भलामदेखि पञ्चकोटसम्म

दिनेश बस्नेत
पौष १५, २०८०

धेरै पहिलादेखि एउटा लेख लेख्छु भन्ने सोचिरहेको थिए । कहिले कता, कहिले कता ! के नमिले, के नमिले जस्तो अस्तव्यस्त जीवन । बेफुर्सदिलो जीवनशैली । मानसिक एकाग्रता नै भएन ।

जे होस् ढिलै भए पनि लेख्ने सोचबाट तर्केको छैन । पोहोर मरिन सासू, अहिले आए आँसु जस्तै भाव भए पनि लेख्दै छु –

‘भलामदेखि पञ्चकोट सम्म’ मेरो मन मस्तिष्क कब्जा गरेको यो लेख । अलिकति अनुभूति जस्तो, अलिकति यात्रा संस्करण जस्तो । खुब अविश्मरणीय रह्यो उक्त यात्रा । जसको लागि हरिहर ज्येष्ठ नागरिकलाई धन्यवाद दिन चाहन्छु ।

मलाई पञ्चकोट शब्द कहिलेदेखि कर्णप्रिय लाग्न थालेको हो भने म लोक गीत असाध्यै मन पराउने स्वभावको मान्छे । झन् लोक दोहोरी त अति मन पर्ने । दोहोरी गीत सुन्न पाए पछि मन र पेट दुवैको भोक एकैचोटि मेटिन्छ ।
जब इ नेपाल रोधीघरले प्रस्तुत गरेको :

घुम्ती–घुम्ती रोड,
घुम्ती– घुम्ती रोड
मालढुंगा कटेसी,
घुम्ती घुम्ती रोड

आहा ! क्या राम्रो बाङलुङ पञ्चकोट’ बोलको भाका असाध्यै मन पर्‍यो । तीन भागसम्म आएको यो दोहोरी सुनेपछि मलाई पञ्चकोट गइहाल्न पाए हुन्थ्यो लाग्थ्यो । एक पटन मात्र होइन, पटक पटक लागिरह्यो । तर नियतिको बिडम्बना । मन जानेबित्तिकै तन जान कहाँ सक्थ्यो र । कहिले के नमिल्ने कहिले के नमिल्ने । सबै कुरा मिलाउँदा– मिलाउँदा समय निकाल्न नसकिने । मनमा धोको रहिरहने ।

हुन त हरेक यात्रा र व्यवहार समयले निर्णय गर्दछ, जब समयले निर्णय गर्दछ तब सबै अड्चन बाधा भित्ता लाग्छन् । ठिक त्यसरी नै बित्दै, पल्टदै जान्छन् जिन्दगीका पानाहरू । ठिक त्यही मान्यताअनुरुप एक दिन गणेश दाइको फोन आयो । अर्थात्, ज्येष्ठ नागरिकको पञ्चकोट यात्राका लागि प्रस्ताव आयो । खुसीको सिमा रहेन । खुसीको बहावसहित भनेँ, ‘हुन्छ नि त दाइ, जाउँला हजुरहरूले यतिको सद्भाव राखेर सम्झेसी । बरु केही सहयोग गर्नुपर्छ कि ।’ उहाँले भन्नुभयो ‘सहयोग त त्यस दिन सँगै गएपछि जे गर्नुपर्छ, त्यही गरौला नि त ।’

मैले भनेँ, ‘भन्नाले के कति पैसा उठाउनु भएको छ । पुग्दो नपुग्दो के अवस्था छ । अझसम्म यस्तो कार्यक्रम भएको थिएन, कति वटा बस लाने हो । मान्छे त धेरै होलान् ?’

‘त्यो सबै व्यवस्था भइसकेको छ । एक जनाको ५ सय उठाएको छ । नगरपालिकाले नि सहयोग गरेको छ ।’

त्यसपछि फोन सम्पर्क विच्छेद भयो । मलाई पञ्चकोट जाने कुराले उमंगित बनायोे । यति उत्साहित बनायो कि यति हर्षित जीवनमा म कहिलेकाहीं मात्र भएको थिएँ । कमै मात्रामा भएको थिएँ । म कुन मानेमा यति खुसी भएको थिएँ भने एक त पञ्चकोट घुम्न जान पाउने अर्थले, अर्काे कुरा बाङलुङ जिल्ला मेरा विचारमा संस्कृति सम्पन्न जिल्ला लाग्छ । साहित्य, संगीत र कलाकारिताको खानी जत्तिकै लाग्छ । मैले धेरै सुनेका कलाकार वागलुङका पर्छन् । जस्तै, ‘देवी घर्ती, थानेश्वर गौतम, तारानाथ आचार्य, राजु कार्की, बिबि अनुरागी, तारानाथ आचार्य, राजु कार्की, प्रकाश सपुत, सीता परियार आदि । वागलुङको माटो वास्तवमै कलाकारहरूको लागि उर्वर भूमिजस्तो लाग्छ । त्यसैले बाग्लुङको भेगहरू घुम्ने अभिप्सा पहिलेदेखि नै थियो । अहिले पूरा हुने भयो भन्ठानेर म मख्ख थिएँ ।

कति बेला भोलिको दिन ब्याउँछ जस्तो लागि रहेको थियो । अधैर्यता कठिन हुन्छ । तर समयले त्यही ठाउँसम्म अवश्य पुर्‍याउँछ । समयभन्दा अगाडि जति मन तुलबुल र अस्थिर हुन्छ । बेला आए पछि सबै राम्रो लाग्छ, अनि सामान्य पनि । जसै पञ्चकोट जाने दिन आयो चोकमा बुढाबुढी आमाबुबा र दाजु भाउजूहरू सल्याङ बल्याङ गरेका थिए । सबै अनुहारमा खुसीयाली यति चम्केको थियो मानौं, पुरानो घरले नयाँ टिन पाएको छ ।

दुइटा बस रोकिएका थिए । कतै सिट नपाइने हो कि ठानेर हतार देखिन्थे । ‘ओइ कान्छी मलाई तेरो आडमा ठाउँ राख्दे है ।’ माइली हजुरआमाले मसँगसँगै हिँड्नु भएकी आमालाई भन्नुभयो । अरु पनि फूर्तिसाथ बसतर्फ लम्केका देखिन्थे । बसमा उक्लेका देखिन्थे । बुढाबुढी भए पनि कति फूर्तिफार्ती । सायद घरायसी बन्धनमुक्त भएर होला । आपसमा झुण्डझुण्ड भएर खुसी सारेका पनि थिए ।

‘सिट पुग्दैन कि त्यसो भयो भने त हामीहरू पालो गरेर बस्नुपर्छ ।’ महेन्द्रराज पौडेल अंकलले भन्नुभयो ।

अहो ! यस्तो पो रहेछ पञ्चकोट । यति दुर्गम ठाउँमा पनि कति राम्रो बनाएका ? वास्तवमै जिँउदा मान्छे रहेछन्

म भर्खरै बस चढेको थिए । त्यो कुरा मलाई कस्तो कस्तो लाग्थ्यो । ठिक हुँदा हुँदै पनि मैले भिन्न तर्क राख्दै भने, ‘यति लामो बाटो गाह्रो हुन्छ, उभिएर जाँदा । मलाई त बस लाग्ने समस्या पनि छ । बरु त्यस्तै भयो भने एउटा–दुइटा टेक्सी भन्दा हुन्छ । पैसा मिलाएर तिरौंला ।’

त्यति भनेर म मोहनबहादुर बस्नेत सँगसँगैै बसँे । लामो यात्रामा साथी संगिनी मन मिल्दो हुँदा राम्रो लाग्छ । त्यसैले पनि मैले उहाँलाई रोजेँ ।

केही क्षण व्यवस्थापन मिलाउन लाग्यो । त्यसपछि बस गुड्यो । ‘भजन गीत गाउन ड्राइभर भाइ एक जना भाउजूले भन्नुभयो । फोन आएको सुनिँदैन नलाऊ नलाऊ भाइ गीत,’ अर्कीले भनिन् ।

‘फोनमा बोल्दै हिँड्न त आफ्नै रिजर्भ गाडी लिएर हिँड्नु पर्छ …लाऊ लाऊ भाइ भजन लाऊ,’ अर्कीले थपिन् । थरीथरी मान्छे, थरीथरी कुरा ।

बस बगरमा रोकियो । त्यहाँबाट दुई जना थपिए । नजिकको पसलबाट खानेपानी हालिए । त्यसपछि एकैचोटि नयाँपुलमा गएर बस रोकियो । ड्राइभरले अघि १ घन्टामा रोक्ने बताए । सबै चिया पसलमा झरे । कोही पालो लाएर ट्वाइलेट गए ।

म, आमा, माइली हजुरआमा, पुतली भाउजू र मोहनबहादुर बस्नेत एउटा पसलमा चिया खान छिर्‍यौं । २० मिनेटजति त्यहाँ रोकिएपछि बस फेरि चल्यो । एकैचोटि बागलुङ कालिका मन्दिर गएर बस रोक्यो । सबै लाइनमा मिलेर दर्शन गरे । कोही फोटो खिच्न थाले । फेरि बस चल्यो । वागलुङ बजार वरै तेर्र्सिएको बाटो हिँड्यो । अनि बस घुम्ती उकालो चढ्यो । अलि माथि पुगेपछि शमशेर दाइले देखाउँदै भन्नुभयो, ‘यहाँ त्यसरी बाँसको घाँस काट्ने चलन छ ।’

‘हाम्राँ पनि काट्ने चलन चलाए त हुन्थ्यो नि, कति मजाले खान्छन् गाईवस्तुले । घाँसको गर्जाे टथ्र्याे क्यारे नि !’ एकजना दाइ भन्नुभयो । अर्का दाइले खिस्स थोँता दाँत देखाएर भन्नुभयो, ‘ढंग हुनुपर्‍यो नि, ढंग मरू ।’

कति सुन्दर डाँडा । कति सुन्दर दृश्यावली । सायद नयाँ नौलो ठाउँ भएर हो कि यतिविधि सुन्दर लागेको । हाम्रो गाउँ पनि कम्ता सुन्दर छैन भन्छन् पहिलो चोटि आउनेले । अझ भनौँ बखान गरेर थाक्दैनन् । खैर, त्यही सुन्दरतालाई छिचोल्दै हामी पञ्चकोट पुग्यौं । धेरैको मुखबाट एउटा वाणी निस्कियो, ‘अहो ! यस्तो पो रहेछ पञ्चकोट । यति दुर्गम ठाउँमा पनि कति राम्रो बनाएका । वास्तवमै जिँउदा मान्छे रहेछन् ।’

कोहीले भने, ‘कति मिहिनेती, कति सक्रिय हुन् यहाँका मान्छे ।’ कोही हनुमानको मूर्तिसँग फोटो खिच्न थाले । कोही अपलक हेरिरहे । कोही सिस महलमा घुम्न गए । कोही घोडा चढ्न थाले । घुम्ने ठाउँ धेरै नभए पनि जति छन् ती अलौकिक लाग्ने । आफन्तहरूसँग त्यसरी यात्रा गर्दाको रोमाञ्चकता र रमाइलोपन मनग्य मात्रामा प्राप्त भयो ।

एकछिन पछि रेस्टुेन्टमा खाना खान थालियो । पहिले नै महेन्द्रराज पौडेलले व्यवस्था मिलाइसकेका रहेछन् । भोजन मिठो हो कि भोक ? पत्तै पाइएन, थपी थपी खाइयो । सबैले खाना खाएपछि, सबैले तरहतरहका फोटा खिचेपछि बस गुड्यो । तर यात्रा भने पञ्चकोटसम्ममा मात्र सीमित रहेन । बहुमतको मनसाय र राय गलेश्वर जानेमा एक कठ्ठा भयो । एक पटक २०५३ सालतिर गलेश्वरमा बास बसेर जोमसोम गएको थिए । गलेश्वर कस्तो भएको होला, गलेश्वरमा के कति परिवर्तन भयो होलान् भन्ने जिज्ञासा मनको एउटा कुनामा साबुत थियो । त्यो जिज्ञासाको अन्त्येष्टि आजै हुन लेखेको रहेछ भनेर म दंग परेँ । जब गलेश्वर पुगियो । खासै परिवर्तन पाइनँ । केही छिन गलेश्वरको अवलोकनपछि बस पोखराको लागि हिँड्यो ।

जब बस मालढुंगानेर आयो । बसिरहनु भएका प्रल्हाद खत्री, ‘भिनाजु’ जुरुक्क उठेर नाच्न थाल्नुभयो । गुडिरहेको बसमा अन्दाजी ७२ वर्षका बृद्ध भिनाजु नाच्दा बसमा अनौठो माहोल छायो । सबैले भरपुर मनोरञ्जन लिए । कति जोसिलो, कति फुर्तिलो र कति लचिलो नाच । न त बसमा गित रोकियो– स्याङ्जा जाने बाटोमा तनहुँ बिर्सी जाने मायालाई के भनौं…, डाँडा घरे साइली…मैले हत्ते गरेर के गर्ने ?

समग्रमा, यात्रा सुखद र अविस्मरणीय लाग्यो । सबै अभिभावक लाग्ने वृद्धहरूसँगको सहयात्रा, पहिलो अनुभव जीवनभरिको लागि एउटा बलियो सम्झना बन्यो । मानौं, अमिट छाप जस्तै ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग