अस्ताए नेपाली वाङ्मयका क्याप्टेनः रत्नशमशेर थापा

असफल गौतम
जेठ १७, २०७७

२०१० सालको आसपासमा साँघुरो रहेको गीति क्षेत्र त्यसमा पनि तत्कालीन परिवेशका कारण लेखनसँग डराउनु पथ्र्याे । सिर्जनाको हत्या मात्रै होइन नष्ट हुन्थ्यो । रेडियो नेपालले बन्देज गरेका गीत ‘सुसाइट नोट’मा परिणत हुन्थे । पञ्चायतले नेपाली साहित्यलाई माथि उठ्नै दिएको थिएन । अञ्चलाधीशले स्वीकृत गरेका साहित्यले मात्र प्रकाशनको मौका पाउँथे । नेपाली गीत अभावले हिन्दी गीत गाउनु परेको पीडाले थापालाई पोल्थ्यो । त्यो अवस्थामा पनि राजा महेन्द्रले गराएको कवि सम्मेलन सम्झने थापा आज लेखन यात्रा फराकिलो भए तापनि स्तरीय नहुँदा दुःखीत देखिन्छन् । यो पछिल्लो पुस्ताका लागि चुनौती र समस्याको कुरा हो ।

सन्दर्भ

आफूले नखाएर पनि पाहुनालाई मीठो खुवाउनुपर्छ । हामीलाई पितापुर्खाले सिकाएको संस्कार हो । यो संस्कार सिकेर आउँदै गर्दा, नेपाली भाषा र साहित्यको विद्यार्थीले पाहुनालाई मीठो खुवाउने बहानामा आत्म मारेर मुख मिठ्याउँदै हिँडाउन पङ्क्तिकारको स्वाभिमान्ले दिँदैन । यसर्थ सम्मानित साधकको चिनारी दिने क्रममा नेपाली साहित्यको नाती पुस्ता सम्मानित हुने सर्जकका सिर्जनाका सामथ्र्यले तय गरेको धरातलमा उभिएर दुई चार कुरा बोल्ने पर्यत्न गरिरहेको छ । यस क्रममा कथमकदाचित ‘रुक्मिणा–नारायणदत्त मुक्तकमणि पुरस्कार–२०७६’ बाट सम्मानित हुने स्रष्टाको सामथ्र्यलाई आँच आउने सन्दर्भ खडा भएछ भने आइलाग्ने भुलचुकका लागि फेवाको जस्तो छाती बनाउन पङ्क्तिकार चुक्ने छैन भन्र्दै आज २०७६ वैशाख ७ गते शनिवारका दिन आयोजित पुरस्कार अर्पण समारोह बीच प्रतिभा छनौट समितिको सदस्य सचिवका हैसियतले थापाको स्रष्टा परिचय यहाँ प्रस्तुत गर्दैछु ।

विषय प्रवेश

पिता तीर्थ शमशेर र माता तुलाकुमारी थापाका कोखबाट १९९६ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मेका रत्नशमशेर थापाको लक्षण हुने बिरुवाको चिल्लो पात झैँ बालादिनबाटै सुवासिलो थियो । उनी उमेरले १५ वर्षमा टेको लाग्दै गर्दा २०११ सालमा ‘भिरालो’ हस्तलिखित पत्रिका सम्पादन गरेर पत्रकारितामासमेत लागेका थिए । नेपालमा मुक्तक लेखन शृङ्खला २०१२ सालको दशकमै शुरु भए पनि थापाले २०१८ सालमा आठवटा फुटकर मुक्तक प्रकाशन गरेर लेखनमा लागेको अध्ययनका क्रममा विभिन्न स्रोतमा फेला पार्न सकिन्छ । यी सबै सन्दर्भ उनको आजको समृद्ध वाङ्मयिक जिन्दगीको आधारशीला खडा गर्ने खुड्किला थिए । त्यसैको धरातलमा आज आफूलाई सबैको नजर पर्ने रत्न बनाउन सफल छन्, रत्नशमशेर थापा ।

अल्लारे जीवनको बादल फारेर अगाडि बढ्दै गर्दा उमेरको २४ औं वसन्तमा उनले ‘ओभानो सिउँदो’ गीतिसङ्ग्रह नेपाली वाङ्मयका क्षेत्रमा अर्पण गरे । अङ्ग्रेजी पढ्ने, नेपाली साहित्यलाई माया गर्ने थापाले विद्यालयको औपचारिक शिक्षालाई स्नातकोत्तर पु¥याउँदै वाङ्मयिक शिक्षालाई क्रमशः सोही उचाई प्रदान गर्दै लगे । तत्कालीन समयमा खुलेर लेख्न पाइँदैनथ्यो, लेखेका रचना प्रकाशन गर्ने माध्यम थिएनन् । आफू जस्तै स्रष्टाका सिर्जनालाई मञ्च प्रदान गर्न साहित्य समाजको पथपर्दथक ठान्ने थापा देशमा झुट बोल्ने व्यापारी र राजनेता जस्तो साहित्य हुन हुँदैन भनेर ‘सिउँडी’ साहित्यिक पत्रिका प्रकाशन गर्न पुगे ।

हिजो २०१० सालको आसपासमा साँघुरो रहेको गीति क्षेत्र त्यसमा पनि तत्कालीन परिवेशका कारण लेखनसँग डराउनु पथ्र्याे । सिर्जनाको हत्या मात्रै होइन नष्ट हुन्थ्यो । रेडियो नेपालले बन्देज गरेका गीत ‘सुसाइट नोट’मा परिणत हुन्थे । पञ्चायतले नेपाली साहित्यलाई माथि उठ्नै दिएको थिएन । अञ्चलाधीशले स्वीकृत गरेका साहित्यले मात्र प्रकाशनको मौका पाउँथे । नेपाली गीत अभावले हिन्दी गीत गाउनु परेको पीडाले थापालाई पोल्थ्यो । त्यो अवस्थामा पनि राजा महेन्द्रले गराएको कवि सम्मेलन सम्झने थापा आज लेखन यात्रा फराकिलो भए तापनि स्तरीय नहुँदा दुःखीत देखिन्छन् । यो पछिल्लो पुस्ताका लागि चुनौती र समस्याको कुरा हो ।

लेखनका सन्दर्भमा सही समालोचना हुन नसकेको र समालोचना भए सम्बन्ध बिग्रने डरले त्यो क्षेत्रमा नलागेको बताउने उनी पछिल्लो समय बजारमा आएका सस्ता गीतको भेलसँग चिन्तित छन् । समालोचना नलेखे पनि कुनै समयका समकालीन भूपीसँगको उठबस सम्झन्छन् । कहिले राजा महेन्द्रले ६ वटा डुङ्गा जोडेर नारायणी नदीमा कवि सम्मेलन गराएको स्मरण गर्दछन् । कहिले जापानी छन्दका हाइकु र ताङका लेख्छन् । यसरी कलम अगाडि बढ्दै जाँदा उनका कविता, गीत र मुक्तक विधाले बिस्तारै तिख्खर स्वाद दिन थाल्छन् ।

देशमा भ्रष्टाचारीहरू स्वाभिमानका गाना गाउँछन् । सत्ता लिप्तहरू सधैँ समृद्धिका नारा लाउँछन् । भत्तुवाहरू भान्छे हुन्छन् । मालिकको विचल्ली हुन्छ । हो, त्यही बेला फिरङ्गी र बेइमानी संस्कारले वाहवाही पाउँछ । पङ्क्तिकारले भोगेको वर्तमानको वास्तविकता यही हो । तर, रत्नशमशेर एउटा यस्तो जिउँदो इतिहास हो, जसले समयको कालक्रमानुसार आएका परिवर्तनसँग जुधेँर पञ्चायत भोग्यो, बहुदल भोग्यो, राजतन्त्र भोग्यो, लोकतन्त्र सुन्यो, हेर्‍यो । त्यसैको ह्याङओभरले पात्तिएका र मात्तिएकाहरूका नमीठा र झुसिला डकारलाई नजिकबाट नियाल्ने एक भूक्तभोगी हुँदै गर्दा साच्चै रत्नशमशेर थापालाई वाङ्मयिक सिद्धि प्राप्तिमा यी र यस्तै व्यवस्था सार्थक बने कि ? भन्न सकिन्छ ।

पोखरामा बसेर नेपाली मुक्तक लेखन परम्परालाई हेर्दै, मुक्तक लेखनको वर्तमान अवस्थालाई सिंहावलोकन गर्दै गर्दा पोखराकै सन्दर्भमा २०७३ जेठको पहिलो हप्ता मुक्तककार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तकमञ्च पोखराद्वारा सञ्चालित ११ हजार एक सय ११ राशीको ‘राष्ट्रिय मुक्तक पुरस्कार’ तत्कालीन नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको बाहुलीबाट थापा सम्मानित हुँदै गर्दा पनि पङ्क्तिकार दर्शकदीर्घामै थियो ।

पङ्क्तिकारले हिजो तातेताते बेलामै सुनेको स्वदेश गान
‘पन्छीमा डाँफे राम्रो फूलमा लालीगुराँस ।
हामीलाई लाग्छ राम्रो नेपाली धरती आकाश ।। ’

यो मात्र होइन, नारायण गोपाल र तारादेवीको स्वरमा रहेको ‘ए कान्छा, ठट्टैमा यो वैंश जान लाग्यो ।’ जस्ता गीत रेडियोमा सुन्दै गर्दा रेडियो भित्रका मान्छे कस्ता होलान् ? देख्न पाए भन्ने हुटहुटी नभएको होइन, यसरी मन जित्दै गएका थापाले कहिले,

‘म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ,
मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ ।’
भन्छन् त कहिले,
‘सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ ।
सुकाई मूल फूल निमोठी फ्याली गयौ ।’

भन्छन्, जसका कारण भेटौं–भेटौं र भेट्न लागेको प्यास मेटौं–मेटौंको हुटहुटी उनका सिर्जनाले नै गराउथे । किनकि उनका सिर्जनाले नेपाली गौरव र पौरख मात्र होइन, जीवनबोध गराएका थिए । हिजोको उमेरजन्य बालादिन र आज नेपाली साहित्यको बालादिनमा तातेताते गर्दै गर्दा पङ्क्तिकारले सुनेको

‘कर्कले पातको पानी हो है लाली जोवन ।
सम्झी–सम्झी लाउन माया नगर दोमन ।।’

यी सबै सिर्जनाका समय, सन्दर्भ, विषयवस्तु, भावभूमि, भाषाशैली र उद्देश्यमा कुनै कमी नआउँदा यस्तै सामथ्र्यले साच्चै रत्न शमशेर सबैका रत्न बनेका छन् ।

२०१८ सालको दशकदेखि कृति प्रकाशन यात्रामा लागेका थापाका ‘ओभानो सिउँदो’ (२०२०), ‘रुझेको परेला’ (२०२५), ‘चकलाभरिको घाम’ (२०३६), ‘दोभान’ (२०४२), ‘अतित सम्झदै’ (२०४२), ‘जीवनका लहरहरू’ (२०५३), ‘ताराका काँचा रङ्ग’ (२०६०) लगायतका कृति चर्चामा छन् । यो मात्रै होइन, उनका गीतमा नारायण गोपाल, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, शक्ति बल्लभ, माणिकरत्न, नातिकाजी र फत्तेमान जस्ता कालजयी साधकले स्वर–सङ्गीत भरेर साच्चै गीतलाई कालजयी बनाएका छन् । नातिकाजीका सङ्गीतमा रहेका झण्डै देढ दर्जन गीत कोही योगेश वैद्य मन पराउँछन्, कोही विष्णु श्रेष्ठ, कोही माणिकरत्न, कोही रमेश ताम्राकार त कोही पीएल श्रेष्ठ उनका शब्दमा स्वर भर्न लालाहित हुन्छन् । यो मात्रै होइन, थापाका गीत हिजो तारादेवीलाई पनि उत्तिकै प्रिय थिए आज, रुवी जोशीका लागि पनि । किन ? भन्दा जहाँ राष्ट्र–राष्ट्रियता, हर्ष–विष्मात, दुःख–सुख, हाँसो–रोदन, मिलन–विछोड, प्रकृति–संस्कृति, देश, काल र परिवेश सबै विषयवस्तुको सार्थक संयोजन छ । त्यसैले रुचाइन्छन् उनका सिर्जनाहरू । कर्म गर फलको आशा नगर भन्ने स्वभावका थापाको शब्द, नारायण गोपालको स्वर–सङ्गीतमा रहेको

‘स्वर्गकी रानी मायाकी खानी, नजाऊ तर्केर
लाजै नमानी रिसाउने बानी, छाडी आउ फर्केर
रेशमी घुम्टो हाली हो हाली, ओंठमा हल्का लाली
प्रीतिका दीप बाली, हो.. बदामी आँखा काली ।’

गीत श्रोताको अनुरोधमा दशौं हजार पटक रेडियो नेपालबाट बजे तापनि त्यो गीतबाट एक पैसा नपाउँदा पनि थापालाई चिन्ता थिएन । तर लेखेरै बाँचेका थिए । हिजो जब दमिनी भीरले मदन पुरस्कार पाउँदै थियो, तब थापाले पनि जगदम्बाश्री पुरस्कार पाउँदै थिए । त्यो बेला पङ्क्तिकारलाई लागेको थियो, रत्नशमशेरका सिर्जनाको सम्मान हुन थाल्यो । आज समयको कालक्रमले त्यो भन्दा धेरै फराकिलो यात्रामा थापाका सिर्जनाको सम्मान भएको देखाएको छ । त्यो मात्रै होइन वाङ्मयका प्रायः विधाबाट पुरस्कृत र सम्मानित थापा छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, भीमदर्शन रोक्का पुरस्कार, मुक्ति पुरस्कार, नातीकाजी सङ्गीत पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय मुक्तक पुरस्कार, भूपी काव्य पुरस्कारसहित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान–पुरस्कारबाट विभूषित छन् । उनकै भाषालाई सापटी लिएर भन्दा उनले ‘पुरस्कार र सम्मान नपाएका कुनै पनि विधा छैनन् ।’

सङ्गत विनाको फल भनिन्छन्, महाकवि लक्ष्मीप्रसाद देवकोटाका २२ दिने चेला बनेका थापाको सङ्गत नारायणगोपाल, गोपाल योञ्जन, द्वारिका श्रेष्ठ, विशेश्वरप्रसाद कोइराला, केदारमान व्यथित, नातिकाजी, प्रेमध्वज प्रधान, माणिकरत्न, तारादेवीसँग मात्रै होइन, कविताका शिखरपुरुष भूपी शेरचनसँग पनि थियो । शेरचनका बारेमा समकालीनमा लामो लेख लेखेर उनलाई नरम र आफूलाई कडा स्वभावको ठान्ने थापाको आनीबानी कडा छ या नरम पङ्क्तिकारको चाँसोको विषय होइन । तर उनका सिर्जनाको सामथ्र्य कडा छ त्यसैले उनी स्वाभिमानका साथ दाल भात खाएर सोही रूपमा बाँचेका छन् भन्नेमा दुई मत राख्नुपर्ने देखिँदैन । किनकि, जसको गतिलो प्रमाण एउटै विधामा पोखरामा सञ्चालन भएका प्रायः पुरस्कार थापाको काँधमा पर्नु कुनै वेलाका नाटककार, कुनै वेलाका भलिबल र फुटबलका क्याप्टेन वर्तमानमा नेपाली वाङ्मयका असल क्याप्टेन हुन । त्यसैले मुक्तकमणि राष्ट्रिय पुरस्कारले फेरि उनको पल्ला भारी बनाउने धृष्टता भइसकेको छ ।

आज थापा सम्मानित हुँदै छन् उनको गौरवगाथा सबैलाई थाहा भइरहेको कुरा हो । जसबाट सम्मानित हुँदै छन् त्यो पनि गर्विलो मुक्तकको इतिहास बोकेको सन्दर्भ छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । नेपाली मुक्तकका रत्न साधकलाई श्रद्धेय पिता नारायणदत्त र माता रुक्मिणा अधिकारीको स्मृतिमा उनका परिवारले सम्झेको छ । थापाको योगदान जस्तै मुक्तकलाई उचाई प्रदान गर्ने पहिलो पटक अङ्ग्रेजीमा मुक्तक कृति प्रकाशन गरी नेपाली मुक्तकलाई अन्तर्राष्ट्रियस्तरमा चर्चामा पु¥याउने पहिलो मुक्तककार तीर्थराज अधिकारीको योगदान चिरस्मरणीय छ । नेपाली मुक्तकलाई विश्वव्यापी बनाएबापत् साहित्यिक उन्नयनमा क्रियाशील सबैभन्दा ठूलो सञ्जाल, सामथ्र्य र इतिहास बोकेको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बाट ‘मुक्तकमणि’ उपाधिद्वारा विभूषित भइसकेका छन् । त्यसबाट अनुभूत हुन्छ, जब योगदानको कदर हुन्छ तब उसले अरूको योगदान स्मरण गर्न पुग्छ । सोही अनुरूप मुक्तकमणि अधिकारी र धर्मपत्नी सीतादेवी अधिकारीकै पहलमा अधिकारी परिवारद्वारा स्थापना गरिएको ‘रुक्मिणा–नारायणदत्त मुक्तकमणि पुरस्कार–२०७६’ बाट पहिलो पटक थापालाई अर्पण गरिएको छ । वाङ्मयिक अनुष्ठान गर्न योग्य असल सन्तान जन्माउने मातापिता जुन लोकमा रहे पनि यी कर्मले अलौकिक आनन्दानुभूति गरिरहेका हुन्छन् । सदा सत् कर्ममा लाग्न प्रेरित गरिरहने अधिकारी परिवार जसले मुक्तकको विधागत विकासमा दुई लाख बढी रकमको अक्षयकोष स्थापना गरेका छन् । यस्ता पावन र पुण्यकर्ममा लाग्ने सहृदयी मनमा सदासर्वदा सतकर्म गर्ने शक्ति मिलेको हामीले देखिरहेका छौं । आज गीता मन्दिरको पावन भूमिमा मणि र रत्नहरूको छत्रछायामा पङ्क्तिकार प्रतिभा छनौट समितिको सदस्य सचिव रहेर पुरस्कारका लागि सिफारिस गर्न पाउँदा फेवाको आँगनमा माछापुच्छे« मुस्कुराए जस्तै मन मुस्कुराएको अनुभूत हुन्छ ।

पोखरामा बसेर नेपाली मुक्तक लेखन परम्परालाई हेर्दै, मुक्तक लेखनको वर्तमान अवस्थालाई सिंहावलोकन गर्दै गर्दा पोखराकै सन्दर्भमा २०७३ जेठको पहिलो हप्ता मुक्तककार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तकमञ्च पोखराद्वारा सञ्चालित ११ हजार एक सय ११ राशीको ‘राष्ट्रिय मुक्तक पुरस्कार’ तत्कालीन नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको बाहुलीबाट थापा सम्मानित हुँदै गर्दा पनि पङ्क्तिकार दर्शकदीर्घामै थियो । सोही वर्ष ८१ औ भूपी जयन्ती समारोहमा ५० हजार राशीको ‘भूपी काव्य पुरस्कार’ तत्कालीन क्षेत्रीय प्रशासक खगराज बरालको बाहुलीबाट अपर्ण गर्दै गर्दा पनि दोस्रो पुस्ताको साहित्यिक विद्यार्थी पूर्ववत झ्याम्टा बजाउँदै थियो । पुनः २०७६ सालको शुभारम्भ मै मुक्तक विधामै स्थापित ११ हजार पाँच सय राशिको ‘मुक्तकमणि पुरस्कार’ पोखरामै मुक्तक विधा केन्द्रित पुरस्कार आफ्नो पोल्टामा पारेर थापाले ‘ह्याट्रिक’ गर्दै गर्दा साहित्यको अर्को पुस्ताले उनका केही सत् गुण ग्रहण गर्न सक्यो भने नेपाली साहित्य धन्य हुनेछ भन्न सकिन्छ ।

अन्त्यमा

समाजका मोतीरामहरू मतिहीन भएर निस्कन्छन् । धर्मराजहरू विधर्मी भएर हिँड्छन् । बाबुआमाले सुपुत्र ठानेकाहरू कुपुत्र बन्छन् । यस्तो विशृङ्खलित परिवेशमा उमेरले आठ दशक टेक्दै गर्दा पनि नाम जस्तै काम गरेर आफ्नो वर्गमा सर्वश्रेष्ठ पात्रका रूपमा गर्विलो इतिहास कायम गर्न सफल रत्नशमशेर थापा नेपाली वाङ्मयका क्याप्टेन हुन् । आज २०७७ ज्येष्ठ १५ गते गणतन्त्र दिवसका दिन भौतिक रुपमा उनी हामी माझ बाट अस्ताए तापनि यी क्याप्टेनका राम्रा गुणको अनुशरण गर्न सके कसैको कुभलो हुँदैन, र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु, अस्तु ।

सन्दर्भः २०७६ वैशाख ७ गते शनिवारका दिन आयोजित मुक्तकमणि राष्ट्रिय पुरस्कार अर्पण समारोह बीच असफल गौतमद्वारा प्रस्तुत स्रष्टा परिचय

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग