गह्रौंकालिकालाई धार्मिक पर्यटन गन्तव्य बनाउन सकिने

भवानी अधिकारी
कार्तिक ३, २०८१
syangja chandra

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गह्रौंकालिका मन्दिरलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका छन ।

बडादशैं पूर्णिमा तिथि पारेर वालिङ र गल्याङ नगरपालिका संगमस्थल गह्रौसुरमा नवनिर्मित कालिका मन्दिरको उद्घाटन गर्दै ढकालले बागलुङमा निर्मित पञ्चकोटधाम झैं गह्रौकालिकाको प्रवद्र्धन तथा विस्तारमा सहकार्य गर्न सकिनेमा जोड दिए । वालिङ नगरपालिका ८ र १० मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग पनि जोडिएको छ ।

‘धार्मिक पर्यटनको पूर्वाधारसहित निर्माणमा हाम्रो अभियान जारी नै छ,’ उनले थपे, ‘धर्म, पर्यटन, व्यवसाय, उद्योग प्रवद्र्धन गर्नु भनेकै अर्थतन्त्रमै जोडिनु हो । लुम्बिनी, मुक्तिनाथ दर्शन तथा अध्ययन अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक पोखरा आउने र उनीहरुमध्ये केहीलाई यहाँ भित्रयाउन सके पनि धेरै राम्रो हुन्छ ।’

धार्मिक पर्यटनसँगै आयआर्जनमा जुट्न सकिने जनाउँदै यस क्षेत्रका विकासका लागि ब्यक्तिगत तथा संस्थागतरुपमा सहयोग गर्ने बताए । यतिबेला बैंकमा निक्षेप पर्याप्त रहेको र व्याजदर निकै घटेको जनाउँदै नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीकोे वातावरण बन्दै गएको उनको दाबी छ ।

पछिल्लो समय लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान सञ्चालन गरेको पनि जानकारी गराए । आफूहरुकै पहलमा सरकारले ८ वटा कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरेको जानकारी गराए ।

यसैसाता मुक्तिनाथसहित चीन र भारत जोड्ने कोरला नाकासम्मको भ्रमण गरेको स्मरण गराउँदै उनले भने, ‘कोरला नाकाका चीनतर्फका राम्रा पूर्वाधार निर्माण भएका छन् तर नेपालतर्फ भने केही हुन सकेको छैन । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’

निजी क्षेत्रले उठाउँदै आएको कर, लगानी वातावरण, सहकार्य र समन्वय जस्ता विषयलाई आफूहरु निरन्तर उठाइरहेको दाबी गरे ।

कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिटी एक्सप्रेस मनि ट्रान्सफरका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलीपप्रताप खाँण, अध्यक्ष सुरजप्रताप खाँण, व्यवसायीहरु डोलराज शर्मा, नारायणप्रसाद शर्मा, पं. नेत्रप्रसाद पराजुली लगायतले गह्रौसुर मन्दिर लगायत आवश्यक भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा कालिका मन्दिरसहित कालरात्री मन्दिर, चण्डीथान मन्दिर, विश्रामस्थल, धर्मशाला, मन्दिर अगाडि स्थापित त्रिशूललगायतको एकैसाथ उद्घाटन गरियो ।

मगरात, भुरे राज्य हुदै चौधौं शताब्दीमा भूपालसिंहका नाति राजा दशरथ खाँणले विसं १५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको भनाइ छ । पछिल्लो समय २०७५ सालदेखि वालिङ नगरपालिकाले गह्रौंसुरदेवी क्षेत्रलाई समेटेर सडकसहितको ५२ करोडको गुरुयोजना तयार पारेर भौतिक निर्माण गर्दै आएकोे छ । करिब ९२ रोपनीमा फैलिएको छ भने झण्डै ३५ करोड लगानीमा भैसकेको तत्कालीन नगर प्रमुख एवं संरक्षक खाँणले जानकारी दिए ।

उनका अनुसार मन्दिरलगायत भौतिक निर्माणमा सरकारी, संघसंस्था र ब्यक्तिगतरुपमा सहयोग आएको छ । सहयोगदाता सबैलाई सम्मान एवं अभिनन्दन गरिएको थियो ।

वालिङ बजारदेखि कच्ची र पक्की गरी १० किलोमिटरको दूरीमा सबैखालका सवारी साधनबाट सहजरुपमा यो मन्दिर पुग्न सकिन्छ ।

महाकाली, महासरस्वती र महालक्ष्मी स्वरुपमा रहेको मन्दिर परिसर अत्यन्त सुन्दर, शान्त र मनोरम स्थलमा छ । यहाँबाट हिमालय शृङ्खलासँगै वरपरका जिल्लाहरुका समेत प्रत्यक्ष अध्ययन अवलोकन गर्न सकिन्छ ।
यसैबीच, अध्यक्ष ढकाललाई स्याङ्जा उद्योग वाणिज्य संघ, वालिङ नगर उद्योग वाणिज्य संघले स्वागत एवं सम्मान गर्दै स्याङ्जाको समग्र वस्तुस्थितिबारे जानकारी गराउँदै व्यवसाय प्रवद्र्धन तथा उद्यम विकासका परियोजनामा सहयोग एवं समन्वय गर्न आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग