मन्त्रीद्वारा अस्पतालमा छड्के

रासस
चैत्र १०, २०७५
naradevi-pun

गलकोट, १० चैत । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गरेकी छन् ।

ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिएकी छन् ।

अञ्चल अस्पतालका सबै बिरामीलाई भेटिसकेपछि मात्रै अञ्चल अस्पताल विकास समिति र कर्मचारीले मन्त्री आएको पत्तो पाएका थिए । मन्त्री पुनले अञ्चल अस्पतालका बिरामीकै मुखबाट अस्पतालको बारेमा सुन्ने मौका मिलेको बताउँदै अस्पताललाई सेवामुखी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताइन् ।

मन्त्री पुनले अनुगमनका क्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीका समस्याका बारेमा समेत जानकारी लिएकी थिइन् । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए ।

सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width