आजभोलि धेरै पर्यटन व्यवसायीहरुको चिन्तानै अब लकडाउन अन्त्य पछि के हुन्छ पर्यटन भन्ने मात्र छ । कति लामो समयसम्म यो महामारी जाने हो भन्ने आशंका छ । महामारीले निम्त्याउने समस्या कहिले सम्म हुने हो ? जस्ता आशंकाले सबैलाई असर पारेको छ । विश्वव्यापी रुपमा भाइरस संक्रमण फैलिँदा त्यसको प्रत्यक्ष मारमा पर्यटन व्यवसायी परेका छन् । नेपालमा पर्यटन क्षेत्रमा दुई दशक अगाडि देखिनै विभिन्न समस्या देखिदै आएका छन् । सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दीले पनि पर्यटन व्यवसायीहरुलाई असर पार्यो ।
महामारीले समग्र विश्वलाई नै लकडाउनको अवस्थामा ल्याएको छ । लकडाउनले गर्दा पर्यटन क्षेत्र सुनसान छ । वाह्य पर्यटकहरु नेपाल आउन पाएका छैनन् । मानवीय स्वास्थ्यलाई बचाउनका लागि विश्व एकजुट भएर लागेको छ । कोरोना भाइरसको महामारीबाट विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आफ्नो देशमा आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी देशले लकडाउन लगाएका छन् । पर्यटकको आवतजावत नहुँदा यसको असर नेपाल मात्रै होइन विश्वको पर्यटन क्षेत्रमा परेको छ । पर्यटन विभागका अनुसार २६ सय ट्रेकिङ एजेन्सी बन्द छन् । झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड लकडाउनले गर्दा घरभित्रै बस्न बाध्य छन् । पर्यटक पुग्ने विभिन्न जिल्लाका ३ सय २४ वटा होमस्टे बन्द छन् । पर्यटक रमाउने ७३ वटा र्याफ्टिङ एजेन्सीले राफ्ट अर्थात डुंगालाई थन्क्याएका छन् । वाह्य मुलुकबाट पर्यटक ल्याउने ७ वटा जेट र आन्तरिक उडानका ५१ वटा जहाज ह्यांगरमा थन्किएका छन् । पर्यटकको उद्धार र चार्टर उडानमा जाने १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयानले पनि काम पाएका छैनन् ।
पर्यटनको व्यवसाय अब पुरानो शैलीले चल्दैन । लकडाउन पछि पर्यटन ब्यवसायमा पनि धेरै कुरा परिवर्तन हुन्छ । विगतमा जस्तो ठूलो समूहमा पर्यटक भ्रमणमा आउने सम्भावना न्युन हुन्छ । अबको पर्यटन सानो समूहलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । पर्यटन व्यवसायीले अब विज्ञापनमा भन्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने सन्देश दिन आवश्यक छ ।
पर्यटन व्यवसायीहरु अहिलेको लकडाउन बाटनै निरास हुन पर्दैन । पर्यटन कुनै घटनाले र महामारीले रोकिदैन । व्यवसायमा केहि असहज हुन्छ, केहि समय बन्दनै होला । तर मानिसहरु घुमफिर गर्ने क्रम भने रोकिदैन । किनकी विकसित मुलुकहरुमा घुमफिरको सस्कृतिनै बसि सकेको छ । अहिले भएको लकडाउनको अन्त्य पछि क्रमश पर्यटकहरु भ्रमणको लागि निस्कन्छन् । नेपालमा आउने धेरै वाह्य पर्यटक भनेको भारत, चीन, श्रीलंका, थाइल्याण्ड, म्यानमार दक्षिण कोरिया, जापान, बंगलादेश र मलेशियाका नागरिक हुन् । पर्यटनको रुपमा नेपाल भित्रिने ती देशका नागरिकहरु मध्य धेरै तीर्थाटनका पर्यटकहरु हुन्छन् । नेपालमा बौद्ध धर्मावलम्बी पर्यटकहरु लुम्वीनी पुग्ने गर्दछन् भने हिन्दुहरु पशुपतिनाथ र मुक्तिनाथ लगायत अन्य धार्मिक स्थल हो । लकडाउनको अन्त्य पछि तीर्थाटनका पर्यटकहरु नेपाल आउने क्रम हिजो भन्दा कम होला तर रोकिन्न ।
कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रनै अहिले कमजोर भएको छ । आर्थिक कमजोर भएपछि युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड आदि मुलुकमा भ्रमण गर्ने सम्भावना कम रहन्छ । किनकी ती मुलुकका नागरिकहरु बिदा मनाउन वा भ्याकेसनमा भ्रमण गर्दा बढी खर्च गर्ने मुलुकमा पर्दछन् । यसको फाइदा नेपालले लिन सक्दछ । किनभने खर्चको हिसावले पर्यटकहरुलाई नेपालमा भ्रमण गर्न सस्तो मात्र होइन उनिहरुका लागि अन्य देशमा अवलोकन गर्न नपाउने विश्वकै अग्ला हिमालहरु छन् । राष्ट्रिय निकुञ्ज मात्र नभएर पर्यटकहरुलाई आकर्षित गर्ने र्याफ्टिङ लगायत जैविक विविधता भएका ताल तलैयाहरु छन् । तर पनि पहिलाको जस्तो पर्यटक आगमन हुनलाई समय लाग्न सक्दछ । कोरोना महामारीले गर्दा वाह्य पर्यटकहरु नेपालमा आउँदै आउँदैनन् भन्ने कुरा चाहि होइन ।
लकडाउनको अन्त्य पछि पर्यटन भित्राउन भने पर्यटनको क्षेत्रमा केहि काम भने तत्काल गर्न आवश्यक छ । अब नेपालमा वाह्य पर्यटकहरु आउदैनन् भन्ने निरासा हुनु भन्दा पनि पर्यटनसंग जोडिएका अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पर्यटन व्यवसायी र विशेषगरी पर्यटन बोर्ड निरन्तर सम्पर्कमा रहनु पर्दछ । पर्यटनको व्यवसाय अब पुरानो शैलीले चल्दैन । लकडाउन पछि पर्यटन ब्यवसायमा पनि धेरै कुरा परिवर्तन हुन्छ । विगतमा जस्तो ठूलो समूहमा पर्यटक भ्रमणमा आउने सम्भावना न्युन हुन्छ । अबको पर्यटन सानो समूहलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । पर्यटन व्यवसायीले अब विज्ञापनमा भन्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने सन्देश दिन आवश्यक छ । नेपालमा भ्रमणको लागि आउने पर्यटक लकडाउनको अन्त्य पछि लामो अवधि बसाइका लागि नआउन पनि सक्छन् । त्यसका लागि अब पर्यटकहरुलाई पदयात्रामा केन्द्रित हुने प्याकेज बनाउन पर्दछ ।
विकसित देशहरुले वाह्य पर्यटनलाई जति महत्व दिन्छन त्यति नै महत्व आन्तरिक पर्यटनलाई पनि दिने गर्दछन् । नेपालमा आन्तरिक पर्यटकहरुलाई त्यति महत्व दिने गरिदैन । कैला कपाल, कुहिरा आखाँ र अग्रेजी बोल्नेहरु मात्र पर्यटक हुन भन्ने सोच धेरैमा छ । जुन सोचका कारण पर्यटन विकासमा पछाडि परेको अवस्था छ । विकसित देशहरुमा आन्तरिक पर्यटनको पनि पर्याप्त विकास भएको पाइन्छ । आन्तरिक पर्यटन केवल मनोरञ्जनका लागि मात्र नभएर व्यापार, नोकरी स्वास्थ्य उपचार, शिक्षा, तीर्थाटन, खेलकुद आदिको लागि पनि हुने गर्दछ । प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, प्राचीन संस्कृति,जैविक विविधता लगायत आन्तरिक पर्यटकको लागि गन्तव्य हुन सक्छन् । यो बाहेक पर्यटकहरुलाई आकर्षण गर्न फनपार्क र अन्य स्थलहरु निर्माण गर्न सकिन्छ ।
संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । यी स्थान भनेको नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्ला भित्रका पर्यटकियस्थल पर्दछन् । यो बाहेक हरेक जिल्ला र स्थानीय तहले आफ्नो ठाउमा पर्यटनको विकास गर्न अरु पर्यटकीयस्थलहरु को पनि पहिचान गरेका छन् । स्थानीय तहले पहिचान गरेका प्रकृतिक, पुरातात्विक, ऐतिहासीक संस्कृतिक र धार्मिकस्थलहरु आन्तरिक पर्यटनको लागि महत्वपूर्ण गन्तब्य हुन् । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने ती नयाँ पहिचान दिएका गन्तब्यमा पर्यटकहरु पुग्न सक्दछन् ।
पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, आन्तरिक पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएको छैन भन्दा पनि हुन्छ । अब लकडाउन अन्त्य भएपछि आन्तरिक पर्यटनको विकासको लागि धेरै कुरामा परिवर्तन हुन पर्ने हुन्छ । गाउँमा पुग्ने आन्तरिक पर्यटकहरुले अबका दिनमा सेवा सुविधा नयाँपन खोज्दछ । त्यो सेवा दिन होटल व्यवसायी अथवा होमस्टे सन्चालकहरुले आफुलाई परिवर्तन गर्न सक्नु पर्दछ । सामान्यतया व्यवसायीहरुले पर्यटकहरुलाई अब मास्क, पन्जा, स्यानिटाइजर उपलब्ध गराउनु पर्दछ । होटेल वा होमस्टे सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए पछि नेपालमा वाह्य पर्यटकहरु भित्रिने क्रम सुरु भएको हो । वाह्य पर्यटकहरु नेपालमा भ्रमण गर्ने स्थलहरु पदमार्ग, हिमाल आरोहण, निकुञ्जको अवलोकन, र्याफ्टिङ जस्ता क्षेत्र हुन् । तर आन्तरिक पर्यटकहरु भ्रमण गर्ने गन्तब्य नेपालमा अनगिन्ती स्थलहरु रहेका छन् । पर्यटनको क्षेत्रमा आन्तरिक पर्यटनको सुरुवात सन् १९५० को दशकपछि भएको हो । नेपालमा भने आन्तरिक पर्यटनको अवधारणाको विकास भएको धेरै भएको छैन । नेपालमा वाह्य पर्यटनले मात्र महत्व पाएको हुनाले आन्तरिक पर्यटनको विकास हुन सकेन । वाह्य पर्यटन काठमाडौ, पोखरा, मनाङ, मुस्ताङ र सोलुखुम्वु जस्ता स्थानमा केन्द्रित हुन पुग्यो । जुन कारणले धेरै जिल्लामा रहेका पर्यटकीयस्थलहरु ओझेलमा रहे ।
अब लकडाउनको अन्त्यपछि आन्तरिक पर्यटक घुमफिरको लागि निस्कने छन् । अहिले नेपालीहरु बिदाको समयमा घुमफिरको सँस्कृति बसेको छ । अब घुमफिरमा निस्कने आन्तरिक पर्यटकहरलाई पर्यटन व्यवसायीहरुले मैत्रीपूर्ण ब्यवहार गर्नु पर्दछ । वाह्य पर्यटकहरुलाई मात्र पर्यटक मान्ने गरेको मान्यतालाई परिवर्तन गरि सबै आन्तरिक पर्यटकहरुलाई सम्मान जनक पर्यटकको ब्यवहार गर्नु पर्दछ । नेपालीमा बढदै गएको घुमफिर संस्कृति र खर्च गर्न सक्ने क्षमताका कारण आन्तरिक पर्यटकलाई घुमफिर गर्दा खर्च गर्ने माध्यम हुनु पर्दछ । आन्तरिक पर्यटकहरु गाउँमा घुमफिर गर्दैमा दिगो आर्थिक विकास भने हुने होइन । दिगो आर्थिक विकास र आन्तरिक पर्यटनको विकास गर्न बस्तुको उत्पादन बढाउनु पर्दछ । अहिले नेपालमा आन्तरिक पर्यटनबाट केवल अवलोकन मात्र भएको छ । आन्तरिक पर्यटक हुनको लागि उनिहरुको घुमफिरमा खर्च गर्ने बानीको विकास हुनु पर्दछ । आन्तरिक पर्यटकहरु खर्चगर्न तयार छन् तर खर्च गर्ने बस्तु र ठाउँ भेटाएका छैनन् ।
अबको पर्यटन आन्तरिकको क्षेत्रमा नेपालीको पहुँच विस्तार गर्नु पर्दछ । नेपालमा आन्तरिक पर्यटकहरुलाई घुमफिर गर्न जाने स्थलहरु धेरै छन् । पर्यटनको रुचि भनेकै नयाँ ठाउमा घुमफिर गर्नु हो । नेपालमा मात्र समुन्द्र छैन, अरु कुरा नेपालमा सबै छ । हिमाल, पहाड र तराई मिलेको भूमी, हिमाल देखि तराई सम्म रहेका ताल तलैया, विभिन्न तीर्थाटनका धार्मिकस्थल, विभिन्न जनजातीका भाषा र सस्कृति मात्र होइन जैविक बिविधतामा रमाउनेहरुका लागि पनि आन्तरिक पर्यटनको माध्यमबाट धेरै ठाउमा घुमफिर गर्न सकिन्छ । लकडाउनको अन्त्यपछि अब आन्तरिक पर्यटकहरुलाई ट्राभल तथा टुर एजेन्सीहरुले घुमफिरको लागि सहजीकरण गर्न पर्दछ । आन्तरिक पर्यटनले स्थानीय स्तरमा रोजगारीका अनेक अबसरहरु सृजना गर्दछ । धनीहरुको पैसा गरिबहरुसम्म पुर्याउन, रोजगारी श्रृजना गर्न एवं राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन आन्तरिक पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ ।
आन्तरिक पर्यटनको विकास गर्न होमस्टेको महत्व हुन्छ । पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवालाई होमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थालेको हो । नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला स्याङजा हो । स्याङजाको सिरुवारी होमस्टेको उद्गम थलोको रुपमा परिचित छ । यसको प्रभावले लमजुङ जिल्लाको घलेगाउँ हुदै होमस्टे अहिले देशव्यापी रुपमा फिँजिएको छ । अहिले बन्द भएका होमस्टे लकडाउन अन्त्य भएपछि पर्यटकहरुको सेवा, सुविधा देखि स्वास्थमा समेत ख्याल राख्दै सन्चालनमा आउनु पर्दछ ।
अर्थशास्त्रमा भनाइ मान्ने हो भने मानिसले जति बढी आर्जन गर्छन ! खर्च गर्ने प्रवृति बढेर जान्छ । यो स्वभाविक पनि हो, पैसा भएपछि मानिसलाई कहा खर्च गरौ भन्ने हुन्छ । पैसाको प्रयोग मानिसले मनोरञ्जन, लुगाफाटो, र अन्य आवस्यक किनमेल, घुमफिर अर्थात पर्यटनमा खर्च गर्छन् । नेपालको सन्दर्भमा यो भनाइ पूर्णतया लागू भएको छैन भन्दा हुन्छ । नेपाल वा दक्षिण एशिया क्षेत्रमा पैसा भनेको जसरी पनि जोगाउनु पर्ने र खर्च गर्न हुदैन भन्ने मान्यता रहेको छ । जुन कारणले यस क्षेत्रमा व्यापारको राम्रो विकास हुन सकेको छैन । तर विकसित देशहरुमा पैसाको जन्म नै खर्च गर्नका लागि भएको भन्ने धारणा छ । जुन कारणले गर्दा ती देशमा व्यापारको पर्याप्त विकास हुन सकेको छ । तर अव नेपालमा पनि हुनेले पैसा खर्च गर्नु पर्छ भन्ने धारणाको विकास हुन थालेको छ । यो धारणाको विकालाई पर्यटन क्षेत्रमा राम्रो मान्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१