गैह्रापाटन नेवा समाजलाई लाखे नाचका सामग्री

आदर्श समाज सम्वाददाता
असार १, २०८१
Gairapatan newa samaj news

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचको लागि आवश्यक सामग्री प्रदान गरेको छ । नेवाः खल कास्कीको नेवा छेंमा आयोजित कार्यक्रममा धिमे बाजा २ थान, ढोलकी २ थान, झ्याली २ थान, लाखे पोसाक १ थान, ख्वापा तथा चम्मर शनिबार हस्तान्तरण गरिएको छ । ती सामग्री १ लाख रुपैयाँ बराबरका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले नेवारी परम्परा र संस्कृति जगेर्ना गर्ने कार्यक्रममा वडाको तर्फबाट सधैँ सहयोग र सद्भाव रहने बताए ।

वडा सदस्यहरु लक्ष्मी पहारी, नन्दराम गिरी तथा गीता नेपालीको उपस्थिति रहेको कार्यक्रममा वडा सचिव कुलराज पौडेलले सहयोग प्राप्त भएको सामग्रीको सुरक्षा र संस्कृति अन्य जातजातिमा पनि हस्तान्तरण गर्नुपर्ने बताए ।

गैह्रापाटन नेवाः समाजका अध्यक्ष नारायण कुमार श्रेष्ठले सो सहयोग नेवारी संस्कृति जगेर्नाको लागि अत्यन्त उपलब्धिमूूलक रहेको जानकारी दिँदै वडा नं ९ का अध्यक्ष तथा वडा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । उक्त सहयोगका लागि विशेष पहलकदमी गरिदिएकामा वडा सदस्य लक्ष्मी पहारीलाई विशेष धन्यवाद दिए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले गरेका थिए । कार्यक्रममा गैह्रापाटन नेवाः समाज, गैह्रापाटन नेवाः मिसा पुचः, गैह्रापाटन ल्याम्ह पुचःका पदाधिकारी तथा सदस्य उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग