क्षयरोग: चुनौती र योजना

डा. सुप्रिया पौड्याल
चैत्र १०, २०७८

क्षयरोग नेपालमा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ । क्षयरोग हावाबाट सर्ने रोग हो । बिरामीले खोक्दा, हाच्छिउँ गर्दा, हाँस्दा, बोल्दा, गाउँदा निस्किने मसिना कणहरुमा रहेका क्षयरोगका किटाणुहरु श्वासप्रश्वासको माध्यमबाट स्वस्थ मानिसको फोक्सोमा प्रवेश गरी यो रोग लाग्ने गर्छ । रोग प्रतिरोध क्षमता कम भएका मानिसहरुमा यो रोग बढी देखिने गर्छ । क्षयरोगले फोक्सो, कलेजो, आन्द्रा, ग्रन्थीहरु, मिर्गौला, छाला, दिमाग, हड्डी, प्रजनन् अंग, आँखालगायत सबैजसो अंगहरुमा आक्रमण गर्न सक्छ । तर प्रमुख रुपमा हावाबाट सर्ने भएकोले फोक्सोको क्षयरोग नै मुख्य समस्याका रुपमा देखिन्छ ।

लक्षणहरु के–के हुन् ?
क्षयरोगले मुख्यतः फोक्सोमा आक्रमण गर्ने हुनाले बिरामीहरुमा दुई साताभन्दा बढी खोकी लाग्नु, साँझपख ज्वरो र पसिना आउनु, खाना अरुचि हुनु, तौल घट्नु र थकान हुनु, खकारमा रगत देखिनु, छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनुजस्ता लक्षण देखिन सक्छन् । शरीरका जुनसुकै अंगमा पनि (नङ र कपालबाहेक) क्षयरोग हुन सक्ने भएकोले लामो समय बिसन्चो हुँदा क्षयरोग पो हो कि भनेर सचेत भई चिकित्सकको सल्लाह र चेकअप गराउनु जरुरी हुन्छ । विशेषतः रोगप्रतिरोध क्षमता कम भएका र जोखिमयुक्त आचरण भएका मानिसमा क्षयरोग तीव्ररुपमा सर्ने र समस्या गराउने देखिन्छ । यस्तै उच्च जोखिममा बालबालिका, वृद्धवृद्धाहरु, स्वास्थ्यकर्मीहरु, एचआइभी संक्रमितहरु, क्यान्सर, मधुमेहका बिरामीहरु, चुरोट रक्सी सेवन गर्ने, भीडभाडमा बसोबास गर्ने र कुनै पनि दीर्घरोगका लागि लामो समय औषधी सेवन गर्ने बिरामीहरु पर्दछन् । बढ्दो अव्यवस्थित सहरीकरणका कारण सहरको भीडभाडमा बस्ने भएकोले आजकल सबैजसो नै क्षयरोगको जोखिममा पर्दछौं । त्यसैले लक्षण देखिए÷नदेखिए तापनि सबैजना नै स्वास्थ्यप्रति विशेष सचेत हुनु जरुरी छ ।

कहाँ र कसरी हुन्छ उपचार ?
फोक्सोको क्षयरोग खकार परीक्षणबाट पत्ता लगाइन्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत देशभरिका सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको निशुल्क खकार परीक्षण गरिन्छ । क्षयरोग प्रकारका अनुसार पानी जाँच, मासु जाँच र अन्य जाँचहरु पनि गराउनुपर्ने हुनसक्छ ।
क्षयरोग निदान भएपछि प्रकार हेरेर कम्तीमा ६ महिनादेखि २४ महिनासम्म क्षयरोग औषधी नियमित रुपमा सेवन गरेमा यो पूर्णतया निको हुन्छ । क्षयरोगको औषधी नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा डट्स सेन्टरबाट निशुल्क उपलब्ध गराएको छ । उपचारमा रहँदा तोकिएको भन्दा छिटो नै औषधी छोड्नाले कडा औषधी प्रतिरोधी क्षयरोग बढ्दै जानु क्षयरोग कार्यक्रमको प्रमुख चुनौती बनेको छ । त्यसैले एक पटक सुरु गरेपछि नियमित रुपमा तोकिएको समयसम्म प्रत्यक्ष निगरानीमा औषधी सेवन (डट्स–डाइरेक्टली अब्जर्ब ट्रिटमेन्ट सर्टकोर्स) गराइन्छ ।

क्षयरोगको अवस्था गण्डकी प्रदेशमा के छ ?
गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७७÷०८८ मा १ हजार ८ सय ६४ जना क्षयरोगका बिरामीहरु दर्ता भएका छन् । यसमा फोक्सोको क्षयरोगका बिरामीहरु १ हजार २ सय २६ (५५ प्रतिशत) र फोक्सोबाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोगका बिरामीहरु ६ सय ३८ (३४ प्रतिशत) रहेका छन् । सोही वर्ष क्षयरोगका कारणले ८९ जनाको मृत्यु भएको छ । ३७ जना औषधी प्रतिरोध क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका छन् । क्षयरोगको उपचार सफलता दर ९० प्रतिशतमा कायम रहेको छ ।

क्षयरोग निदान भएपछि प्रकार हेरेर कम्तीमा ६ महिनादेखि २४ महिनासम्म क्षयरोग औषधी नियमित रुपमा सेवन गरेमा यो पूर्णतया निको हुन्छ

गण्डकी प्रदेशमा ६ सय ४५ डट्स केन्द्रहरु, ३ वटा औषधी प्रतिरोध क्षयरोग केन्द्रहरु, १० वटा औषधी प्रतिरोध क्षयरोग उपचार उपकेन्द्रहरु, १ वटा डिआर होम, ८ वटा जिन स्पर्ट केन्द्रहरु र ६१ वटा दर्ता भएका माइक्रोस्कोपिक केन्द्रहरुबाट क्षयरोगको पहिचान, निदान तथा उपचार सेवाहरु प्रदान भइराखेको छ ।

कोरोनाले ल्याएको अवसर वा चुनौती ?
विगत २ वर्षदेखि संसारलाई आक्रान्त पारेको कोरोना महामारीका कारण क्षयरोगसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ठूलो चुनौतीको सामना गर्नुपरेको अवस्थामा क्षयरोगका बिरामीको संख्या घटेको देखिनुका स्पष्ट कारण खोज्नु जरुरी भएको छ । एकतर्फ मिल्दाजुल्दा लक्षण देखिने हुनाले क्षयरोगको लक्षण हुन सक्ने बिरामीहरु कोरोनाको त्रासका कारण जाँच नगर्नुले क्षयरोग लुकेको हुन सक्ने र भविष्यमा यसका कारणले ठूलो संख्यामा क्षयरोगको बिरामी बढ्न सक्ने देखिन्छ भने अर्कोतर्फ कोरोनाबाट सुरक्षित रहनका लागि लगाइने मास्क, सामाजिक दूरी, खोक्दा मुख नाक छोप्ने बानी र साबनुपानीले हात धुने जस्ता आचरणले पनि क्षयरोग सर्ने कम भएको हुन सक्ने देखिन्छ । अर्कोतर्फ भने कोरोनाका कारण घरभित्र बस्न बाध्य मानिसबीच एक जनालाई भएमा बन्द घर कोठाभित्र बस्दा अरुलाई सर्न सक्ने सम्भावना पनि त्यतिकै छ । त्यसैले कोरोना महामारीलाई व्यवस्थित गर्दै जोखिमयुक्त वर्गमा क्षयरोगको खोजपड्ताल कार्यक्रम बृहत् रुपमा गर्नु जरुरी छ । त्यसैले कोरोना महामारीका कारणले केही सुषुप्त बनाइदिएको क्षयरोग नियन्त्रण कार्यक्रममा बिरामीहरु केही घटेको जस्तो देखिनु भ्रम हो वा यथार्थ भनेर आगामी दिनमा सचेत रहन जरुरी देखिन्छ । मास्क लगाउने, सामाजिक दूरी र हात धुनेजस्ता आचरण कायम राख्यौं भने धेरै हदसम्म क्षयरोग समुदायमा फैलिन कम हुने निश्चित छ ।

आगामी लक्ष्य र हाम्रो जिम्मेवारी
नेपालले सन् २०१६ बाट विश्व स्वास्थ्य संगठनले अंगिकार गरेको टिबी अन्त्य रणनीति अवलम्बन गरेको छ । यही अनुरुप राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमले सन् २०५० सम्म नेपाललाई क्षयरोगविहीन नेपाल बनाउने परिकल्पना राखेको छ । सन् २०५० सम्ममा क्षयरोगलाई निवारण (१ जना प्रति १० लाख जनसंख्या) गर्ने र क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाई रोग सर्ने प्रक्रियालाई रोकी सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको दीर्घकालीन लक्ष्य रहेको छ । यसका लागि सम्पूर्ण गैरसरकारी संस्था, दातृनिकाय तथा सरोकारवाला निकायको समन्वय र सहकार्य जरुरी छ । लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले नवीनतम् क्रियाकलापहरु समावेश गरी राष्ट्रिय रणनीतिक योजना २०७८/०७९–२०८२/०८३ तयार गरेको छ । तिनै नवीनतम् क्रियाकलापमध्ये क्षयरोगमुक्त नेपाल अभियान सञ्चालन गर्न निर्देशिका÷मार्गदर्शन जारी गरिएको छ । जसमा क्षयरोग पहिचान, निदान, रोकथाम, उपचार, हेरचाह तथा सहयोगसम्बन्धी क्रियाकलापहरुमा प्रदेश सरकार, स्थानीय तह, अन्तर मन्त्रालयसँगको समन्वय तथा सहकार्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, राजनीतिक नेतृत्व, शिक्षक तथा विद्यार्थी, बुद्धिजीवी, स्वयंसेवक, क्षयरोग प्रभावित व्यक्ति तथा तिनका परिवार र समुदायलाई जवाफदेही बनाउँदै क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
तसर्थ प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको क्षयरोगको पहिचान, निदान र उपचार तथा रोकथामका लागि सहयोग गर्दै हामी सबैले शंकास्पद बिरामीलाई तुरुन्तै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गरौं र उपचारमा रहेका बिरामीलाई पूरा उपचार गर्न पनि उत्प्रेरित गरौं । स्वास्थ्य आचरणको पालना गरौं र सन्तुलित आहार गरी सफा, वातावरणका लागि आफ्नै क्षमताबाट सबैले पहल ग¥यौं भने क्षयरोगमुक्त नेपालको परिकल्पना साकार पार्न सक्षम हुनेछौं र भोलिको पिंढीले क्षयरोगबाट आक्रान्त हुनुपर्ने छैन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width