मुलुक संघीयतामा जानुअघि नै दातृ निकायहरु यसलाई कसरी अभ्यासमा लैजाने होला भनेर अध्ययन गरेका थिए । संविधान निर्माण प्रक्रिया लम्बिएको थियो । युएनडिपीले प्रिपेयर प्रोजेक्ट चलाएको थियो, जसमा संघीय र प्रादेशिक मन्त्रालयहरु कसरी सञ्चालनमा ल्याउने, स्रोतको बाँडफाँड कसरी गर्ने भन्ने तयारी गरिएको थियो । अन्य मुलुकमा पनि कसरी स्रोत र वित्तीय व्यवस्थापन भएको छ भन्ने पनि हेरियो । अधिकांश मुलुकमा तल्लो तहका सरकारलाई ४० देखि ५० प्रतिशत रकम हस्तान्तरण हुने गरेको देखियो । तर धेरैजसो मुलुकमा हाम्रोजस्तो ३ तहको सरकार छैन । स्थानीय तहलाई विकास इकाइको रुपमा गणना गरेर केही स्रोत दिएको पाइन्छ । सरकारलाई दिएको सुझाव पनि त्यसै प्रकारको थियो । ४० देखि ५० प्रतिशत रकम प्रदेश र स्थानीय तहलाई दिनुपर्छ भन्ने थियो । तर पछि कार्यान्वयनमा आउँदा त्यसो भएन, ७० प्रतिशत संघमा राखेर ३० प्रतिशत प्रदेश र स्थानीय तहमा पठाइयो ।
ठूला आयोजनाहरुको दायित्व स्वाभाविक रुपमा संघमा रहने भएकाले यो अवस्था आएको हो भनेर दाबी गरियो । जसै प्रदेश सरकार अस्तित्वमा आए र हामीले काम थाल्यौं, संघले दिएको १५ प्रतिशत रकमले कसरी काम गर्न सकिन्थ्यो र ? वास्तवमा मधेश प्रदेशलाई हाउगुजी बनाएर स्रोत बाँडफाँड गर्न थालियो, सूत्रहरु पनि त्यसरी नै बनाइयो । जसरी संविधानका अनुसूचीका उल्लेख गरेका विषयहरु छन्, त्यहाँ प्रष्टता भए पनि पछि बनाइने कानुनहरु साँघुरो घेरामा रहेर तयार गर्न थालियो । संविधान र अनुसूचीले लगभग प्रष्ट्याइदिएको छ । सेवा क्षेत्रको काम स्थानीय तहबाट, आर्थिक विकास र पूर्वाधारको काम प्रदेश र नीति निर्माणका साथमा ठूला पूर्वाधार खासगरी राष्ट्रिय गौरवका आयोजना संघले गर्ने भनिएको छ । जसरी अनुसूचीमा अधिकार बाँडफाँड गरियो, त्यसरी स्रोतको बाँडफाँड हुन सकेन, संघीयता कार्यान्वयनमा सकस त्यहींबाट सुरु भयो ।
त्यसो त अर्थतन्त्रको आकार सानो भएको हाम्रो मुलुकमा पेन्सन, सामाजिक सुरक्षा भत्ता, सुरक्षा व्यवस्थापनलगायत विषयमा ठूलो रकम आवश्यक पर्ने भएकाले विकास बजेटका रुपमा रकम प्रदेश र स्थानीय तहलाई पठाउँदा थोरै देखिएको भन्ने पनि एकथरीको दाबी छ । ३० प्रतिशत रकम पनि कहाँ कम हो र ? भन्ने उनीहरुको तर्क छ । हामीहरुले एक वर्षजति प्रदेशमा काम गरिसकेपछि वास्तवमै स्रोतको अभाव अनुभूति भयो । त्यसपछि संघमा ४० र प्रदेश तथा स्थानीय तहमा ६० प्रतिशत स्रोत बाँडफाँड हुनुपर्छ भनेर आवाज उठाउन थाल्यौं । अन्य मुलुकको अभ्यास पनि यस्तै नै छ, तर हामी भित्र काम गरिरह्यौं, बाहिर प्रचारबाजी गरेनौं ।
हामीसँग अर्को समस्या थियो, कार्यालय व्यवस्थापन लगायत पूर्वाधारको । सबै जमिन र भवनहरु संघ सरकारकै मातहतमा थिए । कार्यालयहरु खाली गरेर काम गर्दा केही फरक पर्दैन भनेर हामीले त्यही अनुसार गर्यौं । संघसँग भएका भवन र जमिन केही हामीले प्राप्त पनि गरेका छौं । प्रदेश सभा सचिवालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान रहेको ठाउँ यसको प्रमुख उदाहरण हो । सिटिइभिटी प्रदेशलाई हस्तान्तरण गर भनेर अनुरोध गर्दै हाम्रो २ वर्ष बित्यो, त्यसो नभएपछि हामीले नै गण्डकी प्रदेश प्राविधिक प्रतिष्ठान गठन गरेर अगाडि बढ्यौं । पछि केन्द्रको नेतृत्वलाई महसुस भएछ क्यारे बिस्तारै हस्तान्तरणमा गए उनीहरु पनि । संघीयता कार्यान्वयनमा देखिएका गाँठाहरु फुकाउन हामीले भित्रभित्रै रामैसँग प्रयास गरेका हौं, ती विषय देखिँदै पनि जानेछन् ।
जति प्रयास गरे पनि वित्तीय स्रोत बाँडफाँडमा फेरबदल हुने संकेत देखिएन । सुरुमा त विशेष, सशर्त र समानीकरण अनुदान भन्ने थिएन । गण्डकीबाट बारम्बार आवाज उठाइसकेपछि समपूरक, विशेष र सशर्त अनुदान वितरणको पद्धति सुरु भयो । जुन स्थानीय तहमा पनि अहिले जान्छ । हामीले प्रक्रिया पुर्याएर योजनाहरुको सूची इन्ट्री गरेपछि अन्य प्रदेशबाट त्यही अनुसार आए, जसमा गण्डकीका आयोजना प्राथमिकतामा परे ।
जहाँसम्म राजस्व संकलनको प्रसंग छ । कर उठाउनका लागि हामीलाई दिएको दायरा हेरौं न, कृषि भनेको छ, कसरी कर संकलन गर्ने कुरा प्रष्टै छ । पर्यटनको पनि प्रदेशले बनाएका संरचनामा भनिएको छ । मनोरञ्जन, विज्ञापन लगायतको क्षेत्र साँघुरो छ । यातायात, भूमिको कर पनि बाँड्ने हो । त्यतिबेला संविधान बनाउनेहरु मधेशको हाउगुजीले होला यसमा खुल्न सकेको देखिएन । प्रदेशलाई सानो आकारमा राखेर केन्द्रकै छायाँमा पार्न खोजिएको हामी पाउँछौं । प्रदेशले आफैं आर्जन गर्न सक्ने आयोजनामा हामीले लगानी गर्न सकेनौं । सानासाना जलविद्युत् आयोजना बनाएर आर्जन गर्न हामीले सक्थ्यौं । त्यसमा पनि बजेट अभाव नै भयो । सानो आकारको बजेट जनअपेक्षा धेरै भएकाले हामीले त्यस्ता आयोजना गर्न सकिएन । पूर्वाधार त्यो पनि सडकलाई हामीले फोकसमा राखेर अगाडि बढ्यौं ।
प्रदेश तहको ऊर्जा आयोग बनाएर त्यसले निजी क्षेत्रका लगानीकर्तासँग सहकार्य गर्ने सरकारको सोच छ । अहिले ९० वटा आयोजनामा साढे ३ खर्बको लगानी निजी क्षेत्रले हामीसँग जम्मा ७ सय किमी सडक पिच हो, सडक यातायातमा पहिलो ५ वर्षमा लगानी गरौं भन्ने हो । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बेलैमा सम्पन्न गर्नका लागि प्रदेशले जोड गरेको छ ।
४० प्रतिशत बजेट माथि राखेर बाँकी प्रदेश र स्थानीय तहमा पठाउनुपर्छ, हामी खर्च गरेर देखाउँछौं
मध्यपहाडी लोकमार्गमा कास्की खण्डमा एलाइनमेन्टमा केही समस्या थियो । पहिला भनेका ठाउँमा ४ सय ९२ घरहरु पर्ने भएकाले त्यसमा परिवर्तन गरी हेमजा, बाटुलेचौर मौजा, मौजा मेहकुुना हुँदै मादी करिडोरमा जोड्ने गरी टुंगो लगाइयो । त्यसको डिपिआर भएर काम पनि अगाडि बढेको छ । पोखरालाई भीडभाड बनाउने होइन, ठूला संरचनाबाहिर लैजानुपर्छ भन्ने मेरो सोच हो ।
कालीगण्डकी करिडोरको गैंडाकोट खण्डमा रुख काट्न बाँकी रहेकाले थोरै काम बाँकी छ । नवलपुरलाई पोखरासँग जोड्न छोटो बाटोका लागि काम भइरहेको छ । पहिला अरुणखोलाबाट डेढ गाउँसम्म संघ सरकारले बनाउने र भीमादबाट प्रदेशले काम गर्ने भनेको हो । हामीले काम गरेका छौं, उताबाट पर्याप्त बजेट आवश्यक हुन्छ । पृथ्वीराजमार्गलाई चाक्लो बनाउनका लागि समन्वय पनि हामीले नै गरेका थियौं । अहिले काम भइरहेको छ । पृथ्वीराजमार्गको स्तरोन्नतिको काम गर्नुपर्ने भएको छ । चुनाव लड्ने नेताहरु यसमा चासो नराख्ने ।
स्याङ्जा पाल्पाका मान्छे, योबाटो खरदार सुब्बाको जाँच दिनमात्र गए । अब आर्थिक करिडोरको रुपमा विकास गर्नुपर्छ । राजमार्ग छेउका मान्छेले ५० वर्ष उपयोग गरेर खाए । लुम्बिनीतिर घर हटाएर बाटो चक्ल्याउने काम भइरहेको छ । स्याङ्जा खण्डमा पनि अब छिट्टै काम गर्नुपर्ने छ । बुटबल पोखराको स्तरोन्नतिका लागि ३२ अर्ब हाराहारीमा खर्च हुने रहेछ । १ सय ५७ किमीबाट १ सय ४२ किमीमा झार्ने योजना छ । बीचका ७ ठाउँमा ससाना सुरुङ बनाउनुपर्छ ।
प्रदेश सरकारले खर्च गर्न सकेन भन्ने मात्रै होइन । हाम्रो पद्धति नै फरक छ । बजेटिङ भएको मूल्यको ३० प्रतिशत घटेर टेन्डर जान्छ । त्यो रकम बाँकी रहन्छ । यस कारण पनि पूरै रकम खर्च हुनै सक्दैन । त्यस्तो रकम हामीले बहुवर्षे योजनामा राखियो । हामीले धेरै प्रयास गर्दा पनि ७० र ८० प्रतिशतको बीचमा खर्च हुन्छ । हाम्रो सामथ्र्य नभएको होइन, प्रक्रियागत समस्या हो ।
योजनाको वर्गीकरण नहुँदासम्म डुप्लिकेसन रोकिँदैन । पोखरामा भएको मुख्यमन्त्री सम्मेलनमा हामीले यही विषयलाई मुख्यरुपमा उठाएका थियौं । कति बजेटसम्मका योजना कसले गर्ने भन्ने टुंगो लगाउन जरुरी छ भनेर । वर्गीकरणमा केही समस्या पनि देखियो । संघीय सांसदहरु पनि आखिर निर्वाचित भएर आउने तलबाटै हो, २ लाखका योजनाका लागि वडामा भन्न जानुपर्ने भएकाले संघबाटै यस्ता योजना सांसदहरुका चाहनले पर्ने गरेका छन् । प्रदेशमा पनि त्यो अवस्था छ । यो किसिमले संघीयता कार्यान्वयन हुन सक्दैन ।
योजना छनोट प्रक्रियामा पनि केही समस्या छन् । तर सबै त्यस्तो पनि होइन, हामीले पञ्चवर्षीय योजनाले तय गरेका लक्ष्यअनुसार नै अगाडि बढ्न प्रयास गर्यौं, २० प्रतिशत बजेट सांसद र राजनीतिक नेतृत्वको चाहनाका आधारमा गएको स्वीकार गर्नैपर्छ । सांसदहरु जनतासँग प्रतिबद्धता गरेका आएका हुन्छन्, यस्ता योजना पर्ने कुरालाई सामान्यरुपमा लिनुपर्छ भन्ने लाग्छ ।
जहाँसम्म पञ्चवर्षीय योजनाले तय गरेका लक्ष्यमा पुग्ने सन्दर्भ छ । कोभिडको महामारी नभएको भए ८० देखि ९० प्रतिशत सफलता हामीले प्राप्त गर्ने थियौं । धेरै मेहनत गरेर हामीले यी सूचकहरु बनाएको थियौं । प्रतिव्यक्ति आम्दानीको हकमा हामीले राम्रै सफलता हासिल गरेका छौं । बाँकी २ वर्षमा १६ सय ५० पुर्याउने छौं । बीचको समयमा राजनीतिक परिवर्तन हुँदा पनि योजना प्रभावित भएका रहेछन् ।
वित्तीय क्षेत्रमा निजी क्षेत्रको लगानी ह्वात्तै बढेको छ । विद्युत सेक्टरमा हामीले धेरै नै फड्को मारेका छौं । ८०/८१ सम्म १५ सय मेगावाट हाराहारीमा उत्पादन हुन्छ । निजी क्षेत्रका योजनाहरु धमाधम अगाडि बढिरहेका छन् । जलविद्युत्को उपभोग भने ह्वात्तै बढेको छ । घरायसी उपयोग र औद्योगिक उपयोग पनि बढेको छ ।
औद्योगिकीकरणमा हामीले चुपचाप काम गरिहेका छौं । पहाडी भेगमा ठूला आयोजना गर्न सकिँदैन । नवलपुर नै हाम्रा लागि उपयुक्त ठाउँ हो । काठमाडौंको ढुवानीका लागि पनि दाउन्ने पूर्व, हेटौंडा पश्चिमको क्षेत्र निकै उपयुक्त मानिँदो रहेछ । होङ्सी सिमेन्टका लागि आवश्यक बिजुली जडान भइसकेको छ । अन्य पूर्वाधार पनि हामीले तयार गरिरहेका छौं । नवलपुरको लौकाहा खोला र कास्कीको पुँडीटारमा जग्गा नापी भइसकेको छ । अब छिट्टै जग्गा प्राप्ति भएर काम अगाडि बढ्छ । गोरखाको च्याङ्लीमा औद्योगिक क्षेत्रको सम्भावना छ । त्यसका लागि हामी कुरा गरिरहेका छौं । पहिलो ५ वर्ष सडक पूर्वाधारमा हामी केन्द्रित भयौं । अबको समय औद्योगिकीकरणकै हो । उद्योग क्षेत्रमा लगानी पनि बढेर गएको छ । कोभिडले प्रभाव पारे पनि लगानी हामीले प्रक्षेपण गरेजस्तै हो । विश्व विद्यालयहरु साक्षरताका लागि मात्र भए । औद्योगिकीकरणका लागि आवश्यक जनशक्ति निर्माणमा जानुपर्छ । हामीले त्यसै विषयलाई ख्यालमा राखेर गण्डकी विश्वविद्यालय, प्राविधिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरेका हौं ।
संघीयता अगाडि २४ वटा पालिकाका केन्द्र जोड्नका लागि सडक थियो । त्यसमा हामीले ४८ थपेर ७४ पु¥याइएको छ । संघ र प्रदेशको सहकार्यमा यो सम्भव भएको हो ।
एउटा पब्लिकले तत्काल नतिजा खोज्छ । वितरणमुखी कार्यक्रममा हामी पुगेनौं । पूर्वाधारका क्षेत्रमा हामीले धेरै लगानी गरेका छौं । अनि हामीले गरेका कामको प्रचार अलि पुगेन कि भन्ने पनि लाग्छ मलाई । मास पब्लिकमा जो बेरोजगार छ, जो बाहिर बसेको छ, उनीहरुलाई सोझै खातामा पैसा आइदियोस् झैं कुरा गर्छ । सरकारको त्यो सामथ्र्य त हुँदैन । अलि नकारात्मक पक्ष बढेर गएको छ । ३०/४० वर्षको सिस्टमको नतिजा त आउन बाँकी छ । यति छोटो पिरियडमा यसरी मूल्यांकन गर्ने बेला भएको छैन कि भन्ने लाग्छ ।
प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष शर्मासँगको कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
एसइईमा उत्कृष्टता हासिल गर्ने आधारभूत सूत्रहरू
पर्यटनको इतिहास र सांस्कृतिक विविधता
विकृत आवरणमा छिपेको होली
डोल्पामा छुट्टै रीति, छुट्टै अनुभूति
प्रदेश लोक सेवा आयोग गण्डकी : उपलब्धि र चुनौती
hero news full width
मुख्य समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९