फ्लोर क्रस गरेका फणीन्द्र देवकोटालाई सा‍ंसदबाट हटाउन माओवादीको पत्र

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
phadindra

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणीन्द्र देवकोटामाथि कारवाही भएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालसमक्ष माओवादी पार्टीको पत्र आइसकेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा देवकोटाको पद रिक्त रहेको पत्र सभामुखले सुनाउने भएका छन् ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०१ उपनियम १ अनुसार प्रदेश सभामा जानकारी गराउने व्यवस्था छ ।

यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।

सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि जाने छ । तर उनी ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् । उनी मन्त्री हुने सम्भावना उत्तिकै छ । त्यसो भएमा उनले फेरि शपथ लिनुपर्नेछ ।

माओवादी पार्टीको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बताउँछन् । आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ ।

माओवादीको चिह्न लिएर चुनाव लडेका उनको पार्टी नेपाल समाजवादी पार्टी हो । प्रदेश सभामा उनी माओवादी सांसदकै हैसियतमा थिए । तर उनले आफूलाई नेसपाकै सांसद दाबी गर्दै आएका थिए ।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उनले फ्लोर क्रस गरेका थिए । उनले फ्लोर क्रस गरेकै कारण पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा प्रदेशको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्री बनेका थिए ।

यद्यपि देवकोटाले कारवाही सम्बन्धी कुनै पत्र प्राप्त भने गरेका छैनन् । उनी शुक्रबार प्रदेश सभाको बैठक र मन्त्रालय कतै गएका छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग