स्वास्थ्य विज्ञानको इतिहासमा धेरै पहिलादेखि पकड जमाएर गजधम्म रूपमा बसेको व्यथा भए तापनि सेलुलाइटिसबारे मलाई हालसम्म जानकारी नै थिएन । सायद मलाई जस्तै धेरैलाई जानकारी छैन होला । यस प्रकारको व्यथा देखिएन वा देखिएको होला तर हेक्का रहेन । तर संक्रमित रोगको रूपमा हामीबीच राम्रै पकड जमाएर बसेको सेलुलाइटिस स्वास्थ्यका निमित्त निकै खतरा भएको/रहेको कुरा हालै म आफैंलाई यसले आक्रमण गरेपछि थाहा लाग्यो ।
सेलुलाइटिस भनेको छालामा बन्ने सानो खोपिल्टोको माध्यम भएर पनि किटाणु संक्रमण भई हुने छालाको भित्री भागको संक्रमण हो । अथवा सेलुलाइटिस भनेको साधारणतया छालामा हुने संक्रमण हो जसबाट संक्रमण भएको भाग सुन्निँदै र रातो (पाकेको स्याउको बोक्राजस्तो) बनाउँदै लैजान्छ । सेलुलाइटिस प्रायः खुट्टा, हात, आँखा र मुखको छेउ र गुदद्वार वरपरको भागमा संक्रमण हुँदो रहेछ । वास्तवमा सेलुलाइटिस छालाको भित्री भागमा किटाणु संक्रमणद्वारा हुने दर्दनाक संक्रमण हो । यो अचानक सुरु हुन सक्दछ र समयमा सही उपचार नभए थला पार्दछ र जीवन मरणको दोसाँधमा पु¥याउँदछ । यसले शरीरको रक्त सञ्चार प्रणालीलाई नै नकारात्मक असर पार्दै रगतका संकेतहरुलाई परिवर्तन गरी शरीरका मुख्य अंगहरुमाथि नकारात्मक प्रभाव पार्ने लक्ष्य राख्दछ । हाम्रो जस्तो पछौटे समाजमा संक्रमणको यस अवस्थामा झारफुक तथा लामा झाँक्रीको शरणमा जाने चलन छ, जुन सरासर गलत हुन्छ र अनाहकमा दीर्घ दर्दसहित ज्यान पनि जान सक्छ ।
यही २०७९ साल आषाढको अन्तिम हप्ता २६ गते बेलुकाबाट शरीर गह्रँुगो, ज्वरो आउने हो कि जस्तो, कतै करकर खाने, घरीघरी सिल्का हान्ने, शरीरमा आलस्य पैदा गर्ने, खानातर्फ अरूचि बढ्ने र क्रमशः बढ्दै जाने जस्ता लक्षणहरु महसुस हुँदै गयो । देब्रे खुट्टाको गोली गाँठा वरपरदेखि तिघ्रा र पाइतालातर्फ सुन्निदै जाने समेतको लक्षण देखा पर्न गयो । बिहान प्रायः ४ बजे उठ्ने गरेको भए तापनि २७ गते बिहान उठ्नै नसकेर साढे बाह्र बजेसम्म सुतिरहें । उठ्न, खान, बोल्न मन/जाँगर केही छैन ।
तैपनि छुटाउनै नसकिने बैठकका कारण जबरजस्त उठेर स्नानादि कर्म गरी रुचेको खाएर आलस्यले भरिएको शरीर लिएर बैठकसम्म पुगे । सकिनसकी आफ्ना विचारहरू राखे । अस्वस्थ्यताबारे केही पनि बोलिनँ । त्यसपछि एक जना मित्रको विद्यावारिधिसम्बन्धी अन्तिम प्रस्तुति तयारी गर्ने सम्बन्धको पूर्वाभ्यास प्रस्तुति कार्यक्रम थियो । त्यसमा पनि आफूलाई लागेका विचारहरू राखेर साँझ अँध्यारोमा घर फर्कंे । घर पुग्नु पहिले आफूले सदा औषधी किन्ने औषधी पसलमा गएर रक्तचाप मापन गराए । रक्तचाप सामान्य नै थियो । मेडिकलका भाइको सल्लाहअनुसार पारासिटामोल खाएँ । त्यसबेलासम्म देब्रे खुट्टाको गोलीगाँठो वरपर र तिघ्रा तथा पैतालातर्फ थप सुन्निँदै गएको थियो तर दुख्ने चिलाउने केही भएको थिएन । अस्वस्थता र आलस्यले भरिएको भारी अवस्थामा खाना खाने सामान्य औपचारिकता पूरा गरेर सुतेँ । रात सहज रहन सकेन । २८ गते बिहान ८ बजे फेरि पनि छुटाउन नसकिने प्रकारको बैठक भएकाले करले उठेर त्यसतर्फ लागे ।
त्यो बेलासम्म देब्रे खुट्टाको गोली गाँठाको वरपरको भागदेखि तलमाथि करिब घुँडासम्म बढी नै सुन्निदै आयो । सँगसँगै छाला रातो पनि भयो । तर कतै पनि घाउ फोडा फँुसी केही पनि छैन । बैठकमा कुर्सीमा खुट्टा झुण्ड्याएर बस्दा त झनै सुन्नियो र सुन्निएको भाग कडा हुँदै गयो । घर आएर खाना खाने सामान्य औपचारिकता पूरा गरेपछि अलि अप्ठेरो भएकै देखेर छोरीले अस्पताल जाऊँ भनिन् । मैले पनि जानै पर्ने ठानेर आफूले सदा स्वास्थ्य परामर्श लिने गरेको प्राडा बुद्धिबहादुर थापालाई फोन गरें र बेलुकाको समय मागें । उहाँले बेलुका व्यस्त छु, भोलि भेटौँ भन्ने जवाफ दिनुभयो । मैले भनें, मेरो त देब्रे खुट्टा सुन्निएको छ के गर्ने ? भने पछि उहाँले त्यसो भए अहिल्यै एक घन्टाभित्र आउन भन्नुभयो । डा. बुद्धिबहादुर सरसर्ती हेर्नुभयो र भन्नुभयो सेलुलाइटिस भएछ । यो मेडिकल शब्द पहिलो पटक उहाँको मुखबाट मैले सुनें । त्यसपछि उहाँले तुरुन्त खाने दुई चक्की औषधी लेखिदिनुभयो र रगत, पिसाब परीक्षणका निमित्त पठाउनुभयो । फेवा सिटी अस्पतालको छालाको चिकित्सक काठमाडौँ गएको हुँदा फिस्टेल अस्पतालका छालाका चिकित्सक डा. अजय कुमारलाई फोनसमेत गरी साँझ त्यहाँ गई जचाउने प्रबन्ध मिलाइदिनुभयो । लेखेको औषधी किनेर खाएँ, रगत र पिसाब परीक्षण फेवा सिटी अस्पतालकै प्रयोगशालामा गरेँ । एक घन्टापछि रगत र पिसाबको प्रतिवेदन आयो । प्रायः सदा सामान्य रहने मेरो रगतको संकेतहरू कता कता असामान्य हुँदै गएको रहेछ । रगतको युरिया १०१ र क्रिटिनाइन १.९ पुगिसकेको र अन्य संकेतहरूमा पनि असहजतातर्फ उन्मुख हुनतर्फ लागेको पाइयो ।
संक्रमित रोगको पकड जमाएको सेलुलाइटिस स्वास्थ्यमा निकै खतरा भएको म आफैंंलाई आक्रमण गरेपछि थाहा लाग्यो
पूर्व सल्लाह अनुसार साँझ ४ बजे फिस्टेल अस्पतालका छालाका चिकित्सक डा. अजय कुमारलाई भेटियो । उहाँले पनि सुन्निएको खुट्टा र प्रतिवेदन सरसर्ती हेर्नुभयो र सेलुलाइटिस ठह¥याएर केही एन्टिबायोटिक औषधी लेखिदिनुभयो । उहाँले भर्ना भएरै नसाबाट औषधी लिनुपर्ने हुन सक्दछ भन्नुभयो । खुट्टालाई अग्लो गरी राख्ने सल्लाह दिनुभयो । व्यथाको बारेमा ज्यादा व्याख्या गर्नु भएन औषधी खाएर भोलिपल्ट भेट्ने सल्लाह दिनुभयो । उहाँले लेखेअनुसारको औषधी किन्न लाग्दा सोही अस्पतालकै फिजिसियन डा. दिपेश कार्की संयोगले भेट हुनुभयो । उहाँ मेरो भान्जीज्वाँइ हुनुहुन्छ । उहाँले बढी चासो लिएर हेर्नुभयो र सेलुलाइटिस भएछ मामा एउटा अतिरिक्त परीक्षण पनि गर्नुपर्दछ आउनुहोस् भन्नुभयो । २९ गते साँझ गएर डा. अजयलाई पुनः देखाएँ । उहाँले रगत परीक्षणका निमित्त लेख्नुभयो । रगत परीक्षणमा रगतको युरिया ५६ मा झरेको र क्रिटिनाइन पनि १.८ मा घटेको प्रतिवेदन प्राप्त भयो । सो प्रतिवेदन हेरेर डा. अजयले भर्ना नै गर्नुपर्ने हो तर रगत सुधारोन्मुख भएकाले सोही औषधी खानु पर्सि ३१ गते आउनु भनी पठाउनु भयो । सोहीअनुसार घर फर्कियो । डा. दिपेशलाई भेट्ने अनुकूल रहेन ।
औषधी खाँदै आरममा नै थिए तर खुट्टा सुन्निन र रातो हुन कम भएन । शरीर पनि भारी नै रह्यो । व्यथा केही रोकिए जस्तो मात्र भयो तर हल्का भएन । त्यसर्थ ३० गते दिउँसो पुनः अस्पताल गएर डा. दिपेशलाई भेटें । उहाँले अविलम्ब भर्ना भएर नसाबाट औषधी लिनु पर्ने सल्लाह दिनुभयो । भर्ना जुन अस्पतालमा भए पनि हुनुहोस् तर औषधी नसाबाट नै चढाउनु पर्दछ भन्ने कुरामा उहाँको जोड रह्यो । मैले पनि सामान्य बन्दोबस्तीका कुराहरू मिलाई सकेसम्म साँझ नभए भोलिपल्ट ३१ गते बिहान सबेरे भर्ना भै उपचार गर्ने निधो सुनाइ घर फर्कें । बेलकुा उहाँलाई पुनः फोन गरेर भोलिपल्ट बिहान सबेरै फिस्टेल अस्पतालमै भर्ना हुने निधो उहाँलाई सुनाएँ । उहाँले कुनै समय अस्पतालको संकटकालीन कक्षमा आइ फोन गर्नु तुरुन्त उपचार सुरु गराइ दिन्छु भन्नुभयो । सोही सल्लाह अनुसार ३१ गते बिहान ८ः३० बजे अस्पताल गएर डा. दिपेशलाई भेटियो । उहाँले तुरुन्त भर्ना गरी नसामार्फत् उपयुक्त एन्टिबायोटिक औषधी सुरुआत गराउनुभयो । पुनः रगत परीक्षण गरियो । रगतमा क्रमशः सुधार देखियो । रगतका संकेतहरू सीमाभित्र आए र उपचार प्रभावकारी बन्दै गयो । फलतः शरीरमा सकारात्मक परिवर्तन देखापर्न थाल्यो । त्यस बीचमा छाला चिकित्सक डा. अजयकुमार, डा. वसन्त ताम्राकारले समेत सबै स्वास्थ्य प्रतिवेदनसहित सबै स्वास्थ्य संकेतहरू होसियारीपूर्वक हेर्नुभयो । त्यस बीचमा प्राडा बुद्धिबहादुर थापाले पनि पटकपटक फोनमार्फत् स्वास्थ्य अवस्था र रगत परीक्षण नतिजाबारे सोधपुछ गरिराख्नुभयो ।
स्वास्थ्यमा सकारात्मक नतिजा आएकोमा उहाँले पनि खुसी व्यक्त गर्दै जानुभयो । यसरी असार ३१ गते भर्ना भएर ३२ र साउन १ गतेसम्म आइपुग्दा रगत परीक्षणमा पनि यथेष्ट सुधार (रगतको क्रिटानाइन १.३ र अन्य संकेतहरू सबै सामान्य) भएको र खुट्टा सुन्निन पनि कम हुँदै गएकोले बाँकी उपचार खाने औषधीको निरन्तरतालाई कायमै गरी अस्पतालबाट १ साउन २०७९ मा डिस्चार्ज भएर घरमा आइ आराम गर्न थालें । सेलुलाइटिसको अचुक र तीव्र आक्रमणको गति उपचारको अचुक प्रतिरोधद्वारा सामान्य हुँदै गएर निको हुनेतर्फ उन्मुख रह्यो । यद्यपि खुट्टाको प्रभावित भाग हल्का सुन्निने र छालाको रङ रातो रहने क्रम अझै छ । चिकित्सकहरूको बोर्डले (डा. वसन्त ताम्राकार, डा. अजय कुमार, डा. माधव पराजुली र डा. दिपेश कार्की) ठहर्याएर बाँकी उपचारको निमित्त औषधी निक्र्र्याैल गरी बिदा गर्नुभएको हो । चिकित्सकहरूको टिमले उपचारमा जुन प्रकारको गाम्भीर्यता प्रदान गर्नुभयो त्यसको निमित्त म नतमस्तक छु । कृतज्ञ छु । धन्यवाद ज्ञापन गर्छु ।
व्यथाको समयमा पहिचान र उपयुक्त निदानको मापन नै गर्न नसकिने महत्त्व रहँदो रहेछ । जुनसुकै व्यथा पनि आफैंमा ठूलो हुँदो रहेछ । नत्रभने सेलुलाइटिसले सुरु गरेको सो युद्धमा मलाई पराजित गर्ने सबै रणनीतिक तानामाना तथा जाल यसले मिलाई सकेको रहेछ । तर सबै संयोग, चिकित्सकहरूको अपूर्व चिकित्सकीय सोच र उपचार, घरपरिवार तथा सम्पूर्ण इष्टमित्रहरूको गहिरो सद्भाव र सहयोग, त्यस्तै गीता मन्दिर योग केन्द्रका सबै साधक साधिकाहरुको सद्भाव र शुभकामनाले निको भई पुनः स्वास्थ्य हुनसकें । आफूलाई धन्य सम्झेको छु । सेलुलाइटिसको आक्रमणको यस अवधिमा पनि योग प्राणायाम अभ्यासलाई निरन्तर कायम राखें । साथै स्वास्थ्यसम्बन्धी यस परिघटनाबाट उपचार सम्बन्धमा पाठ लिन र सिक्न पनि उपयोगी हुन सक्ने यथेष्ट आधार प्राप्त भएको कुरा महसुस गरेको छु । पूर्व सचेतना र उपचार कै निमित्त उपयोगी होला भनेर यो लेख तयार गरी प्रकाशित गर्ने जमर्काे गरेको हो । सरोकारवालालाई उपयोगी भएमा धन्य सम्झनेछु । धन्यवाद ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१