पोखरामा मुक्तक महोत्सव

सरुभक्तलाई पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
saru bhakta

पोखरा, ११ चैत । पोखरामा चैत अन्तिम साता ‘मुक्तक महोत्सव २०७४’ हुने भएको छ ।

मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लब अफ हेमजाको सह-आयोजनामा चैत २२ देखि २४ गतेसम्म साइमन पार्टीप्यालेस, सिर्जनाचोकमा महोत्सव आयोजना गरिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गमथलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयासस्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।

महोत्सव अवसरमा ४० जनाभन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् ।

काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले बताए ।

त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तकसंग्रह विमोचन लगायत कार्यक्रम हुने उनले बताए ।

महोत्सव सफलताका लागि प्रायोजक खोजी भइरहेको आर्थिक उपसमिति संयोजक गौरी तमुले जानकारी दिइन् ।

यसैबीच, यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यसपटक सरुभक्तलाई दिइने जनाइयो ।

मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १ सय ११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २ सय २२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्र्रह हो । उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक संग्रह प्रकाशित छन् ।

उनको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । २०१२ सालमा पोखरा बागबजार जन्मेका सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मञ्चले मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गर्दैआएको छ । यसअघि सो पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width