सात वर्षसम्म बनेन पुल

निरीह सरकार, लापरवाह ठेकेदार

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
bridge_Fotor

पोखरा, ९ वैशाख। ठेकेदारको लापरबाही र सरकारको निरीहताले कास्कीको एक मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन। कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल निर्माण गर्नका लागि २०६९ साउनमा काठमाण्डौंको लोकप्रिय शंकरमाली जेभीलाई ठेक्का दिइएको थियो। ३० महिना म्यादभित्र कम्पनीले काम नै सुरु नगरेपछि २०७२ माघमा पुलको म्याद थपियो। थपिएको ६ महिनामा पनि काम नभएपछि पुनः अर्को ६ महिना थपेर २०७३ माघसम्म काम सक्न ताकेता गरियो। पछिल्लो पटक म्याद थपिएको पनि ४ बर्ष पूरा भैसक्यो तर पुल उठेन।

ठेकेदारको चरम लापरबाहीका कारण समयमा पुल नबनेको डिभिजन सडक कार्यालय पोखराको आक्रेश छ। ‘२ पटकसम्म म्याद थपियो। कयौं पटक ताकेता पनि गरिएको छ। काम नै नगरेपछि ४ बर्षदेखि म्याद थपिएको छैन, कार्यालयका निमित्त प्रमुख पवित्रमणि आचार्यले भने–अव काम सकेपछि मात्रै भुक्तानी दिने हो। त्यसमा पनि अधिकतम जरिवाना लिन्छौं। ’ समयमा काम नगरे सरकारले सम्झौता रकमको १० प्रतिशत सम्म जरिवाना लिन पाउने ब्यवस्था छ। पुल नबनाउने ठेकेदारबाट पनि ४० लाख रुपैयाँ जरिवाना लिईसकेको आचार्यले बताए। ‘४० लाख रुपैयाँ हर्जना तिर्नुपर्छ। त्यो कटाएर मात्रै भुक्तानी दिने हो–उनले भने। ’

समयमा पुल नबनेपछि २०६९ सालमै स्थानीय भेला भएर दवाव समिति गठन गरेका थिए। ‘त्यति ठूलो बजेट आउँदा खुशी लागेको थियो। निर्माण सम्झौता भयो भन्ने सुन्यौं। महिना वित्यो, बर्ष बित्यो। बाटो हेर्दाहेर्द ठेकेदार आएन, उनले भने–केही उपाय नलागेपछि दवाव समिति बनायौं। कहिले कार्यालय धाउने कहिले ठेकेदार भेट्ने गरेरै अहिलेसम्म बित्यो। बल्लबल्ल काम थालेको छ। अझै ढुक्क हुने अवस्था छैन। ’ कालिका–माझठाना हुँदै घुम्लेबाट मिजुरेडाँडादेखि लमजुङसम्म जोड्ने सडकमा बन्ने यो पुलको निकै ठूलो रणनीतिक सम्बन्ध छ। पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या परेको मिजुरेडाँडाका ओमप्रकाश गुरुङले बताए। ‘पुल बन्छ भन्ने सुनेको पनि बर्षौ भैसक्यो। आधा काम सकियो भन्छ तर पूरा होला भन्ने विस्वासै छैन, उनले भने–त्यो भन्दा पछि सुरु भएको पुल बनेर पनि गाडी कुद्न थालिसक्यो। यसको अत्तोपत्तो छैन। सरकारी सम्पत्ति यसरी दुरुपयोग हुँदा यो क्षेत्रकै बदनामी भैरहेको छ। ’ पुल बनेपछि कास्कीको माझठाना, भाचोक, मिजुरेडाँडा, सैमराङ साथै लमजुङको पसगाउँ, भोँजेसम्मका नागरिकलाई सहज हुन्छ। घुम्ले नजिकै भगवती टारमा पनि पक्की पुल बनिसकेको छ। त्यस क्षेत्रका स्थानीयहरु अहिले यही पुल भएर आवतजावत गर्दै आएका छन्।

पुल बनाउने ठेकेदार सम्पर्कमै नरहेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताए। ‘कहिले फकाए झैं गरेको छु। थर्काएजस्तो पनि गरेको छु। बर्खा लागिसक्यो ठेकेदार टसमस गर्दैन। बल्ल बल्ल ल्याएर सुरु गरेजस्तो गरेको थियो। फेरि सामान छैन भनेर रोकिएछ, उनले भने–अहिले त ठेकेदार सम्पर्कमै आउँदैन। ठेक्का तोडौं भने पनि नेपालको प्रक्रिया उत्तिकै लामो छ। फलो अप गरिरहेको छु। ठेकेदारले रुवायो। जवरजस्ती गर्न पनि नमिल्ने। साह्रै अप्ठेरो भो। ’ गाउँपालिकाले निरन्तर ताकेता गरिरहेको गुरुङले बताए।

न खोलामा पुल, न खातामा पैसा

ठेकेदारले कहिलेकाहीँ बर्खा लागेपछि सामान लगेर थुपार्ने र काम गरेजस्तो मात्रै गरेर पटक पटक बजेट निकासा लिएको खुलेको छ। पुल निर्माणको काम आधा पनि नसकिँदा ठेकेदारले करिब ४ करोड रुपैयाँ भुक्तानी पाईसकेको छ। ५ करोड ९ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीलाई कार्यालयले पटक पटकको मितिमा ३ करोड ७५ लाख रुपैयाँ निकासा दिएको छ। सम्झौता अनुसार अव १ करोड ३४ लाख रुपैयाँ मात्रै पाउन बाँकी छ। त्यसमा पनि अधिकतम जरिवाना लिँदा १ करोड पनि बाँकी रहँदैन। तर भुक्तानी अनुसारको काम भने फिल्डमा छैन। हालसम्म पुलको आधा भाग पूरा भएको छ भने आधा भागको काम भर्खरै सुरु गरिएको छ। सडकले पनि काम पूरा नभएसम्म बाँकी रकम नदिने बताएको छ।

‘पुल बनाउदा घर घडेरी सकियो’

ठेकेदारले २०६९ मै सम्झौता गरेपनि २०७२ पछि मात्रै कन्ट्याक्टरलाई जिम्मा दिएर काम थालेको हो। तनहूँस्थित दुलेगौडाका सुनिल थापालाई ०७२ पुसमा कामको जिम्मा दिईएको देखिन्छ। त्यसपछि थापाले काम सुरु गरेका हुन्। तर पुलको काम अझैपनि सकिएको छैन। ‘आधा काम अघिल्लो बर्ष नै सकियो। अर्को आधा पनि जाली बुनेर राखेका छौं। आवश्यक मेटेरियल पाए यो महिनाभित्रै ढलान हुन्छ, कामको जिम्मा पाएका धिरेन्द्र रानामगरले भने–यो बर्षमा पुलको काम जसरी पनि सकिन्छ। तर मुख्य ठेकेदारले समयमा पैसा नदिँदा समस्या परिरहेको छ। ’ पुलको ठेक्का लिएपछि ब्यक्तिगत १ करोड भन्दा बढी ऋण लागिसकेको उनले सुनाए। मुक्तिनाथ विकास बैंकमा घरबारी र खेत धितो राखेर ऋण निकालेको राना बताउँछन्।

‘केही आम्दानी होला भनेर पो काम गर्ने हो। सरकारको काम गरेपछि उल्टै घर घडेरी बेच्नुपर्यो, उनी भन्छन्–चाउथेको घडेरी बेचेर सकियो। दुलेगौंडाको घर र नजिकै रहेको खेत बैंकमा राखेर ऋण निकालेको छु। ’ ठेकेदारले आफ्नो समस्या नबुझेको उनको गुनासो छ। १ लाख रुपैयाँ हाल्दिनु भन्दा पनि मान्दैनन्। न सिमेण्ट दिन्छ, न रड पठाउँछ, उनले भने–थुम्सीकोट आफ्नै गाउँ भएर छोड्न सकिन। घर घडेरी बेचेर काम गरिरहेको छु। कुरा गर्दा पनि रुन मन लाग्छ। जहान परिवारले नै छोडेर जाने अवस्था बनिसक्यो। ’ समयमा सामान पाए यो बर्ष जसरी पनि काम पूरा गर्ने उनको प्रतिबद्धता छ। तर यस बिषयमा बुझ्न सम्पर्क गर्दा मुख्य ठेकेदार सम्पर्कमै आउन चाहेनन्। ठेकेदारको तर्फबाट केही समय फिल्डमा खटिएका इञ्जिनियर खेमराज विक चाहीँ यो बर्ष काम पूरा हुने बताउँछन्। ‘अहिले मैले हेरेको त छैन। तर निरन्तर सम्पर्कमा छु, उनले भने–यो बर्ष काम सकिन्छ। सामान पठाउने तयारी भैरहेको छ। ’ मुख्य ठेकेदार सुनिल कार्कीको मोवाईल स्विच अफ छ भने अर्का ठेकेदार हेमराज गुभाजुले पटक पटक सम्पर्क गर्दा समेत फोन उठाएनन्।

कालोसूचीमा ठेकेदार

पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी मध्ये लोकप्रिय निर्माण सेवालाई सरकारले कालो सूचीमा राखेको थियो। ठेक्का मात्रै ओगट्ने र काम नगर्ने प्रबृत्तिका कारण धेरै ठेकेदार कम्पनी अहिले सरकारको निगरानीमा छन्। कालो सूचीमा परेको ठेकेदार कम्पनीले घुम्ले पुल बनाउने जिम्मा पाएपछि यो काम पनि पूरा हुनेमा स्थानीयको आशंका छ। ‘कम्पनी नै क्रोनिक हो। न लेजर छ। न अरु डकुमेण्ट छ, एक इञ्जिनियर भन्छन्–काम गर भनेर बोलायो भने ठेकेदार सम्पर्कमा आउँदैन। काम सकिने कुरामा यसै भन्न सक्ने अवस्था छैन। ’

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width