भगवान् विश्वकर्मा : देवकालीन इन्जिनियर

नवीन विश्वकर्मा
असाेज १, २०७९

परिचयः

प्रभु विश्वकर्मा ब्रह्माका पुत्र, एक हातमा कमण्डलु, एक हातमा पुस्तक, एक हातमा नुज र एक हातमा कलाकृति सामान लिनु भएका, शिरमा मुकुट तथा निधारमा ३ धर्का भएको नमाम धारण गरी सिंहासनमा विराजमान हुनु भएका, देवताहरुको कालिगढ र आर्किटेक्टको अध्यक्ष हुनुहुन्थ्यो । यो संसारको रचयिता, भगवान्हरुको दरबार, विमानहरु तथा हतियारहरुको आधिकारिक निर्माणकर्ता रुपमा भगवान् विश्वकर्मालाई लिइएको छ । संसारको पहिलो धर्मग्रन्थ ऋग्वेदअनुसार प्रभु विश्वकर्मा सम्पूर्ण विश्वको सर्जग हुनुहुन्छ (ऋग्वेद १०।१२१) । उहाँ सम्पूर्ण देवगणहरुको विधाता हुनुहुन्छ । त्यसै गरी यजुर्वेद, अथर्ववेद, सामवेद तथा अन्य वेदहरुमा पनि प्रभु विश्वकर्मालाई देवताहरुको परमेश्वर भनेर उल्लेख गरिएको छ । यसरी सबै धर्म ग्रन्थहरुको सारमा हेर्दा भगवान् विश्वकर्मालाई भगवान््को पनि भगवान् हुनु हुन्छ भनेर उल्लेख गरेको पाइन्छ । अन्य धर्मग्रन्थहरुका अनुसार भगवान् विश्वकर्मालाई भगवान्हरुका इन्जिनियरको रुपमा चित्रण गरेका पाइन्छ । भगवान् विश्वकर्मा को हुनुहुन्छ ?

भगवान् विष्णु जब शेषनागको आसन गरी थिर समुन्द्रमा आराम गर्नु भएको थियो त्यसै समयमा प्रभुको नाभीबाट एक कमलको बोट उम्री फूल फुलेको र सो फूलमाथि चतुर्मुख ब्रह्माजीको सृष्टि भयो । ब्रह्माजीका पुत्र धर्म थिए । धर्मकी वसु नामक स्त्री जसका सात वटा पुत्रमध्येका वास्तुदेव सातौं पुत्र थिए । तिनै वास्तुदेव र उनकी धर्म पत्नी आंगिरसीका छोरा भगवान् विश्वकर्मा हुनुहुन्छ । (विश्वकर्मा पुराण पेज ७) । भगवान् विश्वकर्माका पाँच भाइ छोराहरु थिए उनीहरुको नाम यस प्रकार रहेको छ मानु जो फलामको काम गर्नुहुन्थ्यो, माया जो काठको काम गुर्नहुन्थ्योे, थुभस्टा जो तामाको काम गर्नु हुन्थ्यो, देवसिपी जो मूर्तिकार हुनुहुन्थ्यो र विश्भजन्या सुनको काम गुर्नुहुन्थ्यो । विश्वकर्मा भगवान्का २ वटा छोरीहरु थिए । जसमध्ये एक प्रभावशाली छोरी संज्ञा थिइन्, जसलाई प्रभु विश्वकर्माले सूर्यका साथ विवाह गरिदिनु भएको थियो ।

भगवान् विश्वकर्मालाई विभिन्न नामले सम्बोधन गर्ने गरेको पाइन्छ । जस्तैः कृत्नु यसको अर्थ हुन्छ सबैको सजिलै कार्य सिद्धि गर्नेवाला, योग्य, निपूर्ण तथा चतुर त्यस्तै त्वष्टा र कृत्नु (तिनै लोकको रचयिता सबै प्रकारले योग्य) यस्तै यस्तै गरी १०८ नाम बाट प्रभु विश्वकर्मालाई पुकारिन्छ । (विश्वकर्मा पुराण)

विभिन्न लोकाकृतिलाई लिने हो भने सत्य युगमा जब तिनवटै लोकको सृष्टि भएपश्चात्, देवलोकमा एउटा बृहत सभा भयो, जसको उद्देश्य, देवताहरुको स्थान निर्धारण तथा कार्य विभाजन एवं सोहीअनुसार वाहन निर्धारण गर्ने थियो । सोहीअनुसार आ–आफ्नो क्षमताअनुसार भगवान्हरुले आसन तथा वाहन पाउने तयारी हुँदै थियो सोही क्रममा सिंहासन कसलाई दिने भन्ने दुविधा भयो । सबै देवगणहरुले आ–आफ्नो चमत्कार देखाए तर विश्वकर्मा प्रभुको सहाराविना कसैको पनि शक्ति/चमत्कार सफल हुन नसक्ने भएपछि सबैले प्रभु विश्वकर्मालाई उक्त सिंहासन दिने निर्णय भयो । साथै संसारकै बलियो प्राणी हात्ती वाहनको रुपमा उहाँलाई उपलब्ध गराइयो । यसरी आफूलाई सबै सर्वश्रेष्ठ मानी सोहीअनुसार स्थान दिएको कारण सोही युगमा भगवान् विश्वकर्माले आफ्नो चमत्कारस्वरुप सत्य युगको लागि स्वर्गलोक, त्रेतायुगको लागि श्रीलंका, द्वापर युगको लागि द्वारका एवं कलियुगको लागि हस्तिनापुर तथा इन्द्रप्रस्थको परिकल्पना तथा निर्माण गर्नु भएको थियो । सो कुराको पुष्टि विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख भएबाट प्रष्ट हुन आउँछ ।

हिन्दु धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विश्वकर्माका चारयुग अनुसारका शिल्पी चमत्कारहरु यस प्रकार रहेका छन् । प्रभु विश्वकर्माले सत्य युगमा स्वर्ग तथा यमपुरी (सम्पूर्ण देवगणहरुको वासस्थानको लागि), त्रेतायुगमा श्रीलंका (शिव पार्वतीको विवाह पश्चात् बस्नको लागि तथा पछि दानव राजा रावणलाई भगवान् शिवको गृह प्रवेशमा उसको सेवाबाट प्रशन्न भएर उपहार पाउने वरदान दिनु भएको थियो), द्वापर युगमा द्वारका सहर जुन समुन्द्रमाथि एकै दिनमा निर्माण गरिएको थियो (भगवान् श्रीकृष्णको वासस्थानको लागि) र कलियुगमा हस्तिनापुर र इन्द्रप्रस्था (पाँच पाण्डवहरुको वासस्थानको लागि) जस्ता सहरहरुको सिर्जना एवं परिकल्पना गर्नु भएको कुरा प्रष्टसँग उल्लेख गरिएको पाइन्छ । त्यसैगरी धार्मिक ग्रन्थ महाभारतमा प्रभु विश्वकर्माको बारेमा वर्णन गरिएको छ ।

आधुनिक जहाज, हतियार, महल, यातायत तथा सञ्चार क्षेत्र सम्पूर्णको आविष्कारको आधार वैदिक कालका भगवान् विश्वकर्माका सिर्जना हुन्

भगवान् विश्वकर्मा ब्रह्माण्डको सृष्टिका लागि आवश्यक ललितकला, शिल्पकार एवं सबै गुणहरुले युक्त पमेश्वरको वास्तुकार हुनुहुन्थ्यो । प्रभु विश्वकर्मा यति चमत्कारी हुनुहुन्थ्यो कि उहाँले सूर्यको तेजको पन्ध्रौं भाग निकाली दिनुभएको थियो जसबाट सूर्यको बाँकी अंशले गर्दा सूर्य काया अत्यन्त सुन्दर, सौम्य तथा कान्तिमय भएको हो । सूर्यबाट निकालेको १५ औं अंशबाट प्रभु विश्वकर्माले स्वयं भगवान् विष्णुको लागि चक्र, कुवेरको लागि पालकी, यमराजका लागि दण्ड तथा कार्तिकेयका लागि शक्ति निर्माण गरिदिनु भएको थियो साथै देवाताहरुको विजयका लागि आवश्यक हात हतियार तथा शस्त्र अस्त्रको समेत निर्माण गर्नु भएको थियो । सुदर्शन चक्र, अग्न्यास्त्र जस्ता अस्त्रहरु तथा विभिन्न पुष्पक विमानहरु प्रभु विश्वकर्माकै आविष्कार हुन् जुन देवताहरुले विभिन्न काल खण्डहरुमा उपयोग गर्दै आएका थिए । (विश्वकर्मा पुराण-१२७) । तिनै आदिकालदेखि निर्माण भएका सम्पूर्ण रचनाको आधारमा आजको विश्वले चमत्कार पूर्ण कार्य वैज्ञानिक क्षेत्रमा गर्दै आएको छ । पुष्पक विमानबाट आजको जहाज, विभिन्न शस्त्रअस्त्रबाट आजका विभिन्न हतियारहरु, विभिन्न महलहरु, यातायात तथा सञ्चार क्षेत्र सम्पूर्ण आविष्कारको आधार नै वैदिक कालको भगवान् विश्वकर्माको सिर्जना नै हुन् ।

भगवान् विश्वकर्माको आराधनाविना कुनै पनि काम सिद्धि हँुदैन । जुन ब्रह्माजी यो संसारको सृष्टिमा लीन हुनुभयो त्यसबेला पनि भगवान् विश्वकर्माको सहारा लिनु भएको थियो । यो संसारको सबै जीवजन्तु, प्रकृतिको सही स्थानमा राख्नको लागि भगवान् विश्वकर्माको देन रहेको छ । त्यसैगरी भगवान् शिवले जब महारुद्र भैं संसारको प्रलय गर्नु पर्दा पनि प्रभु विश्वकर्मालाई राजी नबनाएसम्म सम्भव थिएन । देवराज इन्द्रले वर्षा गराउँदा पनि प्रभु विश्वकर्माकै सहारा लिनुपर्ने हुन्छ किनकि हावाको गति, अग्निको प्रज्वलन शक्ति र जलको निरन्तर गति प्राप्त गर्नमा प्रभु विश्वकर्माको प्रभाव रहेको हुन्छ । सूर्य, चन्द्र, पृथ्वी, प्रकाश आदिको गतिशीलता दिने कार्य पनि प्रभु विश्वकर्माले नै गर्नु भएको छ । यमराजको धर्म सभा चलनको लागि पनि विश्वकर्माकै सहमतिको आवश्यकता हुन्छ । (विश्वकर्मा पुराण–२५) जब इन्द्रले वृतासुरको वध गर्नुभयो त्यसपछि यो पृथ्वी जलयुक्त भएर बहन थाल्यो जुन कार्यमा प्रभु विश्वकर्माको अद्वेत प्रभावले कार्य गरेको थियो । (ऋगवेद ३।३।३८) यसरी यो संसार प्रभु विश्वकर्माको सहारा विना परिकल्पना पनि गर्न सकिँदैन ।

प्रभु विश्वकर्मा र विश्वकर्मा जातिको सम्बन्धः

पौराणिक कालदेखि नै विश्वकर्मालाई सबै प्रकारको कलाको बिउको रुपमा लिइन्थ्यो । उनीहरुलाई सम्पूर्ण भारत वर्षमा शिल्पीकार, आर्किटेक्चरर, कार्पेन्टरका साथै हिन्दु धर्मको सर्जक तथा सबै मन्दिर तथा मूर्तिहरुको निर्माणकर्ताको रुपमा लिइन्थ्यो । अहिलेका विश्वकर्माहरु भगवान् विश्वकर्माका पाँचभाइ छोरामध्ये मानुले फलामको काम गर्नुहुन्थ्यो, मायाले कार्पेन्टरको काम गर्नुहुन्थ्यो, थुभस्टाले तामाधातुको काम गर्नु हुन्थ्यो, देवसिपीले मूर्तिको काम गर्नुहुन्थ्यो भने विश्भन्याले सुनको काम गर्नुहुन्थ्यो । यिनै पाँच भाइका छोराहरुका सन्तानहरु नै हालका विश्वकर्मा जातिहरु हुन् । समय क्रमसँगै कला, कौशलमा सिपालु भएका कारण यिनीहरुले विभिन्न निर्माणका क्षेत्रमा कार्य गर्न थाले जसबाट यस पृथ्वीमा मानव समाज विकासको लागि आवश्यक पर्ने विभिन्न औजार, बस्ने घर, सिकार गर्ने हतियार, कृषि पेसामा आवश्यक औजार, दैनिक गुजार चालउने भाडावर्तन आदि निर्माण गर्ने कार्य यिनै विश्वकर्माका सन्ताहरुले गर्दै आएका छन् । यसरी भगवान्को मूर्ति बनाउनेदेखि लिएर भगवान् बस्ने स्थान, सजाउने एवं कलाकृति दिने, यस मत्र्यलोकको प्राणीहरुको जीवन चर्या चालउने कार्यसमेत यिनै विश्वकर्मा जातिहरुले गर्दै आएका छन् । आदिम कालदेखि मानव जीवन धान्ने निर्माणकर्ता यिनै विश्वकर्माहरु हुन् भन्ने कुरा विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।

उपरोक्त पाँच भाइका छोराहरुका सन्तानहरुले परापूर्व कालदेखि नै आफ्ना पूर्वजहरुले सम्हाल्दै आएका पेसा व्यवसाय न कुनै तालिम न कुनै शिक्षा अँगाल्दै आएका छन् । आदिम कालदेखि आजको आधुनिक युगसम्म आइपुग्दा पनि प्रभु विश्वकर्माका सन्तानहरुले विभिन्न क्षेत्रहरु कृषि, औद्योगिक, यातायात, कलकारखानादेखि मानिसको दिनचर्या चलाउने सम्पूर्ण क्षेत्रमा संलग्न रही समाजको सेवा गर्दै आएका छन्, तथा आफ्ना पुर्खा प्रभु विश्वकर्मालाई इष्ट देवताको रुपमा मानी पूजाआजा गर्दै आएका छन् । जय विश्वकर्मा बाबा ।

लेखक पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशमा कार्यरत सहायक वन अधिकृत हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width