बढुवापछिको अपमान

तेजबहादुर गुरुङ (च्हाक्ली तमु)
माघ ५, २०८०

यस्तै हुन्छ भन्ने थाहा पाएका भए त बढुवा किन हुनु परेको थियो र? बढुवाको सूचना आएदेखि यति सपना बुनिएन । उसको भन्दा मेरै योग्यता बढी छ । उसलेभन्दा बढी सेवा मैले नै गरेको छु । सबैभन्दा अगाडि मै छु । कति वर्षदेखि बढुवा नपाएकाहरू उम्मेदवार बन्न पाएका छन् । जताबाट जे गणना गरे पनि सबैभन्दा अब्बल आफैंलाई पाएको थिएँ । संघमा पो धेरै छन्, पालो नआउला । यहाँ प्रदेशमा त मै हुँ पहिलो । जसले पनि यही सोचेका थिए । जसले यस्तो सोचेका थिए, नाम निस्केर पनि बढुवा खान कसैले मुद्दा मामिला झेल्नुपरेको थियो । जसोतसो मुद्दा जिते पनि पदस्थापनमा समस्या खेप्नु परेको थियो । बढुवा हुन कसैलाई १२/१५ वर्ष कुर्नु परेको थियो भने कसैले ५/७ वर्षमै बढुवाको अवसर पाएका थिए । कसैलाई लोकसेवा आयोगको सूचना आउन नपाउँदै बढुवा भइने सुनिश्चित थियो ।

उम्मेदवारी दिने ३५ दिने सूचना जारी भयो । बढुवा समितिले बढुवाको सिफारिस गरेर ३५ दिने उजुरबाजुर समय दियो । दुवै जोड्दा ७० दिन त्यसै गयो । त्यसपछि १५ दिन आन्तरिक गृहकार्य गर्न के अभ्यास गरे । १५ दिने अन्तरमा ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनको सिफारिस गर्दा ज्येष्ठतापछि कार्यक्षमताको पनि ३५ दिने म्याद कट्यो । सबैलाई सँगसँगै पदस्थापन गरियो ।

आफ्नाआफ्नालाई राम्रोराम्रो ठाउँ चाहियो । सुनिश्चित भएको रिक्त ठाउँ उनैलाई चाहियो । गण्डकी प्रदेश निजामती सेवा ऐनअनुसार बढुवा भइयो तर बढुवा नियुक्ति गरेर पदस्थापन गर्दा वरियता क्रमानुसार रोजेर जान पाइने ऐनको प्रावधान भए पनि त्यसैमा टेकेर पदस्थापन गरेको व्यवहारमा अनुभव गर्न पाइएन । वरियताको क्रमभंग गरेर पदस्थापन गरियो ।

कसैलाई पदै दर्ता नभएको, नयाँ दरबन्दी सिर्जना गरिएको ठाउँमा, कसैलाई कामकाजमा खटिएका कर्मचारी नभएको ठाउँमा, कसैलाई पद रिक्त भए पनि कामकाजमा खटिएका कर्मचारी कार्यरत रहेको ठाउँमा खटाइयो । मलाई कामकाजमा खटिएका कर्मचारी कार्यरत रहेको ठाउँमा खटाइयो । त्यस्तो ठाउँमा जाने कुरो भएन । गइएन । प्रशासनका २ वटा दरबन्दी भनेर पठाइएकोमा १ कटौती भएछ, १ काजमा कार्यरत रहेछन् । हुन्छ, हुन्छ त्यसलाई सच्याइन्छ भनेपछि बसियो । एक दिन हुन्न, दुई दिन हुन्न । तेस्रो दिन पनि हुन्न । दिनका दिन धर्ना बसे झैं बसिएको छ, हुन्न । ‘हुन्न’ भन्दैनन् फेरि । हल हल भनेका छन् । हल्लाएका छन् ।

अर्का त उहाँ बढुवा हुनेबित्तिकै पदस्थापन हुन्छन्, माथिल्लो पदको जिम्मेवारी पाउँछन् । मान सम्मान बढ्छ । यहाँ त भएको पनि घटेको छ । आफ्नो काम हुन्छ कि भनेर आफू समान पदको कर्मचारीको कुर्चीको अगाडि धुमधुमती बसिएको छ । उसले आफूलाई सोधपुछ गर्ने त कुरै छाडौं, हेर्न पनि कुन्नि के जाति पर्ला झैं गरेको छ । कतै हेरे पनि छड्के आँखाले देखिहाल्छ कि झैं हेरेको छ । त्यहाँ आउने जाने अरुअरुका भटाभट काम गरिएको छ । उसलाई भ्याइनभ्याइ छ । ताउरमाउर छ । एकै छिन, भन्छ, यता जान्छ । एकै छिन, भन्छ, उता जान्छ । फेरि एकै छिन, भन्छ, कता जान्छ । कत्ति फुर्सद छैन ।

कोही पदस्थापन भए पनि डेराडण्डाको समस्याले बरु घटुवा गरी दिनुपर्‍यो भन्न थालेका छन् । पत्रै बुझेका छैनन्

मेरै कामका लागि होला भनेर मख्ख भएर बस्यो । मेरो काम हुँदैन, अर्काको काम हुन्छ । मभन्दा पछि आउनेहरूको काम फटाफट हुन्छ । म मात्र बाँकी भएपछि भएभरका सुख समृद्धि मानव कल्याणका सिद्धान्त छाटिन्छन् । ‘सरकार क्षणिक सुख बाँड्छ। जनता त्यसैमा रमाउँछन् । केही क्षणमा बिलाउँछ । अनि दुख पोख्छ र पानीको फोकाजस्तो सपना बाँड्छ । कर्मचारी निरीह प्राणी हुन्। कर्मचारी हुनुभन्दा एउटा चिया पसलेको इज्जत छ । जसले पनि उसलाई सम्मान गर्छ । उसको शान, शौकात छुट्टै छ । कर्मचारी, विचरा दिनभरि कजिएकै छ । जस पाइने कतैबाट होइन । जस पाइने ठाउँ भए पनि त्यो अरू कसैले लिन्छ । अपजस आफूले पाइन्छ । सानो ठाउँमा, सानो कुरा पनि देखिन्छ । ठूलो ठाउँमा, ठूलै कुरा पनि बिलाउँछ । हेर्नु, हामी, यहींको यहीं, कुहिराको काग झैं हराइरहेका छौं । कोही जाँच दिन गएका छन् । कोही आमा बिरामी भएर अस्पताल गएका छन् । सबैलाई मौका दिनुपर्‍यो । आमालाई औषधी गर्न गएकालाई अरू केही जान्दिनँ, तिमी मलाई यहीं चाहिन्छ भन्नेले भन्थे । मेरो विवेकले त्यसो भन्न सक्दैन । मान्छेले समय परिस्थिति बुझ्न सक्नुपर्छ ।’ यति मात्रै कहाँ प्रदेशमा बसेर प्रदेशकै बदख्वाइँ गरिरहेका छन् । ‘प्रदेश खत्तम छ । हेर्नु प्रदेशको दरबन्दी । संघले स्वीकृत गरेको दरबन्दी घटाएको छ ।

आफूले थपेको छ । किताबखानामा स्वीकृत छैन । लथालिंग छ । भताभुंग छ । कर्मचारी स्थायी सरकार होइन ? कर्मचारीको हालत यस्तो छ । सरकार कसरी चल्छ? यस्तै ताल हो भने प्रदेश जान बेर छैन । दुई तहको संघीयता भए हुन्छ । प्रदेश खारेज गरे हुन्छ, कसरी चल्छ? कसरी साध्य हुन्छ? कसरी टिक्छ?’ महिना दिन भयो । बढुवा भएको बुढाको जोश जाँगर देखिन्न । घरमा बूढीलाई तनाव छ । ‘आज नभए भोलि हुन्छ । भोलि नभए पर्सि हुन्छ । मलाईभन्दा बढी तिमीलाई चिन्ता किन?’ प्रश्नमाथि प्रश्न पसारेर बुढीलाई चुप बनाए पनि यता आफ्नो मनमा आँधीबेहरी चलेको छ । पिरलोमाथि पिरलो थपिएको छ । नम्बर १ मा बढुवा हुनु र पत्र बुझेर पनि हाजिर हुन नजानु मेरो गल्ती हो र? काममकाजमा आएकाहरू फिर्ता जान मान्दैनन् । उनीहरूको पनि आफ्नै समस्या होलान् । त्यसरी कामकाजमा आएकाहरूलाई नचलाउनु भनेर मन्त्रीज्यूको आदेश हुन्छ । त्यहाँ पनि आफ्नै किसिमको समस्या होला? राम्रो ठाउँ, रिक्त ठाउँ र पद दर्ता भएको सुरक्षित ठाउँ अरूलाई चाहियो होला । त्यो पनि आफ्नै ठाउँमा होला । अरू केही उपाय नपाएपछि मैले पनि बुढियालाई झपारेँ । ‘केही नपाएर तिमीले पनि मेरै टाउको खानुपर्‍यो?’

बुढीलाई झपारेर समस्या समाधान हुने होइन । म फेरि आफैंभित्र हराएँ । सोंच मग्न भएँ । यस्तैयस्तै बेथितिका लागि संघीयता ल्याइएको हो र? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि समायोजनमा प्रदेश रोजियो । संघीय निजामती सेवा ऐन आजसम्म पनि आउन सकेन । कर्मचारीका लागि सबैभन्दा मिठो मिठाइँ भनेकै बढुवा होलाजस्तो लाग्छ । तर त्यही मनको लड्डुभन्दा मिठो मिठाइँ कसैलाई तितो, टर्राे, अमिलो साबित भएको छ । कोही बढुवा भए पनि पदस्थापन भएका छैनन् । कोही पदस्थापन भए पनि डेराडण्डाको समस्याले बरु घटुवा गरी दिनुपर्‍यो भन्न थालेका छन् । कसैलाई निजामती किताबखानाले नचिनेको पदै दर्ता नभएको कार्यालयमा दरबन्दी सिर्जना गरेर पदस्थापन गर्दा हाजिर हुन जान मानेका छैनन् । पत्रै बुझेका छैनन् । बढुवा, बढुवाजस्तो छैन । बढुवा भएको पद निजामती किताबखानाले चिन्दैन । बढुवा भएको भन्दा तल्लो पदको पेन्सन पट्टा बनाइन्छ । जिन्दगी लगाएर पकाएको जागिर धरापमा परेको छ । सेवा ग¥यो, सेवा गरे जस्तो छैन । कर्मचारी भन्नासाथै कसैको ब्रह्माण्ड तात्छ । कर्मचारीले लाउनखान हुन्न । कतै एक्लोदुक्लो हिँड्न हुन्न । कर्मचारीको पीडा यस्तो छ । के सधैं यस्तै रहला त ?

Related News

सम्बन्धित समाचार

  • पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

    राजेन्द्र भण्डारी माघ २४, २०८०
    चिलीको इतिहासः चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे…
  • धार्मिक आस्था र आचरण

    उपप्रा. रामप्रसाद सुवेदी माघ २३, २०८०
    व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका…
  • साँढे स्वास्नी   (हास्यव्यंग्य निबन्ध)

    शेषराज भट्टराई माघ २३, २०८०
    ‘होक्काँ’ गरेर जोरी खोज्ने गोरुलाई पनि साँढे भनिन्छ । गोरुलाई साँढे भन्दा भन्दै आवेगमा आउँदा महिला पुरुष दुबैलाई साँढे भन्ने…
  • कर घटाउन महानगरलाई कास्की कांग्रेसको १४ बुँदे सुझाव

    किशोरदत्त बराल माघ ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले चालु आवका लागि अस्वाभाविक रुपमा बढाएको करका बारेमा नेपाली कांग्रेस, कास्कीले समयमै जिम्मेवार भएर पोखरा महानगरपालिकालाई…
  • नेपालमा बसाइँ सराइको अवस्था र यसका चुनौती

    कृष्ण लामिछाने माघ ५, २०८०
    आफ्नो पुख्यौली थलो वा आफू बसोवास गरिरहेको ठाउँबाट अन्यत्र कुनै टाउँमा सरेर स्थायीरुपमा बसोबास गर्नुलाई बसाइँ सराइ भनिन्छ । बसाइँ…

hero news full width