माधव वियोगीको छन्दमाधुरीः सङ्क्षिप्त चर्चा

यज्ञप्रसाद बास्तोला
असार २७, २०७७

वि.सं २०३४ साल आषाढ १५ गतेका दिन शार्दूलविक्रीडित छन्दमा ‘आषाढ’ शीर्षकको कवि माधव वियोगीको छन्द यात्रा शुभारम्भ भएको र २०४१ सालमा ‘पार्वती पाक्षिक’ पत्रिकामा शार्दूलविक्रीडित छन्दकै ‘लेखनाथमा श्रद्धाञ्जली’ कविता सर्वप्रथम प्रकाशित भएको कुरा सार्वजनिक भएकै विषय हो ।

अहिले माधव वियोगीलाई छन्दनायक भनेर चिनिन्छ । उनलाई छन्दनायक किन भनियो ? के छन्दमा काव्य रचना गर्ने साधकहरूको उपस्थिति नभएर हो ? आज पनि छन्दमा रचना गर्ने कवि कवयित्रीहरूको अभाव त देखिँदैन ।
तर वास्तविकता के हो भने वर्तमान नेपाली साहित्यमा काव्य विधा लँगडो देखिन थालेको छ । गद्य र पद्य काव्यका दुई गोडा हुन् । तर अचेल पद्य गतिहीन हुँदै गएको देखिन्छ । पहिले कविता भनेको लयात्मक रचना, छन्दमय सिर्जना हो भन्ने बुझिन्थ्यो । अहिले गद्यलाई पनि कविता भन्ने प्रचलनले गर्दा निबन्ध कुन हो , कथा कुन हो ,नाटक कुन हो छुट्याउनै सकिँदैन । फलस्वरूप प्राचीन कालदेखि अविराम गतिले सर्गबद्ध हुँदै आएको पद्य साहित्य विलुप्त हुने खतरा बढेको छ ।
केही दशक अघिसम्म पनि हाम्रा गाउँघरमा विवाह, व्रतबन्ध, पूजा, चाडबाड आदि पर्वहरुमा सिलोक हालेर रात गुजार्ने गरिन्थयो, बालुन नाचमा सिलोकमा सम्वाद र अभिनय हुने गर्दथ्यो ।.अहिले ती सवै हराउँदै गएका छन् । फलस्वरुप छन्द, लय.र स्वरलहरीको अभावमा मानव मनका कोमल भावहरु, रसमाधुर्यका अनुभूतिहरु, रीति र अलंकारका कलात्मक अभिव्यञ्जनाहरू सबै हराउने संभावना बढ्दै गएको देखेपछि भावुक कविहृदय छट्पटिन्छ र एउटा उपाय सोच्दछ । कवि माधव वियोगीले सोचेको त्यो उपाय हो ‘छन्द बचाऊँ अभियान–२०५३’ ।

नेपाली साहित्य रचना पनि पुष्पित र पल्लवित भएको संस्कृत साहित्यको छन्दकै आधारमा हो । हामीलाई भानुभक्तपूर्वका कविहरु तथा भानुभक्त पश्चातका कविहरुले छन्दमा रचना गरेका काव्यहरुप्रति जुन अनुराग, ओज, प्रसाद र माधुर्यमय भाव प्रदान गरेका छन् ती सबै स्रष्टाहरुप्रति कृतज्ञता प्रकट गर्नै पर्दछ ।

वियोगीले छन्द बचाउने अभियानलाई मूर्त रूप दिन छन्द प्रशिक्षणका कार्यक्रमहरू ठाउँ ठाउँमा सञ्चालन गर्दै हजारौँ सर्जकहरूलाई, काव्यसाधकहरूलाई छन्दमा नचाए । छन्दमा रचित कविताको गेयात्मकताबाट प्रभावित काव्यानुरागीहरूले बल्ल थाहा पाए छन्दको महिमा । छन्दविहीन कवितामा वाचनको विशेषता मात्र देखिन्छ तर छन्दमय कवितामा वाचनको मुखरता र लयात्मक स्वर माधुर्यको श्रुतिमधुर आकर्षणले काव्यलाई जीवन्तता र अमरता प्रदान गर्दछ ।

छन्द माथि नै अर्जुनदृष्टि राख्ने माधव वियोगी छन्द बचाऊँ अभियानमा दगुर्दा छन्दमा कविता कसरी लेख्नुपर्दछ भनेर सिकाउँदै हिँडेका मात्र होइनन् आधा दशक भित्रै आफैले आठओटा महाकाव्यहरूमा वार्णिक र मात्रिक र लोक छन्दहरूको सटिक प्रयोग पनि गरेर देखाए । सर्सर्ती हेर्दा उनका काव्यकृतिहरूमा शार्दूलविक्रीडित,मन्दाक्रान्ता, शिखरिणी, वसन्ततिलका, स्रग्धरा, वंशस्थ, पृथ्वी, छाया, उपजाति, उपेन्द्रबज्रा, इन्द्रबज्रा, मालिनी, शालिनी, द्रुतबिलम्वित, अनुष्टुप, तोटक, हरिगीता, प्लबङ्गम, कर्खा, झ्याउरेलगायतका सत्तरीभन्दा बढी छन्द प्रयोग गरेको पाइन्छ ।

काव्य रचनाका महारथि हुने योग्यता सिद्ध गर्न अहिले पनि दौडिरहेका छन् उनी । नेपाली वाङ्मयमा कतिजना महाकाव्यकार छन् । तिनीहरूको माझ माधव वियोगीको स्थान र मान कहाँ छ र कत्रो छ, त्यो भन्न सक्ने योग्यता हामी साधारण शुभचिन्तक पाठकहरूमा छैन । यो जिम्मेवारी त प्रबुद्ध समालोचकहरुमा निहित छ । यो छुट्टै पाटो हो । यहाँ प्रसंग छन्द बचाउने अभियानको सान्दर्भिकतामाथि हो । यो अभियान माधव वियोगीले नचलाएको भए अरू कसैले पनि चलाउनै पर्ने थियो । किनभने नेपाली साहित्यको शिष्ट परम्परा तथा वैदिक सभ्यताको एउटा अंग विलुप्त हुने संभावना बढेको थियो । यसर्थ माधव वियोगी छन्दमाधुरी प्रबल भएका स्रष्टा हुन् ।

माधव वियोगीको छन्द चेतनाले किन चर्चा पायो भने विगत २–३ शताब्दीको वैदिक वाङ्मयमा निहित विश्वव्यापी आध्यात्मिक दर्शन र जीवन पद्धति माथि पाश्चात्य भौतिकवादी दर्शनको प्रभाव र अतिक्रमणको कारण पूर्वीय मौलिक जीवनका मूल्य मान्यताहरू क्षयोन्मुख हुँदै गएको परिदृश्यबाट चिन्ताग्रस्त रहेको अवस्थामा अत्यल्प मात्रामा भएपनि वर्तमान पुस्तालाई छन्दको आकर्षण दिएर आफ्नै मौलिकतामा फर्केर हेर्ने संकेत दिन सक्नु नै चर्चाको प्रमुख कारण हो ।
माधव वियोगीको यो अभियानको चर्चा त्यत्तिकै भएको होइन । उनले आफ्नी छोरीको नाम छन्दिका र ज्वाईँको नाम छन्दमणि राखेर मात्र होइन छन्दोबध्द साहित्यिक विवाहको व्यानरमा विवाह समेत गराएर आफ्नो मन, वचन र कर्ममा छन्दप्रतिको समर्पण सिद्ध गरेर देखाउनु सामान्य उदाहरण होइन । उनले अन्य धेरैको नाम छन्द जोडेर राखिदिएका छन् । हामीले देखेका कति अभियानहरू झुलुक्क झुल्किए र बिलाए तर वियोगीको छन्द बचाऊँ अभियान उनको समर्पण पाएर हुर्किरहेको छ । सुप्रसिध्द र विश्वव्यापी बनेको छ । छन्दनायक वियोगीले कृतिको कवितात्मक समालोचना समेत गरेर छन्दमा आफ्नो अद्भूत कलाको प्रदर्शन गरेका छन् ।

छन्दको प्रभाव नेपाली वाङ्मयमा मात्र सीमित छ्र्रैन । समस्त भारत सहित दक्षिणपूर्वी देशहरूमा समेत छन्दोबद्ध साहित्यको बहुतायत देखिन्छ । विगत १४ सय वर्ष अघि मध्यपूर्वदेखि दक्षिणपूर्वी एशियामा वैदिक सभ्यता र वैदिक संस्कृत वाङ्मयको प्रभाव थियो । त्यसबेला वैदिक ऋषिहरुको दिव्यज्ञान नै शिक्षाको मूल स्रोत थियो । तर लिपि,लेखनी र कागजको अभावमा द्रष्टाहरुको ज्ञानलाई जस्ताको तस्तै कसरी संरक्षण गर्ने हो भन्ने चिन्ता व्याप्त थियो ।

त्यस बेला आरम्भमा वाचन र श्रवणका रुपमा प्रस्तुत ज्ञान श्रोताको स्मरणमा दीर्घकालसम्म कसरी राख्न सकिन्छ भन्ने खोजी गर्दा के देखियो भने जुन वाक्य लयात्मक स्वरमा उच्चारण गरिएको हुन्छ , त्यही वाक्य श्रोताको स्मरणमा दीर्घकालसम्म रहिरहने यथार्थ देखिएको हुँदा त्यसबेला लयबद्ध स्वरमा व्यक्त गरिएको ज्ञान नै शिक्षाको प्रमुख आधार बन्यो । यही लय वा गेयात्मकता नै छन्दका रुपमा स्थापित हुँदै गएको हो । छन्दको प्रभाव यति बढ्यो समग्र वेदलाई छन्दको संज्ञा दिइयो । छन्द नै वेदको अंग बन्यो,जसलाई भनियो वेदांग । छन्दमा वाचन गरेर सुनाइएको ज्ञानलाई नै श्रुति भनियो । अतः वेदका ऋचा वा मन्त्र पनि छन्दमय भए ।

वेदमा प्रयुक्त प्रारम्भिकक छन्द सात प्रकारका थिए । गायत्री, अनुष्टुभ,त्रिष्टुभ, वृहती, जगती, पंक्ति, उष्णीक आदि । कालान्तरमा छन्दको लोकप्रियतामा निरन्तर वृद्धि हुँदै गएपछि महर्षि पिंगलले नया नया लौकिक छन्दहरुको सृजना गरेका थिए । फलस्वरुप संस्कृत वाङ्मयमा विभिन्न विधाहरु छन्दमा लेख्न थालियो । चिकित्सा, धनुर्विद्या, राजनीति , दण्डनीति, शिक्षा, कल्प, व्याकरण, छन्द, ज्योतिष, निरुक्त आदि सवै छन्दमा लेखियो ।

किनभने द्रष्टाले देखेको, वक्ताले बोलेको, स्रष्टाले सिर्जेको सबै कुरा श्लोकमा, ऋचामा, मन्त्रमा, पद्यमा राखिएको कुनै पनि भाव, तत्व र ज्ञान जस्ताको तस्तै सुरक्षित रहन्छ । एउटा पनि लघु,गुरु,मात्रा कहीँ छुटेको वा छन्दोभंग हुनासाथ त्रुटि फेला परिहाल्ने र तत्काल त्यसको खोजी हुने कारणले पनि छन्दको विश्वसनीयता बढेको हो । यसैकारण लगभग १५ हजार वर्ष पुरानो विश्वको सर्वप्राचीन ग्रन्थ ऋगवेद र यजुर्वेद,अथर्व वेद,सामवेद एवं तिनका संहिता, ब्राह्मण, आरण्यक र उपनिषद्हरू तथा वेदांगसमेत आजसम्म हाम्रा सामु विद्यमान रहेका छन् । यद्यपि वैदिक र संस्कृत भाषाका लाखौँ पाण्डुलिपिहरु कराल काल कवलित भइसकेका छन् । संस्कृत वाङमयलाई प्रायोजितरुपमा नष्ट भ्रष्ट पारिएका घटनाहरू अझै ताजा छन् । फलस्वरुप संस्कृत भाषाबाट भाषित र पोषित कतिपय भाषा र साहित्यहरु आज विपन्न अवस्थामा पुगेका छन् । नेपाली भाषा पनि वैदिक र लौकिक संस्कृतकै सन्तति हो । अतः आफ्नो माउभाषा वैदिक र लौकिक संस्कृत भाषाको उत्थान र विस्तारका लागि पनि स्रष्टाहरुले ध्यान दिनु अनिवार्य देखिन्छ । किनभने नेपाली भाषालाई अव ज्ञान विज्ञान र प्रविधिका पारिभाषिक शब्दावलीको आवश्यकता बढ्दै गएको छ । प्रयोगमा नवीनता र अध्ययनमा गहन सर्जकताका लागि विपुल शब्दराशिको खाँचो पूरा गर्न संस्कृत वाङमय मात्र समर्थ छ । नेपाली भाषा राष्ट्रिय संपर्क भाषा मात्र होइन यो अन्तर्राष्ट्रिय जगतका नेपालीहरूका बीचको पनि सम्पर्कभाषाका रूपमा विकसित भइरहेको छ । अतएव संस्कृत भाषाको अध्ययन अध्यापनमा पनि जोड दिनु आवश्यक छ ।

नेपाली साहित्य रचना पनि पुष्पित र पल्लवित भएको संस्कृत साहित्यको छन्दकै आधारमा हो । हामीलाई भानुभक्तपूर्वका कविहरु तथा भानुभक्त पश्चातका कविहरुले छन्दमा रचना गरेका काव्यहरुप्रति जुन अनुराग, ओज, प्रसाद र माधुर्यमय भाव प्रदान गरेका छन् ती सबै स्रष्टाहरुप्रति कृतज्ञता प्रकट गर्नै पर्दछ । आज पनि कविशिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कविवर मुकुन्दशरण उपाध्याय सहितका समकालीन कविरत्नहरुको छन्दमय काव्य सौरभले आधुनिक पुस्तालाई अद्यापि प्रेरणा र प्रभाव प्रदान गरिरहेकोछ । छन्दनायक माधव वियोगीले पनि यी मूर्धन्य स्रष्टाहरूप्रति बारम्बार कृतज्ञता प्रकट गरेका छन् । आफ्ना अग्रजहरूप्रति नम्रता र शिष्टता प्रकट गर्नु एउटा सभ्य स्रष्टाको विशेषता नै हो ।

नेपाली साहित्यका अतिरिक्त मैथिली, भोजपुरी, अवधी, बंगाली, आसामी, गुजराती, मराठी, पञ्जावी, हिन्दी आदि अधिकांश भारतीय भाषा र साहित्यहरूमा पनि छन्दको बाहुल्यता स्थापित छ र जीवन्त छ । अहिले नेपाली भाषा पनि अन्तर्राष्ट्रिय संपर्क भाषाका रूपमा स्थापित हुँदै गएको सन्दर्भमा छन्दमय रचनाले नेपाली भाषाको शौष्ठव, सौविध्य र सौजन्यता प्रदर्शन गर्ने सामथ्र्य र आकर्षण राख्दछ ।

अहिले लोक छन्दमा गाइएका लोकदोहोरी गीतहरूले नेपाल र नेपाल वाहिर रहेका नेपालीहरू माझ व्यापकता र लोकप्रियता आर्जन गरिरहेका छन् । अतः नेपाल तथा नेपाल बाहिर रहेका संपूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू माझ सम्पर्क र सम्बन्धको सूत्र रही आएको नेपाली भाषा र साहित्यलाई छन्दमय, संगीतमय र माधुर्यमय बनाउन माधव वियोगीको ‘छन्द बचाऊँ अभियान २०५३’ ले निरन्तरता र पूर्णता प्राप्त गरोस् । सत्यम् शिवम् सुन्दरम् …..
(सम्पादक, स्वतन्त्र सन्देश, पोखरा)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग