आदर्श समाज पुग्दाको त्यो दिन

अनुजा गौतम
वैशाख ३, २०७९

त्यस दिन बिहान उठ्दा मेरो मनमा एउटा भिन्नै किसिमको उत्सुकता थियो । मलाई थाहा थियो त्यो दिन सामान्य हुने छैन । यही कुराले मेरो मन खुलदुल भएको थियो । पठनपाठन नभएको दिन पारेर मेरो विद्यालय (पोखरा सेकेन्डरी स्कुल बगर) ले हामी कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी लक्षित गर्दै अवलोकन भ्रमणको आयोजना गरेको थियो ।

कक्षा ११ मा अध्ययन गर्दैगर्दा पहिलोपटक किताबका विषयवस्तुभन्दा अलग्गै व्यावहारिक ज्ञान प्राप्त गर्ने जाँगर र जोश मेरो भित्री मनमा उत्पन्न भएको थियो । त्यही उत्सुकता र जाँगरलाई कायम राख्दै म करिब ११ः३० को समयमा विद्यालय पुगें । करिब १२ बजेको समयमा हाम्रो विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले सबैलाई एकै ठाउँमा भेला गराई भ्रमणको समयमा अपनाउनुपर्ने आचरण र सावधानीकबारे निर्देशन दिनुभयो । उहाँले आदर्श समाजले लगभग ३ दशकदेखि हाम्रो भेगमा प्रेस र प्रेस स्वतन्त्रताको क्षेत्रमा अतुलनीय कार्य गरेको हुँदा हामी उक्त कार्यालयमा पत्रपत्रिकाबारे बुझ्न र आदर्श समाजलाई बधाई दिने छौं भन्नु भयो । त्यसपछि हामी सम्पूर्ण विद्यार्थीहरु र हाम्रा आदरणीय गुरुहरु नारायण न्यौपाने, शिव त्रिपाठी, र रमेश ढकालसहित गण्डकी प्रदेशको पुरानो तथा लोकप्रिय राष्ट्रिय दैनिकको न्युरोड स्थित कार्यालयतर्फ लाग्यौं ।

कार्यालयमा पुग्ने बित्तिकै हाम्रो भेट आदर्श समाजका प्रधान सम्पादक वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलासँग भयो । आराम गर्नुपर्ने उमेरको भए तापनि हामीलाई देख्ना साथ युवाजस्तै जोश र जाँगरका साथ उत्साहित भएर हामीलाई मिठो बोलीले स्वागत गर्नुभयो । उहाँको यो उत्सुकता देखेर म उहाँबाट एकदमै प्रभावित भएँ । उहाँले हामीलाई आदर्श समाजमा ‘कसरी समाचार लेखिन्छ,’ समाचार छनोट विधि र कार्यालयका कार्य विधिबारे चर्चा गर्नुभयोे । उहाँले हामीलाई प्रेसको मुख्य आम्दानीको स्रोत नै प्रचारप्रसार रहेको कुरा पनि जानकारी गराउनुभयो । उहाँले हामीलाई कार्यालयका सबै क्षेत्र देखाउँदै समाचार संकलनदेखि प्रकाशन सम्मको कार्यालयमा हुने विधिबारे बेलिबिस्तार लगाउनुभयो । केही समय प्रेस स्वतन्त्रता र प्रेसको महत्वबारे पनि कुराकानी भयो ।

कार्यालय अवलोकनको कार्य समाप्त गरेपछि हामी विद्यार्थी एवं गुरुहरुले मिलेर केही सामूहिक तस्बिरहरु लियौं । त्यसपछि हामीले कार्यालयबाट बिदा मागेर मुख्य सम्पादक बास्तोलाज्यू कै साथमा चाउथेस्थित आदर्श समाजको छापाखाना अवलोकन गर्न अघि बढ्यौं । छापाखानाको लागि अघि बढ्दै गर्दा मेरो ध्यान पृथ्वीचोकको अस्तव्यस्त जीवन, अव्यवस्थित ट्राफिक जाम र प्रदूषणतर्फ गयो । त्यस्तो ट्राफिक र प्रदूषणलाई देख्दा हाम्रो समाजमा दिगो र व्यवस्थित विकास पूर्णरुपले नभएको महसुस मैले गरेँ ।

हामी दुई बजे छापाखानामा पुग्यौं । छापाखाना खोल्ने समय नभए तापनि उहाँहरुले हाम्रा लागि भनी छापाखाना खोलिदिनुभयो । छापाखानामा त्यस समयमा सानातिना कार्यहरु मात्र भइरहेका थिए । हाम्रा लागि भनेर छापाखाना खोली दिनुभएकोमा उहाँहरुप्रति हामी अत्यन्त आभारी थियौं । छापाखाना अत्यन्त ठूलो होला, कर्मचारीहरु धेरै होलान् भन्ने मेरो सोचाइ छापाखाना अवलोकन गर्दा भिन्न रहेको अनुभूति गरें । कर्मचारी थोरै रहे पनि समाजमा ठूलो प्रभाव पर्न पार्न सकेको आदर्श समाजको छापाखाना देखेर म अत्यन्त प्रभावित भएँ । अवलोकन कार्य समाप्त भएपछि हामीले आदर्श कम्प्लेक्समा सानो भेलाको आयोजना गर्‍यौं ।

प्रधान सम्पादक बास्तोलाले समाचार संकलनदेखि प्रकाशनसम्मको विधि, प्रेस स्वतन्त्रता र प्रेसको महत्वबारे बेलिबिस्तार लगाउनुभयो

भेलामा प्रधान सम्पादक बास्तोलाज्यूले आफ्नो मन्तव्य राख्नुभयो । उहाँले हामीलाई प्रेसको महत्व, कार्य र अन्य महत्वपूर्ण कुराका बारे जानकारी दिनुभयो । उहाँले प्रेस भनेको समाजको अभिन्न अंग भएकाले मानव जातिलाई महत्वपूर्ण सूचना सम्प्रेषण गर्ने काम गर्ने उल्लेख गर्नुभयो । प्रेसले समाजको उन्नति र प्रगतिमा अत्यन्त ठूलो भूमिका खेलेको सुनाउनुभयो । समाजमा रहेका कुसंस्कार र कुरीतिलाई अन्त्य गर्न र न्यायको स्थापना गर्नका लागि प्रेस महत्वपूर्ण हुन्छ भन्नुभयो । प्रेसले सबल र सक्षम राष्ट्रको निर्माणमा ठूलो योगदान दिएको भन्दै सबैको पहुँचमा सम्पूर्ण सूचनाहरु व्यक्तिगत रुपमा नपुग्ने भएकाले वा सम्भव नभएकाले त्यसलाई सम्भव बनाउनका लागि प्रेसको स्थापना भएको कुरा बताउनु भयो । त्यसैगरी लोकतन्त्रको सही कार्यान्वयन र जनप्रतिनिधिलाई जनता, समाज र राष्ट्रप्रति कर्तव्यबोध, जवाफदेहिता र जिम्मेवारीको बोध गराउन प्रेस महत्वपूर्ण छ भन्ने कुरामा प्रकाश पार्नुभयो ।

यसै क्रममा उहाँले आफू युवा हुँदा आफूले कविता यात्रा र पत्रिका प्रकाशन यात्रा बारे जानकारी दिनुभयो । उहाँले जीवनमा चाहेको कुरा हासिल गर्न इच्छा शक्तिको विकास गर्ने प्रेरणा दिनुभयो । जसबाट म एकदमै प्रभावित भएँ ।

यस भ्रमण र सम्पादकको कुरालाई विचार गर्दा मलाई प्रेसले गरिरहेको कार्य अत्यन्त महत्वपूर्ण र प्रेरणादायी लाग्यो । समाजमा शक्तिशाली व्यक्तित्वका बारेमा गलत कार्यको चर्चा गर्दा पत्रकारमाथि आउने व्यक्तिगत जोखिम रहँदारहँदै पनि समाजको हितका लागि प्रेम र सद्भावको भावना राख्ने प्रत्रकारहरुबाट म अत्यन्त प्रभावित भएँ ।

अन्तिममा प्रधानाध्यापकले कविता वाचन र मन्तव्यको लागि सबैलाई एक ठाउँमा भेला हुन लगाउनु भयो । गुरु शिव त्रिपाठीलगायत अमृत बास्तोला, सुविन नेपाली र समीक्षा पौडेल र कृष्णप्रसाद बास्तोलाले राष्ट्रभक्ति र राष्ट्र प्रेममा आधारित आआफ्ना रचनाहरु प्रस्तुत गर्नुभयो । त्यसपछि कार्यक्रमको समापन भयो । हामीले आदर्श कम्प्लेक्समा रहेको छापाखानाबाट बिदा माग्यौं । फर्कने क्रममा हामीले २७ वर्षमा प्रवेश गर्दै गरेको आदर्श समाज अनि यसका प्रमुख सारथि कृष्णप्रसाद बास्तोला ज्यूलाई शुभकामना दियौं ।

किताबका पानाभन्दा पर वास्तविक जीवन र संसारलाई हेर्न र बुझ्न यस्ता यात्राहरु अत्यन्त महत्वपूर्ण रहन्छन् । मानवले आफ्नो जीवनमात्र नभई अरूको जीवन र उनीहरुका जीवनका भोगाइलाई पनि हेरेर प्रेरणा लिन सक्नुपर्छ । किताबबाट प्राप्त गर्ने ज्ञानभन्दा प्रत्यक्षरुपमा देखेर भोगेर वा अनुभवबाट प्राप्त गरेको ज्ञान बढी प्रभावकारी हुन्छ भन्ने कुरा मैले यस सानो तर अत्यन्त महत्वपूर्ण यात्राबाट प्राप्त गरें । कसैको जीवनका अनुभूतिबाट प्रेरणा प्राप्त गरेकोमा यस यात्राबाट म अत्यन्त सन्तुष्ट थिएँ ।

Related News

सम्बन्धित समाचार

hero news full width