तिलकदाइको सम्झनामा

हरि अधिकारी
मंसिर १३, २०८०

विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ । आफूले थोरै समयका लागि पाएको उहाँको स्नेह सान्निध्यलाई गर्वका साथ स्मरण गर्दै म उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

प्रत्यक्ष भेट नहुँदादेखि नै तिलक सापकोटाका बारेमा धेरै सकारात्मक कुराहरू सुनेर उहाँप्रति हुरुक्कै हुनेगरी आकर्षित भएको मैले उहाँलाई लुम्बिनी क्षेत्रका अर्का उद्भट लोकतन्त्रवादी नेता ढुण्डीराज शास्त्रीको सौजन्यले पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । काठमाडौबाट सडकमार्ग भएर बुटवल जानुपर्दा ढुण्डीराज शास्त्रीजी गैंडाकोटमा पुगेपछि तिलक सापकोटाको घरमा गई उहाँसँग भेट गरेर मात्र अघि बढ्नु हुँदोरहेछ जहिले पनि । यसलाई उहाँले एक प्रकारले अनिवार्य रुटिन नै बनाउनु भएको रहेछ । शास्त्रीजीले बनाउनु भएको त्यही रुटिनका कारण २०५४ सालको कुनै एक महिनामा मैले पनि तिलक दाइकहाँ पुग्ने र उहाँलाई भेट्ने अवसर पाएको थिएँं । ती दिनहरूमा म बुटवलबाट एउटा दैनिक पत्रिका निकालिरहेको थिएँ र काठमाडौं–बुटवल ओहोरदोर गरिरहन्थेँ । त्यसै मेसोमा मलाई एक पटक काठमाडौंबाट शास्त्रीजीको मोटरमा बुटवलसम्म जाने अवसर मिलेको थियो । र, त्यसैले जुटाएको थियो मेरा प्रिय अग्रज तिलकदाइसँगको भेट ।

आफूले मनमनै सम्मान गरेको नेतालाई प्रत्यक्ष देख्न र सुन्न पाउँदा म त तिलकदाइसँगको त्यो पहिलो भेटमा लगभग अभिभूत नै भएको थिएँ तर उहाँले पनि मलाई भेट्न चाहिरहेको थिएँ भन्नु भएर मलाई मात्र होइन, नजिकै रहनुभएका ढुण्डीराज शास्त्रीजीलाई पनि अचम्भमा पारिदिनु भएको थियो । त्यसो भनिरहँदा तिलक दाइले चयन गरेका शब्दहरू, मुखमुद्रा र भावभंगीमामा यस्तो स्वाभाविकता थियो उहाँले मेरो हौसला बढाउँन मात्र त्यसो भन्नुभएको हो भन्ने ठान्नु सायद उहाँमाथि अन्याय हुन्थ्यो । पत्यार र अपत्यारको मिलिजुली रङ पोतिएको मेरो मुखमुद्रा देखेर उहाँले मसँग भन्नुभएको थियो । ‘हरिजी ! म तपाईंका लेखरचनाहरू पढिरहन्छु । एकप्रकारले तपाईंको फ्यान नै हुँ म । अग्रजले अनुजलाई भेट्न चाहनुहुँदैन र ? तपाईंलाई भेट्ने मेरो गहिरो इच्छा थियो आज पूरा भयो ।’

त्यस दिन उहाँले मप्रति दर्शाउनु भएको स्नेह, सद्भावले मलाई निथ्रुक्क पारेको थियो । उहाँको सरलता र जोकसैलाई पनि समान हैसियतमा राखेर व्यवहार गर्ने उदार स्वभावबाट गहिरोसँग प्रभावित भएको म त्यसपछि लगातार उहाँको सम्पर्कमा रहेको थिएँ । नेपाली कांग्रेस पार्टीले उहाँलाई दिनुपर्ने महत्व र स्थान नदिएकोमा म क्षुब्ध पनि हुन्थे बेला बेलामा । पार्टीको संगठन विस्तार गर्न र त्यसलाई मजबुती दिन उहाँले गर्नुभएको अप्रतिम योगदानको उचित कदर नभएको तथ्यले मलाई अहिले पनि उद्विग्न बनाइरहन्छ । यस अवसरमा नेपाली कांग्रेस पार्टीको आन्तरिक गुटबन्दीका कारण आफूले पाउनुपर्ने हक मारिएका गुल्मीका क्रान्तिकारी नेता मोहनसिंह थापा, काभ्रेका सप्तलाल ताम्राकार, रूपन्देहीका डिल्लीरमण शर्मा आदिको मुहार पनि मेरो आँखामा झलझली देखा परेको कुरा पनि रेकर्डमा राख्न चाहन्छु ।

तिलक सापकोटा लोकतान्त्रिक आन्दोलनको संघर्षबाट खारिएर आएका नेपाली कांग्रेस पार्टीका त्यस्ता नेताहरूको पंक्तिका सम्मानित अगुवाहरूमध्ये एक हुनुहुन्थ्यो जसका लागि राजनीति आफ्नो देश र जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने एक माध्यममात्र थियो । तिलक र उहाँकै शैलीमा सोच्ने र खट्ने कांग्रेस नेताहरूका दृष्टिमा राजनीति पेसा नभएर जनसेवाको एउटा मार्गचित्र थियो । उहाँ र उहाँजस्ता नेताहरूले राजनीतिलाई आफूले जानेका राम्रा काम र कुराहरू समाजमा फैलाउने एउटा प्रभावकारी उपकरणका रूपमा लिएका थिए । उहाँहरूको त्यही सोच र त्यस्तै कर्महरूका कारण नै नेपाली कांग्रेसको राजनीतिमा पवित्रता सुरक्षित रहेको थियो । राजनीतिलाई निहित स्वार्थपूर्तिमा सघाउ पु¥याउने माध्यमका रूपमा कहिल्यै पनि नलिएकाले तिलक सापकोटा आजीवन बेदाग, अनालोच्य र आदर्शको प्रतिरूपझैं रहनु भयो । त्यसमाथि आफ्नो कर्मथलोमा शिक्षा प्रसार र अन्य सामाजिक कामको नेतृत्व लिएर समाजको रूपान्तरणमा जुन अवदान उहाँले गर्नु भएको छ त्यसको कीर्ति युगौँसम्म रहिरहने छ ।

तिलक सापकोटाको जीवन वृत्तान्त लेखिनुपर्छ भनेर मैले उहाँलाई धेरै पटक घच्घच्याएको थिएँ । उहाँले पनि ‘लेख्नुपर्छ तपाईंको सहयोग पाउँछु नि?’ भन्नुभएको थियो । तर कतिपय व्यावहारिक कारणले त्यो सम्भव भएन । म सन् २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकामा अड्किएँ । यता उहाँको जीवनीलेखन परियोजना पनि अगाडि बढेनछ । यस बीचमा उहाँले ‘यात्रा निरन्तर लोकतन्त्र प्राप्तिका लागि संघर्षको डायरी’ शीर्षकमा आफ्ना संस्मरणहरूको विवरणिका राखेर एउटा अत्यन्त महत्वपूर्ण पुस्तक तयार गरी प्रकाशमा ल्याउनुभयो । यस ग्रन्थमा तिलक सापकोटाको निष्ठा, आदर्श र कल्पनाशीलताले ओतप्रोत सामाजिक र राजनीतिक व्यक्तित्वको पूर्ण दिग्दर्शन भएको छ । जीवन र जगतप्रतिको सूक्ष्म अन्तर्दृष्टि, समाजोपयोगी विकासे सूत्रहरूको प्रतिपादन र निष्ठा एवं आदर्शमा आधारित राजनीति गर्न चाहने जो कसैलाई पनि मार्ग दर्शन गर्ने सूक्तिहरूको सँगालोको रूपमा आएको यो ग्रन्थ नेपाली वाङ्मयलाई स्वर्गीय तिलकदाइले दिएको एउटा बहुमूल्य उपहार हो ।

Related News

सम्बन्धित समाचार

  • पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

    राजेन्द्र भण्डारी माघ २४, २०८०
    चिलीको इतिहासः चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे…
  • धार्मिक आस्था र आचरण

    उपप्रा. रामप्रसाद सुवेदी माघ २३, २०८०
    व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका…
  • साँढे स्वास्नी   (हास्यव्यंग्य निबन्ध)

    शेषराज भट्टराई माघ २३, २०८०
    ‘होक्काँ’ गरेर जोरी खोज्ने गोरुलाई पनि साँढे भनिन्छ । गोरुलाई साँढे भन्दा भन्दै आवेगमा आउँदा महिला पुरुष दुबैलाई साँढे भन्ने…
  • कर घटाउन महानगरलाई कास्की कांग्रेसको १४ बुँदे सुझाव

    किशोरदत्त बराल माघ ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले चालु आवका लागि अस्वाभाविक रुपमा बढाएको करका बारेमा नेपाली कांग्रेस, कास्कीले समयमै जिम्मेवार भएर पोखरा महानगरपालिकालाई…
  • नेपालमा बसाइँ सराइको अवस्था र यसका चुनौती

    कृष्ण लामिछाने माघ ५, २०८०
    आफ्नो पुख्यौली थलो वा आफू बसोवास गरिरहेको ठाउँबाट अन्यत्र कुनै टाउँमा सरेर स्थायीरुपमा बसोबास गर्नुलाई बसाइँ सराइ भनिन्छ । बसाइँ…

hero news full width