महाकाव्यमा पोखरेली महामनाको जीवनचरित

कमल कोइराला
वैशाख १६, २०८०

औंलामा गन्दा गणना हुने शिखर व्यक्तित्व
छन् वन्दनीय स्तुत्य तिम्रा अमर कृतित्व ।
बनायौ सदाचारले आफ्नो व्यक्तित्व यशस्वी
वन्दना गर्छाैं हे महामना ! साधक तपस्वी !!

वरिष्ठ समाजसेवी हेरम्बप्रसाद कोइराला–दम्पतीले सहस्रचन्द्रदर्शन गरेका उपलक्ष्यमा आयोजित एक समारोहमा यस पंक्तिकारले अर्पण गरेको काव्यात्मक अभिनन्दनपत्रको कवितांश हो यो । पोखरेली शिक्षा र समाजसेवाका क्षेत्रमा उनी चिनाइरहनुपर्ने व्यक्ति होइनन् । त्यसो त नेपाल स्काउटमा संलग्न भएर उनले सार्वजनिक गरेको स्वयंसेवी व्यक्तित्व आफैंमा महिमामण्डित छ । वरिष्ठ समाजसेवी हेरम्बप्रसाद कोइरालाको यशस्वी व्यक्तित्वलाई यस पङ्क्तिकारले करिब डेढ दशकदेखि नजिकबाट नियाल्ने अवसर पाएको हो । विगत दुई दशकदेखि साहित्य र पत्रकारितामा निरन्तर संलग्न रहेका कारण लेखनको विषयवस्तु खोजी गर्ने क्रममा उनी मेरा लागि सदैव पछ्याइरहने पात्र बनिरहे । साक्षात्कारको यही सन्दर्भमा पछिल्लो भेटमा उनले हार्दिकतापूर्वक मलाई आफ्नै बारेमा लेखिएको भीमकाय कृति स्नेहोपहारस्वरूप प्रदान गरे । आफैंलार्ई काव्यनायक बनाएर लेखिएको ‘हेरम्ब महाकाव्य’ हात परेपछि कृति अध्ययन गर्ने क्रममा दृष्टिगोचर भएका केही कुराको गन्थनमन्थनसहितको समीक्षा आज म विद्वान् पाठकसामु यहाँ प्रस्तुत गर्ने धृष्टता गर्दै छु ।

लघुदेखि बृहत् आयामसम्मका काव्यरचना गर्ने सर्जकको परिचय बनाएका रामनाथ अधिकारी ‘सँगी’ द्वारा लिखित ‘हेरम्ब महाकाव्य’ ८० पृष्ठ रंगीनसहित कुल ५९२ पृष्ठमा संरचित छ । कुल २३ भागमा विभक्त यस महाकाव्यभित्र जम्मा २६३० श्लोक रहेका छन् । विभिन्न साहित्यिक, सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध रहेका सँगीले छोटो अवधिमा झन्डै एकदर्जन महाकाव्य लेखेर नेपाली साहित्यजगत्लाई विस्मयी बनाएका छन् । महाकाव्यमा प्रायः ‘सर्ग’ शब्द प्रचलित रहे पनि ‘भाग’ शब्दको प्रयोग गरेर सँगीले यस विधामा नवीन प्रयोग गर्ने जमर्काे गरेको भेटिन्छ । २०७४ सालको बडादसैंको पूर्वसन्ध्यामा प्रथम संस्करण प्रकाशित भएको यस महाकाव्यको प्रकाशकचाहिँ काव्यनायककै धर्मपत्नी पार्वती कोइराला हुन् ।

महाकाव्यमा प्रायः साहित्यिक पृष्ठभूमिका व्यक्तिहरूको मन्तव्य, शुभेच्छा, समीक्षा वा भूमिका समावेश गर्ने प्रचलन छ । तर, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री शशांक कोइरालादेखि कोइराला समाजका रुवयनाथ कोइराला, माधवप्रसाद कोइराला, देवदत्त कोइराला आदिको शुभकामना–मन्तव्य पनि समावेश गरिएका छन् । त्यस्तै राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधवराज भट्टराई, विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मान समितिका अध्यक्ष श्रीराम लामिछाने, नेपाल स्काउटका प्रमुख आयुक्त रबिन दाहाल, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, ज्योतिषविद् प्राडा बलराम उपाध्याय रेग्मी, वाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, श्रीपति कोइराला गुठीका अध्यक्ष मोहननाथ कोइराला, राष्ट्रिय धर्मसभा नेपाल कास्कीका अध्यक्ष रवीन्द्र माकाजू, फेवासिटी अस्पतालका अध्यक्ष भोजराज न्यौपानेका शुभकामना–सन्देशहरू पनि प्रस्तुत महाकाव्यको आमुख खण्डमा अटाएका छन् ।

व्यक्ति जीवित छँदै उसको जीवनलीला उल्लेख भएको महाकाव्यबाट सम्मान र अभिनन्दन गरेर अमर इतिहास सुरक्षित राख्नुपर्छ भन्ने भावना आफ्ना मनमा आएको र व्यक्ति र व्यक्तित्वका बारेमा बुझ्दा काव्यनायकका रूपमा हेरम्ब सुयोग्य पात्र ठहरिएकाले प्रस्तुत महाकाव्यको जन्म भएको महाकाव्यकार सँगीको प्राक्कथन छ । मंगलाचरणबाट प्रारम्भ भएको महाकाव्य लेखनयात्रा बिस्तारै काव्यनायक हेरम्बको जन्मस्थान एवं प्रकृतिवर्णनतर्फ उन्मुख हुन्छ । सौन्दर्यको खानीका रूपमा पोखरा नगरीको चर्चा गर्दै महाकाव्यकारले कृतिमा विन्ध्यवासिनी भगवतीको ऐतिहासिक पृष्ठभूमिसमेत केलाउन भ्याएका छन् ।

हेरम्बको वंशलतामा समेटिएका विभिन्न पूर्वजहरूको चर्चा पनि महाकाव्यमा गरिएको छ । जसमा कस्केली कोइरालाका मूलपुर्खा नृसिंह कोइरालाको पाँचौँ पुस्तादेखिको वर्णन पाइन्छ । यसबीचका पारिवारिक बिन्द्रालोमा गाँसिन आएका प्रायः सबै पुर्खाहरूको संक्षिप्त वर्णन गर्न भ्याएका छन् महाकाव्यकारले । कोइराला वंशका आद्यपुरुष मुद्गल ऋषिबाट प्रारम्भ भएको वंशावलीको चर्चा काव्यनायक हेरम्बका नातिपुस्तासम्म तन्किएको छ । यसबीचका सविता भट्ट र उनको नेपाल आगमन, जुम्लाको तिमल्सेन गाउँ, दैलेख र लमजुङको कोइरालीफाँट, सराङकोट हुँदै पोखरा पस्र्याङसम्मको वंशविस्तारका प्रमुख ऐतिहासिक सन्दर्भहरूको काव्यिक चर्चा पनि कृतिमा पाइन्छ ।

पुख्र्याैली बिन्द्रालोको वर्णनपछि महाकाव्यकार हेरम्बको जीवनीतर्फ प्रवेश गर्छन् । यस क्रममा हिन्दू धर्ममा प्रचलित सोह्र संस्कारमध्येका प्रमुख संस्कारहरूको सटीक वर्णनको झलक पनि कृतिमा पाइन्छ ।

मूलतः हेरम्बको गर्भाधानदेखि जन्म, छैंटी, नामकरण, अनन्नप्राशन, व्रतबन्धदेखि विवाहसम्मका रोचक क्षणहरूको वर्णन कृतिमा समेटिएको छ । विवाहको चर्चा गर्ने क्रममा वरियातप्रस्थान र रत्यौलीका रोमाञ्चक सन्दर्भहरूको पनि सूक्ष्म चित्रण गरिएको छ । हेरम्बका ससुराली पक्षका प्रमुख पात्रहरूको सटिक चर्चा गर्नेसम्मको सूक्ष्मदृष्टि पुर्‍याएका छन् महाकाव्यकारले । काव्यनायकका घरका मात्रै नभएर मावलीदेखि ससुरालीसम्मका तीनपुस्ते खुलाएर काव्यमै चर्चा गर्न सानो सामथ्र्य भएको कविको बलबुताभित्रको कुरै होइन ।

महाकाव्यमा हेरम्बका छोराबुहारी र नातिनातिनाहरूको जन्मदेखि विवाहसम्मको पनि चर्चा छ । मूलतः काव्यनायकका चार सुपुत्र रमेशप्रसाद, रामप्रसाद, डा. सुदीपप्रसाद, किशोर कोइराला र उनीहरूका सन्ततिहरूसँग जोडिएका वृत्तान्त पनि कृतिभित्र छ । महाकाव्यको चौथो भागदेखि महाकाव्यकार हेरम्बको व्यावसायिक र सामाजिक जीवनमा प्रवेश गर्छन् ।

हेरम्बप्रसाद कोइरालाको जीवनीको प्रमुख कार्यक्षेत्र शिक्षा र समाज हो । मूलतः पोखराको शैक्षिक इतिहासका जाज्वल्यमान नक्षत्र हुन् हेरम्ब । उनले वि.सं. २०१९ देखि वाराही हाइस्कुलको शिक्षकबाट सेवा प्रारम्भ गरेका हुन् । त्यसयता उनी निरन्तर शिक्षाक्षेत्रमा संलग्न रहे । विद्यालयको सर्वांगीण स्तरोन्नति गर्दै वाराही माविलाई उच्च मावि बनाउन उनले महत्वपूर्ण योगदान पु¥याए । कुशल प्राचार्यका रूपमा विद्यालयलाई दिशानिर्देश गरिरहे । २०५७ सालमा सेवानिवृत्त भएपछि पनि झन्डै डेढ दशकसम्म विद्यालय व्यवस्थापन समितिमै रहेर काम गरे । यसबाहेक पोखराको अर्काे प्रतिष्ठित विद्यालय गण्डकी आवासीय उच्च माविको प्राचार्यका रूपमा पनि उनको उल्लेख्य भूमिका रह्यो ।

वि.सं. २०३२ सालदेखि स्काउटमा लागेका हेरम्ब उक्त संस्थाको नेपाल सचिव हुँदै राष्ट्रिय तालिम आयुक्तसम्म भए । हाल उनी स्काउटका सल्लाहकार सदस्यका रूपमा रहेका छन् । स्काउटको जन्म, सिद्धान्त, उद्देश्य र केही महŒवपूर्ण नियमहरूका बारेमा समेत महाकाव्यभित्र चर्चा समेटिएको छ । उनी सन् १९८० मा मानवअधिकारका क्षेत्रमा क्रियाशील विश्वव्यापी संस्था एम्नेस्टी इन्टरनेसनलको सदस्यका रूपमा पनि सक्रिय रहे । यसबीचमा नेपाल रेडक्रस सोसाइटीमा पनि उनको आबद्धता रह्यो । कुनै वेला उनी शैक्षिक संगठनमा पनि सक्रिय थिए । प्रजातन्त्रवादी शिक्षकहरूको छाता संस्था नेपाल शिक्षक संघको त उनी राष्ट्रिय उपाध्यक्षसम्म भए । स्काउट र एम्नेस्टीमा क्रियाशील रहँदा उनले विश्वका झन्डै चार दर्जन राष्ट्रहरूको भ्रमण गर्ने अवसर पाएका थिए । विभिन्न देशका सभासम्मेलन, गोष्ठी र प्रशिक्षणहरूमा उनको सहभागितासम्बन्धी सटीक चर्चा पनि महाकाव्यमा पाइन्छ ।

शान्त, शालीन, नम्र, वचनप्रिय र मृदुभाषी, स्पष्टवक्ता, कसैलाई चिढ्याउन नजान्ने हेरम्ब उदारमना व्यक्तित्व हुन्

महाकाव्यको पश्चाद्र्धतिर हेरम्बप्रसाद कोइरालाले फरक–फरक समयमा विभिन्न संघसंस्थाहरूबाट प्राप्त गरेका शैक्षिक, सामाजिक र धार्मिक क्षेत्रबाट प्राप्त गरेका सम्मान तथा अभिनन्दनहरूको सचित्र सूची समावेश गरिएको छ जसमा जन्मकुण्डलीदेखि अन्य स्तवनपत्रहरू रहेका छन् । त्यस्तै काव्यनायक कोइरालाका पूर्वज तथा उनका शैक्षिक, सामाजिक एवं पारिवारिक पृष्ठभूमिका तस्बिरहरूको सञ्चिति पनि महाकाव्यको अन्तिमतिरको तस्बिर खण्डमा पाइन्छ । उक्त खण्डमा कोइराला वंशका बीजपुरुष महर्षि मुद्गलदेखि काव्यनायक हेरम्बका नातिनातिनासम्मका एकल, युगल तथा सामूहिक तस्बिरहरू समाविष्ट छन् । विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेर शैक्षिक र सामाजिक योगदान गर्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा खिचिएका महत्वपूर्ण क्षणका तस्बिरहरूको सञ्चिति पनि यस खण्डमा पाइन्छ । कोइराला सेवा समाजको केन्द्रीय कार्यसमितिले आफ्नो वंशको गौरव र गरिमा विस्तारमा योगदान दिने चिरस्मरणीय कुलदीपहरूको रंगीन पोस्टर दुई भागमा प्रकाशित गरेको थियो । तर, यस महाकाव्यमा पहिलो खण्डका कुलदीपहरू छुटाएर दोस्रो खण्डमा परेका कुलदीपहरूका तस्बिरहरू मात्रै समावेश गरिएको छ ।

महाकाव्यभित्र अनुष्टुप्, उपजाति, वसन्ततिलका, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, स्रग्विणी, इन्द्रवंशा, शिखरिणी, तोटकलगायत शास्त्रीय तथा विरही, कर्खा, भजन, सारवती, कालीपारे, रत्यौली, असारे, झ्याउरे, मारुनी, गन्धर्व, भजन, अविपुला, विटान, कीर्तनलगायत विभिन्न लोकप्रचलित छन्दहरूको प्रयोग गरिएको छ । यसरी सिंगो महाकाव्यभरि झन्डै दुई दर्जन छन्दमा महाकाव्यकार मज्जाले खेलेको पाइन्छ । शास्त्रीयभन्दा लोकछन्दमा कृतिकारको बढी झुकाव देखिन्छ । त्यसैले उनी प्रायः महाकाव्यभरि लोकछन्दमै बढी पोखिन चाहेका छन् । महाकाव्यकार सँगी र प्रकाशकको दाबीअनुसार प्रस्तुत महाकाव्य तीन महिनाको अल्पावधिमा रचना भएको हो । सायद अल्पावधिमा रचना गर्नुपर्ने सीमा भएर हो कि स्वच्छन्द प्रवाहको गति तीव्र भएकाले कृतिका प्रायः श्लोकहरूमा पर्याप्त वर्णविन्यासगत परिष्कार र भाषिक सचेततामा महाकाव्यकारको खासै ध्यान गएको भेटिँदैन ।

कतिपय श्लोकको संरचना देख्दा महाकाव्यकारले ‘अपि माषं मषं कुर्यात् छन्दोभंङ्गं न कारयेत्’ भन्ने छन्दशास्त्रको नियम समात्न खोजेको हो कि भन्ने छनक पाइन्छ । प्रस्तुत महाकाव्यमा वार्णिक छन्दका नियमहरूको कडिकडाउपूर्वक प्रयोग गरिएको नदेख्दा पाठकले महाकाव्यकार अलि बढी नै स्वच्छन्दतावादी भएछन् कि भनेर शंका गर्ने पर्याप्त सुविधा पाउँछन् । यसबाहेक टंकणत्रुटि, प्रतिलिपि सम्पादन त्रुटिजस्ता सामान्य प्राविधिक तथा वर्णविन्यासगत त्रुटिहरू पनि कृतिभित्र प्रशस्त भेटिन्छन् । ‘श–स’ तथा ‘ण्–न्’ को प्रयोगमा पनि अलि बढी परम्परित भएको देखिन्छ । ‘ब–व’ को समीचीन प्रयोगमा पनि उति ध्यान दिइएको पाइँदैन । ‘रु र रू’ को स्वेच्छाचारी प्रयोगले काव्यको छन्दभंगमा पार्ने असरप्रति पनि महाकाव्यकारले खासै दृष्टि पुर्‍याएको भेटिँदैन । पञ्चमवर्णको समुचित विन्यासलाई पनि उति ख्याल गरिएको छैन । छन्दमिलानका लागि कतिपय श्लोकहरूमा अनावश्यक हलन्तीकरण गरिएको छ । सामान्यतया कवितामा चार पंक्तिको एक श्लोक हुन्छ । तर, यस कृतिभित्रको पृष्ठ ३३५ को १३० औं श्लोक तीन पंक्तिको हुन पुगेको छ ।

हेरम्ब कोइरालासँग प्रत्यक्ष सम्बन्ध कायम भएकाहरू उनलाई शान्त, शालीन र नम्र स्वभावका सहयोगी व्यक्तित्वका रूपमा चित्रण गर्छन् । वचनप्रिय र मृदुभाषी स्वभावका उनी स्पष्टवक्ता पनि हुन् । वचनले कसैलाई चिढ्याउन नजान्ने उनी उदारमना व्यक्तित्व हुन् । आदर्श व्यक्तिलाई नायकत्व प्रदान गरेर महाकाव्य रचना गर्ने अभ्यास पूर्वीय काव्यपरम्परामा नौलो होइन । ‘हेरम्ब महाकाव्य’ जीवनीपरक महाकाव्य हो । यस्तो महाकाव्यमा काव्यनायकको आद्योपान्त इतिवृत्त केलाइन्छ । काव्यनायकको प्रशस्तिगान गर्दै यस्तै बन्नुपर्छ है भन्ने आदर्शीकृत सन्देश प्रवाह गर्नु यस्तो प्रकृतिको महाकाव्यको प्रमुख उद्देश्य हो । जीवनमा सत्कर्म गरेर सत्चरित्र निर्माण गर्न धेरै मिहिनेत गर्नुपर्छ । यसरी चरित्र निर्माण गरेका मानिसलाई निर्मित चरित्र निष्कलंकित बनाएर दीर्घकालीन रूपमा जीवित राख्ने चुनौती पनि उत्तिकै हुन्छ । हेरम्ब कोइराला आफूले जीवनमा धेरै मिहिनेत गरेर निर्माण गरेको चरित्रलाई प्रतिष्ठित गराइराख्न सफल व्यक्तित्व हुन् । तसर्थ प्रस्तुत महाकाव्यमा हेरम्ब धीरोदात्त नायकका रूपमा चित्रित छन् ।

निष्कर्षमा छोटो अवधिमा महाकाव्यकारले काव्यनायकका सबै कुराहरू देख्न सम्भव हुँदैन । प्रस्तुत महाकाव्यमा कोरिएका श्लोकहरू पढ्दा सँगीले कहिल्यै नदेखेका कुरा पनि चस्मदिदले झैँ जीवन्त रूपमा प्रस्तुत गरेका छन् । तीन महिनामा कथ्यमा व्यक्त गर्न पनि सम्भव नहुने विषयवस्तुलाई सँगीले लेख्य रूपमै उतारेर महाकाव्यको स्वरूप दिएका छन् । हिन्दू संस्कृतिका कतिपय विलोपीकरणोन्मुख पक्षहरूलाई समेत उजागर गरेर उनले नयाँ पुस्तासमक्ष जीवन्त रूपमा चित्रण गरेका छन् । महाकाव्यको आद्योपान्त अध्ययन गर्ने जोकोही पाठकले हेरम्बको जीवनी चलचित्रको पर्दामा धारावाहिक रूपमा अवलोकन गरेझँै अनुभूति गर्छन् । व्यक्तिको जीवनीलाई उत्खनन गरेर जीवनी तयार गर्नुमात्रै पनि आफैंमा दुष्कार्य मानिन्छ । त्यसमाथि कवितामै जीवनचरितको व्याख्या गरेर महाकाव्य तयार पार्नु सर्वथा दुःसाध्य छ । यस्तो दुःसाध्य कर्मको प्रारम्भ गरेर तीन महिनामै कृतिरूपमा अवतरण गराउने सँगीको साहित्यिक सामथ्र्यलाई सलाम गर्नैपर्छ ।

अन्त्यमा, २०७९ मंसिरमा हेरम्ब–दम्पतीको सहस्र चन्द्रदर्शनका उपलक्ष्यमा आयोजित एक विशेष समारोहमा यस पंक्तिकारद्वारा समर्पित काव्यिक अभिनन्दनपत्रको यो काव्यांशसँगै यस समीक्षाको मैझारो गर्दछु ः

हँसायौ लोक पसेर आफू दुःखको झाडीमा
हजारौं मुना पुष्पित भए हेरम्ब बारीमा ।
लोकमा सधैं आदर्श बनोस् जीवन–दर्शन
प्रशन्न देख्न पाइयोस् शुभकामना अर्पण ।।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग