हर्मन माइनरको नासोभित्र फक्रिएको एसओएसका बालबालिकाको हाँसो

सन्दर्भ : ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवस

कमल कोइराला
असार ८, २०८०

प्रतिकूल परिस्थितिका कारणले संसारमा सबै कुरा संकटमा पर्दा पनि यदि आशा र मानवीय संवेदना भन्ने चिज जीवित छ भने त्यसले विश्वलाई नवीन दिशाबोध गरिदिन्छ । प्रतिकूल परिस्थितिमा उदात्त भावनाका साथ गरिएका संकल्पहरू कालान्तरमा साकार सपनामा परिणत हुन्छन् । मानवता र परोपकारका क्षेत्रमा आफ्नो नाम विश्वप्रतिष्ठित बनाउन सफल मदर टेरेसा, हेनरी ड्युना, फ्लोरेन्स नाइटिङ्गेल, वेडेन पावेल, क्लारा जेटकिन, नेल्सन मन्डेलाजस्ता महामानवहरूको अभ्युदय पनि यस्तै पृष्ठभूमिबाट भएको हो । दोस्रो विश्वयुद्धको त्रासदीले भयाक्रान्त भई मानवीय संवेदनाको भावना सर्वत्र संकटमा परिरहेको अवस्थामा पनि हृदयबाट मानवताको गंगा प्रवाह गर्ने एक उदारमना व्यक्तित्व हुन्, डा. हर्मन माइनर ।

सन् १९१९ जुन २३ तारिखका दिन अस्ट्रियाको भोरार्लवर्गमा कृषिमूलको संयुक्त पारिवारिक पृष्ठभूमिमा हर्मन माइनरको जन्म भएको थियो । बाँचिरहेका भए सम्भवत: माइनरले आजकै दिन आफ्नो १०५ औं जन्मदिन मनाइरहेका हुँदा हुन् । आफ्ना मातापिताका जीवित आठ सन्तानमध्ये उनी सातौं थिए । ४ वर्षको कलिलो उमेरमै उनले मातृवियोगको मर्मान्तक पीडा सहनुपर्‍यो । त्यसपछि उनी आफ्नै जेठी दिदी एल्सा माइनरको मातृसदृश प्रेम र अभिभावकत्वमा हुर्किए । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि मेधावी छात्रका रूपमा चिनिएका माइनरले अस्ट्रियास्थित ग्रामर स्कुलमा छात्रवृत्तिमा अध्ययन गर्ने सौभाग्य पाए ।

जर्मनीले पोल्यान्डमाथि आक्रमण गरेपछि सन् १९३९ देखि नरसंहारकारी दोस्रो विश्वयुद्ध प्रारम्भ भयो । ठीक त्यति नै वेला हर्मन माइनर सैनिक अधिकृतका रूपमा जर्मन सैनिकमा भर्ती भएका थिए । सैनिक सेवाका क्रममा उनले झन्डै ६ वर्ष रुसमा व्यतीत गरे । जर्मनीका तर्फबाट आफैँ पनि विश्वयुद्धमा सहभागी सैनिक अधिकारी भएकाले युद्धको भयानक त्रासदीलाई उनले निकटवर्ती चस्मदिद भएर नियाल्ने अवसर पाए । युद्धका क्रममा घरबास र अभिभावकविहीन बन्न पुगेका हजारौँ बालबालिकाहरूको कारुणिक दृश्यले द्रवीभूत भएका उनको हृदयबाट एक्कासि मानवताको छहरा छुट्यो । युद्धका क्रममा उनी स्वयम् पनि ५ पटकसम्म घाइते भएका थिए ।

एकपटक खेतमा काम गरिरहेको ७ वर्षीय बालकलाई गोलीप्रहार गर्नै आँटेका १ रुसी सैनिकको पाखुरा हल्लाइदिएर हर्मनले उक्त बालकको ज्यान जोगाइदिए । आफ्नो सानो चतुर्‍याइँले सुरक्षित बन्न पुगेको सोही बालकको मृत्युन्मुख जीवन सम्झेर भावुक बन्न पुगेका उनले तत्पश्चात् आफ्नो सिंगो जीवनलाई विश्वका लाखौँ घरबारविहीन, अनाथ र असहाय बालबालिकाकै कल्याणका क्षेत्रमा समर्पण गर्ने प्रतिज्ञा गरे । बालबालिकाका क्षेत्रमा काम गर्नका लागि हर्मनभित्र जागृत भएको हुटहुटी र त्यसैमा समर्पित व्यस्त दिनचर्याले उनलाई इन्सब्रुक विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन नै स्थगित गर्न बाध्य तुल्यायो । तत्कालीन समयमा अत्यन्त अपरिपक्व र अव्यावहारिक ठहर्‍याइएको हर्मनको कदमले अन्तत: उनलाई विश्वमा एसओएस बालग्रामको अवधारणा साकार पारिछाड्ने नायकका रूपमा उपस्थापित गराइदियो । आफ्नो यो आकस्मिक निर्णयका विषयमा सन् १९६२ मा विश्वप्रसिद्ध अखबार ‘द न्यूयोर्क टाइम्स’ लाई दिएको अन्तर्वार्तामा हर्मनले भनेका छन्, ‘यो काम कसैले त अवश्य गर्नैपर्ने थियो । संयोगवश आज त्यो पात्र म बन्न पुगेँ ।’

एकातिर सैनिक सेवालाई तिलाञ्जलि दिएर र अर्कातिर चिकित्साशास्त्रको अध्ययनलाई पनि बीचैमा स्थगित गरेर विश्वयुद्धबाट व्यथित भएका बालबालिकाहरूको भयत्रस्त भावनात्मक संवेदनाको सम्बोधनार्थ बालकल्याणकै क्षेत्रमा समर्पित भएका माइनरले सन् १९४९ मा आफ्नो गोजीमा भएको जम्मा ४३ अमेरिकी डलरबाट प्रारम्भमा ‘एसओएस चिल्ड्रेन भिलेजेज एसोसिएसन’ नामक संस्था स्थापना गरे । संकल्पमा समर्पित भएर लाग्दा गोजी रित्तिए पनि उनले कत्ति हरेस खाएनन् । बरु थप दृढ अठोट सँगालेर सोही वर्ष अस्ट्रियाको इम्स्टमा उनले विश्वको पहिलो एसओएस बालग्रामको शिलान्यास गरे । प्रारम्भमा विश्वयुद्धमा विभिन्न कोणबाट प्रभावित बालबालिकाहरूको सहयोगार्थ उनले थालनी गरेको कल्याणकारी अभियानबाट धेरै मानिसहरूको मन पग्लियो । उनको अभियानलाई सफल पार्न विश्वभरिबाट चौतर्फी सहयोगी हातहरू जुट्दै गए । इम्स्टमा निर्माणाधीन एसओएस बालग्रामले पूर्णता पाएपछि उनी आफैँ त्यसको निर्देशकका रूपमा कार्यरत रहे ।

अस्ट्रियाबाट प्रारम्भ भएको हर्मनको अभियान युरोपका धेरै देशहरूमा फैलिँदै गयो । यस क्रममा सन् १९६० मा विश्वभरि स्थापित बालग्रामहरूको छाता संगठनका रूपमा ‘एसओएस किन्डरफर्ड इन्टरनेसनल’को स्थापना गरियो र हर्मन माइनरले नै उक्त संस्थाको अध्यक्षता ग्रहण गरे । एसओएस बालग्रामको लोकप्रियता चुलिँदै जाने क्रममा यसको सञ्जाल युरोप हुँदै विश्वभरि फैलियो । एसओएसको अभियानलाई सफल पार्न संसारभरिबाट आर्थिक तथा भौतिक सहयोगको आइरो नै लाग्न थाल्यो । यसै सिलसिलामा युरोपबाहिर पनि सन् १९६९ मा सर्वप्रथम कोरियामा एसओएस बालग्राम निर्माण गरियो । पछिल्लो अद्यावधिक तथ्यांकअनुसार हाल विश्वका १ सय ३५ राष्ट्रहरूमा एसओएस बालग्रामको सञ्जाल विस्तार भइसकेको छ । सबै गरेर हाल विश्वमा ५ सय ७२ ओटा बालग्राम, ७ सय १९ युवा कार्यक्रम, ५ सय ७४ परिवार सुदृढीकरण कार्यक्रम, १ सय ५९ ओटा सामाजिक केन्द्र, ३४ ओटा आकस्मिक केन्द्र, ७१ चिकित्सा केन्द्र, १ सय ३० व्यावसायिक तालिम केन्द्र तथा ४ सय ७९ ओटा हर्मन माइनर विद्यालयहरू सञ्चालित छन् ।

बालग्रामको अवधारणाले आशातीत सफलता पाएपछि डा. हर्मन माइनरले विकासोन्मुख र अल्पविकसित देशका बालबालिकालाई लक्षित गरी गुणस्तरीय शिक्षाका लागि बालग्रामहरूसँगै एसओएस हर्मन माइनर विद्यालय पनि स्थापना गर्ने सोच बनाए । यसैक्रममा उनले विश्वभरि विद्यालय निर्माणको अभियानलाई तीव्रता दिए । एसओएस बालग्राम स्थापनाको पृष्ठभूमि तयार पार्न सन् १९६८ मा हर्मन माइनर पहिलोचोटि नेपाल भ्रमणमा आएका थिए । त्यसलगत्तै सन् १९६९ जुलाई २० मा तत्कालीन अधिराजकुमारी शारदा शाहको अध्यक्षतामा एसओएस बालग्राम नेपाल बोर्ड स्थापना गरियो । सोही बोर्डको पहलमा सन् १९७२ मा नेपालको पहिलो बालग्रामका रूपमा भक्तपुरको सानोठिमीमा एसओएस बालग्रामको स्थापना भयो । हाल नेपालमा भरतपुर, धनगढी, गण्डकी (रामबजार), इटहरी, जोरपाटी, काभ्रे, लुम्बिनी, पोखरा (घारीपाटन), सानोठिमी र सुर्खेतमा गरी जम्मा १० ओटा बालग्रामहरू सञ्चालित छन् । यी बालग्राममा झन्डै २ सय जना आमाहरूले १६ वर्षमुनिका झन्डै १२ सय बालबालिकाहरूलाई न्यानो काख दिएर हुर्काइरहेका छन् ।

बालग्रामले हालसम्म देशभरिका झन्डै ३० हजार बालबालिकाहरूलाई मायालु घर र अभिभावकत्व प्रदान गरी जीवनमा नवीन दिशाबोध गराउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गरिसकेको छ । त्यस्तै भरतपुर, गण्डकी (रामबजार), पोखरा (घारीपाटन), लुम्बिनी, इटहरी, सानोठिमी, काभ्रे र सुर्खेतमा गरी देशभरि कुल ८ ओटा हर्मन माइनर विद्यालयहरू रहेका छन् जहाँ हजारौं विद्यार्थीहरूले जीवन उज्ज्वल पार्ने शिक्षाको किरण बटुल्दै छन् । इटहरी र लुम्बिनीबाहेक अन्य विद्यालयमा १२ कक्षासम्म अध्ययन–अध्यापन हुन्छ । एसओएस गण्डकी र सानोठिमीमा विज्ञान र अन्य ४ विद्यालयहरूमा वाणिज्य संकायको पठनपाठन हुन्छ । भरतपुर, विराटनगर, गण्डकी (रामबजार), जोरपाटी, काभ्रे, काठमाडौं, नेपालगन्ज र पोखरा (घारीपाटन) मा गरी जम्मा आठओटा युवालय रहेको नेपालमा काभ्रे, पोखरा, सानोठिमी र बर्दियामा गरी जम्मा ४ ओटा व्यावसायिक तालिम केन्द्र छन् जहाँ सात सयभन्दा बढी किशोरकिशोरीहरू विभिन्न सीप र स्वरोजगारमूलक प्रशिक्षणमा व्यस्त छन् । यसबाहेक बालग्रामले देशका विभिन्न स्थानमा परिवार सुदृढीकरण कार्यक्रम, दिवा स्याहार केन्द्र, सीप विकास केन्द्र, शैक्षिक सहयोग कार्यक्रमलगायतका परियोजनाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

डा. हर्मन माइनरले विकासोन्मुख र अल्पविकसित देशका बालबालिकालाई लक्षित गरी गुणस्तरीय शिक्षाका लागि बालग्रामहरूसँगै एसओएस हर्मन माइनर विद्यालय पनि स्थापना गर्ने सोच बनाए

एसओएस बालग्राम अभिभावकविहीन, अनाथ, असहाय र परित्यक्त बालबालिकाहरूको साझा समुदाय हो । यहाँभित्र निर्मित घरहरू बालबालिकाका आश्रयस्थल हुन् । बालग्रामभित्रको प्रत्येक घरमा एउटी आमा र काकीको रेखदेख, पालनपोषण, मायाममता र संरक्षणमा अधिकतम १२ जना बालबालिकाले आश्रय लिन पाउने व्यवस्था छ । जुनसुकै जाति, धर्म र साम्प्रदायिक पृष्ठभूमिका भए पनि बालग्रामभित्र बसोवास गर्ने बालबालिकाहरू दाजुभाइ–दिदीबहिनीको आत्मीय सम्बन्धमा अनुबन्धित हुन्छन् । त्यसैले उनीहरूका बीचमा बिहेवारी चल्दैन । बालग्राममा बालबालिकाका आआफ्नो परम्परा र संस्कारअनुसारका विधिविधानहरू सम्पन्न हुन्छन् । उमेर पुगेपछि बालग्रामबाटै उनीहरू वैवाहिक बन्धनमा बाँधिन्छन् । छोराहरूले जहाँबाट बिहे गरे पनि आफू हुर्किएको बालग्रामकै घरमा श्रीमती भित्र्याउन पाउँछन् । छोरीहरूलाई बालग्रामबाटै विवाह गरेर दिइन्छ । विवाहपछि छोरीज्वाइँ माइत वा ससुराली भनेर आउने पनि बालग्रामभित्रकै घरमा हो । छोराले भित्र्याएकी बुहारी वा छोरीसँग बिहे गर्ने ज्वाइँ दुवैले बालग्रामकी आमालाई सासूकै स्थानमा राखेर यथोचित माया र सम्मानभाव प्रकट गर्छन् । प्रत्येक घरका आमा र काकीबाहेक समग्र बालग्रामको अभिभावकत्व ग्रहण गर्ने ग्राम निर्देशकको व्यवस्था पनि बालग्रामभित्र गरिएको हुन्छ जसलाई बालबालिकाहरू ‘बुबा’ भनी सम्बोधन गर्छन् ।

बाहिरबाट झट्ट हेर्दा एसओएस आवासीय विद्यालयजस्तो देखिन्छ । तर, यो आवासीय विद्यालय भने होइन । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित यस विद्यालयमा अध्ययनका लागि बालग्राममा आश्रित बालबालिकाहरूले पहिलो प्राथमिकता पाउँछन् । उनीहरूलाई समाजसँग अन्तर्घुलन गराउन समुदायका अन्य बालबालिकाहरूलाई प्रवेश परीक्षामा पाएको सफलताका आधारमा एसओएस स्कुलमा अध्ययन गर्ने सुविधा दिइन्छ । समुदायका विद्यार्थी छनोट गर्दा पनि स्थानीय आदिवासी, असहाय, विपन्न, दलित, रोगग्रस्त, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गका बालबालिकाहरूलाई नै प्राथमिकता दिइन्छ । यीबाहेक एसओएस बालग्रामले दैवीप्रकोप र अन्य विकराल परिस्थितिमा सेवाका हातहरू फैलाउँदै आइरहेको छ । सिरियाका भूकम्पपीडित तथा युक्रेनको युद्धबाट प्रभावित बालबालिकालाई संस्थाले सक्दो सहयोग गरको थियो । त्यस्तै जलवायु परिवर्तनको असरबाट प्रभावित बोलिभिया, इन्डोनेसिया, पेरू, उरुग्वे, सुडान, सोमालिया तथा हिन्द महासागरको सुनामीबाट प्रभावित बालबालिकाहरूको पुन:स्थापनामा पनि एसओएसको सहयोग उल्लेखनीय रह्यो । त्यस्तै बाढीपहिरो, आगलागी, भूकम्प, कोभिड महामारीजस्ता विकराल समस्याबाट ग्रस्त बालबालिकाहरूको सहयोगार्थ एसओएसले मानवीय सेवा र सहयोगको भावना उच्च राखेर कार्य गरिरह्यो ।

एक तथ्यांकअनुसार हाल विश्वमा १० करोडभन्दा बढी बालबालिकाहरू संरक्षणविहीन छन् । तीमध्ये १ लाखभन्दा बढी नेपालमा मात्रै भएको तथ्यांक छ । विश्वमा न्यून व्यक्ति र संस्थाको चासोको प्राथमिकतामा बालबालिका पर्ने भएकाले उनीहरूको जीवन तुलनात्मक रूपमा असुरक्षित मानिन्छ । बालबालिकाले भोगिरहेको यस्तो दुर्दान्तपूर्ण पृष्ठभूमिमा ‘संसारका प्रत्येक बालबालिका हाम्रा बालबालिका हुन्’ भन्ने मान्यता बोकेर बालकल्याणका क्षेत्रमा निरन्तर सक्रिय रहेका हर्मन माइनर ‘संसारमा ठूला भनिएका प्रत्येक काम त्यतिबेला मात्र सम्भव हुन्छन् जतिवेला व्यक्तिले आफूले गर्न सक्नेभन्दा बढी काम गरेर देखाउँछन्’ भन्ने विचारका व्यावहारिक प्रयोक्ता हुन् ।

डा. हर्मन माइनरद्वारा स्थापित एसओएस बालग्राममा हालसम्म उनीसहित चारजनाले अन्तर्राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । हर्मन माइनरको देहावसानपछि उनकै उत्तराधिकारीका रूपमा सन् १९८५ मा इटालीका हेलमट कुटिनले एसओएस बालग्रामको विरासत सम्हाले । कुटिन हर्मन माइनरद्वारा स्थापित पहिलो बालग्राममा संरक्षणका लागि सन् १९५३ मा भर्ना गरिएका प्रथम चरणका बालबालिकाहरूमध्ये एक थिए । कुटिनको जीवनदर्शनमा पनि हर्मन माइनरकै प्रतिविम्ब भेटिन्थ्यो । यसरी लामो समय कुटिनले एसओएसको नेतृत्व गरेपछि उक्त जिम्मेवारी सन् २०१२ मा भारतका सिद्धार्थ कौल र सन् २०२१ यता इथियोपियाका डा. डेरिजे वर्डाेफाले सम्हालिरहेका छन् ।

मानवकल्याणका क्षेत्रमा हर्मन माइनरद्वारा आफ्नो जीवनकालमा गरिएका कार्यहरूको उच्च मूल्याङ्कन गर्दै उनलाई विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान तथा पदकहरूबाट विभूषित गरिएको छ । दर्जनौं पुरस्कारका अलावा नोबेल शान्ति पुरस्कारका लागि पनि २ पटकसम्म उनको नाम मनोनयनमा परेको थियो । हर्मन माइनर क्यान्सरपीडित व्यक्ति थिए । क्यान्सरसँग पौँठाजोरी खेल्दै घरबारविहीन, अनाथ असहाय र परित्यक्त बालबालिकाहरूको प्रफुल्ल चेहराभित्र आफ्नो जीवनको खुसी खोज्दाखोज्दै क्यान्सरको शल्यक्रियालगत्तै सन् १९८६ अप्रिल २६ मा उनको इहलीला समाप्त भयो । माइनरको पार्थिव शरीरलाई उनले सर्वप्रथम स्थापना गरेको अस्ट्रियास्थित इम्स्ट बालग्राम परिसरमा समाधिस्थ गरियो । हर्मन माइनरको निधनपछि उनकै जन्मदिन पारेर एसओएसले प्रत्येक वर्ष जुन २३ मा एसओएस दिवस मनाउन प्रारम्भ गर्‍यो । आज ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस हो ।

प्रारम्भमा एसओएस बालग्रामअन्तर्गत रहेका नेपालका विभिन्न परियोजनाहरू सञ्चालनार्थ एसओएस अन्तर्राष्ट्रियले नियमित रूपमा सहयोग उपलब्ध गराइरहन्थ्यो । तर, पछिल्लो समय एसओएसलाई सहयोग गर्ने स्थायी दाताहरू कम हुँदै गएका र संस्थाको कोष पनि त्यति सुदृढ नभएका कारण यसको सञ्चालनमा चुनौतीका पहाडहरू थपिएका छन् । बालग्रामको सञ्चालन र व्यवस्थापनका लागि एसओएस अन्तर्राष्ट्रिय र अन्य दाताहरूबाट नियमित सहयोग आइरहे पनि सन् २०२० देखि हर्मन माइनर विद्यालयहरू आत्मनिर्भर हुनैपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । नियमित स्रोतको बाटो बन्द भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त हुने सामान्य शुल्कको आम्दानीले मात्रै सम्पूर्ण भौतिक, शैक्षणिक र प्रशासनिक खर्चहरूको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यसर्थ नि:स्वार्थ सेवाभावबाट अनुप्राणित भई बालबालिकाहरूको वृहत्तर जैवनिक कल्याणका लागि समर्पित एसओएसजस्तो गरिमामय संस्थाको चिरकालीन गतिशीलताका लागि आआफ्ना क्षेत्रबाट सबैको यथाशक्य सहयोग अपेक्षित रहनु स्वाभाविक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग