भानुजस्तै चम्किला भानुभक्त

झपट रानाभाट
असार ३०, २०७९

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी छन् । उनले वैयक्तिक प्रतिभाका कारणले नै रामायण रचना गरे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो त्यसैले भानु झै भानुभक्त चम्किएर रहे ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई ‘आदिकवि’ लेखे तर उनले लेखेको त्यो आदिकवि त्यतिसारो चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले भानुभक्तलाई आदिकवि भने पनि हुन्छु भन्ने हुकुम दिएपछि भानुभक्त आदिकवि कहलिए । अनि सूर्यविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे ।

मोतीराम भट्टले आचार्यको जन्म १८६९ साल लेखे । भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त दाबी गरी १९९८ सालमा ‘भानुभक्त मणिमाला’ पुस्तक प्रकाशन गरिन् । त्यस किताबमा भानुभक्तले नै बनाएको जन्मकुण्डली र जन्मकुण्डली उपर उनैले लेखेको श्लोक भनेर पनि पेस गरियो । तर उक्त श्लोक र कुण्डली भानुभक्तबाट नै तयार भएको भन्नेबारे कुनै प्रमाण देखिंदैन । तर उनको निधनको ७३ वर्ष पछाडि भानु जन्मकुण्डली प्रकाशित हुनुको अर्थ के हो ? मोतीराम पछाडिका लेखकले भानुजीवनी लेख्ने क्रममा यस्ता अनेक नाटकीय दस्तावेज प्रस्तुत गर्दै आए ।

कतिसम्म भने आचार्य खलकबाट नै भानुभक्तका कवितामा समेत पाठभेद हुन थाल्यो । अन्तत नेपाल सरकारबाट भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यक्रममार्फत् नरेन्द्रराज प्रसाईंकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक जीवनी कृति २०७१ सालमा प्रकाशित भएपछि थुप्रै जिज्ञासाको समाधान हुन थाल्यो ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक काशीका एक जना विद्वान्ले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ः

पहाड्को अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानी चिन्ही लिया ।

भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।

नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए

भानुभक्तलाई टाउकोमा राखेरै मोतीराम पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने अनेक कला झिके । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषा साहित्यलाई रातोरात उन्नतिको शिखरमा पु¥याउने हेतुले भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषा साहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुआत हुन थाल्यो ।

भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर, उनका हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो ।

लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ ५ महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरे ।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यसबेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले नेपाली बस्ने देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।

भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले नेपाली भन्ने शब्दको प्रतिपादकका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा धेरै भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किममा भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गरिन्छ । त्यताका नेपाली गोरखालीका लागि भानुजयन्ती दसैंभन्दा पनि ठूलो चाड मानिन्छ । वास्तवमा दार्जिलिङमा भानुजयन्ती मनाउन थालेपछि मात्र नेपालमा पनि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको हो ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषिक एकीकरण गरे ।

भानुभक्तले रामायणको बालकाण्डसमेत ७ काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला, वधूशिक्षा र रामगीता लगायत कृति नेपाली भाषा साहित्यको क्षेत्रमा दिए । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर बनायो ।

भानुभक्त आचार्यले जीवनमरणको दोसाँधमा मृत्युसँग पौंठेजोरी खेल्दै आफ्ना हितैषी धर्मदत्तसुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’ नेपाली भाषामा अनुवाद गरे । उनी कालाज्वरले मरणासन्न भए पनि छोरा रमानाथलाई ‘रामगीता’ टिपाएरै छाडे । आचार्य १९२५ साल असोज ६ गते परलोक भए ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width