‘उपधारा २ अनुसार नै सरकार बन्छ’

आदर्श समाज सम्वाददाता
असार २६, २०८१
Arjun Narsing Kc Photo

पोखरा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य अर्जुनरनसिंह केसीले अब बन्ने सरकार संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने दाबी गरेका छन् ।

प्रेस युनियन कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद केसीले उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत नपाउँदा सोहीबमोजिम नै सरकार बन्ने बताएका हुन् ।

उनले सर्वोच्चको व्याख्या र प्रदेशमा भएका प्रयोग आधारमा उपधारा २ अनुसार नै सरकार बन्ने दाबी गरे । २ ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको उनको भनाइ छ । ‘एउटा लक्ष्य प्राप्तिका निम्ति दुई वटै दल कमिटमेन्ट भएर दायाँबायाँ नभइ जाने हो भने यो सरकार पूर्णरुपमा जान्छ,’ उनले भने, ‘होइन स्वार्थको खेल हो भने त्यो म भन्न सक्दिनँ ।’

नयाँ बन्ने सरकारले समानुपातिक प्रणाली हटाउने वा यसको विकल्पबारे सोच्ने, सांसदको संख्या घटाउने, निर्वाचित प्रधानमन्त्रीलगायत विषयमा संविधान संशोधनमा जानुपर्ने उनको भनाइ थियो । उनले भने, ‘मेरो पार्टीले कसरी हेर्छ । मेरो व्यक्तिगत धारणा भन्ने हो भने निर्वाचित प्रधानमन्त्री अब आउने यात्राको सबैभन्दा ठूलो आवश्यकता हो भन्ने मरो दृष्टिकोण हो ।’

उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमाले सहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको स्पष्ट पारे । उनले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षा अनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे । ‘संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएका छौँ । अब बाँकी दलसँग समेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ,’ सांसद केसीले भने ।

केसीले ठूला दलहरू एकै ठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैं अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने धारणा राखे ।

सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको स्पष्टोक्ति थियो ।

सांसद केसीले २ ठूला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने उनको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग