महानगरले राजश्वको लक्ष्य नभेट्ने

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६

पोखरा महानगरपालिकाले राजश्व संकलनमा उत्साहजनक प्रगति भइरहेको बताए पनि चालु आर्थिक वर्ष २०७५/०७६ का लागि लिइएको राजश्वको लक्ष्य पूरा नहुने प्रष्ट अवस्था देखिएको छ।

चालु बजेटमा २ अर्ब २६ करोड रुपैयाँको राजश्व लक्ष्य तय गरिएको भए पनि आर्थिक वर्षका १० महिना अर्थात् वैशाखसम्म जम्मा १ अर्ब ४ करोड रुपैयाँमात्र राजश्व संकलन हुन सकेको छ। यस हिसाबले समेट्न बाँकी केवल २ महिना अर्थात् जेठ र असारमा १ अर्ब २२ करोड रुपैयाँ राजश्व उठाउन सक्ने अवस्थामा महानगर देखिँदैन।

गत आर्थिक वर्ष २०७४ मा समेत महानगर आन्तरिक राजश्वको लक्ष्यमा भारी अन्तरले चुक्न पुगेको थियो। अनुमानित आन्तरिक आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ तय गरिएकोमा महानगरले त्यस्तो आम्दानी जम्मा ४९ करोड ५१ लाख रुपैयाँमात्र गर्न सक्यो। कुल बाह्य आम्दानी भने गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ भएको थियो। बजेटमा तय गरिएको राजश्व संकलनको लक्ष्यमा महानगर चुक्दै आएको भए पनि हरेक वर्ष राजश्व संकलनको अवस्था भने बढोत्तरी देखिएको छ। आर्थिक वर्ष २०७३/०७४ मा ३५ करोड रुपैयाँ आन्तरिक राजश्व उठेको थियो।

चालु बजेटमा उल्लेखित बाह्य आम्दानीको लक्ष्यमा समेत महानगरलाई असफलता नै हात लागेको छ। महानगरले चालु आर्थिक वर्षको बजेटमा कुल अनुमानित बाह्य आम्दानीको लक्ष्य ३ अर्ब ९१ करोड रुपैयाँ तय गरेको भए पनि यही जेठ १३ गतेसम्म २ अर्ब ७६ करोड रुपैयाँमात्र प्राप्त गर्न सकेको छ। २०७२ सालमा भएको स्थानीय निर्वाचनसँगै महानगरमा नयाँ नेतृत्व आएको २ वर्ष पुगेको अवसरमा महानगरका प्रमुख मानबहादुर जिसीले मंगलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त अवधिमा भएगरेका कामबारे जानकारी गराएका थिए।

यता, महानगरले भाडामा लगाएका सटरवापतको रकम नउठ्दा समेत राजश्वको लक्ष्यमा प्रतिकूल असर परेको छ। सटर भाडावापत पुरानो रहेको बक्यौता रकममध्मे कुल १ करोड ६९ लाख रुपैयाँमात्र संकलन भएको छ। अझै १ करोड ५६ लाख रुपैयाँ उठ्न बाँकी छ। बाँकी रकम उठाउन ताकेता गरिएको र यही आर्थिक वर्षभित्र उठाउने लक्ष्य राखिएको बताइए पनि यसमा समेत महानगर सफल हुने संकेत देखिएको छैन। महानगरपालिकाभित्र प्रचारप्रसारका लागि विज्ञापन सामग्री राखेवापत वार्षिक २६ लाख आम्दानी हुने गरेकामा यस आर्थिक वर्षबाट विज्ञापनको आम्दानी १ करोड ६५ लाख पुर्याइएको छ। यस वर्ष पुराना होर्डिङ बोर्ड हटाई डिजिटल तथा युनिपोल लाइट बोर्ड राख्ने कार्यका लागि आसयपत्र माग गरिएको र विज्ञापनवापतको वार्षिक आम्दानी ४ करोड पुर्याउने लक्ष्य राखिएको जनाइएको छ।

महानगर प्रमुख जिसीका अनुसार आफूले महानगरको नेतृत्व लिएपछि ३२ मध्ये २० वटा वडाहरुमा राजश्वसम्बन्धी सफ्टवेयर जडान गरी करदाता नागरिकहरुलाई सम्बन्धित वडाबाटै राजश्व बुझाउन सक्ने व्यवस्था गरिएको छ। साविक लेखनाथ नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकाको फरक फरक कर प्रणालीलाई एकीकृत गरी कर प्रणालीमा समानता र एकरुपता कायम गरिएको छ। कर प्रणालीमा आधुनिक पद्धति मानिने सम्पत्ति कर एवं घर वहाल कर थप व्यवस्थित र सरलीकरण गरी लागू गरिएको दाबी समेत गरिएको छ। कर प्रणालीमा दर बढाउनेभन्दा दायरा वृद्धि गर्ने गरी प्रगतिशील करको सिद्धान्त एवं करदातामैत्री कर प्रणालीको अवलम्बनको प्रयास गरिएको दाबी महानगरको छ।

Related News

सम्बन्धित समाचार

hero news full width