अन्तर्राष्ट्रिय महिला दिवस

के.वी. मसाल
फागुन २५, २०७६

योगमाया न्यौपानेलाई संझनै पर्ने हुन्छ । योगमायाले सुरु गरेको महिला अधिकारवादी संघर्ष अहिले पनि अन्त्य भएको छैन ।

नेपालमा मनाइने हरेक दिवसहरु दिवसमा मात्रै सीमित छन् । दिवसको अवसरमा ठूला भाषण गर्नेहरुले पनि दिवस सकिएपछि आफैले बोलेका कुराहरु बिर्सने गर्दछन । अन्तर्राष्ट्रिय महिला दिवसले पनि तिनै कुरा संझाउछ ।
अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथिको हिंसाका खबरहरु तारन्तार आउने गर्दछन् । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथि जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनिहरु सुनिन्छ । महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ ।
महिला विरुद्धको हिंसा लंैगिक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानूनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ । आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समुदाय भेला भएर एैक्यबद्धता जनाउने गर्दछ । इतिहास साक्षी छ कि जुन समुदायमा महिला र पुरुषका बीचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समुदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ ।
एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाईनै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारिक शिक्षा मार्फत् महिलाहरुलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरु जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाकालागि लैङ्गिक समानता अपरिहार्य छ ।
वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारिक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदीको तटमा भएको यो शालीन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको इतिहासका पानाहरु साक्षी छन् । पुजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जीवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।
हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ ।
छोरी होस् या छोरा समाज परिवार अनि राष्ट्रले समान व्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरु अनि व्यथाहरु धेरैजसो गुपचुप अनि अभिव्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानूनतः समान र सक्षम छन्, तपाईमाथि कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ ।
हिंसालाई सहनु अथवा भोगेर केही नबोल्नु भनेको हिंसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापि हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंसक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमिका पनि उत्तिकै रहन्छ, बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म । छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरु स्वंय पनि महिला हिंसा विरुद्ध सजग रहन जरुरी छ है ।
नेपालमा अन्तरर्राष्ट्रिय महिला दिवस मनाउँदा योगमाया न्यौपानेलाई संझनै पर्ने हुन्छ । योगमायाले सुरु गरेको महिला अधिकारवादी संघर्ष अहिले पनि अन्त्य भएको छैन । योगमायाको जन्म विक्रम संवत् १९१७ सालमा भोजपुरको दिङलामा भएको थियो । नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगमायाले सुशासन र सत्यका पक्षमा आवाज उठाएर गरेको सामाजिक रुपान्तरणको उच्च मूल्याङकन गर्नै पर्ने हुन्छ । नेपालमा महिला अधिकारका बारेमा आवाज उठाउने उँहानै पहिलो महिला हुनुहुन्छ ।
योगमायाले बाल विवाह, बहु विवाह र सति प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता दिएर प्रोत्साहन र महिलाहरुमा शोषणको अन्त्यका लागि सामाजिक सुधारका पक्षमा विद्रोह गरेकी थिइन् । राणा शासनको समय त्यस बेलाको त्यो सत्य घटना आज एकादेशको दन्त्य कथा जस्तो लाग्न सक्छ । समाजको कठोर शासनप्रति बिद्रोहको चरम स्वर निकाल्ने क्रममा उनले विक्रम संवत् १९९८ असार २२ गते हरिशयनी एकादशीको दिन ६८ जना भक्तहरुका साथ अरुण नदीमा जल–समाधि लिएकी थिइन् ।
महिलाहरुले लामो समयदेखि परिवर्तनको लागि राजनीतिक संघर्ष गरेका छन । तर पनि आजसम्म नेपालमा महिला उत्पीडन भयावह अवस्थामै रहेको छ । महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन । महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ ।
आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुव्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । अहिलेसम्म बनेका ऐन कानूनको प्रभावकारी कार्यान्वयन भएको छैन । जुन कारणले विभेद अन्त्य हुन सकेको छैन । महिलाको काम तथा श्रमको कदर नगर्ने परम्परागत सोच र अभ्यासकै कारण घरभित्र, सार्वजनिक क्षेत्र र वैदेशिक रोजगारको क्रममा विभिन्न प्रकारका शोषण र भेदभाव खेप्नुपरेको छ । श्रम, स्रोत साधन र भूमिमाथि महिलाको पहुँच र नियन्त्रण हुन सकेको छैन । विशेषगरी भूमिहीन किसान, सुकुम्बासी तथा विपन्न र सीमान्तकृत समुदायका महिलाको भूमिमाथि अधिकारको सुनिश्चितता भएको छैन ।
नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटना पहिले पनि नघटेका होइनन् तर अहिले सञ्चार क्षेत्रको विकास, महिलामा बढेको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटना सार्वजनिक भइरहेका छन । यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्परा बीचको सम्बन्ध रहेको पाइन्छ ।
कम्लरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो  । यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुन सक्दैन ।

वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारिक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदीको तटमा भएको यो शालीन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको इतिहासका पानाहरु साक्षी छन् । पुजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जीवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।

महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयं महिला नै रहने गरेका छन । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निहुँमा बुहारीलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनामा सासुकै अहं भूमिका रहने गरेको पाइन्छ । अर्को तर्फ महिला हिंसाका घटनामा वृद्धि हुनका पछाडि देशको राजनीतिक अस्थिरता, अन्योल, कमजोर निरीह, भ्रष्ट र विदेश परस्त सरकार पनि हो ।
यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिबद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी सघं–संस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुनसकेको छैन । गैरसरकारी संस्थाहरुले समस्या समाधान गर्नेभन्दा समस्यालाई देखाएर मागी खाने भाँडोको रुपमा प्रयोग गरिरहेका छन । यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखन जस्ता समस्या घटनुको सट्टा झन् विकराल हुँदै गइरहेको छ ।
महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढदै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन् । नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढदै गएको उच्छृङखलता, उत्ताउलोपन, नग्नता र अगं प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ ।
समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् । जघन्य खालका महिला हिंसा र बलात्कारका घटना मदिरा सेवनकै कारण भएका छन । समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटना घटने गर्छन  ।
माथि उल्लिखित तमाम कारणले गर्दा महिलाविरुद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ । नेपाली समाजको परम्परागत सोच, चिन्तन, संस्कार र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनामा आमूल परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन । महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रुपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्म सम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रुपमा मानिन्छन् । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन ।
नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भैरहेका छन् । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरुको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानून, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय प्रमुख कारणका रुपमा देखिएका छन । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा गरिने व्यवहार अहिले पनि जारी छ ।
अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन । जसलाई घरेलु हिंसा भन्ने गरिएको छ । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरुले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ । श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरु वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन ।
त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरु उत्तिकै पीडित हुने गरेका छन । कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरुमा दुव्र्यवहार एवं अपशब्दहरुको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रुपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडितको हत्यासमेत हुने गरेको छ । बोक्सीको आरोपमा असहाय महिलाहरु मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन । त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरु देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरु अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।
राज्य संचालनमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक, लैंगिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न अहिले संविधानमा नै महिलाहरुको लागि ३३ प्रतिशत सिट कायम गरिएको छ । संविधानअनुसार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् ११० सदस्य महिला भएका छन । संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ ।
महिलाका लागि विशेष व्यवस्था समावेश गरी अस्तित्वमा आएको संविधानले परिवर्तनका मुद्दाहरु अब संस्थागत गराउन आवश्यक छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् ।
लेखकः स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष हुन् ।सं.

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width