प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

रासस
चैत्र २६, २०७५

पोखरा, २६ चैत । पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ ।

विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो ।

विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि सञ्चार मन्त्रालयमार्फत आइसिटी ल्याव कार्यक्रम स्वीकृत भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिए । आइसिटी ल्यावसँगै विद्यालयको प्रविधिमा आधारित शिक्षा दिने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने भएको उनले बताए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालका अनुसार आइसिटी ल्याव कार्यक्रमसँगै नयाँ शैक्षिक वर्ष २०७६ मा केही कक्षालाई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराउने गरी नमूना कक्षा सञ्चालन गरिनेछ ।

“हामीले शुरुमा कक्षा ७ देखि १० सम्मलाई नमूना कक्षाका रुपमा विकास गर्ने योजना राखेका छौँ”, उनले भने “ती कक्षामा चक डस्टरको प्रयोगबाट नभई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराइने छ ।” विद्यालयमा यसअघि नै सुविधासम्पन्न कम्प्युटर ल्याव सञ्चालनमा आइसकेको छ ।

विद्यालयलाई हालै एजुपे नेपाल र रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा २० थान कम्प्युटर उपलब्ध गराउने सम्झौता भएको अध्यक्ष जानकारी दिए ।

प्रविधिमैत्री पूर्वाधार विकास गरी त्यही किसिमको गुणस्तरीय शिक्षा दिने योजनाअनुरुप विद्यालय बढेको बताउँदै उनले विद्यार्थी तथा अभिभावकले विद्यालयप्रति गरेको विश्वासलाई अझै बलियो बनाउने उल्लेख गरे ।

विद्यालयमा विद्यार्थीको भर्ना हुने क्रम चलिरहेको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले यस वर्ष विद्यालयमा दुई सय विद्यार्थी थप्ने लक्ष्य राखिएको जानकारी दिए । समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचसँगै विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।

विसं २०७१ मा ३५० विद्यार्थी रहेको विद्यालयमा २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० विद्यार्थी रहेकामा शैक्षिक वर्ष २०७४ मा एक हजार ९६ पुगेको थियो । प्रधानाध्यापक काफ्लेका अनुसार विद्यार्थीको सहजताका लागि अघिल्ला वर्षमा एउटा विद्यालय बस सञ्चालन गरिँदै आएकामा यस वर्षदेखि अर्को एक गाडी थपिएको छ ।

विद्यालयले विसं २०७१ यता वर्षे र हिउँदे बिदाका रुपमा दिँदै आएको बिदाका समयमा पनि नियमित पठनपाठन गराउँदै आएको छ भने विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन एक शैक्षिक वर्षमा चार चरणमा परीक्षा लिने गरेको छ ।
प्रविधिलाई पनि पछ्याउँदै आएको विद्यालयले अघिल्लो वर्षदेखि सरस्वती टीका मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने उक्त एप्समार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे÷नपुगेको, गृहकार्य गरे÷नगरेको आदि सम्बन्धमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ । विद्यालयले प्रविधिमा आधारित शिक्षालाई जोड दिँदै नमूना कक्षासमेत सञ्चालनको योजना अघि सार्नुलाई महत्वका साथ हेरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width