरेर लोकगायकका रुपमा परिचित गराउने प्रतिभा, नेपालीसँगै उर्दू, हिन्दी र अंग्रेजी भाषाका ज्ञाता, लेखकमात्र होइन गायन, संगीत र निर्देशनमा उत्तिकै दक्ष प्रतिभालाई पापी समयले असमयमै चुँडेर लग्यो ।

लोक संस्कृतिका एम्बास्टर
माछीले खा मलाई भन्छ खान मन लाग्दैन पटक्कै
चनौटे जा मलाई भन्छन् जान मन लाग्दैन पटक्कै ।

चनौटे उनको बुढो मावली थियो । चनौटे खोलाको तिरमा भएकाले उनले यो गीत बनाएर गाएको हुनुपर्छ । जुन उनको जन्मजात रुचिको विषय थियो । गाउँमा कसैले नसुनेको यो गीत सुनेपछि आमाले ‘यो त ‘गाइने’ बन्ने भयो’ भनेर चिन्ता गर्न थाल्नुभएछ । तत्कालीन समाजमा गीत गाउनु ‘गाइने’ हुनु थियो । समाजमा त लाहुरे भएमात्र ठूलो सम्मान थियो, जो जीवन्त छ ।

लोककवि अली मियाँ र जनकवि केशरी धर्मराज थापापछि लोकसंस्कृतिमा जाग्ने प्रतिभा नभएकाले विचलन आएको थियो । जब २०१८ सालमा चेतन कार्की पोखरा आएसँगै सुषुप्त अवस्थाको लोकसंस्कृति जागेको इतिहास दिनको घामजस्तै छर्लंग छ । तर लोकसंस्कृतिको पुनर्जागरण गर्न उनले दिएको योगदान आजसम्म ओझेलमा छ ।

पोखरामा रहँदा उनी शुक्रबार घर जान्थे । डाँडाबाट सुसेली बजाएपछि डाँडाघरे माइलो आयो भनेर गाउँका तन्नेरी–तरुनी आएर रातभरि गीत गाएर बिहान ३ बजे घर गएर मेलापात गर्थे । गाउँघरमा लोकसंस्कृतिप्रति यसरी आकर्षण बढाएको सन्दर्भलाई कसले लिपिबद्ध गरिदिने ? जुन बेला बाटुलेचौरका गन्धर्व कार्कीसँग लोकगीत सिक्न आउँथे । कुभिन्डेदेखि सातमुहाने देउराली, घान्द्रुकदेखि सिक्लेससम्म कुनै कार्यक्रम हुँदा पहिला सम्झने नाम थियो चेतन कार्की । चेतनको सहभागिता नभएका कुनै स्कुलका सांस्कृतिक कार्यक्रम हुँदैनथे । जसलाई इतिहासका पानामा लिपिबद्ध कसले बनाइदिने ? तत्कालीन महेन्द्र सरकार पोखरा जाँदा सांस्कृतिक टोली लिएर प्रस्तुति देखाउन पुगेको सन्दर्भ उठाउने कोही पाइँदैनन् ।

२०२५ साल असारको तेस्रो साता तत्कालीन सूचना विभागले बनाउन लागेको ‘चेतना’ चलचित्रको कथा, पटकथा, संवाद तयार गर्ने कामले झलकमानलाई चिनाएको सन्दर्भ कसले उठाइदिने ? जुन चलचित्रमा उनले विभिन्न भावभूमिका चारवटा लोकगीत समावेश गरेर चेतना चलचित्रलाई ‘परिवर्तन’ नाम दिए । जुन नेपाली लोकसंस्कृतिका क्षेत्रमा उनको र गण्डकी क्षेत्रकै पहिलो काम थियो । त्यहींबाट उनी चलचित्र क्षेत्र र वर्तमानको गण्डकी प्रदेशको लोक संस्कार, संस्कृति संरक्षणमा जमेका थिए ।

चेतन कार्की हालको गण्डकी प्रदेशका सबै नेपालीको रगतमै लोक संस्कृतिको अनुराग छ भन्थे । गण्डकीलाई लोकसंस्कृतिको राजधानी, लोकगीतको खानी भएकाले वर्षमा दुई सय नयाँ लोकभाका निस्कन्छन् भन्थे । स्मरणीय कुरा त, २०२३ सालमा उनले पोखरामा पहिलो टिकटमा नाटक प्रदर्शन गरेका थिए, ‘आत्म बेचेको छैन’ । आत्म बेचेको छैन नाटकमा गायक बनाएर गाउन लगाएका झलकमानको गीत ‘आमाले सोध्लिन्…’ त्यही गीतबाट झलकमान चर्चित बने । तर उक्त गीत झलकमानका बुबा दुर्गाबहादुरबाट कार्कीले सुनेर दुर्गालाई गाउन रोल दिएकामा दुर्गा बिरामी भएकाले झलकमानलाई निर्देशन गरेर गाउन लगाए । जुन गीत तत्कालीन गण्डकी अञ्चलको सांस्कृतिक टोलीलाई फागुन ७ गतेको प्रतियोगितामा देखाउँदा विजेता बन्न सफल भएर त्यही गीतको भरमा झलकले रेडियो नेपालमा जागिर पाएको सन्दर्भ ओझेलमै छ ।

वर्तमानको यक्ष प्रश्न

भित्तामा फेरिएका भित्तेपात्रोसँगै आजको अवस्थासम्म आइपुग्दा धेरै परिवर्तन आए । देशको लोक संस्कार, संस्कृति संरक्षणमा विभिन्न प्रयास भए । तर हिजो संसारमा सबैभन्दा स्वाभिमानी को भन्दा ? नेपाली भन्थे, आज बेइमानी को ? भन्दा नेपाली भन्ने अवस्था सिर्जना भयो । ‘असतोमा सत् गमय’ ऋग्वेदका यस्ता धेरै ऋचा सानैदेखि सुन्दै आइयो तर हामीले भए गरेका भ्रमलाई निमिट्यान्नै पारेर असत्यको अन्त्य गरेर सत् यो हो भनेर सत्यतर्फ लैजाने प्रतिभालाई कहिल्यै उपयुक्त ठाउँमा पाउन सकेनौं । हाम्रो पुस्ताले पाउनै सकेन । कार्कीजस्ता प्रतिभाको निधनमा प्रधानमन्त्रीले ट्वीट र संस्कृतिमन्त्रीको शोक विज्ञप्तिलेमात्र साधनाको सम्मान भएको मान्न सकिन्नँ । यो पंक्तिकारजस्ता नेपाली साहित्यका विद्यार्थीका लागि दूर्भाग्य हो ।

२०५३ सालमा पोखरामा हिमाली सांस्कृतिक परिवारको अवधारणा आयो । २०५४ सालदेखि गण्डक क्षेत्रको संस्कृति संरक्षणमा क्रियाशील छ । २०५८ सालको कुरा हो, जुन बेला ब्यान्डबाजाको हाली मुहाली थियो । जुन संस्थाले पश्चिमाञ्चल क्षेत्रीय पञ्चेबाजा प्रतियोगिता राख्यो । जुन अवधारणा कार्कीकै थियो । पोखराको बगरदेखि हाम्रा पुराना लोक बाजागाजा, प्लेकार्ड, व्यानर र प्रभातफेरीसहित निस्केको झाँकी अमरसिंहको खुला चौरमा पुगेर प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताले मगरबाजा, गुरुङबाजाको अवधारणा अगाडि बढाइदियो । त्यसै उपज आज ती बाजाले व्यावसायिक प्रगति गरे । भलै दमाइबाजाझैं, उनीहरुले विभिन्न संस्कार सन्दर्भमा चरण–चरणका राग र धुनलाई समेट्न नसके पनि पञ्चेबाजाको संरक्षण भइरहेको छ, यो गौरवको कुरा हो ।

चेतन कार्कीले विभिन्न सांस्कृतिक सभा समारोहमा २ कुरा सधैं दोहो¥याउने–तेहे¥याउने गर्थे । कुनै पनि राष्ट्रको अस्तित्व समाप्त गर्ने हो भने अर्थ व्यवस्थामा चोट पुर्‍याउनु हो, कुनै जातिको अस्तित्व समाप्त गर्ने हो भने संस्कृतिमा चोट पुर्‍याउनु हो । देशको गौरव भनेको त्यहाँको भाषा, कला साहित्यले बोलेको हुन्छ । नेपाल दुबै हिसाबले च्यापिएको छ त्यसका दोषी हामी सबै हौं । तर आज देशको संस्कार, संस्कृति, गीत, संगीतमात्र होइन इतिहास नै समाप्त हुने डर हुन थालेको छ ।

पोखरामा प्रज्ञा प्रतिष्ठान हुनुपर्छ भनेर हामीले पनि नारा, प्लेकार्ड, ब्यानर बोकेर विरोधको स्वर निकाल्यौं । गौरवको कुरा केन्द्रमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना भयो । आज देशमा विभिन्न प्रज्ञा प्रतिष्ठान स्थापना भएका छन् । प्रदेश–प्रदेशमा प्रज्ञा प्रतिष्ठान, महानगरमा प्रज्ञा प्रतिष्ठान स्थापना भएका छन् । बिडम्बना त्यहाँ प्राज्ञ भएर बसेकासँग नेपाली लोकसंस्कृतिका बारेमा बोल्ने क्षमता छ भनेर समयले प्रश्न उठाएको अनुभूति हुन्छ । धेरै टाढाको कुरा छोडौं, भोलि दिल्लीमा लोकसांस्कृति सम्मेलन हुँदा हाम्रा प्राज्ञहरुले यहाँको लोक संस्कार, संस्कृतिबारेको कार्यपत्र होइन कि आफ्नो एउटा कोठेगीत गाएर आउने अवस्था छ । किनकि उनीहरु यहाँका लोकनाटक, लोकगीत, लोकसंस्कृतिको विकासमा आफ्नो क्षमतामा थप ज्ञान आर्जनका लागि नियुक्त भएका होइनन् । उनीहरु त पार्टीका नारा र भाषणका आधारमा, ढुंगामुढा गरेका आधारमा, लोकमा प्रचलनमा रहेका नारा ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ भने जस्ता आधारमा प्राज्ञ भएका छन् । सांस्कृतिक पुरस्कार र जागिर खाएका छन् । कसरी हाम्रो लोक संस्कार संस्कृति संरक्षण हुन्छ भनेर मेरो ठेट्ने दिमागले प्रश्न सोध्छ । पछिल्लो सिर्जनशील पुस्ताबारे लेख्ने स्रष्टा साधक धेरै जन्मने छन् । वर्तमान प्राज्ञहरुले लेख्ने छन् र लेख्लान् । प्रज्ञा प्रतिष्ठानले दिएको प्राज्ञको छबि उजिल्याउन पक्कै लेख्लान् । तर अनेक चेतका चेतन कार्की जस्ता धेरै स्रष्टाको इतिहास लेखिएको छैन, अब कसले लेख्ने ?

निथे्रनी

राज्यका सन्दर्भमा मात्र होइन, पोखराकै वाङ्मय, लोक संस्कार, संस्कृति र नाटकका क्षेत्रमा कार्कीले उल्लेख्य योगदान दिएका छन् । अली मियाँ र जनकवि केशरी धर्मराज थापापछि आउने नाम नै चेतन कार्की हो । तापनि योगदानको कदर आजसम्म राज्यमात्र होइन वाङ्मयिक संघसंस्था कतैबाट हुन सकेन । अनेक चेतका चेतन भएका, राज्यलाई धेरै दिएका चेतन कार्की राज्यबाट मात्र होइन, वाङ्मयको श्रीवृद्धिका नाममा व्यापार गर्नेबाट पनि छोडिएका, उपेक्षित प्रतिभामध्ये एक हुन् । सधैं काँधमै बोकेर हिँड्नुपर्छ भन्ने होइन, उसको गुनको स्मरण हुनुपथ्र्यो । इतिहास मर्न दिनु हुँदैनथ्यो भन्ने पंक्तिकारको धारणा हो । सबैभन्दा चिन्ता यस कारण कि हाम्रो वर्तमान विशृंखल हुँदै गएको छ । तीन बाली फल्ने फाँटका खेतमा वनमारा झुलाएर हामी कौसीको दुईपाते सिमीको आत्मरतिमा रमाइरहेका छौं । नेपाली वाङ्मयका क्षेत्र यस्तै रामरमिता छ । यसैले राज्यका लागि धेरै दिएर राज्यका सबै क्षेत्रबाट सदा उपेक्षित भएर ओझेलमै अस्ताएका यक्षपति साधकको योगदान कौसीको आत्मरतिमा रमाएजस्तो देख्न नपरोस्, श्रद्धेय पिताजीप्रति हार्दिक श्रद्धासुमन !

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग