छन्द र छन्दको सन्दर्भमा लेखनाथको मूल्यांकन

माधव वियोगी
फागुन २४, २०७६

 छन्द भनेको अभिव्यक्तिलाई श्रुतिमधुर वा कर्णप्रिय बनाई सौन्दर्यचेतनाको अभिबृद्धि गर्ने महत्वपूर्ण साधन हो, सूत्र हो । भावाभिव्यक्तिकलाको स्रोतका रूपमा पनि छन्दलाई लिन सकिन्छ । संस्कृत वाङ्मयले छन्दलाई कविता सिर्जनाको महत्वपूर्ण आधार मानेपछि यसको गरिमामय ऐतिहासिक महत्व बढेको हो ।

कविशिरोमणि लेखनाथ पौडेल ( वि. स. १९४१ – २०२२ ) नेपाली काव्यलेखनमा छन्दको विशिष्ट प्रयोगको सन्दर्भका उत्कृष्ट ऐतिहासिक महामानव हुन् । उत्कृष्ट कविता बन्न छन्द अनिवार्य तत्व हो । छन्द वा लय बिना कविताको कल्पना गर्न सकिन्न । जब हामी छन्दको कुरा गर्छाैं तब त्यहाँ शास्त्रमा वेद र व्यक्तिमा पिङ्गल अनि वाल्मीकिको नाम स्मरण हुन्छ ।
वेदका ६ अङ्गमध्ये छन्द एक अङ्गको रूपमा रहेको छ । अर्थात् छन्द वेदको पाउ हो । त्यस्तै गरी पिङ्गलले छन्दसूत्रको संग्रह गरेका थिए भने वाल्मीकिले वैदिक छन्दलाई लौकिक छन्दमा रूपान्तरण गरेका थिए । अर्काे महत्वपूर्ण कुरा के छ भने छन्दको प्रचारप्रसारमा हामीले भगवान् र महान ऋषि मानेका व्यक्तित्वहरू समेत जोडिएका छन् । छन्दको प्रचार गर्ने क्रममा शंकरले विष्णुलाई, विष्णुले इन्द्रलाई, इन्द्रले वृहस्पतिलाई, वृहस्पतिले माण्डव्यलाई, माण्डव्यले सैतवलाई, सैतवले यास्कलाई र यास्कले पिङ्गललाई छन्दबारे बताएको पाइन्छ । पिङ्गलले छन्दग्रन्थको निर्माण गरेपछि नै छन्दको व्यापकतामा तीव्रता आएको हो ।
छन्द भनेको अभिव्यक्तिलाई श्रुतिमधुर वा कर्णप्रिय बनाई सौन्दर्यचेतनाको अभिबृद्धि गर्ने महत्वपूर्ण साधन हो, सूत्र हो । भावाभिव्यक्तिकलाको स्रोतका रूपमा पनि छन्दलाई लिन सकिन्छ । संस्कृत वाङ्मयले छन्दलाई कविता सिर्जनाको महत्वपूर्ण आधार मानेपछि यसको गरिमामय ऐतिहासिक महत्व बढेको हो । छन्दको मर्म र साखलाई बुझेर व्यापक अध्ययनका साथ सुन्दर कविता सिर्जना गर्ने व्यक्ति लेखनाथ पौडेल नै हुन् ।
नेपाली साहित्यमा छन्दको व्यापक प्रयोग भइरहेकै अवस्थामा पाश्चात्य शैलीको अनुशरण गर्दै गद्यमा पनि कविता बन्ने परिपाटी प्रचलित भयो । फलस्वरूप छन्दको गरिमामय महिमामा ह्रास आयो । छन्दको साखलाई पुरानै अवस्थामा फर्काउन, गद्यलाई कविता मान्ने प्रचलनको अन्त्य गर्न, काव्यसंस्कृतिको रक्षा गर्न, छन्दज्ञानबारे प्रशिक्षण दिन, छन्दलाई जीवनशैलीका रूपमा पनि प्रयोग गर्न र भावी पुस्तालाई छन्दप्रति आकृष्ट पार्नका निम्ति यो पङ्तिकारले वि. स. २०५३ सालमा राष्ट्रव्यापी आान्दोलनका रूपमा “ छन्द बचाऊँ अभियान“ को सन्चालन गरेको कुरा यहाँनेर स्मरणीय छ ।
अभियानपश्चात छन्दका नाममा संस्था खुल्नु, छन्दप्रशिक्षणमा व्यापक सहभागिता हुनु, छन्दोबद्ध कविताकृतिको बाहुल्यता हुनु, छन्ददिवस मनाइनु र छन्द जागरण अभियान तथा छन्द( तरङ्ग जस्ता सहयोगी कार्यक्रम देखापर्नु आदि राम्रा पक्ष हुन् । छन्दलाई कवितामा मात्र नभएर जीवनशैलीका रूपमा पनि प्रयोग गर्नुपर्छ भन्ने उक्त अभियान शुरू भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले छन्ददिवसको मान्यता दिई कदर गरेको अवस्था छ ।
छन्दको प्रयोग केवल कविताको सौन्दर्यात्मक सिँगारपटार र आवरणात्मक तारतम्य मात्र नभएर भावगत उचाइको प्राप्ति र संवेदनाको अत्युत्तम प्रकटीकरण पनि हो भन्ने स्पष्ट बोध गर्न र गराउन लेखनाथ सफल भएका छन् । छन्दको स्वाभाविक र सहजीकरणात्मक प्रयोगका कुशलकर्मी भएकै कारण लेखनाथले परिष्कृत एवम् परिपाकपूर्ण लेखन, भाषिक परिष्कार, भावको सबलीकरण, आध्यात्मिकता, व्याकरणको अनुशासन र काव्यात्मक सौन्दर्य दिन सफल भएका हुन् ।
लेखनाथका कवितामा पाइने विषयगत सचेतता, अभिव्यक्तिगत संयमता, तर्कगत उच्चता र समयसापेक्षित जीवनबोध छन्दकै योगसाधनाबाट संभव भएकोमा शायद कसैको दुईमत नहोला । लेखनाथका कविताको अध्ययन गर्दा यस्तो लाग्छ कि उनले छन्दलाई पछ्याएका नभएर छन्दले उनलाई पछ्याएका छन् ।
लेखनाथ पौडेलले जुनबेला कवितालेखनको अभ्यास गरे त्यो बेला नेपाली कविता विधामा “गद्य“ शब्दको प्रयोग गरिदैनथ्यो । कविता र छन्द एक अर्काकाका पर्याय जस्ता थिए । शास्त्रीय छन्द नजान्नेले पनि शास्त्रीय छन्दसम्मत अभिव्यक्ति कविताका रूपमा सिर्जना गर्दथे । श्लोक निर्माण गर्न नसकेपनि सिलोक बनाउँथे । छन्दको पूरापूर प्रयोग गर्न नजाने पनि लय बिना कविता बन्दैन भन्ने सर्वस्वीकृत मान्यतालाई उनीहरूले स्वीकार गरेका थिए ।
छन्दलाई पूरा नजानी प्रयोग गर्दा छन्दले मागेको अभिव्यक्ति र अभिव्यक्तिले मागेको छन्दअनुरूप कविता सिर्जना हुन सक्तैनथ्यो । लेखनाथ पूर्वका प्रतिनिधि कविहरू( सुवानन्ददास, उदयानन्द अर्याल, वसन्त शर्मा, यदुनाथ पोखरेल, भानुभक्त आचार्य, मोतीराम भट्ट र शम्भुप्रसाद ढुङ्गेललगायतले आफ्ना कवितामा छन्दको जे जसरी प्रयोग गरेका छन् त्यसमा शास्त्रीय छन्दको राग त भेटिन्छ तर परिपाकता भेटिँदैन ।
लेखनाथपछिका उनकै समकालीन कविका रूपमा ख्याति पाएका सोमनाथ सिग्देल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ,धरणीधर कोइराला, पारसमणि प्रधान र गोपालप्रसाद रिमालहरूका कवितामा पनि कतै छन्दको अस्वाभाविक र जटिल प्रयोग, कतै छन्दको जबरजस्त प्रयोग, कतै छन्दोभङ्गता, कतै लयको मात्र प्रधानता, कतै विषयबस्तु र छन्दको तारतम्यतामा अमेल, कतै गद्यशैलीलाई कविताशैलीमा रूपान्तरण आदिका कारण कविताको भविष्य नै अन्यौलमा पर्ने संकेत रहेको पाइन्छ ।

उनले वि. स. २००८ सालमा “कविशिरोमणि“ को उपाधि प्राप्त गर्नुका पछाडिको मूल कारण छन्दोबद्ध काव्यसौन्दर्यको सर्वस्वीकृत विधानको निर्माण पनि हो । छन्दकविताको मानकीकरण गर्ने प्रथम निर्विकल्प स्रष्टाको रूपमा लेखनाथलाई नलिदा उनीमाथि अन्याय हुन्छ । वैयक्तिक गन्थन र भावावेग भन्दा युगसापेक्ष चिन्तन, जीवनजगतको उच्चतम उपयोग, मानवीय भाव जागृत गराउने अभिव्यक्ति र नैतिक उपदेशमूलक कविता सिर्जनामा छन्द प्रयोगको तारतम्यमा लेखनाथ कहीँकतै चुकेका छैनन् ।
कविताको लघु रूपदेखि बृहत् रूपसम्म उस्तै परिष्कृत प्रवाहमा छन्दको प्रयोग गर्नसक्नु लेखनाथको छन्दप्राप्ति र साधनाको प्रतिफल हो । छन्दको प्रकृति र विषयको गरिमाको उच्च मूल्याङ्कन नगरी अभिव्यक्ति ढोकामा नउभिने लेखनाथले प्रारम्भिक मार्ग त्यागेर हलन्त बहिष्कारको मार्गमा नहिँडेको भए उनी पूर्वज कविहरूझैं सामान्य स्रष्टाका रूपमा देखापर्थे, विशिष्टता केवल रहर मात्र हुन्थ्यो ।

समकालीनकै लहरमा रहेका माधव घिमिरेले भने लेखनाथको छन्दसाखलाई बचाउने गरी साधना गरेको पाइन्छ । लेखनाथले शैक्षिक योग्यता उच्च किसिमको हाँसिल गर्न नसकेका भएपनि छन्दकौशल कलामा धनी भएकै कारण उनी लक्ष्मीप्रसाद, बालकृष्ण र माधवप्रसाद घिमिरेलगायतका कविहरूका सम्मान्य गुरु बन्न सकेका हुन् ।
लेखनाथ पौडेल अर्घाैं,अर्चलेको उच्च प्राकृतिक मनोहारी सौन्दर्यका पेरिफेरी र उच्च नैतिक संस्कारको परिवारमा जन्मी हुर्केका तथा चण्डी, गङ्गा, गणेश स्तोत्र र अमरकोषको निख्खारपूर्ण अध्ययनका कारण पनि उत्कृष्ट छन्द शास्त्रीयतावादी कवि बनेका हुन् भन्न सकिन्छ । छन्द स्वयंमा एक संस्कार र काव्यसंस्कृति भएकाले पनि लेखनाथमा व्यावहारिक संस्कारको छापसँगै छन्दप्रतिको मोह बढेको हो । छन्दप्रतिको मोह नै कविता सिर्जनाको दर्बिलो चेष्टा हो ।
छन्दकविता लेखन दीर्घसाधनाको प्रतिफल हो । जोकोहीमा यस्तो क्षमता हुँदैन । लेखनाथले यो क्षमता वरदानका रूपमा प्राप्त गरेका थिए । जति धेरै छन्दसाधना गरिन्छ त्यति धेरै छन्द प्रयोगमा निख्खतरता आउँछ र अभिव्यक्ति सिलोकमा हराउनबाट बाँच्छ भन्ने तथ्यलाई राम्ररी बुझेकै कारण आज नेपाली कविताले प्रतिष्ठापूर्ण जीवन पाएको हो ।
वर्तमान युग नेपाली कविताको सन्दर्भमा छन्दको युग हो । पछिल्लो पुस्तालाई छन्दप्रति जागृत हुन लेखनाथका कविताले उच्च उत्प्रेरणा प्रदान गरेको तथ्य हामीले स्वीकार्नै पर्दछ । छन्दको सुसंस्कृत प्रयोगात्मक इतिहास निर्माणका उच्चतम् धरोहरका रूपमा लेखनाथले आफूलाई स्थापित गरिसकेको सन्दर्भमा वर्तमान पुस्ताले गर्व गरेकै छ ।
उनले वि. स. २००८ सालमा “कविशिरोमणि“ को उपाधि प्राप्त गर्नुका पछाडिको मूल कारण छन्दोबद्ध काव्यसौन्दर्यको सर्वस्वीकृत विधानको निर्माण पनि हो । छन्दकविताको मानकीकरण गर्ने प्रथम निर्विकल्प स्रष्टाको रूपमा लेखनाथलाई नलिदा उनीमाथि अन्याय हुन्छ । वैयक्तिक गन्थन र भावावेग भन्दा युगसापेक्ष चिन्तन, जीवनजगतको उच्चतम उपयोग, मानवीय भाव जागृत गराउने अभिव्यक्ति र नैतिक उपदेशमूलक कविता सिर्जनामा छन्द प्रयोगको तारतम्यमा लेखनाथ कहीँकतै चुकेका छैनन् ।
कविताको लघु रूपदेखि बृहत् रूपसम्म उस्तै परिष्कृत प्रवाहमा छन्दको प्रयोग गर्नसक्नु लेखनाथको छन्दप्राप्ति र साधनाको प्रतिफल हो । छन्दको प्रकृति र विषयको गरिमाको उच्च मूल्याङ्कन नगरी अभिव्यक्ति ढोकामा नउभिने लेखनाथले प्रारम्भिक मार्ग त्यागेर हलन्त बहिष्कारको मार्गमा नहिँडेको भए उनी पूर्वज कविहरूझैं सामान्य स्रष्टाका रूपमा देखापर्थे, विशिष्टता केवल रहर मात्र हुन्थ्यो ।
ध्वन्यात्मक भावविधान र हृदयसंवेद्य विचारप्रवाहको उचाइमा लेखनाथको नामाङ्कन हुनुको तथ्यपरक कारण पनि छन्दको प्रयोग नै हो । उनी अन्य विधामा लागेका भए वर्तमान उचाइको फेहरिस्त संभव थिएन । यो कुराको पुष्टि उनको गद्यलेखनबाट हुन्छ ।
उच्श्रृङ्खल श्रृङ्गारिक कविता लेखनको परम्परा हावी भैरहेको सन्दर्भको पेरिफेरीमा कविताकाव्य साधनामा देखापरेका लेखनाथमा छन्दप्राप्तिकै कारण संयमित एवम् परिष्कृतपूर्ण सुपाच्य श्रृङ्गारिक कविता रच्न सफल भएका थिए । तत्कालीन कविहरूले लेखनाथको लेखनशैली र भाव संप्रेषणको कलाका साथै छन्दको स्वाभाविक प्रयोग गर्ने प्रविधि सिकेका थिए भन्न सकिन्छ । यो कुराको पुष्टि लेखनाथको सिर्जनात्मक आगमनपछि उनका समकालीनहरूमा आएको विषयगत, भावगत, शैलीगत, र छन्दगत परिपाकताले पनि गर्दछ ।
अर्काे महत्वपूर्ण कुरा के पनि भन्न सकिन्छ भने लेखनाथ समकालीन कतिपय कविका छन्दगुरु पनि थिए । समकालीन कविहरूले समेत उनको प्रशंसा गरेका ऐतिहासिक दस्तावेजहरू थुप्रै पाइन्छन् । १४÷ १५ वर्षको उमेरदेखि ८२ वर्षको उमेरसम्म करीब ६७ वर्ष काव्यसाधनामा लागेका लेखनाथका एकसाथ “कविताकल्पद्रुम“ मा प्रकाशित “श्रृङ्गारपच्चीसी“ र “मानसाकर्णिका“ शीर्षकीय दुई श्रृङ्गारिक कवितामा प्रयुक्त छन्दको स्थिति हेर्दा पनि प्रष्ट हुन्छ कि उनी छन्दको सुदूर भविष्य समुज्ज्वल पार्न कवितासाधनामा लागेका हुन् ।
यस सन्दर्भमा यो पङ्क्तिकारद्वारा राष्ट्रव्यापी आन्दोलनका रूपमा संचालित “ छन्द बचाऊँ अभियान २०५३” को प्रमुख प्रेरणा पुरुषका रूपमा लेखनाथ रहेका छन् । कविशिरोमणि लेखनाथ पौडेल, छन्दशिरोमणि माधवप्रसाद घिमिरे र कविरत्न मुकुन्दशरण उपाध्यायलाई यो पङ्क्तिकारले आफ्ना लेखन आदर्श एवम् छन्दसाधनाका प्रेरक मानेको छ । छन्दोबद्ध कविता लेखनको तीव्र बृद्धि अहिले जे जसरी भैरहेको छ त्यसका पछाडि रहेका दुई मूल कारण लेखनाथका कविताको अध्ययनमा आएको लहर र छन्द बचाऊँ अभियान २०५३ को प्रभावकारी क्रियाशीलता हो भन्दा अत्युक्ति नहोला ।
लेखनाथको आगमनसँगै शास्त्रीय छन्दको प्रयोगमा उत्कर्षता आयो । छन्दकै कारण नेपाली कविताको परिष्कारवादी धाराका सूत्रधार र उन्नायक बन्न लेखनाथ सफल भएका हुन् । छन्द कवितामा युग बोलाउने र त्यसको नेतृत्व गर्न सक्ने विशिष्ट खुबी भएका लेखनाथ स्रष्टा हुन् । छन्दमा जनभावनाको अभिव्यक्ति दिन सकिन्न भन्ने हौवा वर्तमानमा समेत फिजाउने गरिन्छ । तर लेखनाथले आजभन्दा १ सय १० ÷ १५ वर्ष पहिले नै छन्दमा जीवन र जगतका सबै प्रकारका विषयसन्दर्भलाई उठाउन सकिन्छ भन्ने प्रयोगात्मक सन्देश दिएका थिए ।
सन्तस्रष्टा, कविऋषि एवम् काव्यतपसी तथा सूक्तिप्रयोगका सर्वाेच्च धरोहर लेखनाथले शान्त, वीर, रौद्र, वीभत्स, भयानक, अद्भूत, भक्ति, करुणलगायतका रस तथा अनुप्रास, यमक, श्लेष, उपमा, दृष्टान्त, रूपकलगायतका अलङ्कारको प्रयोग गर्दा छन्दको गरिमा र सर्वाेच्च प्रतिष्ठालाई खस्कन दिएका छैनन् । रस, अलङ्कार र छन्दको त्रिवेणीमा डुबुल्की मार्दाको परमानन्द आजका पाठकले लिइरहेका छन् । जीवनबोध, सकारात्मक मार्गनिर्देशन र शुद्धीकृत अभिव्यक्तिका अन्तररागमा छन्दको मधुर संयोजनबाटै लेखनाथको लेखकीय मानक पर्गेल्न सकिन्छ ।
लेखनाथ आफ्ना पूर्वज, समकालीन र उत्तरवर्ती कतिपय कविहरूका माझमा सबैभन्दा धेरै छन्द खेलाउने कवि पनि हुन् । उनका काव्यगुरु दधिराम मरासिनी थिए जसले उनलाई विविध छन्दको ज्ञान दिए । बाल्यकालदेखि नै लेखनाथ पूर्वीय आदर्श र मर्यादाका परिपालक तथा आध्यात्मिक परिपाटीका भोक्ता थिए । अनुशासन र शिष्टताका धनी समेत भएकाले छन्दप्रतिको मोह स्वभाविक पनि हो । उनले वार्णिक र मात्रिक दुबै शास्त्रीय छन्दका अतिरिक्त गीति लयमासमेत कविता रचेको पाइन्छ ।
लेखनाथले अनुष्टुप, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, पृथ्वी, स्वागता, स्रग्धरा, इन्द्रवंशा, वंशस्थ, इन्द्रवज्रा, उपेन्द्रवज्रा, वसन्ततिलका, मालिनी, वियोगिनी, उपजाति लगायतका वार्णिक छन्दको प्रयोग गरेका छन् । त्यस्तै गरी मात्रिक र वर्णमात्रिक छन्दमा पनि उनको दक्षता भेटिन्छ । मात्रिक छन्दमा समवृत्त र विषमवृत्त दुवै छन्दको प्रयोग उनले गरेका छन् । मुख्य कुरा त के छ भने लेखनाथले मात्रिक छन्दलाई पनि वार्णिक छन्द र लोक छन्दजस्तै अधिकतम लयात्मक तुल्याएका छन् । यो उनको छन्दसाधनाको प्रतिफल हो ।
उनले लोकलयलाई ग्रामीण परिवेशमा सीमित पार्न खोजेको पनि प्रतीत हुन्छ । लोकछन्दमा लेखनाथले खासै चासो नदेखाएका भएपनि ती छन्दप्रति सद्भावपूर्ण प्रेम दर्शाएको पाइन्छ । उनले झ्याउरे लयमा पनि काव्यात्मक अभिव्यक्ति नदिएका होइनन् । उनमा निहित गीतिचेतनाको कुरा गर्दा उनले आफ्ना “भर्तृहरि निर्वेद“ र “लक्ष्मीपूजा“ नाटकमा लोकलयका अनेक स्तरीय पङ्क्ति प्रयोग गरेको सन्दर्भ पनि स्मरणीय छ । गीतिलयका ती पङ्क्तिले तत्कृतिको ओज बढाएको पाइन्छ ।
कतिपय शास्त्रीय छन्द पछिल्लो पुस्ताले प्रयोग गर्न नसकेको स्थिति छ । कठीन छन्दमा समेत कविता सिर्जना गरेर लेखनाथले आफ्नो उच्चतम साधनासीप र योग्यता मात्र देखाएका छैनन् कि उनले साधना गर्न सकियो भने कुनै पनि छन्द कठिन छैनन् भन्ने सन्देश समेत दिएको प्रतीत हुन्छ जो पछिल्लो पुस्ताका लागि छन्दमा साधनामय वीरताको प्रदर्शन गर्ने सुऔसर र उत्कृष्ट प्रेरणा पनि हो ।
लेखनाथले विषयबस्तुको चाँजोपाँजो मिलाएर मात्र त्यसका निम्ति उपयोगी छन्द चयन गर्थे भन्ने तथ्य अघि सार्न सकिन्छ । विषयबस्तु अनुरूप छन्द प्रयोग भएन भने कविता सर्वसंवेद्य, बोधात्मक वा संप्रेषणीय नहुने सत्यलाई लेखनाथले राम्ररी बुझेका थिए । तरुण तपसीमा शिखरिणी छन्द र ऋतुविचारमा अनुष्टुप छन्दको प्रयोगले ती कृतिले उचाइ प्राप्त गरेका हुन् भन्न छन्दका मर्मज्ञलाई कठिन छैन ।
यसरी लेखनाथले आफ्ना काव्यात्मक अभिव्यक्तिको प्रकटीकरणका निम्ति वार्णिक, मात्रिक र लोक तीनै प्रकारका छन्दको प्रयोग गरेको देखिन्छ । धेरैलाई कठिन लाग्ने वार्णिक छन्द अन्तर्गतको २१ अक्षरीय स्रग्धरा छन्दको सहज प्रयोग गरी थुप्रै कविता सिर्जना गरेबाट पनि लेखनाथको छन्द प्रयोगको ऊर्जाशील शक्तिको प्रवाह बुझ्न सकिन्छ ।
पूर्वाेल्लिखित भनाइबाट प्रष्ट हुन्छ कि लेखनाथ भाव र भाषाका उत्कृष्ट संयोजक, भावगत तीक्ष्णता र अभिव्यक्तिगत मधुरताका खानी, नैतिकचेतना र युगबोधका सम्पदा,अलङ्कार र रसको समूचित प्रयोगकर्ता र परिष्कृत लेखनका प्रथम नेपाली स्रष्टा हुन् । यी सब वैशिष्ठ्यको आधार उनको शास्त्रीय छन्दप्रतिको प्रगाढ स्नेह हो । तसर्थ कविशिरोमणि लेखनाथ पौडेल काव्यसंस्कृति ( छन्द) का रक्षक हुन् भन्नुपर्छ । उनले पछिल्लो पुस्तालाई गरेको निर्देशन आज छन्द काव्यसिर्जनाको उत्कृष्ट आधार बनेको छ ।
( यो २०७६÷८÷२७ ,२८ ,२९ र ३० गते पोखरामा संचालित आइएमइ नेपाल लिटेरेरी फेस्टिवल अन्तर्गत ३० गते अर्चलेमा आयोजित विशेष कार्यक्रममा प्रस्तुत आलेखको पूर्ण पाठ हो )

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width