एघारौं स्मृति दिवस : सेती नदीको त्यो बेमौसमी बाढी

विनोदमोहन आचार्य
वैशाख २३, २०८०

नेपालका थोरैमध्येका सुन्दर सहर अथवा पर्यटकीय नगरीका रुपमा संसारभर प्रसिद्धि पाएको पोखरा । प्राकृतिक सुन्दरताको दृष्टिले पोखरा र आसपासका ग्रामीण भेग पनि उत्तिकै रमणीय मानिन्छ ।

पोखरा आसपासका गाउँहरूबाट छर्लंगै देखिने उत्तरतर्फको पहाडमा विराजमान, शिरको टोपीझैं लाग्ने मनमोहक माछापुच्छ्रे हिमालको आँगनीमा तथा यस्तै चित्ताकर्षक अन्नपूर्ण हिमशृंखलाको छत्रछायाँमा दायाँबायाँ नदीनाला भएको एउटा रमणीय सुन्दर उपत्यका हो भुर्जुङ खोला गाउँ ।

भुर्जुङखोला पुग्न पोखराको भीमकालीपाटन बगरदेखि करिब २० किमी दूरी पार गर्नुपर्दछ । यसै गाउँदेखि ६ किमी दूरीमा सेती नदीको तटमा सम्म चौर भएको, वरिपरि हरियाली पाखापखेरा भएको एउटा सुन्दर खोंच छ । जसलाई स्थानीय चलनचल्तीका भाषामा खारपानी पनि भन्ने गरिन्छ । सेती नदीको किनारामा निस्कने तातोपानी नुनिलो खालको हुने हुनाले खारपानी भन्ने गरिएको हो ।

यसै ठाउँमा सेती नदीको दुवै किनारामा हिउँदमा तातोपानी निस्किने भएकाले सो ठाउँलाई यदाकदा तातोपानी पनि भन्ने गरिन्छ । जहाँ हरेक वर्ष माघे संक्रान्तिका दिन खारपानी मेला लाग्ने गर्दछ । केही वर्ष अघिसम्म त वनभोज पार्क, होटल पसल रहेको कारण निकैसम्म त वनभोज पार्क होटल पसल रहेका कारण निकै चहलपहल हुने गरेको झलक सम्झना हाम्रो मानसपटमा अझैं ताजा नै छ ।

प्रसंग हो, आजभन्दा १० वर्ष अघि घटित क्रूर प्राकृतिक प्रक्रोपको जसलाई अर्काे शब्दमा विनाशकारी बाढी पनि भन्ने गरिन्छ । जुन आजैको दिन थियो अर्थात् संवत् २०६९ वैशाख २३ गते शनिबारको दिन बिहान करिब सवा ९ बजेतिरको समय हुँदो हो । जुन समयमा एकाएक कोलाहल, भागदौड, रुवाबासी मच्चिन पुग्यो । केही बेर अघिसम्म शान्त तबरमा आफ्नै गतिमा सुसाउँदै बगिरहेको सेती नदी हेर्दाहेर्दै पहाडै बोकेर उर्लिएको देखियो । देख्दादेख्दै, हेर्दाहेर्दै निमेषभरमै त्यो मनोरम सुन्दर स्थल खारपानी बजार ढुंगे बगर अथवा मरुभूमिमा परिणत भयो ।

बाढीका कारण झण्डै ६५ जना मानिस र त्यति नै संख्यामा जनवारहरू पनि हताहत हुन पुगे । डेढ दर्जन जति ससाना होटल पसल, टहराहरू र त्यत्तिकै संख्यामा सवारी साधनहरू सो बाढीले सोहोरेर कता लग्यो, लग्यो र त्यसै बखत गठित बाढी व्यवस्थापन समितिले ज्ञातअज्ञात ६५ जनालाई मृत घोषित गरेको थियो । कतिसम्म हृदयविदारक दृष्य देखियो भने बाढी सुकेपछिको बगर एवं सेती नदी तटमा यत्रतत्र छरिएर रहेका करिब ४० जना जतिको कसेको हात, कसैको खुट्टा मात्र त कसैको टाउकोमात्र फेला प¥यो ।

बाढीकै कारण २ विद्यालय भवन, डेढ दर्जन स्थानीय पखेरीमा रहेका घरटहरा, केही विद्युत्का पोलहरू, ५ सय मिटर जति सडक, डेढ सय रोपनीको खेतीपाती, पुरुञ्चौर सेती फाँटको गाईगोठ, हेमजा मसिना गाउँका केही घरटहरा, हेमजा (पोखरा) बागलुङ सडक खण्डको केही भागसमेत जोखिमा थियो ।

अचम्मै लाग्ने कुरा के भने, आकाशतिर हेर्दा न कुनै बादल छ, न पाखा पखेरामा हुस्सु कुहिरो नै । न हावामा शीत वा पानीको थोपा छिटा नै छ । टहटह घाम लागेर वातावरण नै घमाइलो देखिन्थ्यो । यस्तो सफा मौसममा पनि सेती नदीमा एकाएक बाढी उर्लेर आउनु भनेको ताजुब लाग्ने र अकल्पनीय कुरा भएन र ? यथार्थमा त्यो बेमौसमी बाढी हो भन्दा अतिशयोक्ति नहोला ।

उक्त ठाउँमा बाढी आउनेबेलासम्म जुन चहलहपल थियो, त्यस परिदृश्यलाई यहाँनेर संक्षेपमा (शब्दमा) चित्रण गर्नु सान्दर्भिक होला नै ।

खारपानी परिसर नजिकैबाट अहोरात्र बग्ने गरेको सो सेती नदीको दुवै किनारका तातोपानी कुण्डमा केही व्यक्तिहरू डुबुल्की मारी आनन्द लिइरहेका थिए । जहाँ बाथका रोगीहरू र आस्थाका तीर्थालुहरू नुहाउन आउने गर्दथे । कुनै जोडी, कोही किशोरकिशोरीहरू सेती नदीमाथिको झोलुंगे पुलमा त कोही नदीतटको ठूला ढुंगामा चढेर आफ्नो अनुकूलताका दृश्यहरू क्यामरामा कैद गर्न व्यस्त देखिन्थे ।

कुनै जोडी नदी तटमै चिसोपानी एक अर्कालाई छ्याप्दै मनोरञ्जन लिइरहेका थिए । होटल पसलमा मानिसहरूको भीडभाड हुँदै थियो । वनभोजका लागि पोखरा र आसपासका गाउँहरूबाट ठूला साना गाडीमा मानिसहरू आउनेक्रम जारी थियो । झुण्डझुण्डमा मानिसहरू विभक्त भई कोही सहभागीहरू त सांगीतिक धुनमा झुलिरहेकोे भान हुन्थ्यो ।

त्यस दिन शनिबार बिदा परेकाले खारपानी क्षेत्रमा बिहान ८ बजेदेखि नै चहलपहल बढिरहेको थियो । सयौं मजदुरहरू अलि पर ढुंगा, गिट्टी, बालुवा आ–आफ्नो सवारी टेक्टर, ट्रिपरमा लोड गर्न व्यस्त देखिन्थे ।
यसरी अहोरात्र एकनाश सुसाइरहने सेती नदी र सो नदीको तट, हरियो घाँसेमैदान, हरियाली पाखापखेरी, मानिसहरूको आ–आफ्नो झुण्ड, आ–आफ्नै धुनमा व्यस्त रहेका बखत रमणीय मनोरञ्जनस्थलमा एकाएक कोलाहल, भागदौड, रुवाबासी मच्चिनु भनेको त्यस ठाउँमा अनायासै कुनै ठूलो आपत्विपत् आइलाग्यो भनी सहजै अनुमान गर्न सकिथ्यो ।

सेती नदीमा विनाशकारी बाढी आएको आज १ दशकभन्दा बढी भइसकेको छ । प्रकृतिको लीला, कति क्रूर, कति निर्दयी । समयको गति छिटो बित्दै गए पनि त्यो बाढीको असर र प्रभाव अझै बल्झिरहेको छ पीडितहरूमा । त्यो सुन्दर र मनोरञ्जनस्थल खारपानी क्षेत्र यतिखेर सुनसान छ । सेती नदी स्वयं पनि विरह झैं एकनाश सुसाइरहेको प्रतीत हुन्छ ।

उक्त बेमौसमी बाढीका कारण ज्यान गुमाउन पुगेकाहरूमा प्राय मजदुरी गरी दैनिक गर्जो टार्नेहरू बढी थिए । जाने त गए, जसले अकालमा ज्यान गुमाए । तर बाँचेकाहरू, मृतक वा बेपत्ता हुनेहरूका आफन्तजनमा खुसी र भविष्य सो बाढीले लुटेर लग्यो । जसका आफन्तजनका परिवारजनहरू हरेक दिनलाई सिंगो जीवन बाँचेर सकसैसकमा आफ्नै सिमानामा बाँधिएर बाँच्नु परिरहेको छ । जुन कस्तो विवशता हो ? कस्तो नियति हो ?

भनिन्छ, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । कर्णालीमा गाउँघर मेलापातमा गाइने विरही गीतको एउटा सानो अंश याद आयो–
‘चारैतिर सम्म मैदान देख्छु
तर बिसाउन्या ठाउँ छैन
हृदयभरि चोटैचोट छ
तर देखाउन्या घाउ छै ।’

एकैछिनलाई प्रसंग बदलौं । बाढीले पारेको प्रभाव र असर अर्थात् दुखको पाटो यहाँनेर थाती राखौं । कुरा के हो भने यतिखेर भुर्जुङखोला उपत्यका र आसपासका गाउँ पाखापखेरीमा कृषिजन्य व्यवसाय फस्टाउँदै गएको छ । बाटोघाटो, पुलपुलेसा छन् । केही बन्दै पनि छन् । माथि सार्दीखोलाको तटमा अन्नपूर्ण क्षेत्र दीप रेन्बो ट्राउट माछा फार्म र भुर्जुङ खोलामा चहलपहल समेत बढाइदिएको छ । रिसोर्टका कारण माछा खाने, घुम्ने पारखीहरूको प्राय दिनहुँ भीड लाग्ने गरेको छ । यस गाउँको चिनारी पनि बढाइदिएको छ ।

आज वैशाख २३ गते, शनिबारको दिन । अर्थात् आजैको दिनमा सेतीमा बाढी आएको थियो । बाढीमा ज्यान गुमाउने वा बेपत्ता हुनेहरूको आज ११ औं वार्षिकी स्मृति दिवस । यस अवसरमा ज्ञात अज्ञात मृतक सबैप्रति भावपूर्ण श्रद्धाञ्जली ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग