हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

कमल कोइराला
जेठ २, २०८१

चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ । मनग्गे आर्जन गरेर दश पुस्तालाई सम्पत्ति जोड्न सकिने भएकाले व्यावसायिक उत्तराधिकारका यथेष्ट दृष्टान्तहरू विश्वमा भेटिन्छन् । तर, निस्वार्थ सेवामूलक क्षेत्रमा जिम्मेवारीबोधपूर्वक उत्तराधिकार वहन गर्नेहरूको यतिखेर संसारमा खडेरी नै परेको छ भन्दा अतिशयोक्ति होओइन । त्यस्तै खडेरीग्रस्त धरातलमा पाइला अड्याएर कलिला बिरुवारूपी बालमस्तिष्कमा निरन्तर मलजल गर्दै आजीवन ‘सेवाहि परमो धर्म यतो धर्मस्ततो जयः’ लाई आत्मसात् गर्दै आइहेका उदारमना व्यक्ति थिए, हेल्मट कुटिन । ‘जुन थालमा खायो त्यही थालमा चुठेर हिँड्ने’ कृतघ्नहरूको बिगबिगी रहेको वर्तमान वैश्विक परिवेशमा संकटका क्षणमा आफूलाई भोजन गराउने त्यही थालको दिगो संरक्षणमा अहर्निश समर्पित भएर सेवाकै फितामा आफ्नोे उमेर गणना गर्ने एक उम्दा दृष्टान्त थिए कुटिन ।

सन् १९४१ अक्टोबर ४ मा इटालीको बोल्झानोमा हेल्मट कुटिनको जन्म भएको थियो । उक्त भूमि प्रथम विश्वयुद्धअघिसम्म अस्ट्रियाकै स्वशासित भूमिभित्र पर्दथ्यो । कुटिन पिता एडुआर्ड कुटिन र माता जोसेफाइनका पाँचौँ सन्तान थिए । युद्धका समयमा उनकी दिदी हराइन् । उनलाई एक वर्षपछि मृत अवस्थामा भेटियो । आफ्नी छोरीको क्षतविक्षत शव देखेपछि आहत भएर कुटिनकी आमाको पनि तत्काल निधन भयो । हेल्मटभन्दा पहिले जन्मिएका चारजना दाजुदिदी पनि युद्धमै परी बेपत्ता भए । परिवारमा पिता र उनी मात्रै बाँकी रहे । वकालती पेसा अवलम्बन गरी जेनतेन आफ्नोे परिवारको गर्जाे टार्दै आइरहेका पिता एडुआर्डको राजनीतिक परिस्थितिका कारण इटालियन नागरिकता गुमेपछि हेल्मटको परिवार नै छिन्नभिन्न हुन पुग्यो ।

एसओएस बालग्रामका संस्थापक हर्मन माइनर (बायाँ) र हेल्मट कुटिन (दायाँ) ।

एक तथ्यांकअनुसार समस्याग्रस्त क्षेत्रमा १० जना बालबालिकामध्ये एकजना आफ्नोे परिवारबाट कुनै न कुनै रूपमा उपेक्षित र परित्यक्त देखिन्छन् । सायद यस्तै समस्याग्रस्त अवस्थाबाट बालबालिकाको जीवनरक्षाका लागि एसओएस बालग्रामजस्ता उद्धारमुखी संस्थाहरूको स्थापना भएको हुन सक्छ । हेल्मट कुटिन जन्मँदा जताततै दोस्रो विश्वयुद्धको ज्वाला दन्किरहेको थियो । गरिबी र अशिक्षाका कारण अस्ट्रियाका जनता पनि अनेकौं अभाव, दुखकष्ट र पीडाबाट ग्रस्त थिए । त्यसमाथि थपिएको युद्धले आगामा घिउ थप्ने काम ग¥यो । कुटिन बाल्यकालमै यी सबै दृश्यहरूका प्रत्यक्षदर्शी थिए । तर, उनको अबोध बालमस्तिष्कले केवल टुलुटुलु हेर्नेबाहेक अरू के नै पो गर्न सक्थ्यो र ?

बाल्यकालमा खेल्ने क्रममा हेल्मट कुटिन र उनका दाइ घर छाडेर निकै परसम्म पुग्थे । खेल्दै हिँड्ने क्रममा उनीहरू एकपटक बुबाआमाले जान हुन्न भनेर निषेध गरेका ठाउँमा पुगेछन् । त्यहाँको चरनक्षेत्रमा घोडा चरिरहेका थिए । कुटिनका दाइले धेरै मिहिनेत गरेर घोडचढी गर्दा बस्न प्रयोग हुने सामग्री बनाएका थिए । त्यही सामग्री प्रयोग गरेर दाजुभाइ चर्दै गरेको घोडा चढेछन् । त्यत्तिकैमा घोडाका मालिक आई उनीहरूलाई बेसरी कुटेर त्यहाँबाट लखेटेछन् । दाजुले बनाएको उक्त सामग्री पनि टुक्राटुक्रा पारेर भाँचिदिएछन् । त्यतिखेर बालबालिकाहरूले सानो गल्ती गर्दा घर र समाजमा मात्रै नभई विद्यालयमा पनि कडा सजाय दिने प्रचलन थियो जुन सजायको सिकार कुटिन पनि हुने गर्दथे ।

एकातिर आमा र दिदीसहित अन्य परिवारजनको निधन अनि अर्कातिर बुबाको नागरिकता खोसिएपछि हेल्मट कुटिन अनाथ बन्न पुगे । त्यसपछि सन् १९५३ मा हर्मन माइनरले उनलाई अस्ट्रिया टाइरोलको इम्स्टस्थित एसओएस बालग्राममा लगेर भर्ना गरिदिए जुन सन् १९४९ मा हर्मन माइनरद्वारा स्थापित विश्वको पहिलो बालग्राम थियो । अस्ट्रियाको बालग्राममा रहँदा उनी बालग्रामभित्रकै फ्रिडेन हाउसमा हुर्किए र त्यहीँबाट आफ्नोे विद्यालयीय शिक्षा पूरा गरे । हेल्मट कुटिनले आश्रय लिएको बालग्रामभित्र ७ छात्र र २ छात्रा गरी ९ जनाको परिवार थियो । त्यतिखेर एसओएस बालग्राममा रहने कुनै पनि बालबालिकालाई अहिलेको जस्तो सुविधा थिएन । उदारमनाहरूले दिएको हरेक सहयोग बाँडेर उपभोग गर्नुपर्ने अवस्था थियो । बाल्यकालमा कुटिन चिप्लेटी, फुटबल, ह्यान्डबल र पौडीका सौखिन थिए । तर, फुटबल खेल्दा साथमा जुत्ता नहुँदा खाली खुट्टा खेल्नुको विकल्प थिएन ।

सन् १९८५ देखि २०१२ सम्म एसओएस अन्तर्राष्ट्रियको नेतृत्व गरी कुटिन सर्वाधिक लामो कालखण्ड नेतृत्व गर्ने अध्यक्ष बने

विद्यालयमा पढ्दा कुटिनलाई भाषा, इतिहास र गणितमा ज्यादातर रुचि थियो । नेपालमा भर्खरै मात्र अक्षरांकन पद्धति प्रारम्भ भएको छ । तर, कुटिनले अध्ययन गरेको विद्यालयमा उतिबेलै यही प्रणालीका आधारमा विद्यार्थीहरूको मूल्यांकन गरिन्थ्यो । विद्यालयमा पढ्दा उनी पढाइमा औसत विद्यार्थीका रूपमा गनिन्थे । कालान्तरमा उनका सहपाठीहरू अस्ट्रियाका धेरै संघसंस्थाका कार्यकारी पदमा पुगे तर उनी भने आजीवन बालबालिकाकै सेवामा खुसी खोज्दै हिँडिरहे । कुटिनले ९ ओटा फरकफरक विद्यालयमा पढेर विद्यालयीय शिक्षालाई पूर्णता दिएका थिए । तत्कालीन युद्धग्रस्त अवस्थाका कारणले यस्तो परिस्थिति सिर्जना भएको थियो । उनको युवावस्था पनि इम्स्टकै एसओएस युवालयमा बित्यो । अस्ट्रियाकै युनिभर्सिटी अफ इन्सब्रुकमा अर्थशास्त्रको अध्ययनपछि हर्मन माइनरको परामर्शमा कुटिनले सन् १९६७ मा केही समय पर्यटनका क्षेत्रमा पनि काम गरे । केही समय उनी शिक्षण पेसामा पनि संलग्न भए ।

सन् १९६७ कै अन्त्यमा हर्मन माइनरले कुटिनलाई भियतनामको यात्रा गरी त्यहाँ बालग्रामहरूको स्थापना गर्ने जिम्मेवारी सुम्पिए । तर, बाल्यकाल र युवावस्था अस्ट्रियामै बिताएका कारण उनलाई भियतनाममा भाषिक सञ्चारमा समस्या पर्ने देखियो । त्यसैले माइनरले उनलाई भियतनामी भाषा अध्ययनका लागि फ्रान्स जाने अवसर जुटाइदिए । फ्रान्सबाट तीन महिने भाषिक कोर्स पूरा गरी उनी भियतनाम फर्किए । भियतनामस्थित साइगोनको यात्रामा सहभागी हुने क्रममा त्यहाँको तत्कालीन युद्धग्रस्त अवस्थाले बालबालिकामा सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाबाट उनको मन द्रवीभूत भयो । युद्धग्रस्त क्षेत्रमा सेवा गर्नु सर्वथा चुनौतीपूर्ण थियो । कुटिन चुनौतीसँग संघर्ष गर्न राजी भए र युद्ध जारी रहुन्जेल आफूलाई युद्धपीडित बालबालिकाहरूकै सेवामा समर्पित गर्ने प्रण गरे ।

सन् १९६८ मा भियतनामस्थित हो ची मिन्ह सहरमा एसओएस बालग्राम निर्माण गरी कुटिन त्यसको निर्देशक नियुक्त भए । स्थापनाकालमै ४१ बालगृहहरू समावेश भएको उक्त बालग्राम विश्वकै सर्वाधिक ठूलो एसओएस बालग्राम थियो जहाँ रहेर कुटिनले बालग्राममा आश्रय लिएका पाँच सयभन्दा बढी बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरे । बालग्रामका बालबालिका, आमा, काकी र अन्य कर्मचारीहरूसँग समय बिताउने क्रममा उनी स्वतस्फूर्त रूपमा भियतनामी भाषा सिक्न समर्थ भए । कालान्तरमा भियतनामप्रति उनको गहिरो मोह रह्यो । उनले भियतनामलाई दोस्रो मातृभूमि ठानेर सेवामूलक गतिविधिलाई निरन्तरता दिइरहे । लामो समय भियतनाममा रहेर अनाथ बालबालिकासँग समय बिताउँदा उनलाई अधिकांश बालग्रामका बालबालिकाहरूको नाम पनि कण्ठस्थ भइसकेको थियो ।

सन् १९७१ मा कुटिन एसियामा एसओएस बालग्रामहरूको स्थापना र विस्तार गर्ने प्रमुख प्रतिनिधिका रूपमा नियुक्त भए । उनी अनाथ र असहाय बालबालिकाहरूको जीवनरक्षा र उज्ज्वल भविष्यका लागि यसरी समर्पित भएर लागे कि एसिया हेर्ने जिम्मेवारी पाएको केही वर्षभित्रै उनले उक्त क्षेत्रमा पचासौँ बालग्राम र उत्तिकै संख्यामा एसओएस सम्बद्ध संस्थाहरूको स्थापना गरे । सन् १९७५ मा भियतनामको युद्ध सकियो तर दुर्भाग्यवश १९७६ मा युद्धसँग जोडिएका विभिन्न कारण देखाएर भियतनामको एसओएस बालग्राम बन्द गरियो र कुटिन पनि देश छाड्न बाध्य भए । भियतनाम छाडेर अस्ट्रिया पुगे पनि कुटिनको सम्पूर्ण ध्यानदृष्टि उतै केन्द्रित थियो । उनले भियतनाममा एसओएस बालग्रामको निरन्तरताका लागि अस्ट्रियाबाटै निरन्तर संघर्ष गरिरहे । सन् १९८७ मा भियतनामले एसओएस बालग्राम पुन सञ्चालन गर्ने अनुमति प्रदान ग¥यो । त्यसपछि उनले पुन भियतनाममा धमाधम एसओएस बालग्रामहरूको स्थापना गरी युद्धपीडित बालबालिकाहरूलाई त्यहीं आश्रय दिए । भियतनाममा युद्धका कारण रोकिएको बालग्राम निर्माणलाई उनले पुन निरन्तरता दिए ।

भियतनाममा एसओएस बालग्रामको विस्तार गरेपछि कुटिनको ध्यान चीनतर्फ मोडियो । उनले प्रारम्भमा दुईओटा बालग्रामको स्थापना गरेर एसओएसको सञ्जाल चीनमा पु¥याए । चीनमा बालग्रामहरूको स्थापना गर्ने क्रममा उनले तिब्बती शरणार्थी बालबालिकाहरूलाई बालग्राममा शरण दिएर उनीहरूको जीवनरक्षा गर्ने अभियान चलाए । सन् १९८६ अप्रिल २६ मा एसओएसका संस्थापक हर्मन माइनरको निधन भएपछि अनाथ बालबालिकाहरूको कल्याणका क्षेत्रमा एउटा ठूलो रिक्तता महसुस गरियो । कलिला बालबालिकाहरूको अन्तस्करणमा आशाको दियो जगाएर भविष्य फक्राउने उनको सपना अधुरै रहने परिस्थिति सिर्जना हुने सम्भावना बढेर गयो । त्यस्तो संकटका समयमा हर्मन माइनरका सपना पूर्णता दिने प्रणसहित हेल्मट कुटिनले यस संस्थाको उत्तराधिकारीका रूपमा जिम्मेवारी वहन गरे । हर्मन माइनर प्रथम विश्वयुद्ध सकिनासाथ र हेल्मट कुटिन द्वितीय विश्वयुद्ध जारी रहेकै समयमा जन्मिएका थिए । त्यसैले दुवैको जीवनमा विश्वयुद्धका झिल्काझिल्कीहरूको अमिट दर्द थियो । दुवैको जीवन युद्धकै कारण सिर्जित प्रतिकूल परिस्थितिबाट उत्प्रेरित थियो । अनि दुवैले बाँचिरहेको जीवननियति पनि एउटै थियो । अत कुटिनको जीवनमा पनि हर्मन माइनरकै प्रतिविम्ब भेटिन्थ्यो ।

सन् १९८५ देखि २०१२ सम्म अविच्छिन्न रूपमा एसओएस अन्तर्राष्ट्रियको नेतृत्व गरी कुटिन एसओएसकै इतिहासमा सर्वाधिक लामो कालखण्ड नेतृत्व प्रदान गर्ने अध्यक्ष बन्न पुगे । यसबीचमा उनी चार पटकसम्म निर्वाचित अध्यक्ष बने । त्यसपछि पनि एसओएसले उनको अभिभावकीय भूमिकाको खोजी गरिरह्यो । परिणामत उनी एसओएस बालग्राम अन्तर्राष्ट्रियको महासभाबाट सन् २०१७ मा संस्थाको मानार्थ अध्यक्षमा निर्वाचित भए । मानार्थ अध्यक्षका रूपमा उनको भूमिका आजीवन रहिरह्यो । सन् १९८६ मा हर्मन माइनरको निधन हुनुपूर्व विश्वका ८५ राष्ट्रमा २३३ ओटा एसओएस बालग्राम र ४०० ओटा सम्बन्धन प्राप्त संस्थाहरू थिए । हर्मन माइनरको उत्तराधिकारी भएर एसओएसको कार्यभार सम्हाल्न कुटिनको आगमनपछि हाल विश्वका १३७ राष्ट्रमा एसओएस बालग्रामका सञ्जालहरू बिस्तार भइसकेका छन् । हाल विश्वमा ५७१ ओटा बालग्राम र १३०० भन्दा बढी सम्बन्धन प्राप्त संस्था रहेको तथ्यांक भेटिन्छ ।

हर्मन माइनरको जस्तै कुटिनको पनि निजी परिवार थिएन । एसओएस बालग्राम नै उनको घर र आफ्नोे आनुवांशिक परिवारबाट अलगिएर बालग्रामको शरणमा आएका अनाथ बालबालिका नै उनका सन्तति थिए । उनले आजीवन एसओएस बालग्रामलाई नै आफ्नोे प्रमुख कार्यस्थल बनाए । उनी बालबालिकाको सेवाबाट कहिल्यै निवृत्त भएनन् बरु त्यसपूर्व नै संसारबाटै सदाका लागि निवृत्त भए । त्यसैले त उनी बारम्बार भनिरहन्थे, ‘म छोराछोरीको बुबा होइन तर उनीहरू मेरा सन्तान हुन् र म अहिले उनीहरूको हजुरबुबा भइसकेको छु । बाँकी जीवन पनि उनीहरूकै खुसीका लागि बिताउने रहर छ ।’

हेल्मट कुटिन नेपाल भनेपछि हुरुक्क हुन्थे । आफ्नोे कामबाट अलिकति फुर्सद मिल्नासाथ उनी नेपाल भ्रमणमा आइहाल्थे । देशभरिका बालग्रामका बालबालिकासँग केही समय बिताउँथे र स्वदेश फर्कन्थे । एसओएसमा कार्यरत कर्मचारी र शिक्षकहरूसँग पनि उत्तिकै घुलमिल हुन्थे । सबैका समस्याहरू ध्यानपूर्वक सुन्थे । नेपालमा एसओएस बालग्रामको स्थापना र बिस्तारमा उनको महत्वपूर्ण योगदान रह्यो । नेपालमा स्थापित एसओएस बालग्रामहरूको सञ्चालनप्रति उत्तिकै चासो र चिन्तन गरिरहन्थे । ‘विशेष परिस्थितिवश संसारका सबै एसओएस बन्द भएछन् भने पनि म नेपालका एसओएस बन्द हुन दिने छैन’ भनेर सार्वजनिक रूपमै उद्घोष गर्थे । यसबाट नेपालका एसओएसप्रति उनको समर्पण र स्नेहभाव प्रस्ट हुन्थ्यो ।

हेल्मट कुटिनलाई औपचारिकता पटक्कै मन पर्दैनथ्यो । सायद सानैदेखि अनौपचारिक जीवनशैलीमा हुर्कन अभिशप्त भएर पनि होला औपचारिकतालाई उनले कहिल्यै पछ्याउनै जानेनन् । आफ्नोे स्वागतका लागि गरिने भव्य ठाँटबाँट पनि उनलाई कत्ति मन पर्दैनथ्यो । आफूलाई आमन्त्रण गरिएका हरेक ठाउँमा पुग्दा उनी त्यहाँको वस्तुस्थितिलाई खुब नियालेर हेर्थे । कतै स्वाभाविकता नाघेर अनावश्यक तामझाम देखाउन खोजिएको रहेछ भने त्यो उनलाई सह्य हुँदैनथ्यो । गमलामा रोपिएका फूलहरू आफूलाई देखाउनका लागि हुन् कि वास्तविक सौन्दर्य अभिवृद्धिका लागि हुने भन्ने कुरा उनले ठाउँका ठाउँ परीक्षण गरिदिन्थे । देखावटीका लागि रहेछन् भन्ने कुरा ज्ञात भयो भने गमलाका बिरुवा उखेलेर तत्स्थान निरीक्षण गरिहाल्थे उनी । कुटिन प्रकृतिप्रेमी थिए । हरियाली मासेर गरिने भौतिक निर्माणलाई उनी ठाडै इन्कार गरिदिन्थे । आरामगृहमा आराम गर्न अनुरोध गर्दा पनि एसओएस बालग्रामभित्र कुनै कार्यक्रम आयोजना गरिएको आवाज सुन्नेबित्तिकै उनी सूचनाविनै कार्यक्रमस्थलमा पुगिदिन्थे । आयोजकहरू कार्यक्रमको मर्यादाक्रम बिग्रने भयो भनेर भयभीत हुन्थे । तर, उनी भने कुनै विशिष्ट भूमिका नखोजी कार्यक्रममै रहेर आयोजकलाई सहयोग गरिदिन्थे ।

हेल्मट कुटिन पछिल्लो समय सन् २०१२ मा नेपाल भ्रमणमा आएका थिए । केही वर्षयता शारीरिक अस्वस्थताका कारण उनी चाहेर पनि नेपाल आउन पाइरहेका थिएनन् । उनी थाइल्यान्डमै बसेर स्वास्थ्यलाभ गर्दै थिए । बिमारले असाध्यै च्यापेपछि उनलाई बैंकककै एक अस्पतालमा भर्ना गरिएको थियो । रोग बल्झेर थप गम्भीर हुँदै गएपछि सन् २०२४ अप्रिल २३ तारिख मंगलवार स्थानीय समयअनुसार बिहान १०ः२४ मा उनको दुखद् निधन भयो । उनको देहावसानमा विश्वभरिका एसओएस बालग्राममा शोकसभा आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिए पनि हालसम्म उनको औपचारिक अन्त्येष्टि गरिएको छैन । कुटिनको पार्थिव शरीरलाई थाइल्यान्डबाट अस्ट्रिया फर्काइनेछ र आगामी जुन ८ तारिखका दिन उनको औपचारिक अन्त्येष्टि गरिनेछ ।

हेल्मट कुटिनले आफ्नोे जीवनका विशेष क्षणहरूमा एसओएसका लागि महत्वपूर्ण घोषणा गरी भौतिक विकासमा उल्लेखनीय योगदान पु¥याएका छन् । विश्वका २ सयभन्दा बढी एसओएस बालग्रामहरू उनकै निर्देशनमा निर्माण गरिएका हुन् । एसओएस बालग्राम नेपालका कतिपय भौतिक संरचनाहरू पनि कुटिनकै जन्मदिनका विशेष उपहारहरू हुन् । उनी एसओएसरूपी विशाल वटवृक्षमा सम्झनैपर्ने एउटा प्रमुख हाँगाका रूपमा अनाथ बालबालिकाहरूका मनमस्तिष्कमा सदैव अमर रहनेछन् । भावपूर्ण श्रद्धाञ्जली हेल्मट कुटिन !

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width