महिलाको प्रजनन् स्वास्थ्य अधिकार र सामाजिक दृष्टिकोण

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७९

राधिका कँडेल । सृष्टिको चक्रलाई हेर्दा नारीशक्ति वास्तवमै अवर्णीत छ । प्रकृतिले नै महिलालाई मातृत्व वा सृष्टिकर्ताको एउटा ठूलो र महत्वपूर्ण जिम्मवारी दिएर सम्मान गरेको छ । सृष्टिको चक्रलाई निरन्तरता दिने एउटा शक्तिशाली अस्त्र महिलासँग छ । नारीको सम्मान भनेको केवल एक व्यक्तिको सम्मान नभइ उसको मातृत्वको सम्मान पनि हो । नारीको महत्व र महिमाबारे मनुस्मृतिमा भनिएको छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ अर्थात् जहाँ वा जुन परिवारमा नारीको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ । नारीको सम्मान नहुने घरमा गरेका कार्य सिद्धि नहुने भनिएको छ ।

यद्यपि समयक्रमसँग आधुनिक समाजमा आइपुग्दा महिला सबैभन्दा बढी अपमानित र शासित हुनु परेको छ । भर्खरमात्रै ‘सभ्य समाजको पहिचानः लैगिंक हिंसाविरुद्धको अभियान’ नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सकियो । विभिन्न कार्यक्रम भए पनि काठमाडौंमा आफ्नो इन्गेजमेन्ट तोडिएपछि सामाजिक लाञ्छनाबाट जोगिन पुष्पा न्यौपानेले देहत्याग गरिन् । सुर्खेतमा आफ्नी श्रीमतीको हत्या गरेर झोलामा टाउको बोकेर हिंडेका निर्मम दृश्य पनि यही बीचमा देखिए । समाज महिलाप्रति निकृष्ट हुँदै गएको छ । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको छैन ।

पछिल्लो समय महिलालाई मनोरञ्जनको साधनरुपमा बुझिनु झन् दुखद हो । पित्तृसत्ता हावी हुँदा महिलाको भूमिका र शक्तिसमेत क्षीण हुँदै गएको छ । मानव सभ्यताको उदयसँगै मातृशक्तिको पनि उदय भएको पाइन्छ । धर्ममा पनि दुर्गाका विभिन्न स्वरुपमा नारीशक्ति लुकेको छ । दानवरूपी शक्तिलाई विनास गर्ने देवीशक्तिका गर्विला किंवदन्ती पढ्दा यसलाई पुष्टि गर्छ । वर्तमान समयमा सृष्टिकी जननीका रूपमा रहेकी नारीप्रतिको दृष्टिकोण झन् झन् नकरात्मक हुनु र यौनिक विषयमा केन्द्रित हुनु साथै गलत तरिकाले व्याख्या गरिनु मानव सभ्यताको लागि घातक हो ।

पितृसत्ताले हजारौं वर्षदेखि नारीको शरीरमाथि आफ्नो अधिकार जमाउन पछि परेन । शरीरमाथिको राजनीतिले जब महिलाले बुझ्दै गए, आफ्नो शरीरमाथि आफ्नो पूर्ण अधिकार खोजी गर्दै विद्रोहको सुरुआतसमेत गरे । ‘मेरो शरीर मेरो अधिकार’ आवाज त्यसै आएका होइनन् । प्रजनन् अधिकारले आफ्नो शरीरमाथि अरुको नियन्त्रण होइन, आफ्नै नियन्त्रण र निर्णयमा जोड दिन्छ । बच्चा जन्माउने या नजन्माउने, कति जन्माउने र कहिले जन्माउने भन्ने सारा विषयको निर्णय स्वयं महिलामा निहित हुन्छ । आफ्नो इच्छानुसारको जीवन बाँच्न पाउने पूर्ण अधिकार महिलालाई छ । प्रजनन् स्वास्थ्यले प्रजनन् प्रणाली र प्रजनन् अंगको स्वास्थ्य साथै यौनसँग सम्बन्धित विषयबारे कुरा गर्ने गर्दछ ।

सामाजिक दृष्टिकोण

समाज जति विकसित हुँदै गयो, त्यति नै महिलाको प्रजनन्् स्वास्थ्यको अधिकारप्रति झनै अनुदार देखिएको छ । प्रजनन् स्वास्थ्य अधिकारको विषय सतहीरुपमा मात्र आएको छ । गम्भीर बहस छलफल हुन सकेको छैन । सामाजिक विषयसँग जोडेर महिला अधिकारको रुपमा ब्याख्या हुन अझै बाँकी छ । आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार हुँदाहुँदै पनि महिला अनिच्छुक गर्भधारण गर्न बाध्य हुने गरेका छन् । यौन तथा प्रजनन्का विषयलाई सामाजिक इज्जत प्रतिष्ठासँग जोडेर हेरिंदा महिला आफूमाथि आउन सक्ने लाञ्छना विभेदबाट मनोवैज्ञानिक त्रासमा छन् । महिलाकेन्द्रित गर्भनिरोधक अस्थायी साधन बढी हुनु र त्यसमा पनि छनोटको अधिकार महिलालाई नहुनुले पनि महिलालाई उपभोग्य बस्तुको रुपमा मात्रै बजारीकरण गर्न खोजेको पाइन्छ । जसका कारण असुरक्षित गर्भपतन गराउने र आफ्नो स्वास्थ्य प्रतिकूलका गर्भनिरोधक औषधी प्रयोगका कारण त्यसको साइड इफेक्टको सिकार हुने गरेका छन् । वैवाहिक सम्बन्ध अगाडि गर्भवती महिलालाई समाजले चरित्रहीन सावित गर्नु तर पुरुषलाई दोषी कम देख्नुले पनि उनीहरुप्रतिको सामाजिक दृष्टिकोणलाई उजागर गर्छ ।

‘मेरो शरीर मेरो अधिकार’ आवाज त्यसै आएका होइनन् ।

सञ्चारमाध्यममा पनि यौन तथा प्रजनन्सँग जोडिएका विषयमा महिलालाई नै केन्द्रविन्दुमा राखेर समाचार शीर्षक बनाइने गर्दा पनि अघोषित सामाजिक बहिस्कारको सिकारमा महिला पर्ने गरेका छन् । नेपालको दुर्गम क्षेत्र र सीमान्तकृत समूहका धेरै महिलाले आफ्नो शरीर, जीवन र भविष्यमाथि छनौटको अभ्यास गर्न पाएका छैनन् । ‘प्रजनन् स्वास्थ्य अधिकारको मर्म नबुझिदिंदा महिला बच्चा जन्माउने मसिनरुपमा मात्र चित्रित हुन थालेको पाइन्छ । प्रजनन् अधिकारको सवाल लाज र शरमको विषय बनाएर व्याख्या गरिनुले मातृत्व शक्तिमाथिकै अपमान हो । कलिलो उमेरमा बच्चा जन्माउने, छोराको आशामा धेरै छोरी जन्माउने, परिवारको दबाबका कारण महिला सन्तानको बारेमा खुलेर निर्णय गर्न नसक्ने अवस्थाले पनि हामी बाँचिरहेको समाजमा धेरै प्रश्न खडा गरेको छ । कानुनीरूपमा प्रजनन् स्वास्थ्यका विषयमा केही राम्रा प्रावधान भए पनि सामाजिक सोच र दृष्टिकोणले महिलाको प्रजनन् अधिकारको सम्मान गर्न सकेको छैन ।

प्रजनन् स्वास्थ्य र कानुन

नेपालको अन्तरिम संविधान २०६३ को धारा २०(२) ले प्रजनन् स्वास्थ्य तथा प्रजनन् हकको अधिकार सुनिश्चित गरेको थियो । नेपालको संविधान (२०७२) कोे धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनेको छ । प्रत्याभूत गरिएका मौलिक अधिकार कार्यान्वयनका लागि २०७५ असोज २ मा एक छाता ऐनको रूपमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन जारी भयो । २०७७ असोज २६ मा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावलीसमेत कार्यान्वयनमा छ ।

यसअघि, मुलुकी ऐन र मुलुकी अपराध संहिता, २०७४ ले गर्भपतनलाई अधिकारको रूपमा मान्यता नदिई केही अवधि र अवस्थालाई अपवादरूपमा कसूर नहुने व्यवस्था गरेको थियो । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनले गर्भवती महिलाको मज्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ ।’ यस ऐनले जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, एचआइभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिला र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा २८ हप्तासम्मको शर्तसहित गर्भपतन गर्न सक्ने व्यवस्था गरेको छ । कानुनीरूपमा गर्भपतनलाई मान्यता दिइएको भए पनि यथेष्ट जानकारी अभावमा सहज पहुँच नहुँदा आजपर्यन्त महिलाको ज्यान जोखिममा पर्दै आएका छन् । सुरक्षित गर्भपतनमा पहुँच पुग्नु भनेको महिलाको प्रजनन् अधिकारको सम्मान हुनु पनि हो । यसतर्फ ध्यान जानु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • इतिहासको पानाबाट योगमाया

    के.वी. मसाल मंसिर १२, २०७९
    नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगसाधनामा संलग्न, निस्वार्थ, तपस्विनी अनुकरणीय महिला योगमाया हुन् । उनले ले सुशासन…
  • चुनाव : प्रक्षेपण र परिणाम

    मीना भण्डारी मंसिर ९, २०७९
    महासंग्रामको होहल्लाले यसपालिको चुनावमा ध्यान आकृष्ट भैरह्यो । ठूलै नेताद्वारा कौरव–पाण्डवको लडाइँ भनिंदा झनै चासो बढेको थियो । झण्डा भरिएका…
  • मर्दी पदयात्राका स्मृत तीन दिन

    दुर्गाप्रसाद आचार्य मंसिर ६, २०७९
    अन्नपूर्ण हिमशृंखलाको बीचमा उभिएर पोखरा नियालिरहेको हुन्छ माछापुच्छ्रे हिमालले । यो देख्दा लाग्यो, तालहरुको वाटिका सहर पोखराको लाइफ गार्ड हो…
  • सडकनाटक ‘नमाझिएको कसौडी’

    सुदीप घिमिरे मंसिर ३, २०७९
    ‘वन डढेको सबैले देख्छन्, मन डढेको किन कसैले देख्दैनन् ?’ सुदर्शनले रुँदै सुनीतालाई सोध्छन् । सुनीता उत्तर थियो, ‘परिस्थिति सजिलो…
  • केका लागि मतदान ?

     नगेन्द्रराज पौडेल मंसिर २, २०७९
    दोस्रो कार्यकालका लागि ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको बिहीबार रातिदेखि मौन अवधि सुरु भइसकेको छ…

hero news full width