गुरु : जसले जीवनलाई प्रकाशमय बनाउन सघाउँछन्

प्रेमराज अधिकारी
असार १८, २०८०

गुरुब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नम: ।

ब्रह्मा, विष्णु, महेश्वर अर्थात् परम्ब्रह्माको समष्टिरुप गुरु हो । गुरु शब्द अत्यन्त गरिमामय छ । गुरुको अर्थ हुन्छ, अन्धकार नाश गरी प्रकाश दिलाउनु वा अज्ञानको नाश गरी ज्ञान दिलाउनु । हामीहरू सबै गुरुकै माध्यमबाट ज्ञान प्राप्त गर्दछौं । ज्ञानी हुन्छौं । गुरु नै हाम्रो जीवनको आधार हुनुहुन्छ । गुरुको स्थान सबैभन्दा उच्चकोटिको रहेको छ । आमाको जस्तो ममता, बाबाको जस्तो कर्तव्य, असल साथीको जस्तो प्रेम गुरुमा नै हुने हुँदा गुरुको स्थान उच्च कोटीको रहेको छ । गुरुले देखाएको मार्ग दर्शनमा रहेर सफलता प्राप्त गर्दै योग्य नागरिक बन्नु गुरुप्रतिको वास्तविक सम्मान हो । हरेक युगका महŒवपूर्ण तथा युगान्तकारी घटनाहरूमा गुरुकै मार्गदर्शनद्वारा ती युगका महापुरुषहरूले विजय प्राप्त गरेको देखिन्छ । न्याय र धर्मको पक्षमा शिष्यहरूले गरेका युद्धहरूमा जहिले पनि गुरु नैे कवच बनेर शिष्यहरूको रक्षार्थ उभिएको देखिन्छ । भगवान् श्री कृष्णलाई ‘बन्देकृष्ण जगतगुरु’ भनिन्छ । उहाँ पाण्डवहरूको गुरु नै हुनुहुन्छ । महाभारतको युद्धमा श्रीकृष्ण पाण्डवहरूको खासगरी अर्जुनको कवच भएर विजय प्राप्त गराउनु भयो । आदर्श पुरुष श्री रामचन्द्रले शिवजीलाई गुरु स्थापन गरी लंकाको युद्धमा विजय प्राप्त गर्नुभयो । गुरुको आशीर्वादले शिष्यहरूले सफलता प्राप्त गरेका अनेकन् उदाहरणहरू छन् । न्याय र धर्मको पक्षमा शिष्यहरूले गरेका युद्धहरूमा जहिले पनि गुरुहरूको साथ रहिरहँदो रहेछ । हाम्रो सनातन धर्म परम्पराअनुसार गुरु र ईश्वरलाई समानरुपले मान्ने प्रचलन छ । ईश्वर प्राप्त गर्ने मुक्ति प्राप्त गर्ने माध्यम नै गुरु मानिनु हुन्छ । निराकार निरञ्जन ब्रह्माको अनुभव गर्न आत्मबोध गर्न गुरुकै साथ चाहिन्छ । यसैले होला ‘गुरुब्रह्मा, गुरुविष्णु, गुरुदेव महेश्वर’ भनेको ब्रम्हनिष्ठ सन्त गुरुको माध्यम नै चाहिन्छ । यस लोकमा सुख शान्ति र मुक्ति पछि ईश्वर प्राप्ति । सत्य युगका गुरु ब्रह्मा, विष्णु, शिव (महेश्वर) मानिएका छन् । यिनीहरूका गुरु परब्रह्म परमात्मा मानिनुहुन्छ । ब्रह्मा, विष्णु, महेश्वरलाई नीति निर्देशन र कार्य विभाजन गर्ने काम परब्रह्मको रहेछ । यसअनुसार ब्रह्मा सृष्टिकर्ता विष्णु पालनकर्ता र महेश्वर संहारकर्ता मानिँदा रहेछन् ।

त्रेता युगका मेधावी वशिष्ठ गुरु हुन् । भगवान् श्री रामचन्द्र यिनै गुरुका शिष्य हुन् । राजा दशरथले आफ्ना छोरा रामचन्द्रलाई शिक्षा आर्जनको लागि गुरु वशिष्ठका साथ पठाएका रहेछन् । ज्ञान आर्जनको सिलसिलामा आदर्श पुरुष रामचन्द्र र मेधावी गुरु वशिष्ठको बीचमा भएको वार्ता लाभबाट योग वशिष्ठ सिर्जना भएको बुझिन्छ । योग वशिष्ठ महŒवपूर्ण ग्रन्थ भनिन्छ । उपनिषद्पछि वैदिक शास्त्रहरूमा यो ग्रन्थ उत्तम मानिएको छ । यो अजातवाद वा ब्रम्हवादको ग्रन्थ भनी स्वीकारिएको छ । यसैको सेरोफेरोमा गुरु वशिष्ठले रामचन्द्रलाई उपदेश गर्नु भएको छ ।

गुरु वशिष्ठ भन्नु हुन्छ हे राम यो संसार विचित्रको छ । घातक छ । यो भौतिक संसार भ्रमजाल हो । यसको वशमा पर्ने मानिसको जीवनको कुनै अर्थ हुँदैन । हे राम ! यो संसार अनर्थरुपि छ । यसबाट मुक्ति पाउन हृदय शुद्ध हुनुपदर्छ । धर्म अर्थ काम, मोक्ष विचारको दृढताले मात्र शुद्धी प्राप्त हुन्छ । विचार एउटा कल्पवृक्ष हो । यो शरीरता कालको गासमात्र हो । अहंकार दुखको कारण हो । दृष्य संसार भ्रमजाल हो ।

हे राम ! सर्वप्रथम हृदय शुद्ध गर तब मात्र विचारको उदय हुन्छ । विचार कल्पवृक्ष हो । सकारात्मक विचारले नै मानिसलाई महान बनाउँछ । नकारात्मक विचारले पतन गराउँछ ।

हालका विद्यालय, विश्वविद्यालयका गुरु (शिक्षक) हरूको व्यवहार न गुरुको जस्तो देखिन्छ, न विद्यार्थीहरूको गुरुप्रति हुनुपर्ने आदरभाव र अनुशासन

गुरु परम्परा सत्य युगको उपज हो । सत्य युगका गुरुहरूले सृष्टिको रचना र त्यसको व्यवस्थापन गरे । त्रेता युगका गुरु वशिष्टले भगवान् श्रीरामलाई माध्ययम बनाई संसारको वस्तुस्थिति हामीहरू सबैलाई ज्ञान गराउनु भयो । द्वापर युगका श्रीकृष्ण ‘कृष्णवन्दे जगत गुरु’ ले अधर्मको नाश स्वधर्मको स्थापना भूमिको भार ग्रहण गर्नुभयो । वेदव्यास उहाँकै हाराहारीका हुनुहुन्छ भन्दा अतियुक्ति नहोस् भन्ने ठानेको छु भगवान्का २४ अवतारमध्ये वेदव्यास पनि एक हुनुहुन्छ भने शास्त्रमा लेखिएको पाइन्छ । उहाँ त्रिकालदर्शी हुनुहुन्थ्यो । उहाँलाई कल्याण पुञ्ज भन्न सकिन्छ । मानव कल्याणको लागि वेदलाई सबैले बुझ्न सकून् भने र ऋग वेद, यजुर वेद सामवेद र अथर्ववेद ४ भागमा विभाजित गरी त्यसको व्यवस्था गर्नुभयो । यिनै ४ वेदका मन्त्रहरूबाट केता, केक्षा केलाई लोक कल्याणको लागि १८ पुराण, महाभारत, उपनिषद्, श्रीमद्भागवत महापुराणको रचना गर्नुभयो । महाभारतको युद्ध नहोस् भनेर व्यासजीले राजा धृतराष्ट्रसँग विनयपूर्वक अनुरोध गर्नुभयो र भन्नुभयो राजन् । यो विध्वंशकारी युद्धले नरसंहारको साथै वंशविनाश हुने कुरा निश्चित छ । रोक्नुहोस् ! पुत्र मोह त्याग्नुहोस् । यो युद्धको परिणाम अरुलाई भन्दा बढी घातक तपाईंलाई नै हुनेछ भन्दा वेदव्यासजीको सुझाव स्वीकार्नु भएन र भन्नुभयो:

जे भन्नु भो त्यो सब मान्दछु म ।
राम्रो नराम्रो पनि जान्दछु म ।।
यो विश्व नै हो सव स्वार्थ भूमि
त्यै विश्वमा बस्दछु के गरुँ म ?

वेदव्यासजीले भन्नु भो महाराज । बुझें, मैले मेरो सुझाव अस्वीकार गर्नुभयो । म तपाईंलाइ दिव्यचक्षु दिन्छ । यसैको सहायताले युद्धमा भएको नरसंंहार, विभत्स दृश्य, कोलाहाल वातावरण हेर्न, सुन्न सक्नु हुनेछ यदि तपाईंलाई सन्तोषी हुन्छ भने भनी दिव्य चक्षु दिएर महागुरु वेदव्यास आफ्नो बाटो लाग्नुभयो ।

ब्रह्मा, विष्णु, महेश्वर, परब्रम्ह सत्य युगका गुरु मानिनु हुन्छ भने त्रेता युगका गुरु वशिष्ठ, विश्वामित्र मानिनु हुन्छ । त्यस्तै देवताका गुरु बृहस्पति, दानवका गुरु शुक्राचार्य मानिन्छन् । द्वापर युगका गुरुहरूमा भगवान् श्रीकृष्णलाई नै मानिन्छ । उहाँ जगत्कै गुरु हुनुहुन्छ । त्यस्तै वेदव्यासजीको स्थान उच्च देखिन्छ । त्यसपछि राजनीति शास्त्रका गुरु भीष्म पितामह, नीति शास्त्रका गुरु विदुर, कुलगुरु कृपाचार्य, शस्त्रास्त्र विद्याका गुरु द्रोणाचार्य समेत अरु गुरुहरू पनि हुनुहुन्थ्यो होला ।

कलियुग सुरु भएको लगभग ५ हजार १ सय ५५ वर्ष भयो होला । यति नै भनी यकिन गर्न सकिरहेको छैन । १९९६ साल देखि २०८० सालसम्मको अवधिलाई मैले मेरो युग हो भनी ठानेको छु । यस युगका गुरुहरूको चर्चा गर्दा सर्वप्रथम मैले मान्ने मेरै आमा र बाबा हुनुुहुन्छ । मलाई आफ्नो काखमा राखेर बाबा मन बाबु भनी बाबा चिनाई दिने आमा नै मेरो गुरु हुनुहुन्छ । श्रीपञ्चमीको साइत जुराई मलाई काखमा राखी खरीपाटी लिएर कखरा सिकाउने मेरो बुबा नै मेरो महान् गुरु हुनुहुन्छ । उहाँहरूलाई मैले ब्रह्मा विष्णु महेश्वरसरह नै मान्दछु । दैनिक नमस्कार गर्दछु । सत्य वस्तु यही हो । यो भौतिक संसारदेखि वस्तुमात्र हो । धर्म, अर्थ, काम, मोक्षको पाठ सिकाउने प्रथम गुरु आमाबाबा नै भएकाले उहाँहरूलाई सबैले ईश्वरसरह मान्नुपर्छ भन्ने मेरो ठम्याइ हो ।

वर्तमान युग समयमा गुरुको परिभाषा गर्न त्यति सजिलो छ जस्तो मलाई लाग्दैन । किनकि हालका स्कुल कलेज विश्वविद्यालयहरूमा पढाउने शिक्षक (गुरु) हरूको व्यवहार न गुरुका जस्तो देखिन्छ न विद्यार्थीहरूको गुरुप्रति हुनुपर्ने सद्भाव अनुशासन नै देखिन्छ । यो त पैसा र ज्ञानको साटासाटजस्तो छ । यदाकदा वैदिक सनातन धर्मको रक्षार्थ गुरुकुल विद्यालय स्थापना गर्ने सदगुरुहरू पनि हुनुहोला । उहाँहरूलाई मेरो सम्मान छ । म साँघुरो घेराभित्र जन्मे हुर्केको हुँदा उहाँहरूको योगदानबारे उल्लेख गर्न असमर्थ छु ।

सौभाग्यवश नेपाल आमाका वरदपुत्र बाल ब्रह्मचारी ब्रह्मलीन हुनु भएका रामानन्द गिरीले २०५६ साल जेठ २१ गते दीपेन्द्र सभागृह पोखरा छैटौंं दिनको दिन दिनु भएको वेदान्त प्रवचनका केही अंश उल्लेख गर्न चाहन्छु । उहाँ भन्नुहुन्छ: ‘आत्म तत्वलाई साक्षात्कार गर्र्ने साधन मन हो । मन शुद्ध नभई आत्म ज्ञान प्राप्त हुँदैन । मानिसको जन्म विषय वासना, कामना, क्रोध र लोभमा भुलेर बस्न होइन । आत्मज्ञान गरी मोक्ष प्राप्त गर्नु हो । जीवनको कल्याण गर्नु हो ।

जीव र ब्रह्मको एकता नभैकन मानिस दु:खबाट छुटकारा पाउँदैनन् । जीव र ब्रह्मको अभेद हो भन्ने ज्ञान हुन जरुरी छ । ज्ञान नै मुक्तिको अचुक अस्त्र हो, म आनन्दस्वरुप हुँ । अद्वितिय स्वरुप हुँ भन्नेमा दृढ हुनुपर्दछ । संसारका अधिकांश मानिसहरू यही भौतिक शरीरलाई आत्मा मानिरहेका हुन्छन् । यो ठूलो भुल हो । भ्रम हो । मानिसले आफ्नो असलीस्वरुप जान्नुपर्दछ । असलीस्वरुप भनेकै आत्मा, हो शरीर हैन ।’ जयगुरु देव ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग