जेठ ४ मा पोखरादेखि मुक्तिनाथ र जन्मस्थल मार्फा गाउँको भ्रमणका लागि पोखराबाट हाम्रो यात्रा तय भयो । मार्फा गाउँस्थित जनबाल माध्यमिक विद्यालयको तर्फबाट ५ जेठमा आयोजित अभिभावक भेलामा नानीशुक स्मृति प्रतिष्ठानलाई निम्तो थियो ।
मुमा नानीमाया र बुबा शुकबहादुर हिराचनको स्मृतिमा २०६२ मा स्थापित नानी शुक स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तारानाथ गौतम पाखे, संरक्षकहरू र आजीवन सदस्य गरी ७ जना यात्रामा सहभागी थियौं । चालक सञ्जीवले गाडी हुइँक्याए ।
सुइँखेत, नौडाँडा, लुम्ले, कुस्मा बजार हुँदै कालीगण्डकी तिरैतिर हरियाली वन, पहरा छहरा, खोला प्राकृतिक, सुन्दर दृश्यले मनलाई खुसीयाली बनाइरहेको थियो । बाटोमा मुक्तिक्षेत्रमा दर्शन गर्नेहरूको गाडीहरूको लाम देखिन्थ्यो । बाटोमा पर्ने तातोपानीको कुण्डमा नुहाउने मानिसहरूको भिड थियो । भीरपहरा, कालीगण्डकीको सुस्केरा छिचोल्दै, अविरल झरिरहेको रुप्से झरनाले कस्को मन खुसीले नभरिएला ?
केही बेरसम्म हामी छहराको कल्ककलाउँदो निर्मल पानी कालीगण्डकीमा समाहित भएको दृश्य हेरिरह्यौं । हाम्रो यात्रा निरन्तर बढ्दै काप्रेभीर, पारितिर देखिने कोप्चेपानीको प्राचीन थलो हेर्दै घाँसा, लेते पुग्यौं । धवलागिरि हिमालको मनमोहक हरियाली धूपी र सल्लाका रुखहरूको सुन्दर प्राकृतिक दृश्यले निश्चय पनि मन फुर्किरहनु स्वाभाविक हो । तयारी अवस्थामा पुगेको चाक्ला मोटरबाटोले विकसित देश स्वीट्जरल्यान्ड अन्य देशहरूको तुलना गर्न मन पुगिहाल्छौं । धवलागिरि हिमालबाट बगिआउने बोक्सीखोला, टुक्चेखोला, कवि भूपी शेरचनको जन्मस्थल टुक्चेगाउँ हुँदै मार्फा गाउँमा दिउँसोको २:४५ बजे पुग्यौं । मार्फा गाउँ वास्तवमा स्याउबारी अनि फलफूलकै राजधानी हो । प्राय: सबै जमिन स्याउका रुखहरूले ढाकेको थियो ।
मार्फामा हिराचन होममा पहिलो दिनको बसाइँ थियो । पूर्वतर्फ देखिने विशाल पहाड छत्र पाङ् नीलगिरि हिमाल, छैरोगाउँ नजिकै अविरल बगेको सुन्दर छहराले पनि मेरो बाल्यकालको स्मृतिलाई जीवन्त दिइराखेको थियो । पश्चिमको कोपांङ्झोङको डाँडाको मनोरम अवस्थितले र मार्फा गाउँको उत्तरभागमा सेतो र रातो माटोले पोतिएको विशाल पत्थरको पहाड जसलाई ऋसोम गुम्बाको नामले चिनिन्छ । जसका तीनकुने र विभिन्न बौद्ध झण्डाहरूले सजिएको छ । यो मार्फाका थकालीहरूले इष्टदेवता र भगवान्को प्रतीकरुपमा मान्दै आएका छन् । मार्फा गाउँलाई परिचय यहाँ परापूर्वकालदेखि बनेका ढुंगामाटोको प्राचीन शैलीका घर र घरको छाना वरपर मिलाएर राखिएको दाउराहरू नै परिचयको प्रतीक हो । यी सबैले हामीलाइ पूर्वका दिनहरू सम्झाइरहेको थियो । बचेको समयमा मार्फाको रहेको १३ औं शताब्दीमा बनेको निङ्मा सम्प्रदायको विशाल गुम्बा हेर्ने सौभाग्य पायौं । गुम्बाभित्रका प्राचीन विशाल मूर्तिहरू र सजिएका अनगिन्ति बौद्ध पुस्तकले बौद्धदर्शनको वास्तविक स्वरुप प्रतीत हुन्थ्यो । यो गुम्बाको आडको ध्यान केन्द्र, यहाँबाट पश्चिम भीरस्थित प्राचीन प्रागुम्बाले (भीर गुम्बा) मार्फा गाउँलाई थप शोभायमान बनाएको छ । मार्फा गाउँको बसाइँमा धेरै साथीभाइ भेटेर रमाइलो महसुस गर्यौं । साँझ होटलमा जनबाल विद्यालयका प्रधानाध्यापक दुर्गा ढकाल र अन्य शिक्षकहरूसँग भेटी भलाकुसरी गर्ने मौका पायौं ।
भीरपहरा, कालीगण्डकीको सुस्केरा छिचोल्दै, अविरल झरिरहेको रुप्से झरनाले कस्को मन खुसीले नभरिएला
भोलिपल्ट जेठको औंसीको विशेष तिथि परेकाले श्राद्धमा जाने कागबेनी र मुक्तिनाथ मन्दिर पुग्ने भगवान्को दर्शनाभिलाषीको भिड लाग्ने भएकाले तारानाथ गौतम दाइ, सत्यदेवी भाउजू, शान्ति हिराचन, चन्दा हिराचन, लक्ष नाति बिहान ५ बजे प्रभातकालमै अगाडि बढ्यौं । तर मेरो श्वासप्रश्वास कारणले मुक्तिनाथ गइएन । प्रभातकालीन धार्मिक तीर्थ यात्रा पूरा गरेर मार्फामा दिउँसो १२ बजेको विद्यालय अभिभावक भेलामा सहभागी हुनु थियो ।
दिउँसो खानापछि मार्फाको सामुदायिक हल पुग्यौं । मैले धेरै पुराना मित्रहरूलाई र विद्यालय परिवार, शिक्षक, विद्यार्थीलाई देखें । सभाहल मार्फा गाउँको लागि शोभायमान थियो । गाउँमा त्यस्तो भवनको अवस्थितिले आयोजित भेला सौहार्दरुपमा सञ्चालन भएको पायौं ।
विद्यालय प्रअ दुर्गा ढकालको संयोजकत्वमा कार्यक्रम विधिवत् आरम्भ भयो । अभिभावक, विद्यार्थीको बाक्लो उपस्थितिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै मार्फा गाउँका एक जना बहुआयामिक प्रतिभाशाली सामाजिक व्यक्तित्व भक्ति हिराचनलाई सम्पूर्ण गाउँको तर्फबाट सम्मान अभिनन्दित गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो । उहाँको जीवनको महत्वपूर्ण कालखण्डहरू सामाजिक सेवामा नै समर्पित गर्नु भएको थियो । उहाँको जीवनकालमा प्रारम्भिक शिक्षा यही जनबालमा अध्ययन गर्नुको साथै अध्यापन पनि गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित महानुभावमा मेरा समकालीन मित्रहरू शुभचिन्तक धेरै जनालाई भेट्ने मौका पाएको थिएँ । २०६२ सालमा स्थापना बुबा शुकबहादुर हिराचन र आमा नानीमाया हिराचनको स्मृतिमा नानीशुक स्मृति प्रतिष्ठानको गतिविधि, हालसम्म शैक्षिक तथा सामाजिक सेवामा केन्द्रबिन्दु रहेर भावनाको प्रतिविम्ब हुने गरी संस्थालाई जीवन्त दिने काम गरिरहेको छ । यो संस्थाले उहाँहरूको जन्मस्थलमा जनबाल विद्यालय स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
यसलाई मध्यनजर राखेर स्कुलमा उहाँहरूकै स्मृतिमा संस्थातर्फ २ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय २०७८ मा गरिएको थियो । यो अक्षयकोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा १ छात्रा र १ छात्रलाई गरिब तथा जेहेनदार नगद पुरस्कार दिने व्यवस्था मिलाइएको थियो । यस वर्ष कक्षा ५ की समीक्षा घोताने र कक्षा ९ का सन्तोष छन्त्याल पुरस्कृत भए । भेलामा नानीशुक प्रतिष्ठानकै संरक्षकहरूतर्फबाट विद्यार्थी र विद्यालयको समग्र शैक्षिक उन्नतिमा योगदान पुर्याउन सफल शिक्षकहरू कृष्णप्रसाद कोइराला र राजुप्रसाद श्रेष्ठलाई जनही १० हजारसहित सम्मान गरिएको थियो ।
खासमा जनबाल स्कुलको स्थापना २०१२ सालमा भएको हो । करिब ७० वर्षको लामो कालकाण्डमा आफ्नो क्षेत्रमा फड्को मारेर प्रगति गर्न नसकिएको अनुभूति हुनु स्वाभाविक पनि हो । मार्फाको छिमेकी गाउँहरूमा १२ कक्षा सञ्चालन र क्याम्पस स्थापना गरेर उच्च शिक्षा हासिल गर्ने अवसर छ । मार्फा नमुना गाउँ र स्याउ उत्पादनमा राजधानीले स्वदेशी तथा विदेशमा परिचित छ । यसरी नै सामुदायिक विद्यालयको रुपमा राम्रो गुणस्तर शिक्षा दिन सकेको अवस्था गाउँको र समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । विद्यालयको लोकप्रियतामा नयाँ आयाम थपिनेछ । हालको विद्यालय र उच्च शिक्षा हासिल गर्न सामुदायिक क्याम्पसको स्थापना गरेर शिक्षा हासिल गर्न सबैखाले परिवारलाई निशुल्क शिक्षा हासिल गर्न सक्ने वातावरण बनेमा मार्फामा उच्च हासिल गर्न सबैखाले शिक्षार्थी टाढाटाढाबाट आउने छन् । राम्रा विश्वविद्यालयसँग पनि अनुबन्धन गरेर उच्च शिक्षा प्राप्त गर्न पाउन सकेमा मार्फा वास्तविकरुपमा नमुना गाउँ हुनेछ भन्ने विचार मन्थन गर्दै पोखरा फर्कियौं ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१