शङ्कर लामिछाने व्यक्ति एकः व्यक्तित्व अनेक

सन्दर्भः ९३ औं जन्मजयन्ती

असफल गौतम
चैत्र ५, २०७६

चुड्का जस्तो देखिने विधा आधुनिक नेपाली हाइकुलाई नेपाल भित्र्याएर उनले ठूलो गुन मात्र होइन, आधुनिक नेपाली हाइकुको जन्म दिएर हाइकु पिता बने । यसर्थ उनी आधुनिक हाइकु कविता लेख्ने पहिलो कवि हुन् । आज जानअन्जान धेरै स्रष्टा साधक हाइकुको साधनामा छन् ।

विषयप्रवेश
पिता हरिप्रसाद र माता राजकुमारी लामिछानेको कोखबाट १९८४ चैत ५ गतेका दिन काठमाडौंको जैसीदेवलमा शङ्कर लामिछानेको जन्म भएको हो । राजकुमारीको कोखबाट राजकुमारकै रूपमा जन्मे तापनि लामिछाने सानै छँदा मातापिताको सम्बन्ध चिसिएकाले दूधे भाइसँगै आमासँगै मावलीघर बनारस पुगे । बनारसमा भाइको निधनले एक्ला भएका उनी नेपाली वाङ्मयका क्षेत्रमा आज व्यक्ति एक व्यक्तित्व अनेक भएका प्रतिभाका रूपमा परिचित छन् । यसैले प्रस्तुत आलेखमा उनका विभिन्न व्यक्तित्वलाई प्रष्टयाउने प्रयास गरिएको छ ।

बालखैमा टुहुरो
मानव जीवनमा अनेक बाधा र व्यवथान खडा हुन्छन् स्वभाविक हो । लामिछानेको जन्मसँगै उनका जीवनमा पनि त्यस्तै केही सन्दर्भ जोडिए सोहीकारण उनी बनारसमा हुर्के । बनारस बसाइको दशक हाराहारीमा आमाको निधन भएपछि उनी १९९९ सालमा नेपाल प्रवेश गरे । विधिको विडम्बना आमा गुमाइसकेका लामिछाने आमाबाबुबिहीन टुहुरा हुन पुगे । जसका कारण आइ.एस्सी. अध्ययनमा रहेकै बेला अध्ययनको दैलो लाग्यो । आमाको सम्पत्तिमा मावलीको आँखा परेपछि सबै हिसाबले टुहुरा बनेका लामिछानेले अध्ययनलाई अगाडि बढाउन सकेनन् ।

जीवनका घनचक्कर र ठक्कर
अध्ययनलाई छोडेर हातमुख जोहोका लागि शंकर लामिछाने विभिन्न ठाउँमा पुगे । यसरी हिँड्ने क्रममा उनी जिन्दगीभर कहिल्यै एउटै पेशामा लागेनन् । राणाकालीन युग समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारमा जागीर खाए । सो क्रममा कहिले काव्य प्रतिष्ठानको सदस्य सचिव, कहिले श्री ३ गुठी अड्डाको हाकिम, कहिले नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालय प्रमुख, कहिले जनसेवा सिनेमा भवन र त्यससँग सम्बन्धित क्युरियो पसलमा सङ्लग्न, कहिले घरेलु शिल्पकला बिक्री भण्डार लिमिटेडको व्यवस्थापक त कहिले शङ्कर होटल एण्ड ट्राभल्स टुर्सका प्रशासक । यसरी लामिछानेले विभिन्न रूपमा जागिरे जीवन बिताए । तर सो क्रममा ठाउँमा नयाँ मान्छेसँग विचार फेरिएपछि हात धुँदै हिँड्दै गरे, उनी पूर्ण सफल भएनन् । सोहीक्रममा मामा नरेन्द्रराज रेग्मीको सङ्गतले नेपाली काङ्ग्रेस निकटको राजनीतिसँग पनि निकट रहे ।
बाल्यकालले काँचुली फेरेपछि उमेरले २५ वर्ष पुग्दै गर्दा २००९ सालमा रत्ना राईसँग वैवाहिक जीवनमा प्रवेश गरे । छोरा दीप र छोरी शिखाका बाबु बने । अभावै अभावले गुज्रेको जिन्दगी पुएस–पुएसमै बित्यो । जिन्दगीको रथ मानीएकी रत्ना स्वेच्छिक रूपमा अलग्गिएपछि २०३० सालमा ४६ वर्षको उमेरमा काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पुनः दाम्पत्य सुत्रमा बाँधिए । श्रेष्ठतर्फ दुई छोरा प्रकाश र प्रवाश जन्मे । यसरी पारिवारिक जीवनका मुना पलाउँदै जाँदा उनी बहुविवाहको झमेलामा परे । भन्नेहरूले उनले थुप्रैसँग प्रीति गाँसे भनेको पाइन्छ । पारिजातसँगको उनको सम्पर्कलाई धेरैले प्रेमको संज्ञा दिन्थे तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे । साहित्यजगत्मा पारिजातको शिरीषको फूलको भूमिका लामिछाने र पारिजातबीचको प्रेमको सेतु थियो भने पनि यथार्थमा चिन्नेले दाजुबहिनीको स्नेह अलौकिक थियो भनेको पाइन्छ । तर भुल्न नहुने कुरा के भने, लामिछानेका साहित्यिक कृति जति अब्बल दर्जाका रहे तापनि व्यतिगत जीवनमा उनी त्यति नै अव्यस्थित र विवादित नै रहेको देख्न सकिन्छ ।

असल गुरुका असल चेला
संगत विनाको फल भनिन्छ, आफ्ना भानदाइ गोपालप्रसाद रिमालका कारण अभिनेता र गुरु लक्ष्मीप्रसाद देवकोटाका कारण असल र सफल साहित्यकार बनेको चर्चा वाङ्मयिक वृत्तमा चलिरहन्छ । तर लामिछाने खुबै मिलनसार भएकाले उनी महाकवि देवकोटाका अति नजिक थिए । दुवैजना आर्थिक हाहाकारमा भाँस्सिएकाले उनीहरूको गुजाराको माध्यम थिएन । त्यसैले लामिछानेकै पारामा देवकोटा पनि विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध रहेको भन्ने पाइन्छ । त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई पनि एउटा जीविकाको काम भनेर त्यतै मोडेर देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न लामिछानेले गरेका थिए भनिन्छ । महाकवि देवकोटाको स्वभाव अबोध बालकको जस्तो भएकाले जसले जे भन्यो त्यही मानिदिने र तुरुन्तै अर्का मान्छेले भड्काए उसैका कुरा पत्याइदिन्थे भन्ने आरोप नलागेको पनि होइन । यद्यपि साधनाका क्रममा एकदिन लामिछानेले आफूले लेखेका कविता र कथा देवकोटालाई देखाउँदै मैले के गरेदेखि ठीक हुन्छ भन्दै सोध्दा देवकोटाले भनेछन्ः– ‘रिपिटिसन अफ वर्क अन दि सेम लाइन ह्याज नो मिनिङ्’ । त्यसपछि उनी पृथक बाटो पहिल्याउन लागे, जसको प्रेरणाले आज उनी नेपाली साहित्यको राजमार्गमा छन् भन्न सकिन्छ । जुन बेला लेखिएको उनको अप्रकाशित कथा डायरीमा रहेको ‘सपनामा समावेश एक चुम्बन’ थियो ।

विविध साधनाका प्रथम स्रष्टा
शङ्कर लामिछाने जसको जति चर्चा गरे पनि कमै हुन्छ । लामिछाने सदा पृथक काम गर्न चाहन्थे, त्यसैले उनी धेरै सन्दर्भ प्रथम भए । पंक्तिकारको उनीसँगको प्रेम निबन्ध र हाइकुसँगको हो । जसका निबन्ध पढ्दा मथिङ्गल हल्लेको अनुभूति हुन्छ । हाइकुमा अभिव्यक्त सामथ्र्यले लेखनका दम खोज्छ । परम्परागत हाइकु संरचनाका चुड्का नेपाली समाजमा विभिन्न अनुष्ठानमा मादल र खँैडजीका साथ गाउने, बजाउने र नाच्ने गरिन्थ्यो, अझै गरिँदै आएको पाइन्छ । तिनै चुड्का जस्तो देखिने विधा आधुनिक नेपाली हाइकुलाई नेपाल भित्र्याएर उनले ठूलो गुन मात्र होइन, आधुनिक नेपाली हाइकुको जन्म दिएर हाइकु पिता बने । यसर्थ उनी आधुनिक हाइकु कविता लेख्ने पहिलो कवि हुन् । आज जानअन्जान धेरै स्रष्टा साधक हाइकुको साधनामा छन् ।

हाइकुका सन्दर्भमा मात्र होइन, लामिछाने नेपाली वाङ्मयका विविध विधामा प्रथम बनेका छन् । उनी रेडियो नेपालका प्रथम गीतकार हुन् । नातिकाजी श्रेष्ठको सङ्गीत, हरिप्रसाद रिमालको स्वरमा गुञ्जने रचना रेडियो नेपालबाट प्रथम पटक प्रशारण भएको गीत हो । त्यस्तै लामिछाने विज्ञान कथाका ‘शैली सम्राट’ हुन् । उनको ‘माया नं. ६५३’ पहिलो विज्ञान कथा हो । यतै उनी भविष्यकालमा कथा लेख्ने पहिलो कथाकार हुन् । उनी भाषाशास्त्री ईश्वर बरालको आग्रहमा भविष्यकालमा लेखिएको ‘म भोलि जन्मने छु’ कथाका कथाकार हुन् ।
साहित्य जगत्मा भूमिकाका कारण उनको विशिष्ट पहिचान छ । आधुनिक निबन्ध लेखनका सिद्धहस्त लामिछानेका निबन्ध कुनै भौगोलिक परिधिभित्र सीमित थिएनन् र छैनन् । आफ्नो जीवनकालमा उनले जम्मा तीन भूमिका लेखेका थिए । जसमा पारिजातको ‘शिरीषको फूल’ र पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ दुई औपन्यासिक कृतिमा लेखिएका भूमिका प्रकाशित थिए । उनले पारिजातले भोगेको युग जीवनप्रति लक्षित गरेर लेखिएको शिरीषको फूलको भूमिका खण्डमा २०२२ साल मार्ग ४ गते लेखेका छन्ः ‘सापेक्षताको माध्यम अपनाएर हामी त्यो खाडल फड्किन सक्तैनौं, सापेक्षताको आड लिइरहुन्जेल हामीहरू घेरामा हुन्छौं ।’ जिन्दगीलाई एक खाडल सम्झने लामिछानेका प्रायः निबन्धमा विसङ्गत चेतना, प्रयोगशीलता, आत्मपरकता, बौद्धिकता, जीवनप्रतिको तिखो व्यङ्ग्य र वैज्ञानिक चिन्तन प्रचुर पाउन सकिन्छ र उनको भूमिका हे¥यौं भने त्यो आभाष मिल्छ । उनले भूमिका लेखेको शिरिषको फूल उपन्यासले २०२२ सालमा मदन पुरस्कार हात पा¥यो भने ‘प्रत्येक ठाउँः प्रत्येक मान्छेले’ साझा पुरस्कार पायो । विश्वविद्यालयको पाठ्यक्रममा राखिएको शिरिषको फूल उपन्यासमा लेखिएको उनको भूमिकाको सदा चर्चा परिचर्चा भइरहन्छ । जिन्दगीमा जम्मा तीन भूमिका लेख्ने व्यक्ति लामिछानेको एक अप्रकाशित भूमिका उनको डायरीमा थियो जसलाई एब्स्ट्रयाक्ट चिन्तनको दोस्रो संस्करणमा छापिएको छ ।

प्रेरणाका स्रोत र स्वाभिमानका प्रतीक
लामिछाने उमेरले १५ वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोत पत्रिकामा छपाएर अगाडि बढेका थिए । आफैले खनेको बाटोमा हिँड्दै गर्दा काव्य प्रतिष्ठानका सदस्य सचिव भएर काम गर्ने र त्यहाबाट प्रकाशन हुने ‘इन्द्रेनी’को सम्पादक बन्ने अवसर पाए । लेखक, सम्पादक, कथाकार, गीतकार जस्ता विविध विधामा क्रियाशील लामिछानेलाई नेपाली निबन्धमा चेतनप्रवाह शैलीलाई भित्र्याउने स्रष्टाका रूपमा लिइन्छ । लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ । उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरेर घनत्व भएका कृति निर्माण गरेकाले उनलाई निबन्धशिरोमणिका रूपमा चिनिन्छ । ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (२०२४), ‘गोधुली संसार’ (२०२७), ‘विम्ब प्रतिबिम्ब’ (२०२८), ‘शङ्कर लामिछाने निबन्धसङ्ग्रह’ (२०३२) उनको जीवनकालमै प्रकाशित थिए । पारिजातको शिरीषको फूलले मदन पुरस्कार प्राप्त गरेको दुई वर्षपछि २०२४ सालमै प्रकाशित लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले मदन पुरस्कार पायो । झन् नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्करलाई राम्ररी चिने ।

खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्करको नाउँ आउँछ । वास्तवमा कलात्मक लेखनका उनी एउटा मूर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए । उनले निबन्धलाई नयाँ शैली, आयाम र परिवेश दिए। त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए । लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे । उनको लेखन सीप अलौकिक मानिन्थ्यो । उनी लेख्दा मनबाट, मस्तिष्कबाट र वचनबाट लेख्थे ।

खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्करको नाउँ आउँछ । वास्तवमा कलात्मक लेखनका उनी एउटा मूर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए । उनले निबन्धलाई नयाँ शैली, आयाम र परिवेश दिए। त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए । लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे । उनको लेखन सीप अलौकिक मानिन्थ्यो । उनी लेख्दा मनबाट, मस्तिष्कबाट र वचनबाट लेख्थे । त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो र छिटोछिटो लोकप्रिय हुँदै गए । त्यो मात्र होइन, उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो । महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भएर इन्द्रेणीको पनि सम्पादक भए । हाम्रो साहित्य नामक बाल पाठ्यसामग्रीको आठ भागको सम्पादन गरेका थिए ।
उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित सर्जक मात्र थिएनन्, हाकाहाकी मैले कृति नक्कल गरेको हो भनेर सार्वजनिक रूपमा उद्घोष गर्न सक्ने लामिछाने नेपाली भाषासाहित्यका महारथी हुन् भन्न सकिन्छ । यस्तै, कवि भूपी शेरचन, भीमदर्शन रोक्का र तारानाथ शर्मालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक ठानेनन् । आफू पनि साधनामा लाग्ने र अरुलाई पनि प्रेरणा जगाउने उनको ताहाचलको डेरामा हरेक हप्ता घनिष्ठ मित्र भूपी शेरचन र तारानाथ शर्माको जमघटमै नयाँ रचना सुनाउने दिनचर्याको उपज भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ तयार बनेको विभिन्न अध्ययनमा फेला पार्न सकिन्छ । यस्तै, आफू ठट्टामा लेखक बनेको जिकीर गरेर जीवन बिताए । आफूलाई छिटो जन्मेकोमा गुनासो गरिरहने उनले बारम्बार दोहो¥याउने वाक्य थियो, ‘म हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।’
लामिछाने स्वाभिमानका प्रतीक थिए । यसैले उनलाई असल लागेका सन्दर्भको प्रभावपरक शैली अपनाउँदा लेखन शैलीमा रहेको प्रभावपरक प्रस्तुतीलाई लिएर चोर भनियो । ‘माइकल कर्वी’ को लेखमा आधारित ‘आभा गार्देको सौन्दर्यशास्त्र’ लेख उपर ‘कुमुदिनी’ का नाममा उनलाई अर्काको लेखबाट प्रभावित भएर लेखेको भनेर तगारो तेस्र्याइयो । जसले गर्दा २०२९ भाद्रमै लामिछानेको लेखनलाई धमिलो बनायो । उनले पाठकप्रतिको यो सम्मानलाई स्वीकार गरेर पत्रमार्फत् लेखेः– ‘शङ्कर लामिछाने स्वयम्लाई लेखक ठान्दैन । यस पाँच वर्षभित्र (२०२४–२०२९) उसले चारपाँच ओटा विश्वका महान् इतिहास र लेखनशैलीसमेत चोरेको छ । यो उसले गर्नुपरेको कारण हो, उसको जागिर थिएन र उसलाई बाँच्नु थियो । तपाईंले एउटा मात्र पाउनुभयो, बाँच्नका निमित्त मैले त त्यस्ता पाँच छ ओटा बदमासी गरेको छु ।
तपाईंले पिकासोको जीवन हेर्नुभयो भने पनि त्यस्तो अवस्था आउँदो रहेछ, थाहा पाउनुहुनेछ । बाँच्नु जस्तो ठूलो कुरा जीवनमा अरू रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिँदै आएको छु र अब म लेख्ने पनि छैन होला । मैलेपछि लेखिहाँले भने पनि त्यस बेला तपाईंलाई सिकाएत गर्ने कुनै मौका पनि दिने छैन होला, त्यसै सुअवसरको प्रतीक्षा ‘रूपरेखा’को यही पानामा नै गर्नुहोला, कुमुदिनी बहिनी ⁄ नेपाली साहित्यलाई तपाईंजस्तो पाठकको जागरूकताको आवश्यकता छ, यो भएन भने मजस्तो मान्छेले बी–बीचमा बदमासी गर्ने सम्भावना हुन्छ । तपाईंजस्तो बहिनीको तिलक लगाएर मात्रै हामी सङ्ग्राहममा उभिन सक्छौं धन्यवाद ।’ अपसोच कुमुदिनी को हुन् ? भनेर लामिछानेले चिन्न नपाउँदै उनको साहित्य लेखनको र भौतिक शरीरको अवसान भयो । लामो समयपछि कुमुदिनी नामधारी पुरुष लेखक भएको पत्ता लाग्यो । हाल उनको पनि निधन भइसकेकाले यहाँ कोट्याइरहन आवश्यक देखिँदैन ।

अन्त्यमा
पछिल्लो समय यस्ता चोरीका घटना बग्रेल्ती देखिन्छन् । तर साहित्यिक चोरीको आरोप लाग्दा सहर्ष स्वीकार्ने र आफ्नो स्वाभिमानले त्यो गर्न हुँदैनथ्यो भनेर कहिल्यै लेखनमा नफर्कने लामिछाने नेपाली साहित्यका पहिलो इमान्दार व्यक्ति हुन् । यस्ता महान् व्यक्तित्वको मेनेन्जाइटिजका कारण २०३२ माघ १० गतेका दिन निधन हुन पुग्यो । आज उनको भौतिक शरीर हाम्रा माझ नभए पनि उनले छोडेर गएका अमूल्य उपहार सदावहार छन् । उनको निधनपछि ‘गौथलीको गुँड कथासङ्ग्रह’, ‘शङ्कर लामिछाने आत्मकथा’ र ‘शङ्कर लामिछानेका निबन्ध’ प्रकाशित छन् । उनका नाममा प्रतिष्ठान स्थापना भएर विविध कार्य भएका छन् । पछिल्लो समय उनका समग्र कृति एकीकृत गरेर प्रकाशन गरिएको छ यो निकै गौरवको कुरा हो । आज ९३ आंै जन्मजयन्तीका अवसरमा निबन्धका शिरोमणि, हाइकुपिता लामिछानेप्रति श्रद्धासुमन !
(लेखक ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव हुन् । सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग