नेपाल र नेपालीका २ फूलहरु : क. पुष्पलाल र बिपी

झपट रानाभाट
श्रावण ७, २०७९

राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्था समीक्षा गर्दा देशले सम्झनैपर्ने दुई शिखर नेताहरुमा पुष्पलाल र बिपी कोइरालालाई नसम्झिदा इतिहास र माटोले धिक्कार्ने छ । हुन त सम्झनलायक अन्य नेता हुन्, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइराला पनि ।

हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले पूर्व प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरेको पाइन्छ तर दुईतिहाइ बहुमतको सरकार बन्दा पनि राजकीय सत्ता र पार्टीभित्रको सत्ताको छिनाझपटीका कारण नेकपामा विभाजन आयो, दुखको कुरा नेकपा एमालेमा पनि विभाजन आयो । किन दलहरूमा यतिभाँती फुट र विभाजन आउँछ ? दलहरू सत्तामा जान वा सत्ताबाट हटाउन पार्टीभित्रै र बाहिर ठूल्ठूलो चलखेल, खेलोफड्को र षड्यन्त्र हुन्छ ? आखिर राजनीतिकर्मीमाथि यतिबिघ्न अविश्वास र वितृष्णा आएको कुरालाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक ख्याल गर्नुपर्दछ ।

किन सम्झने पुष्पलाल र बिपीलाई ? ६ दशकअघि कांग्रेस सभापति बिपी कोइरालाको नेतृत्वमा दुईतिहाइ बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि दुईतिहाइको सरकार भएको अहिले नै हो । १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुईतिहाइमा पु¥याएर बिपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले सात दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको ३ वर्ष वरिपरिमै परमादेशबाट सत्ताच्यूत हुनुप¥यो ? यस्ता गम्भीर सवालबारेमा हामी चिन्तित हुनैपर्छ ।

२०१५ सालको आमनिर्वाचनपछिको बिपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बिपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन ।

विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यतधा स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यतिमात्र होइन, चार सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिनै पर्ने थियो । बिर्ता र राजा रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोककल्याणकारी योजना लागु गर्ने कामको सुरुवात गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।

समय बलवान छ । चार सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेसले त्यतिबेलाको कम्युनिष्ट पार्टीलाई उचित स्थान दिनै पर्ने थियो ।

कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको आलेखको आधारमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बिपी राजनेता नै थिए । जननेता मदन भण्डारीको प्रकाशित अन्तर्वार्तामै समेत बिपी नै मदनले आफ्नो मनपर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर, पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरीत पलाँसको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।

राणाहरूको कोपभाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बिपी आफैं कम्युनिस्ट थिए ।

राष्ट्रियता र देशभक्ति भावका दृष्टिले पहिलो पुस्ताको तुलनामा अहिलेको नेतृत्व निकै गम्भीर हुनु पर्दछ, नेतृत्व आफैं सिद्धान्त, नैतिकता र देशभक्तिबाट विचलित भयो भने कुनै मुलुकले प्रगति गर्न सक्दैन ।

२००७ सालको क्रान्तिले १०४ वर्षे राणाशाहीको अन्त्य गर्‍यो । २०१७ पुस १ मा राजा महेन्द्रले सैन्य बलबाट प्रजातन्त्रमाथि ‘कू’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भयो । अनि, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सुरु गरेको निरंकुश शासन व्यवस्थाविरुद्ध २०६२÷०६३ को जनआन्दोलनमा लाखौं जनता सडकमा ओर्लिए । फलस्वरूप संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते २ सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य मात्र भएन, मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रा तय ग¥यो ।

यसबीच २००७ सालयता, छ दशकको अवधिमा ४७ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २३ जना प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् ६/६ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बिपी सबैले सम्झिने राजनेतामा स्थापित भए ।

कम्युनिस्ट बिपी, कांग्रेस पुष्पलाल

राणाहरूको कोपभाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बिपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । पिताजी कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बिपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य ग¥यो । त्यो क्रान्तिमा पुष्पलाल, एकदेव आले चित्रबहादुर गुरुङ, मनमोहन अधिकारी आदि सशक्त रूपमा भाग लिएका थिए । मनमोहन अधिकारीले घोषित रूपमा त्यो क्रान्ति सँगै गरौं भनेर बिपीलाई धेरै अनुरोध गरे । कम्युनिस्ट पार्टीसँग सीमाभन्दा बढी अनुदार कांगेसका बिपी र राजाले त्यो कुरा मानेनन् । किनकि छिमेकी भारत समेत त्यो आन्दोलनमा कम्युनिस्ट पार्टीको सहभागिता मन पराउँदैन्थ्यो । त्यतिमात्र हैन, त्यो क्रान्तिका निम्ति स्वयंसेवक जिम्मा कम्युनिस्ट पार्टीलाई देउ भन्दा बिपी मानेनन् । क्रान्ति भयो । दिल्ली सम्झौतालाई धोका सम्झी कांग्रेसका एकदेव आले, चित्रबहादुर गुरुङ आदि ठूल्ठूला नेताले पनि कांग्रेसबाट साचो अर्थमा क्रान्ति फत्ते नहुने निक्र्यौल गरी कांग्रेसबाट बिद्रोह गरे ।

उता, दाजु सहिद गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बिपी र डा. डिल्लीरमण रेग्मीबीचको कचिंगलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा १ दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दीयोलाई कमजोर हुन नदिनू ।’ गंगालाल भन्ने गर्थे, ‘रुसमा कोही भोका नांगा छैनन्, हामीले पनि त्यस्तै व्यवस्था ल्याउनुपर्छ ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब, दुखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बिपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । कोइराला परिवारका सदस्य एका बिहानै जम्मा भएर अनेकौं विषयमा छलफल गर्थे । जसमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ आदि विषय हुन्थे ।

त्यस्तै, श्रेष्ठ परिवारमा भने बेलुका यस्तो छलफल चल्थ्यो । पुष्पलालकी बहिनी पुष्पलताका अनुसार बेलुका बुवा भक्तलालको कोठामा परिवारका सबै सदस्य भेला हुने, सुरुमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ जस्ता विषयमा कुरा हुन्थ्यो । त्यसपछि देश विदेशका घटनाक्रममा कुरा हुन्थ्यो । दुवै परिवारका सदस्यहरूबीच आपसमा कुरा गर्दा चाहिं राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

समानता अनेक, विमति एक
बिपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बिपी पहिले कम्युनिस्ट, पुष्पलाल पहिले कांग्रेस नजिक थिए । बिपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र सिद्धान्तकार । दुवै परिवारका माइला छोरा । दुवैका बाबु क्रमशः भक्तलाल र कृष्ण प्रसाद कोइराला राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बिपीलाई लामो समयसम्म अराष्ट्रिय तत्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट पार्टीबाट खेप्नुप¥यो । तत्कालीन नेकपाले नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बिपीलाई हेर्ने गथ्र्यो तर धेरैपछि मात्र बुझियो वास्तवमा बिपी न राजावादी थिए न त भारतपरस्त।

उता पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कू’ पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्धार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठका अनुसार राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्धार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे तर राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् । साचो यथार्थता यही हो–पुष्पलालले राजासँग कहिल्यै जी–हजुर गरेनन् ।

महान सहिद पुष्पलालका दाजु गंगालालका साथी गम्भीरमान मार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर, पुष्पलालले जवाफ फर्काइदिए, ‘मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानमन्त्री चाहिंदैन ।’

पुष्पलालका कान्छा भाइ विजयलालका अनुसार ‘राजाले दिन सक्ने सबैभन्दा ठूलो पद त्यही प्रधानमन्त्री थियो । दाजु पुष्पलाल सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।’

अर्कोतर्फ थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बिपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाम मात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बिपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बिपीले सिद्धान्तमा सम्झौता गरेनन् ।

राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बिपी र पुष्पलाल दुवैले एकअर्काप्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायतको अन्त्यका लागि कांग्रेस कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बिपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिंदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् । यस अर्थमा बिपी कम्युनिस्ट पार्टीप्रति निकै अनुदार र असहिष्णु थिए। उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनिमात्र २०४६ सालको जनआन्दोलनले पञ्चायतको पतन भयो ।

पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’ बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी छ जना मुलुकको कार्यकारी प्रमुख बने ।

अर्कोतिर जीवनभर कम्युनिस्टमा भर नगर्ने बिपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगको सशक्त र शक्तिशाली सहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बिपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनप्रयन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बिपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । बिपी त सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए । तर, २०१५ सालको चुनावमा नेपाली कांग्रेस, राजा र राणाहरुको भयंकर ठूलो गठजोड साम, दाम र दण्डभेदमा गणेशमान सिंहसँग पराजित हुनुपर्‍यो । पुष्पलालले जबकि कम्युनिस्ट पार्टीका तर्फबाट पहिल्यै काठमाडौं नगरको मेयर जितेका थिए–जनकलाल श्रेष्ठले । पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर कहिल्यै पाएनन् । धेरै समय जेल–नेल सजाय नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दागर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बिपीको निधन भयो ।

नेपाली क्रान्तिका महान नेताहरु पुष्पलाल र बिपी कोइरालाको आदर्शलाई कम्युनिस्ट र कांग्रेसले समग्रमा अनुशरण गर्नुपर्छ । सिद्धान्तलाई ब्यवहारसँग जोड्नु पर्छ । इतिहासका २ फूलहरु पुष्पलालको ४४ औं र बिपी कोइरालाको ४० औं स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली ।

Related News

सम्बन्धित समाचार

  • कार्ल माक्र्सका अन्तरंग मित्र एंगेल्स

    झपट रानाभाट श्रावण २०, २०७९
    कार्ल माक्र्स र एंगेल्सबीच यस्तो मित्रता थियो कि जसको विश्वमा कुनै उदाहरण पाइँदैन । माक्र्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक…
  • भूउपयोग कार्यविधि कार्यान्वयनका चुनौती

    खडानन्द लामिछाने श्रावण १७, २०७९
    मानव सभ्यताको विकाससँगसँगै विभिन्न कालखण्डमा विभिन्न आरोहण अवरोध पार गर्दै मानव समाज वर्तमान अवस्थामा आइपुगेको छ । मानिसले ढुंगेयुग र…
  • गण्डकी प्रदेशका धार्मिक सांस्कृतिक सम्पदा : सांस्कृतिक ऐना

    लोकचन्द्र खनाल श्रावण १६, २०७९
    संस्कृति सभ्यताको जननी हो । संस्कृतिभित्र मानव जीवनका सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, भौतिक, भाषिक आदिको अभिव्यक्तिका साथै भाषा, कला, साहित्य,…
  • पोखराको नाग पोखरीमा नागपञ्चमी मेला

    शिवप्रसाद गौतम श्रावण १५, २०७९
    यो संसारमा शास्त्रहरूका अनुसार चौरासी लाख जुनी छन् । त्यसमध्ये सर्प पनि एक हो । घस्रेर हिँड्ने हात खुटा नभएको…
  • काहूूँँ डाँडा कि कोट ?

    मदन भण्डारी श्रावण १५, २०७९
    डाँडापाखा वन चहुरमा घाम लागिरहेछ लाखौंलाखौं सुख र दुखमा लोक लागिरहेछ यस्तो बेला नबस घरमा निस्क आलस्य फाली तन्नेरी हे…

hero news full width