आदर्श समाजको परिकल्पना

कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक
वैशाख १, २०७९

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् ।।
(सबै सुखी होऊन्, सबै निरोगी रहून्, सबै कल्याणकारी होऊन्, दुःख कसैलाई पनि नपरोस् ।¬– उपनिषद्)

उक्त संस्कृत सूक्तिले नै बताउँछ हाम्रो पूर्वीय दर्शनको उद्देश्य । यही नै हाम्रो सभ्यताको परिचय पनि हो । सुनौलो संसारको कल्पना हाम्रा ऋषि मुनिले उहिले नै गरेका थिए । २१ औं शताब्दीसम्म आइपुग्दा कति पूरा भए, कति अधुरो रहे, समीक्षा गर्नु त छँदै छ । तर लक्ष्य प्राप्तिका लागि सचेत मानव समुदाय निरन्तर अगाडि बढिरहेको छ । लक्ष्य धेरै टाढा पनि छैन । खाँचो छ, मात्रै सबैको सकारात्मक सोचको । मानव मानवमा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका हुन्छ सञ्चार माध्यमको । सञ्चार जगत् आदर्श बनोस् भन्ने चाहना सबैको हुन्छ ।

असल कुरालाई लक्ष्य गरेर त्यसअनुरुप काम गरेमा संसार अवश्य सुन्दर बन्छ भन्ने सिद्धान्त नै आदर्श हो । सत्य र सुखी संसारको कामना गर्ने हामी सबै आदर्शवादी हौं । हाम्रो समाजलाई समृद्ध बनाउने परिकल्पना हो–आदर्श समाज । यही परिकल्पनाबाट पत्रिकाको नामाकरण गरिएको थियो । कामभन्दा कुरा बढी गर्‍यो भने बडो आदर्श छाँट्दो रहेछ भन्ने आरोप लाग्छ । वास्तवमा आदर्श छाट्नु नराम्रो कुरा होइन । चाहिने भन्दा बढी कुरा गर्नु नराम्रो हो ।

आदर्श समाज पत्रिका २०५३ वैशाख १ गतेबाट प्रकाशित भयो । सुरुमा यो पाक्षिक थियो । पहिलो वर्ष सफलता प्राप्त गरेपछि २०५४ वैशाखमा साप्ताहिक भयो । त्यही वर्ष माघदेखि अहिलेसम्म दैनिक रुपमा निरन्तर प्रकाशित हुँदै आएको छ । २०७९ वैशाख १ गते यो पत्रिका २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।

आदर्श समाजले सुरुमा नै अफसेट प्रविधि अपनाएर पत्रिका छपाइ गर्‍यो । त्यसभन्दा अघि लेटर प्रेसबाट पत्रिकाको छपाइ काम हुन्थ्यो । पत्रिका पनि साना साइजमा थिए । आदर्श समाज ‘१९×२५’ साइजको कागजमा छापिँदा यति ठूलो पत्रिका चल्न सक्ला र भन्ने गरिन्थ्यो । तर चल्यो, चलाइयो । त्यसबेला पत्रिका प्रकाशन गर्न त्यति सहज थिएन । न जनशक्ति, न राम्रो प्रविधि । न मानिसहरु पत्रिका किनेर पढ्थे, न विज्ञापन नै हुन्थ्यो । पत्रिका छाप्यो, निःशुल्क बाँड्यो । त्यस अवस्थामा पत्रिकाको खर्च कसरी चलेको होला भनेर जिज्ञासा उठ्नु स्वाभाविकै हो । हुनेले घर जग्गा बेचेर चलाउँथे । नहुनेले २/४ अंक निकालेर रहर पूरा गर्थे ।

राजधानी बाहिर मोफसलमा रहेर पत्रिका चलाउनु सुख्खा बगरमा तरकारी फलाउनुजस्तै थियो । तर पनि घन घोटी बञ्चरो भनेझैं आदर्श समाजले आफ्नै परिश्रमबाट सही सन्देश प्रवाह गर्दै पत्रिकाका ग्राहकहरु बढाउन सफल भयो । पत्रिकाको बिक्री वितरण बढेपछि विज्ञापन पनि आउन थाल्यो । केही वर्ष पछि त पत्रिका स्थापित भैहाल्यो । यसरी स्थापित हुनुमा यसमा कार्यरत पत्रकार र कर्मचारीहरुको अथक परिश्रम तथा मिहनेतको परिणाम थियो । त्यतिमात्र होइन आदर्श समाजले स्वतन्त्र रुपमा गरेको समाचार प्रस्तुतिलाई सबैले मन पराइदिनु भयो ।

प्रेस काउन्सिल नेपालबाट ‘राष्ट्रिय क’ र बिबिसीले गरेको सर्भेक्षणमा पश्चिमाञ्चलकै सबैभन्दा बढी पाठक भएको पत्रिका

आदर्श समाजको प्रकाशन हुनुभन्दा २ महिना अघि २०५२ फागुन १ गतेबाट देशमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । विद्रोही पक्ष र राज्य पक्षबीचमा रहेर पत्रिका सञ्चालन गर्नु सहज थिएन । निष्पक्ष रहेर काम गर्दा गर्दै पनि दुवै तर्फबाट धम्की आइरहन्थे । एकले अर्को पक्षको समाचार नछाप भनेर धम्क्याउँथे । त्यसको पनि पर्वाह नगरेर हामीले पत्रकारिताको धर्म निर्वाह ग¥यौं । तर पनि हामीलाई दुवै पक्षले डेरा आँखाले हेर्न छाडेका थिएनन् । आफ्ना कमी कमजोरी उदाङ्गिन्छ कि भन्ने डर दुवैलाई थियो । त्यहीबीच दरबार हत्या काण्ड भयो । त्राहि त्राहिमा बाँचेका जनतालाई साहस दिनु र राहतका लागि पहल गर्नु तथा द्वन्द्वबाट जनधनको अरु क्षति हुन नदिन सञ्चार जगतले विशेष भूमिका खेल्नुपर्‍यो । पक्राउ परेका मानिसको नाम पत्रिकामा आउँदा पनि धेरैको ज्यान बचेको थियो । त्यस संगीन घडीमा हामीले सक्दो गर्‍यौं । आफ्नै ज्यानको पनि पर्वाह नगरी समाचार संकलन गर्‍यौं । सञ्चार जगतले खेलेको भूमिकाबाटै देशमा लोकतन्त्र पनि स्थापना भयो ।

देशमा लोकतन्त्रात्मक गणतन्त्र आए पनि सञ्चार क्षेत्रमाथिको संकट अझै टरेको छैन । पत्रकारलाई स्वतन्त्र रहेर काम गर्ने वातावरण नहुँदा पित पत्रकारिताले प्रश्रय पाइरहेको छ । जात, धर्म, वर्ग, सम्प्रदाय राजनीतिक दल आदि भन्दा पनि माथि उठेर देश र समस्त जनताका लागि समर्पित हुनु पत्रकारिताको धर्म हो । यही शाश्वत मान्यतालाई शिरोधार्य गरेर आदर्श समाजले स्वतन्त्र पत्रकारिताको शंखनाद गर्दै आइरहेको सर्वविदितै छ ।

पत्रिकालाई देशभर पुर्‍याउने उद्देश्यले २०५८ देखि नवलपुरको गैंडाकोटबाट आदर्श समाज तराई संस्करण पनि प्रकाशित भएको थियो । प्रेस काउन्सिल नेपालले २०६२ सालमा गरेको पत्रपत्रिका वर्गीकरणमा आदर्श समाज गण्डकी धवलागिरि क्षेत्रको पहिलो राष्ट्रिय दैनिकको मान्यता पाउन सफल भयो । यसैगरी बिबिसी नेपाली सेवाले गरेको सर्भेक्षणमा पनि आदर्श समाज पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा बढी पाठक भएको पत्रिका ठहरिएको थियो । प्रेस काउन्सिल नेपालले यसै वर्ष सार्वजनिक गरेको आ.व. २०७६/२०७७ सालको पत्रपत्रिका वर्गीकरणमा पनि आदर्श समाज दैनिक ‘राष्ट्रिय क’ वर्गमा पर्न सफल भयो । पत्रकारिता क्षेत्रको शिर उँचो राख्न तथा जनताको सूचनाको हक पूरा गर्न हामी अनवरत लागिरहेका छौं । यसबीचमा आदर्श समाज दैनिकले थुप्रै सम्मान र प्रशंसापत्रहरु प्राप्त गरेको छ । यस प्रकाशनका पत्रकार एवं कर्मचारीहरु पनि विभिन्न क्षेत्रबाट पुरस्कृत हुनुभयो । यति ठूलो सम्मानको श्रेय हामी हाम्रा पाठक तथा शुभचिन्तकहरुलाई दिन्छौं । उहाँहरुबाट प्राप्त हौसला र प्रेरणाबाटै हामीले यो सबै सफलता प्राप्त गरेका हौं । तर हामीले जति गर्न सक्नुपर्दथ्यो, त्यो गर्न सकेका छैनौं, पत्रिकालाई अझ स्तरीय बनाउनु छ । छापा पत्रकारिताप्रतिको आकर्षण र विश्वास घट्न नदिन धेरै मिहिनेतको आवश्यकता छ भन्ने महसुस हामीलाई भएको छ । हाम्रा समस्त विज्ञ, पाठकवृन्द एवं शुभचिन्तकहरुको साथ र सहयोग लिएरै अगाडि बढ्ने छौं ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width