पोखरा एयरपोर्टमाथि प्रश्नैप्रश्न, सुरु भयो संसदीय अनुसन्धान

प्रकाश ढकाल
असार २४, २०८१
airport

पोखरा । पोखरा विमानस्थलको रन–वे ३ हजार मिटर हुनुपर्नेमा किन २५ सय मिटर बनाइयो ? २५ सय मिटरमा वाइडबडी जहाज उड्न र अवतरण गर्न सक्छन् ? संसदीय छानविन समितिले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई प्रश्न ग¥यो । अधिकारीले जवाफ दिए, ‘२५ सय मिटर न्यारो बडी जहाजका लागि बनाइएको हो । अर्को कुरा, पोखराभरी रन–वे बनाए पनि यहाँबाट वाइडबडी उडान अवतरण गर्न सकिँदैन, यहाँको भौगोलिक अवस्थाको कारणले ।’ समितिले अर्को प्रश्न थप्यो, ‘विमानस्थल बनाउनुअघि डिपिआर र बिजनेस प्लान किन बनाइएन ?’ अधिकारीले जवाफ फर्काए, ‘यो इपिसी मोडलको प्रोजेक्ट हो । यसमा डिपिआर बनाउने भन्ने हुँदैन । अर्को कुरा बिजनेस प्लान अहिले त बनेको छैन । त्यो बेला बन्ने अवस्था कसरी हुन्छ ?’ प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको अध्ययन उपसमितिले सोमबार विमानस्थलको स्थलगत अध्ययन गरेर आवश्यक जानकारी लिएको छ । समितिका सदस्यहरुले आयोजना निर्माण र सञ्चालन सम्बन्धमा दर्जनौं प्रश्न गरेका छन् ।

उपसमिति संयोजक राजेन्द्र लिङ्देनले विमानस्थल निर्माणमा भएको अनियमितताको खोजी गर्दै दोषीमाथि कारबाही र आगामी दिनमा अनियमितता हुन नदिने गरी रिपोर्ट बनाउने बताए । उनले निर्माण भैसकेको विमानस्थल सञ्चालनका लागि समितिले विशेष चासोका साथ सुझाव दिने बताएका छन् । ‘विमानस्थल निर्माणमा लागेका आरोपको खोजी गर्नेछौं । दोषीमाथि कारबाही गर्ने र आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिने गरी सुझाव पेस गर्छौं,’ उनले भने, ‘हाम्रो अर्को चासो भनेको विमानस्थल सञ्चालनमा हो । यत्रो लगानी गरेर बनाइएको विमानस्थल यसै छोड्न हुँदैन ।’ अनुगमनका लागि ११ जना सांसद र २ कर्मचारी सहित १३ जनाको टोली आइतबार पोखरा आइपुगेको थियो । उनीहरुले पोखरा विमानस्थल, रिठ्ठेपानी डाँडाको स्थलगत अवलोकन गरेका छन् भने पोखराका सरोकारवालासँग अन्तरक्रियासहित सुझाव लिएका छन् । २०७९ सालको पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म चार्टर फ्लाइटबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जसका कारण विमास्थलका बारेमा धेरै प्रश्नहरु उठेका छन् । अनुगमनमा गण्डकीको सार्वजनिक लेखा समिति पनि सामेल थियो ।

सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिको २०८१ जेठ २८ को बैठकले विमानस्थल निर्माणका त्रुटिबारे स्थलगत अध्ययन गर्न लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । पोखरा विमानस्थल चाइना सिएएमसी इन्जिनियरिङले इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण गरेको हो । आइकाओ क्याटोगोरी फोरडी मापदण्डको विमानस्थल निर्माणमा २१५.९६ मिलियन अमेरिकी डलर (भ्याट बाहेक) मा सम्झौता भएको थियो । विमानस्थल बनाउने ऋण चीनको एक्जिम बैंकले उपलब्ध गराएको हो । ऋणमध्ये २५ प्रतिशत बिनाब्याजको छ भने ७५ प्रतिशत ऋण २ प्रतिशत ब्याजमा लिइएको परियोजनाले जनाएको छ । त्यसबाहेक ४ अर्ब ८१ करोड मुआब्जा वितरणमा खर्च भएको छ भने डाँडा कटानमा ३० करोड हाराहारी खर्च भएको बताइएको छ । हालसम्म १९८.९ मिलियन डलर निर्माण कम्पनीलाई भुक्तानी बुझाइसकेको परियोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए । २० अर्ब ७२ करोड चाइना सिएएमसी इन्जिनियरिङलाई भुक्तानी गरिएको उनले बताए ।

कहिले के भयो ?
पोखरामा क्षेत्रीयस्तरको विमानस्थल बनाउने परिकल्पनासहित २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ४ दशकको पर्खाइ र आन्दोलनपछि विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्यो । चीन सरकारको सहुलियतपूर्ण ऋणमा विमानस्थल निर्माणका लागि खुला प्रतिस्पर्धाबाट ‘टर्न की’ आयोजनाको रुपमा काम गर्ने गरी चिनियाँ ठेकेदार मध्येबाट छनोट गर्ने गरी २०६७ जेठ १९ मा अर्थ मन्त्रालयबाट निर्णय भएको थियो । २०७१ कात्तिक १० गतेको मन्त्रिपरिषद् बैठकले चिनियाँ सहुलियतपूर्ण ऋण अन्तर्गत इपिसी मोडलमा काम गर्न रकम व्यवस्था गर्ने निर्णय भयो । २०७०÷७१ मा थप ७९३ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । हालसम्म ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण भएको छ । अझै करिब ७ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको छ । सन् १९८९ मा जाइकाले अध्ययन गरेको थियो । त्यसपछि सन् २०१० मा जोशी एसोसियटेडले फिजिबिलिटी अध्ययन गरेको थियो । २०१२ फेब्रुअरीमा टेन्डर निकालिएकोमा सिएसिसीले २०१३ मा पुनः फिजिविलिटी अध्ययन गरेको छ । २०१४ मा इआइए, २०१४ कै मे महिनामा कमर्सियल कन्ट्रयाक्ट भएकोमा जुलाइमा रिभाइज्ड फिजिविलिटी अध्ययन गरिएको थियो । २०१६ अप्रिलमा ऋण सम्झौता गरिएकोमा अन्तिम डिजाइन २०१८ सेप्टेम्बरमा पूरा भएको थियो ।

विमानस्थाललाई बिआरआई बोझ
विमानस्थल उद्घाटन समयमा चीनले पोखरा विमानस्थललाई बिआरआई परियोजनाको एक हिस्साको रुपमा व्याख्या ग¥यो । जसका कारण विमानस्थल भूराजनीतिक चक्रव्युँहमा फसेको छ । विमानस्थल परियोजनाले नै यसलाई स्वीकारेको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लक्षित यात्रु भारत र चीन भए पनि दुवै देशबाट विमानस्थलप्रतिको धारणा फरक भएको कारण सञ्चालनमा चुनौती आएको छ,’ परियोजनाले भनेको छ । धेरैले बिआरआईसँग जोडेकै कारण पोखराबाट अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या देखेका छन् ।
यसबाहेक परियोजनाले अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आवश्यक सरकारी तथा अन्य निकायको सेवा काठमाडौंबाट बाहिर विस्तार नहुँदा पनि समस्या आएको जनाएको छ । सरकारी इकोनोमिक डिप्लोमेसी मजबुत नहुनु र विमानस्थल सञ्चालनका लागि आवश्यक सरकारी निकायको संगठन संरचना स्वीकृत नहुनुलाई पनि एयरपोर्ट सञ्चालनको बाधकको रुपमा लिइएको छ ।

के पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सक्दैन ?
प्राविधिकहरु भन्छन्, ‘वाइडबडी उडान पोखराबाट सम्भव छैन ।’ उनीहरुका अनुसार न्यारोवडी ३१९ र ३२० पोखराबाट सहजै उड्न सक्छन् । त्यसका लागि आवश्यक सबै पूर्वाधार तयार अवस्थामा रहेको परियोजनाले जनाएको छ । उडान र अवतरणमा चुनौती बनेको रिठ्ठेपानी डाँडा कटान भैसकेको छ । महानगरपालिकाको ल्याण्डफिल साइट सारिएको छ भने पोखराको ब्रान्ड प्याराग्लाइडिङलाई पनि स्थानान्तरण गरिएको छ । रिठ्ठेपानी डाँडामा ४० मिटर कटान र ६ सय वटा रुख हटाइएको हो । तर पोखरामा अवतरण एकतर्फबाट मात्रै हुन्छ । विमानस्थलमा २०२२ नोभेम्बर २१ मा क्यालिब्रेसन फ्लाइट भएको थियो । विमानस्थल निर्माण २९ डिसेम्बर, २०२२ मा पूरा भएको भनिए पनि काम अझै बाँकी छ । २०८० असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान भएको थियो । हालसम्म ७ वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भैसकेकोले उडान र अवतरणमा समस्या नरहेको विज्ञहरु बताउँछन् ।

आन्तरिक उडानले ऋण तिर्न सकिन्छ ?
पुरानो विमानस्थल हुँदा पोखराको कमाइ ११ करोड हाराहारी हुन्थ्यो । अघिल्लो वर्ष यो आम्दानी बढेर ४० करोड हाराहारी पुगेको छ । सन् २०२२ मा १६ हजार २४ उडान भएकोमा ८ लाख २९ हजार १ सय ३८ यात्रुले सेवा लिएका थिए । २०२३ मा त्यो बढेर १५ हजार ८ सय ७२ उडानबाट ९ लाख ४ हजार ७ सय ७१ यात्रुले सेवा लिए । यो वर्षको हालसम्म ७ हजार ९५ उडानबाट ४ लाख २५ हजार २ सय १० यात्रुले सेवा लिइसकेका छन् । आन्तरिक उडानबाट मात्रै ऋण तिर्न सम्भव छैन । तर प्राधिकरणका महानिर्देशक अधिकारी अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘आन्तरिक तर्फ पोखराको कमाइ राम्रो छ । अन्तर्राष्ट्रिय उडानको पहल पनि गर्नुपर्छ । तर आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । विमानस्थलको ऋण प्रत्येक ६ महिनामा ९५ करोड हाराहारी तिर्नुपर्छ । अधिकारीले ऋण तिर्ने दाबी गरे पनि कमाई उनको दाबी अनुसार छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग