सक्षम पुस्ताको अपेक्षा

 नगेन्द्रराज पौडेल
जेठ ८, २०७९

चिनियाहरु हामीलाई १ केजी माछा होइन, माछा मार्ने तरिका देऊ भन्छन् । आफ्नो खुट्टामा उभिन चाहनेहरुले भन्नुपर्ने यही हो । यसको अभ्यास विद्यालय शिक्षादेखि हुनुपर्छ । हामीकहाँ वर्तमान युवा पुस्ताको शैली, व्यवहार र गतिविधि देख्दा न अनुशासन, न नीति नियम न आदर सत्कार । केही पनि देखिँदैन । केही पनि पाइँदैन । सब शून्य । आसन्न स्थानीय चुनावी गतिविधिलाई लिएर मै हुँ भन्ने नेताको बोली, भाषा र गतिविधि हेर्दा आगामी पुस्तामा त्यसको प्रभाव कतिसम्म नकारात्मक पर्ला अनुमान गर्न कठिन छैन । आखिर सोचअनुसार मानिसको व्यवहार हुन्छ भनेर त खप्तड स्वामीले विचार विज्ञानमा भनेकै छन् ।

विद्यालय शिक्षा मूल आधार

संस्कार, आचरण र मूल्य मान्यता हस्तान्तरणका लागि विद्यालय शिक्षा महत्वपूर्ण मानिन्छ । जे सिक्यो त्यसैको परावर्तन आगामी जीवनमा हुने हो । यसै पनि आजका विद्यार्थीहरु भविष्यका राष्ट्रका कर्णधार हुन् । भनिन्छ, विद्यार्थीहरु काँचो माटो हुन्, शिक्षक कुमाले हो उसले जुन भाँडो बनाउन खोज्यो उही बनाउँछ । यसैकारण संसारका सबैजसो देशमा शिक्षकलाई सम्मानपूर्वक हेरिन्छ । उनीहरुप्रति आदर्श व्यवहार गरिन्छ । तर हामीकहाँ यसको ठिक उल्टो छ । हाम्रो समाजमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मीलाई आदरको रूपमा हेर्ने गरिन्छ । तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मी उत्पादन गर्ने अन्ततः शिक्षकहरु नै हुन र शिक्षकजस्तो पवित्र पेसा अरू हुनै सक्दैन । शिक्षण पेसा एउटा तपस्या हो । एउटा बालकलाई समाज र राष्ट्रको असल नागरिक बनाउने काम शिक्षकको हो । कक्षाकोठामा भएकै बालबालिका पछि गएर समाज र राष्ट्रको अभिन्न अंग बन्दछन् । ती असल भए समाज र राष्ट्र पनि असल हुन्छ । ती खराब भए राष्ट्र नै खराब हुन्छ । तसर्थ राष्ट्र बनाउने जस्तो पुण्य काम कसरी हेय हुन सक्छ ? शिक्षकले ‘म शिक्षक हुँ’ भनेर गौरवका साथ भन्न सक्नुपर्छ । ‘शिक्षक नभए कोही पनि डाक्टर, इन्जिनियर, राजनेता, वैज्ञानिक आदि हुनै सत्तैmनन् । अरु पेसा नपाएर भन्दा पनि तिनीहरूलाई बनाउन नै म शिक्षक भएको हुँ । मैले पनि अरू पेसा गर्न सक्थें तर अरूलाई असल बनाउन मैले शिक्षण पेसा नै रोजेको हुँँ,’ भन्ने आँट प्रत्येक शिक्षकले गर्नुपर्दछ ।

बिरासत गुमाउँदै शिक्षक

केही समय अघि तनहुँमा शिक्षकको पेसागत संघठनका पदाधिकारीले महिला शिक्षकको सरुवाका लागि उनीसँग फोन गरेको, म्यासेज पठाएको र सरुवाका लागि यौन प्रस्ताव राखेको कुरा सार्वजनिक भयो । तनहुँमा मात्र होइन, देशका विभिन्न जिल्लामा शिक्षकद्वारा आफ्नै छात्रा बलात्कृत भएका बग्रेल्ती घटनाहरु देखिन्छन् । बालमैत्रीका नाममा सरकारले करौडौं लगानी गरिसकेको छ तर कैयौं ठाउँमा आज पनि शिक्षकको पिटाइबाट विद्यार्थी सिकिस्त भएका घटनाहरु देख्न सकिन्छ । पेसागत संघ, संगठनको नाम भजाएर विगतमा यिनै शिक्षकका नेता भन्नेहरुले शिक्षा मन्त्रालयमा नै हालीमुहाली गर्थे । आफू अनुकूलको मन्त्री आउँनासाथ जिल्ला शिक्षा अधिकारीदेखि शिक्षा निर्देशकसम्मको सरुवा मिलाइदिन भनी जिल्ला जिल्लामा पैसा उठाउँदै हिँड्थे । आयोग खुल्नै हुँदैन्थ्यो, तँलाई पास गराइदिन्छु भन्दै उम्मेद्वारसँग रकम उठाउँदै हिँड्ने चलन आज पनि कायम नै छ । स्थानीय चुनावमा कतिजना शिक्षक त राजनीतिक दलका तर्फबाट निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा उम्मेदवारका तर्फबाट मतगणना प्रतिनिधि समेत बने । यतिमात्र होइन मतगणना धाँधली गर्यो भनी उनीहरुकै सिफारिसमा जिल्ला शिक्षा अधिकारी ( हाल इकाइ प्रमुख ) को सरुवा हुन गएमा पनि अन्यथा नमाने हुन्छ । किनभने विगतमा शिक्षककै सिफारिसमा शिक्षा अधिकारीहरु कारबाहीमा परेका अनेकानेक उदाहरणहरु छन् । कुकुरले पुच्छर हल्लाउनुको सट्टा पुच्छरले कुकुर हल्लाउने पद्धति भएको ठाउँमा हुने यही हो ।

एउटा उदाहरण

भारतमा अंग्रे्रजहरूको राज भएको बेलामा महात्मा गान्धी दक्षिण अफ्रिकामा वकालत गर्दै थिए । त्यहाँ रंगभेदविरुद्धमा लडिरहेको बेला उनलाई भारतीय राजनीतिमा ल्याउन प्रमुख भूमिका बालगंगाधर तिलकले खेलेका थिए । भारतको राष्ट्रिय कांग्रेसका शीर्ष नेता रहेका उनी एउटा विद्यालयमा शिक्षक नै थिए । त्यहींबाट सव्रिmय राजनीतिमा उनी लागेका थिए । जब भारत १९४७ अगस्टमा स्वतन्त्र हुने निश्चित भयो, एक पत्रकारले बालगंगाधर तिलकलाई सोधे, ‘अब हाम्रो राष्ट्र स्वतन्त्र हुने निश्चित भइसक्यो, तपाईं स्वतन्त्र भारतको कुनै मन्त्रालयको मन्त्री हुन चाहनुहुन्छ ? बालगंगाधरले पत्रकारलाई जवाफ दिए, ‘म कुनै पनि मन्त्रालयको मन्त्री हुन चाहन्नँ, म त आफ्नै शिक्षण पेसामा फर्केर स्वतन्त्र भारतमा असल नागरिक बनाउनमा लाग्ने छु, जसले गर्दा भारत स्वतन्त्र, सार्वभौम, प्रगतिशील, उन्नतितिर लागोस् ।’

असल र चारित्रिक नागरिक उत्पादन गर्न सकेमा शिक्षकका लागि सबैभन्दा पुण्यकर्म नै यही हो

यो एउटा कर्तव्यनिष्ट शिक्षकले देशको लागि गरेको त्याग र समर्पणको सटिक उदाहरण थियो । २०३६ साल, २०४६ साल र २०६२÷०६३ सालमा हाम्रा शिक्षकहरुले पनि बालगङगाधरलेजस्तै महान् काम गरिसकेका छन् । राजनीतिले अब बाटो समातिसकेको छ । अब फेरि त्यसको ब्याज असुल्नतिर नलागी (मन्त्री,सांसद वा मनोनीत पदको आकांक्षा नगरी ) असल नागरिक तयार गर्नमा नै आफूलाई समर्पित गर्नुुपर्दछ । सच्चा शिक्षकको निष्ठा यसैमा झल्किन्छ । असल र चारित्रिक नागरिक उत्पादन गर्न सकेमा शिक्षकका लागि सबैभन्दा पुण्यकर्म नै यही हो ।

उदाहरण बन्न सिकौं

एउटा शिक्षक सधैं बालबालिका, समाज र सिकारुका लागि पथप्रर्दशक बन्न सक्नुपर्दछ । बालबालिकाको जीवन बनाउने महान लक्ष्य लिएर अघि बढ्नुका साथै आफ्नो विषय र लक्ष्य जहिले पनि सिक्ने सिकाउने नै हुनुपर्दछ । आफूले अँगालेको शिक्षण पेसालाई संसारकै उत्कृष्ट पेसा सम्झी सन्तुष्टी लिन सके मात्र आदर्श शिक्षकका रुपमा स्थापित हुन सकिन्छ । शिक्षक समग्रमा सिकारुका लागि उदाहरणीय र समाजका लागि अनुकरणीय बनी प्रस्तुत हुन सक्नुपर्दछ । यसैकारण अल्बर्ट आइन्स्टाइन भन्ने गर्थे ‘मैले विद्यार्थीहरुलाई पढाउँदिनँ, केवल पढ्ने वातावरणको सिर्जना गरिदिन्छु ।’ राजनीतिज्ञ एउटा भन्छन्, अर्कै गर्छन् नैतिकताको ख्याल गर्दैनन् । एउटा कुरा भन्ने तर व्यवहार भने अर्कै गर्ने छुट शिक्षकलाई छैन र हुनु पनि हुँदैन ।

एउटा बालकलाई गुलियो खान नहुने रोग थियो । उसकी आमाले उसलाई रामकृष्ण परमहंसकोमा सम्झाइदिनु भनेर लगिन् तर रामकृष्णले उसलाई ३ सातापछि ल्याउनु अनि म सम्झाउँला भनी फर्काइ दिनुभयो । ३ सातापछि उनले पुनः छोरालाई लगिन् । रामकृष्णले बालकलाई छेउमा बोलाएर प्रेमपूर्वक अबदेखि तिमीले गुलियो नखानुु है भनेर सम्झाउनुभयो । बालकले पनि अबदेखि म गुलियो खान्नँ भन्ने प्रतिज्ञा गर्‍यो । आमालाई अचम्म लाग्यो । उहाँले रामकृष्ण परमहंसलाई सोध्नुभयो, ‘तपाईंले यति कुरा त ३ साता अगाडि नै बताइदिएको भए भैहाल्थ्यो नि । किन तपाईंले त्यति बेला नै नभन्नुभएको ?’ उनले आफू बेकारमा दुईपल्ट आउनुपर्‍यो भनेर गुुनासो गरिन् । रामकृष्ण परमहंसले सहज भावमा जवाफ दिनुभयो, ‘त्यो त ठीकै हो तर त्यतिबेला म नै धेरै मिठाई खान्थें, अनि कसरी यो बालकलाई नखाऊ भनेर भन्ने । गएको ३ सातादेखि मैले मिठाई खान छोडें, त्यसैले उसलाई नखाऊ भनेको हुँ । हो, आजको समाजले खोजेको शिक्षक यिनै रामकृष्णजस्तै हो ।

शिक्षकले कक्षामा सुर्तीजन्य वस्तु मानिसको लागि हानिकारक हो भनी त्यसका दोष कक्षाको बोर्ड भरी लेख्ने, विद्यार्थीलाई नखानू पनि भन्ने तर आपूm शिक्षक बस्ने कोठामा गएर गफ मार्दै सिगरेट वा खैनी खाइरहेको ती विद्यार्थीले देख्दा उनीहरूमा के असर पर्ला ? यो ज्यादै विचारणीय कुरा हो । यही अवस्था मादक पदार्थ सेवन, छर छिमेकमा हुने झैझगडामा शिक्षकको संलग्नता, स्वावलम्बी व्यवहार आदिमा देख्न, पाउन सकिन्छ । यी सबैमा असल शिक्षकको सकारात्मक हस्तक्षेपले विद्यार्थीहरुको आगत सपारी चरित्र निर्माणमा सघाउ पुर्‍याउँछ । अन्यथा किताबका माछा नखानुु भने पनि खोलाका माछा खान हुन्छ भन्ने स्थिति पैदा गराउन सक्ने हुँदा असल शिक्षकले यस्ता कुरामा सदैव ख्याल गर्न जरुरी छ । भनिन्छ, शिक्षक सधंै विद्यार्थीभन्दा एककदम अगाडि हुनैपर्छ ।

एउटा भनाइ छ, शिक्षाको अन्त्य नै चरित्र हो । त्यसैले शिक्षाले प्रत्येक विद्यार्थीको आचरण बनाउन वा परिवर्तनतिर लगाउन सक्नुपर्छ र अनि मात्र पाठ्यक्रम आदिको ठूलोठूलो विषयमा सोच्नुपर्छ । यसैकारण शिक्षाको मूल ध्येय व्यवहारमा आउने सकारात्मक परिवर्तन नै हो भनिएको पाइन्छ । हाम्रो उद्देश्य ठूलो मानिस होइन, असल मानिस बनाउनेमा हुनुपर्छ । सबै विद्यालयमा पढेका असल भए समाज असल हुन्छ र समाज असल भए राष्ट्र अनि राष्ट्र असल भए संसार नै असल हुन्छ र चारैतिर शान्ति छाउँछ । शिक्षकमा ब्रह्माको जस्तो रचनात्मक गुण हुनुपर्छ, जसले विद्यार्थीमा लुकेको गुणहरू प्रकट गर्न मद्दत पुर्‍याओस् । विष्णुलाई जगत्का पालनकर्ता भनिन्छ । गुरुले पनि सबै सिकारुहरूलाई दुःख, सुख, कठिनाइमा सहयोग गरी उनीहरूको पालन गर्नुपर्छ । शिवलाई संहारकर्ता भनिन्छ । बालबालिकामा भएको दुर्गुणहरूको नाश गरी असल मानिस बनाउनमा शिक्षकले राम्रो भूमिका निर्वाह गर्नुपर्छ । तब मात्र शिक्षक परब्रह्मा हुन सक्तछ ।
आशा गरौं, कम्तीमा पनि आगामी पुस्ता सक्षम, सबल र गुणस्तरीय बनोस् । यसका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहोस् । माछाको अपेक्षा होइन, त्यो प्राप्त गर्ने विधिको सिकाइ हुन सकेमा मात्र आगामी पुस्ता सक्षम हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग